विकासन्युज

पाँच वटा लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार खुलेको करिब तीन घण्टामा पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । पाँच मध्ये तीनको पुर्ण रुपमा सर्किट लागिसकेको छ भने दुईको सर्किट लेभलमा कारोबार भइरहेको हो । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त रहेका छन् भने उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको लागेको छ । शनिबार ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जाल्पा लघुवित्तको भने आइतबार सेयर बजार खुलको ५ मिनेटमै सेयर मूल्यमा सर्किट लागेको थियो । यो समाचार तयार पार्दसम्म नेप्से परिसुचक २९.७५ अंकले बढेर १९५१.९१ विन्दुमा पुगेको छ । यसरी नेप्से उकालो लाग्दा आइतबारको बजारमा सबैभन्दा बढी कारोबार लघुवित्तकै रहेको छ ।लघुवित्तले लाभांश घोषणा गर्न थालेसँगै लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

भेडा मर्न थालेपछि समस्यामा किसान

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए । दुई महिनामा किसान छन्त्यालका २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको छन्त्यालले बताए । ठाडाखानीमा पूर्णबहादुर छन्त्याललेसमेत १७ भेडा मरेका बताए । यहाँका करिब तीन दर्जन बढी घरमा परम्परागत रुपमा भेडापालन हुँदै आएको छ । भेडापालनको पकेट क्षेत्रका रुपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा आबद्ध भएर भेडापालन गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोलीगोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना सङ्कलन गरेको छ । कार्यालय प्रमुख जीवन आचार्यका अनुसार, भेडामा आन्तरिक र बाह्य परजीविको सङ्क्रमणका कारण भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरिद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए । ‘खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैँ राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ, किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौँ’, उनले भने । भेडापालक किसानको सुविधाका लागि गाउँपालिकाले डिपिङ ट्याङ्कीसमेत निर्माण गरेको तर, त्यसको प्रयोग नगरेका कारण भेडामा रोगको सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । उपचारका लागि पशु चिकित्सकले दिएको रिपोर्टअनुसार आवश्यकपर्ने खोपलगायतका औषधि खरिद गर्ने तयारी गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए। रासस

तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए । यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने,’सुरक्षित तरिकाले बनाइएकोले खासै डराउनुपर्दैन् । यस्ता खेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्छ ।’ त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जन हुने भएकोले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताए । पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि त्यहाँको भन्दा यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताए । यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो । भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले  एक करोड दश लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो । उनले भने,’करिब पाँच महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भ्एपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।’ जीपलाइन सञ्चालन भएदेखि हालसम्म दुईसय पचास जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक साप्कोटाले बताए । जीपलाइनमा एक हजार पाँच सय रुपैयाँ शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यवलोकनसमेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ । एक पटकमा एकै पटक दुई जनासम्मले खेलमा सहभागी हुन सक्ने छन् । सुरु स्टेशनबाट मादी नदीका साथै रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेशन करिब ४५ सेकेण्डमा पार गर्न सकिन्छ । ल्याण्ड स्टेशनबाट पैदलमा करिब पाँच/सात मिनेटमा पुनः वारिको स्टेशनमा आउन सकिन्छ ।

२ लाख पुग्यो डिशहोम फाइबरनेटका प्रयोगकर्ता

काठमाडौं । डिशहोम फाइबरनेटका प्रयोगकर्ता दुई लाख पुगेको छ । सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरिरहेको कम्पनीको फाइबर नेट प्रयोगकर्ता दुई लाख पुगेको हो । देशभर उच्च गतिको इन्टरनेट सेवाको विस्तार सँगै ग्राहकहरु थपिन थालेको डिशहोम मिडिया प्रालिका प्रबन्ध निर्देशन सुदीप आचार्य बताउँछन् । ‘२ लाख भनेको एउटा नम्बर हो, हामी निरन्तर रुपमा ग्राहकलाई उच्च गतिको इन्टरनेट सेवा दिनेछौँ, ग्राहकलाई नै मध्यनजर गर्दै डिशहोम भन्ने ब्राण्डलाई अझै माथि लैजाने छौँ’, उनले भने । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले गत जेठदेखि सातै प्रदेशका मुख्य सहरमा फाइबरनेट विस्तार गरेको थियो । देशैभर सेवा विस्तारसँगै ग्राहकको संख्या थपिन थालेको कम्पनीले जनाएको छ । कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा समेत उपलब्ध गराउँदै आएको छ । कम्पनीले हाल डिशहोम फाइबरनेट प्रदेश नं १ को इनरुवा, इटहरी, धरान, विराटनगर, विर्तामोड, दमक, बाहुनडाँगी र काँकडभिट्टा, मधेश प्रदेशमा वीरगंज, कलैया, ढल्केबर, सर्लाही, बर्दिबास, जनकपुर र लाहानमा डिशहोम फाइबरनेट उपलब्ध छ भने बागमती प्रदेशको नारायणगढ, भरतपुर, हेटौंडा, ललितपुर, काठमाडौं,भक्तपुर, बनेपा र पनौतीमा उपलब्ध गराउँदै आएको छ । यस्तैगरी, गण्डकी प्रदेशमा हेम्जा, पोखरा, मझेरीपाटन, नवलपुर, गोरखा र गैँडाकोट, लुम्बिनी प्रदेशमा तुलसीपुर, नेपालगञ्ज, बाँके, दाङ, भैरहवा, बुटवल र तानसेनमा डिसहोमको फाइबरनेट उपलब्ध छ । यस्तै कर्णालीको सुर्खेत र सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर, अत्तरीया र धनगढीमा पनि फाइबरनेट सेवा पुगिसकेको कम्पनीले बताएको छ ।

सात वर्षसम्म पनि मर्मत भएन कालीकोटको विद्युत् आयोजना

कालीकोट । कालीकोटको सान्नीगाड जलविद्युत् आयोजना पहिराले क्षति पु¥याएको सात वर्षसम्ममा पनि मर्मत हुन सकेको छैन । विसं २०७२ असार २ को राति सान्नीगाड खोलामा आएको बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्याएको हो । जलविद्युत् आयोजनाको २०६५ सालदेखि सञ्चालनमा आएको थियो । विसं २०७२ को पहिरो क्षति पुर्याएको जलविद्युत् आयोजना करोड ३१ लाख रुपैयाँ लगानी गरी कुलो मर्मत गरिए पनि सञ्चालनमा नआउँदै २०७६ साउन २ मा पुनःपहिरो गएको थियो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र खाँडाचक्र नगरपालिकामा विद्युत् सेवा दिँदै आएको आयोजना बन्द भएपछि अहिले त्यहाका बस्ती विद्युत सेवाविहीन बनेका छन् । बिद्युत आयोजनाले दुई सय ५० किलोवाट विद्युत् उत्पादन गर्दै आएकोमा पहिराले क्षति पुर्याएपछि बन्द भएको नेपाल विद्युत् प्राविकरण कालीकोट वितरण केन्द्रका प्रमुख नारायण पौडेलले बताए । ‘पहिरो पन्छ्याएर आवश्यक मर्मत गरी उत्पादन थाल्न पुनः‘सर्भे रिपोर्ट’ र ‘लागत इस्टिमेट’सहित गत फागुनमा नेपाल विद्युत् प्राधिकरणमा पत्राचार गरिएको थियो’, उनले भने, ‘अहिलेसम्म त्यसको मर्मत तथा पुनःनिर्माणका लागि कुनै पहल भएको छैन ।’ सान्नीगाड जलविद्युत् आयोजना बन्द हुँदा त्यसको विकल्पका रुपमा २०७६ को कात्तिकदेखि विद्युत् वितरण केन्द्रले कालीकोटको खाडाँचक्र–३ ताडी बसपार्कमा जेनेरेटरमार्फत विद्युत् उत्पादन गरी झन्डै एक वर्ष सुविधा दिएको थियो । अहिले सदरमुकाम मान्ममा राष्ट्रिय प्रसारण लाइन पुगेका कारणले जेनेरेटर सेवा बन्द गरिएको केन्द्रका प्रमुख पौडेलले बताए । ‘सदरमुकाममा त राष्ट्रिय लाइन जोडिएको छ । अहिले यहीँबाट विद्युत् सेवा दिइरहेका छौँ’, उनले भने, ‘त्योसँगै ग्रामीण बस्तीमा विद्युतीकरण गर्ने कार्यक्रम भएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतमा ध्यान नगएको होला ।’ जिल्ला सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जोडिएको भए पनि ग्रामीण बस्तीमा विद्युत्को पहुँच नभएकाले सान्नीगाड जलविद्युत् आयोजना मर्मतका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा गएर नै आफूले माग गरेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन केसीले जानकारी दिए । ‘विद्युत्गृहसम्म पुग्ने कुलो र मेसिन मर्मतको आवश्यकता रहेको छ’, उनले भने, ‘क्षमता विस्तारका लागि हामीले पहल थालेका छौँ ।’ रासस

द ब्रिटिस कलेजले पुनः ‘हल्ट प्राइज’ आयोजना गर्दै

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले यस पटक पनि ‘हल्ट प्राइज’को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको ब्रिटिस कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो । हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उदेश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीहरूले आफ्ना सृजनात्मक विचारहरू निर्णायक मण्डलमाझ प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ । यस कार्यक्रममा मुख्यतः चार चरणहरू हुनेछन । जसमा अन–क्याम्पस, क्षेत्रीय, ग्लोबल एक्सेलेरेटर र ग्लोबल फाइनल रहेका छन् । यी चरणहरु पार गरेपछि निर्णायकहरुले विजेताको घोषणा गर्नेछन् । विजेताले लगानीको लागि १ मिलियन डलर प्राप्त गर्नेछन् । हल्ट प्राइज संयुक्त राष्ट्र संघमा आधारित कार्यक्रम हो जुन हरेक वर्ष विश्वविद्यालयस्तरका विद्यार्थीहरूका लागि दिगो विकास लक्ष्यहरू आधारित विभिन्न विषयवस्तुहरूका लागि १२० देशहरूमा आयोजना हुँदै आएको छ । यस वर्षको विषय भने ‘रिडिजाइनिङ फेसन’ रहेको छ। यसअघि हल्ट प्राइज फाउन्डेसनद्वारा केन्याको नैरोबीमा आयोजना भएको ‘सेन्ट्रल साउथ एशिया प्रोग्राम अफ द इयर’ कार्यक्रमको लागि ब्रिटिस कलेजले ग्रिशम तिवारी र सन्दीप यादवलाई छनोट गरि सहभागी हुन पठाएको थियो । द ब्रिटिस कलेज २०२२–२०२३ को हल्ट प्राइजका लागि प्रज्वलिता विष्ट यस वर्षको पहिलो महिला क्याम्पस निर्देशकमा नियुक्त भएकी छन्। उनीसँग दुई डीसीडी, सन्दीप यादव र सुजित ज्ञवालीसहित २० जना आयोजक समितिका सदस्यहरु रहेका छन् । समितिले कार्यक्रमको तयारी थालिसकेका छन् । तयारीस्वरुप भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा सेन्ट जेभियर्स स्कूलका पूर्व विद्यार्थीहरूसँग यौन दुव्र्यवहारको शिकार भएका बालबालिकाहरूको हेरचाह गर्ने एनजीओलाई सामग्री प्रदान गर्ने उदेश्यले आर्थिक संकलनमा सहभागीता जनाएको थियो । साथै, सेप्टेम्बर २७ मा विष्टको अध्यक्षतामा बसेको बैठकले आगामी कार्यक्रमको बारेमा समेत छलफल गरि निर्णय समेत गरेको छ । निर्देशक विष्टका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक टीबीसीका विद्यार्थीहरुले नोभेम्बरको मध्यसम्म आवेदन दिन सक्नेछन् । इच्छुक सहभागीहरूले तीन देखि पाँच सदस्यहरूको टोली बनाउन सक्नेछन् । टोलीका सदस्यहरु एउटै विश्वविद्यालयको हुनुपर्ने छ तथापी एक जना सदस्य भने अर्को संस्थाको हुनसक्नेछन् ।

कालिगण्डकीमा र्याफ्टिङ शुरु भएसँगै बढे आन्तरिक पर्यटक

काठमाडौं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटकसमेत बढेका हुन् । कोभिड १९ का कारण करिव दुई वर्ष थलिएको पर्यटनलाई तङ्ग्राउन र्याफ्टिङले आकर्षित गरेको रानीमहल घुम्न पुगेका पर्यटक सरस्वती शर्मा र विष्णु पौडेल बताउँछन् । उनीहरुले पछिल्लो समय कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय बिस्तारै उठ्न थालेको र आम नागरिकहरु पनि यस्ता रोचक स्थानको भ्रमण गर्न मन पराउने गरेको जानकारी दिए । शर्माले रानीमहल मात्रे भनेर घुम्न गएपनि र्याफ्टिङ रहेको थाहा पाएपछि र्यायाफ्टिङ चढेको बताइन् । नेपाललाई नै राम्रोसँग चिन्ने हो भने रमाइलो मनाउनका लागि विदेश गइरहनु नपर्ने पौडेलको भनाइ थियो । रानीमहलको बायाँबाट बग्ने पवित्र कालिगण्डकीमा दैनिक सयौंको संख्यामा स्थानियदेखि वाह्य पर्यटक र्यायाफ्टिङको मज्जा लिन आउने गरेका छन् । हाल रानीमहलको परिसरदेखि पुलसम्म एक किलोमिटर जलयात्रा शुरु भएको पाल्पाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी बताउँछिन् । गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका,पाल्पाको बगनासकाली गाउँपालिका र तानसेन नगरपालिकाले संयुक्त गुरुयोजना निर्माण गरी रुरु क्षेत्रधाम रिडिदेखि राम्दीसम्म करिव २५ किलोमिटर जलयात्रा सञ्चालनमा ल्याउने तयारी थालेको जानकारी गराइन् । उनले जिल्लाको सम्रग पर्यटन विकासको लागि जलपर्यटनप्रति पर्यटकको आकर्षण बढाउन दुई जिल्लाका तीन वटै पालिकाबीच आपसी समन्वय,छलफल र सहकार्यमा जुटेको बताइन् । जल यात्रामा रमाउन लाखौं रुपैयाँ खर्चिएर नेपालीहरु विदेशमा जानुपर्ने बाध्यता बनिरहेका बेला स्वदेशमा नै शुरु भएको र्याफ्टिङप्रति वाह्य पर्यटकको आकर्षण बढाउनसकेको खण्डमा विदेशी मुद्राको आर्जन हुनुका साथै नेपालको पर्यटनसमेत उकासिने पर्याप्त आधार देखिन्छ ।

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताए । लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका विरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ । समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रुप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ ।