७६.८४ प्रतिशत लाभांश वितरण गर्ने जाल्पा लघुवित्तको घोषणा
काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
एभरेष्ट बैंकको लाभांश घोषणा
काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको शुक्रबार, कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्नेछन् ।
दैलेखमा छात्रवृत्तिले बालबालिकाको पढाइ नियमित
दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ निवासी हिमा विक सानै छँदा उनका बुवाको मृत्यु भयो । परिवारमा कमाइकाज गर्ने अभिभावक नभएपछि उनलाई आर्थिक समस्या थपियो । तर पनि आमाले जेनतेन गाईभैँसी पालेर घरखर्चको जोहो गरे । हिमा माथिल्लो कक्षामा पढ्न थालिन्, तब उनलाई कापी, किताब र पढाइ खर्च अभाव हुन थाल्यो । यतिसम्मकि उनलाई अर्थाभावकै कारण आफ्नो पढाइ छुट्ने चिन्ताले सताउन थाल्यो । अर्थाभावकै कारण हिमा विद्यालय छाड्ने निर्णयमा पुगिन् । त्यतिबेला उनी ८ कक्षामा पढ्दै थिइन् । उनकी आमा तुलसी विक भन्छिन्, ‘घरमा हामी आमाछोरीमात्रै छौँ, कमाउने मान्छे नहुँदा घरखर्च चालाउनै मुस्किल छ । विद्यालय पोशाक र किताब किन्ने पैसा नहुँदा छोरीले स्कुल नै छाड्ने अवस्था आयो, गरिबलाई त पढ्न पनि सजिलो रहेनछ ।’ तर अर्थावस्थाका कारण समस्या परेकी हिमाले अहिले छात्रवृत्ति पाउन थालेकी छिन् । छात्रवृत्तिले गर्दा हिमाको पढाइ पनि नियमित भएको छ । गुराँस गाउँपालिकामा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा लागू भएको ‘जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम’मार्फत सामाजिक सेवा केन्द्र सोसेक नेपालले छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । संस्थाको पहलमा छोरीको पढाइ नियमित भएपछि हिजोआज तुलसीको अनुहारमा खुसी छाएको छ । ‘हामी गरिबको कोही छैनन् भन्ने लाग्थ्यो’, उनी भन्छिन्, ‘छोरीको नाममा गाउँपालिका र सोसेकले २५ हजार रुपैयाँ रकम जम्मा गरिदिएको रहेछ, त्यही पैसाको ब्याजबाट अहिले छोरीको पढाइ खर्च टरेको छु, उनी अहिले १० कक्षा पढ्दै छिन् । हिमामात्रै होइन, गुराँस गाउँपालिका–४ रिठ्ठाका प्रेम मल्ल र देवीसरा मल्लका आमाबुवा दुवै छैनन् । उनीहरु अहिले हजुरआमाको संरक्षणमा छन् । उनीहरूलाई पनि पढाइ खर्च जुटाउन हम्मेहम्मे थियो । शिक्षामा लाग्ने सबै खर्च जुटाउने माध्यम केही थिएन । अनि जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रममार्फत प्रेम र देवीसरा पनि छात्रवृत्तिका लागि छनोटमा परे । सहकारीमा जम्मा भएको २५–२५ हजार रकमबाट आउने ब्याजले हिजोआज उनीहरुको पढाइ खर्च जुटेको छ । अर्थाभावकै कारण पढाइ पूरा गर्न सकिन्न कि भन्ने चिन्ता अहिले हटेको छ । प्रेम अहिले १० कक्षामा पढ्छन् भने देवीसरा ८ कक्षामा पढ्दै छन् । उनी भन्छन्, ‘देख्दा सानो रकम लाग्ला, तर यसले हाम्रो पढाइ नियमत भएको छ ।’ आफूहरूको २५ हजार रकम सहकारीमा जम्मा भइरहेको जनाउँदै उमेरले २० वर्ष पुगेपछि उक्त रकम पाउने प्रेम बताउँछन् । गुराँस गाउँपालिकाले विसं २०७६ मा ल्याएको जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । हाल गाउँपालिकाका आठवटै वडाका सात सय ६७ जना जोखिम तथा असहाय बालबालिका यो कार्यक्रमबाट लाभान्वित भएका छन् । जसमध्ये तीन सय ८७ बालिका र तीन सय ८० बालक रहेको सोसेक नेपालका बाल संरक्षण संयोजक निर्मल अधिकारीले जानकारी दिए । बालविवाह न्यूनीकरणमा सहयोगी जोखिम बालबालिकासँग अध्यक्ष कार्यक्रम गाउँपालिकाका तत्कालिन अध्यक्ष खेमराज ओलीले कार्यान्वयनमा ल्याएका थिए । उक्त कार्यक्रमबाट दुईवटा उद्देश्य राखिएको जनाइएको छ । उनी भन्छन्, ‘यो कार्यक्रम दुई उद्देश्य राखेर हामीले ल्याएका थियौँ, पहिलो आमाबुवा नभएका, जोखिममा रहेका बालबालिका अर्थाभावकै कारण शिक्षाबाट बञ्चित नहुन् भन्ने थियो भने अर्को भने बालविवाह न्यूनीकरण गर्नु थियो ।’ कार्यविधि नै तयार गरेर गाउँपालिकाको तर्फबाट १५ हजार रुपैयाँ, सेभ द चिल्ड्रेन र सोसेक नेपालको सहयात्रा कार्यक्रमबाट १० हजार रुपैयाँ गरी एक बाबालिकाको नाममा २५ हजार रुपैयाँ रकम सहकारीमा जम्मा गर्ने गरिएको छ । उक्त रकमबाट आएको ब्याज ती बालबालिकाको शिक्षाका लागि दिइने गरिएको छ । बाँकी सावाँ रकम बालबालिका २० वर्ष भएपछि मात्रै दिइने कार्यविधिमा उल्लेख छ । २० वर्ष नहुँदै उक्त बालक अथवा बालिकाले विवाह गरेको खण्डमा त्यो रकम नदिइने शर्त राखिएको छ । गुराँस कृषि लघुवित्त सहकारीका अध्यक्ष जगत बिसीले कार्यक्रमले बालविवाह न्यूनीकरण गर्न सहयोग मिलेको जानकारी दिए । उनका अनुसार बालबालिकाको उक्त रकम सस्तो ब्याजदरमा उद्यमीलाई लगानी गर्ने गरिएको छ । उनी भन्छन्, ‘बालबालिकाका लागि दिइने रकम हाम्रो सहकारीमा जम्मा गरिदिएका छौँ, हामी बालबालिकालाई वार्षिक १२ प्रतिशत ब्याज दिन्छौँ । उक्त रकम विभिन्न उद्यमी गर्नेले ऋण लिन्छन्, एकातिर बालबालिको शिक्षामा पनि पहुँच बढेको छ भने अर्कातिर उद्यम गर्नेहरू पनि बढेका छन् ।’ यो कार्यक्रमले बालविवाहसमेत न्यूनीकरणमा सघाउ पुगेको उनको भनाइ छ ।
काठमाडौंका चर्चित वडाअध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार जरिवाना
काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएपछि आयोगले जरिवाना गर्ने निर्णय गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो । रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।
निर्जीवन बीमा कम्पनीको नाफा कोरोना बीमाले खाने, दुई वर्ष सेयरधनीको हात खाली
काठमाडौं । लामो समयसम्म रोकिएको कोरोना बीमाको दावी भुक्तानीको प्रकृया शुरु हुने भएको छ । अर्थमन्त्रालयले रकम निकासा गरेसँगै बीमितहरुलाई पहिलो चरणमा एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने भएको हो । सरकार, बीमा समिति, बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी मिलेर तत्काल सो मात्राको रकम बीमितहरुलाई वितरण गर्न लागेका हुन् । जसमा सरकारको ५५ प्रतिशत, बीमा समितिको ८ प्रतिशत, बीमा कम्पनीहरुको २५ प्रतिशत र बाँकी १२ प्रतिशत नेपाल रिको गरी कूल एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी गरिने मोडालिटी तयार भएको छ । यसरी भुक्तानी गर्दा सबैभन्दा बढी मर्का नेपाल पुनर्बीमा कम्पनीलाई असर पर्ने देखिन्छ । त्यस्तै, सरकारले आफ्नो दायित्वअनुसारको रकम एकैपटक निकासा नगरिदिँदा बीमा कम्पनीहरुलाई पनि मर्का पर्ने बीमाका जानकारहरु बताउँछन् । सरकारले एक अर्ब रुपैयाँ मात्रै निकासा गरेर जिस्काएको एक कम्पनीका डीसीईओले विकासन्युजसँग बताए । ‘सरकारले जिस्कायो, थोरै रकम निकासा गरेर बीमा क्षेत्रको विश्वास गुमाउने काम गर्यो’ उनले भने- ‘अब कम्पनीले थप्नु पर्ने भएपछि नाफाबाट थप्छन्, नाफाबाट प्रोभिजन प्रर्याप्त रकम राखेका कम्पनीलाई फरक पर्दैन तर प्रोभिजन नगराखेका कम्पनीलाई सोझै असर पर्छ, त्योभन्दा बढी मर्का त मर्जमा गएका कम्पनीलाई पर्छ ।’ उनका अनुसार मर्जमा गई एकीकृत कारोबार गरिसकेका कम्पनीले दुबै कम्पनीको तिर्नुपर्ने भएकाले उक्त कम्पनीलाई बढी असर पर्नेछ । कोरोनाको दावी भुक्तानीको लागि सरकारले रकम दिन्छु भनी प्रतिवद्धता गरेकोले कम्पनीहरुले कोरोना बीमाको पैसा प्रोभिजन नगरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) कमल गौतम बताउँछन् । साथै, आफ्नो प्रतिवद्धता अनुसार सरकार अघि नबढ्दा कम्पनीहरुलाई असर पर्ने उनको भनाई छ । ‘नसोचेको ठुलै पैसा तिर्नुपर्ने भएपछि कम्पनीहरुमा सोझै नकारात्मक असर गर्छ, नाफा घट्छ,’ गौतमले भने । ‘नेपाल सरकार टाट पल्टेको हो की के हो, तिर्छु भनेर प्रतिवद्धता गरेको रकम तिर्नुपर्ने हो, तिरेन सरकारले नै त्यस्तो गरेपछि अरु कम्पनीको हालत के हुने हो ?’ अर्को कम्पनीका डीसीईओले विकासन्युजसँग भने । हालै दुई कम्पनी मर्ज भई एकीकृत कारोबार शुरु गरेको सानिमा जीआईसीका (साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स) सीईओ सुद्युम्न उपाध्यायले भने कोरोना बीमाको रकम थप्दा कम्पनीलाई कति असर पर्छ भन्नेमा एकिन नभएको बताएका छन् । मर्जरमा गएका कम्पनीको हकमा के हुन्छ भन्ने विषयमा आइतबार हुने बीमक संघसँगको बैठकमा छलफल गरिने उनले बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि कोरोना दावी भुक्तानीले कम्पनीको नाफामा असर पर्ने बताए । तर नाफामा जति नै असर गरेपनि जनताले पाउने रकम पाए भने त्यहि नै ठूलो हुने उनको भनाई छ । ‘कम्पनीको नाफामा असर त गरिहाल्छ, त्योभन्दा पनि बीमितले पाउने रकम पाए भने त्यहि नै ठूलो हुन्छ, नाफा घाटा भन्या बिजनेसमा भइहाल्छ,’ क्षेत्रीले भने । लामो समयसम्म कोरोना बीमाको दावी भुक्तानी नहुँदा निर्जीवन बीमा क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । कारोना बीमा मापदण्ड, २०७७ अनुसार सरकारले आफ्नो दायित्व अनुसारको रकम निकासा नगर्दा यो क्षेत्रमा असर परेको क्षेत्री बताउँछन् । ‘कोरोना बीमाले बीमा क्षेत्रमा धेरै विकृति ल्यायो, सरकारले आफ्नो दायित्वअनुसार फटाफट सेटलमेन्ट गरिदिएको भए अहिले निर्जीवन कम्पनीहरुको बिजनेस छिट्टै बुम भइसक्थ्यो,’ उनले बताए । साथै, उनले बीमा समितिसँगै सबै कम्पनीहरुको धारणा जसरी हुन्छ यसलाई सक्दो चाडो सल्टाउनु रहेको बताए । जसको लागि सरकारको सहयोगको खाँचो परेको उनको भनाई छ । कारोना बीमाका बीमितलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेकोमा अर्थमन्त्रालयले हाल एक अर्ब रुपैयाँ निकासा गरेको हो । त्यसमा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र सबै कम्पनीहरुले थपेको रकम सहित एक अर्ब ८१ करोड रुपैयाँ भुक्तानी हुने छ । त्यसपछि बाँकी रहेको ९ अर्ब रुपैयाँ बढी भुक्तानी हुन बाँकी रहन्छ । बाँकी रकमको भुक्तानी गर्दा पनि बीमा कम्पनीहरुले करिव दुई आर्थिक वर्षको नाफा गुमाउनुपर्नेछ । परिणाम दुई आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीकाे लगानीकर्ताकाे हात खाली हुने भएकाे छ । भुक्तानीमा कसरी अघि बढ्ने भन्ने विषयमा पनि मन्त्रालयस्तरबाटै मोडालिटी तय भइसकेको छ । जसमा व्यक्तिगत बीमितलाई पहिलो प्राथमिकता दिइने छ । त्यसमध्ये पनि फर्ष्ट कम फर्ष्ट सर्भिसको आधारमा अर्थात शुरुमा दावी गर्ने बीमितलाई शुरुमै भुक्तानी गरिने छ । र, त्यसपछि निजामती कर्मचारी र संघ संस्थाका कर्मचारीलाई भुक्तानी गरिने बताइएको छ ।
पर्यटनको उत्कृष्ट गन्तब्य ‘टिकापुर पार्क’
कैलाली । दशैं–तिहारपछि कैलालीको टीकापुर उद्यान पार्क पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज पिकनिक खान आउने बढी भरिन्छन् । यसका साथै देशका विभिन्न जिल्लाका आन्तरिक पर्यटक एकपटक घुम्नैपर्ने ठाउँ भन्दै पार्क हेर्न आउने गर्दछन् । आजभोलि पार्कमा दैनिक एक हजारदेखि तीन हजारसम्म पर्कटक पुग्ने गरेका छन् । पार्कमा देशका अधिकांश जिल्लाका मानिस पुग्छन् । पार्कमा पूर्व झापासम्मका पर्यटक आउने गर्दछन् । झापाबाट पार्क घुम्न आएका सुभाष शर्माको परिवारले पार्क निकै रमाइलो मानेको बताए । ‘तिहारमा जम्मा भएका परिवार घुम्न भनेर आएका हौँ, टीकापुर पार्क र कर्णाली पुल चिसापानी हेर्नकै लागि यहाँ पुगेका हौँ’, उनले भने, ‘पार्कमा पुगेपछि स्व राजा महेन्द्र बसेको आवास पनि हेर्यौँ, पार्क किनारमा कर्णाली बगिरहेको रहेछ, यहाँ पुगेपछि शान्त महसुस हुनुका साथै रमाइलो भयो ।’ कपिलवस्तुको चन्द्रौटका हरिप्रसाद सुवेदीको परिवार पनि पार्कमा रमाएका थिए । ‘कति रमाइलो ठाउँ रहेछ, राज्य सञ्चालन भएको यो ठाउँ त्यत्तिकै शान्त र सुन्दर रहेछ’, उनले भने, ‘राजा बसेकोे घरभित्र अवलोकन गर्न पाउनुपर्ने थियो, गर्न पाइएन । साथै घरहरू रङ्गरोगन गरेको भए हुन्थ्यो ।’ नेपालगञ्जबाट कृष्ण रानासहित ४० जनाको समूह पिकनिक खान आएको थियो । उनीहरूले पार्कमै पकाउने खाने गरे । पार्कमा पकाएर खानेहरू त्यही नाचगान गर्ने, फोटो खिच्ने र रमाइलो गर्ने गर्दछन् । यसका साथै कर्णाली नदीमा र्याफ्टिङको आनन्द लिएर फर्कन्छन् । निशा उखेडा र उनका ४५ साथी कञ्चनपुरको बेल्झाडीबाट पार्क घुम्न आएकी थिइन् । उनीहरूले पार्कमा अलौकिक आनन्द मिलेको महसुस भएको बताए । ‘स्वर्गजस्तै लाग्यो, शान्त वातावरणमा चिरबिर चराको आवाज, कलकल कर्णाली बगेको आवाज, चिटिक्क सजाएका घर, फूल बगैँचा देख्दा छुट्टै आनन्द लाग्यो’, उखेडाले भनिन्, ‘त्यसैमाथि र्याफ्टिङको आनन्द । धेरै साथीको यात्रामा टाउको दुखेको थियो, यहाँ पुगेपछि सञ्चो भयो ।’ बाँके जिल्लाको बासगढीका रामबहादुर चौधरी सिराहा र सप्तरीबाट आएका सम्धी–सम्धिनी घुमाउन पार्क आए । उनीहरूले दिनभरि पार्कमा रमाइलो गरे । ‘पार्क सुन्दर छ । उनीहरूलाई घुमाउनकै लागि यहाँ ल्याएको हुँ’, रामबहादुर भन्छन्, ‘पार्कमा रहेका रेलिङ मर्मत आवश्यक छ, बगैँचामा फूल थप्न आवश्यक छ, पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ स्थानीय भुवनेश्वर अधिकारी पार्कको विकासमा सबैको ध्यान जानुपर्ने बताउँछन् । ‘पार्कमा भीड हेर्दा रमाइलो लाग्छ, फर्कँदा पीडा हुन्छ’, उनी भन्छन्, ‘पार्कमा पूर्वाधार विकास गर्न सकिएन, गेट हेर्दा राम्रो छ तर भित्र सरसफाइलगायतका कार्यमा पछाडि छौँ । राजनीतिक दलले पनि पार्क विकासमा ध्यान दिएको देखिँदैन ।[‘ गुलाबको बगैँचा भनेर चिनिने टीकापुर पार्कमा यतिखेर स्थानीय तथा बाह्य पर्यटक भरिभराउ भएका छन् । दसैँ–तिहारपछि टीकापुर पार्कमा दैनिक सयौँ नागरिक पिकनिक खान र घुम्न आउने गरेका छन् । पार्कमा आउनेहरू पार्कमा पकाउने खाने, नाचगान गर्ने, फोटो खिच्ने र बेलुका घर फर्कने गर्दछन् । कतिपय नागरिक पार्क हेर्नकै लागि यहाँ पुग्छन् । शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमी–बेमौसमी फूलहरू टीकापुर पार्कका आकर्षण हुन् । मुटुरोगबाट पीडित भएका राजा महेन्द्रले विसं २०२४ मा टीकापुरमा आएर करिब डेढ महिना शयन गरेका थिए । टीकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौँ फररकेका र टीकापुर क्षेत्रमा सहर विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन उनले निर्देशन दिएको स्थानीय बताउँछन् । विसं २०२८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गत टीकापुर विकास समिति स्थापना गरी तीन हजार एक सय ७३ बिघा जमिन दिएर सहर विकास गर्ने अधिकार सरकारले दिएको थियो । लाखौँ लगानी भएका र करोडौँ खर्च भइसकेका यी पूर्वाधार टीकापुर विकास समिति हटेपछि नगरपालिकाको स्वामित्वमा छन् । त्यतिखेर विकास समितिले आफूसँग भएको जग्गा घडेरीका रूपमा बिक्री गर्दै पार्क संरक्षणका लागि खर्च जुटाउँदै आएको थियो । विकास समिति हटेपछि विसं २०६४ मङ्सिर ५ गतेबाट पार्क नगरपालिकाको स्वामित्वमा आएको हो । नगरपालिकाको स्वामित्वमा गएपछि बजेटको अभावमा लगानी भने सोचेजति हुनसकेको छैन । टीकापुर बजारबाट चार किलोमिटर टाढा कर्णाली नदी किनारमा पार्क छ । पार्क ८५ बिघा क्षेत्रफलमा फैलिएको छ जसमध्येको बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ । टीकापुर विकास समितिले नै पार्क क्षेत्रमा महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यानलगायत करोडौँ रुपैयाँ लागतका पूर्वाधार खडा गरेको हो । पार्कमा बनाइएको काठका रेलिङ कुहिनु र भत्किनुका साथै आरोग्य गृह र विश्राम बाटिका पनि जीर्ण हुँदै गएपछि हरेक वर्ष नगरपालिकाले मर्मत गर्दै आएको छ । करिब चार दशकसम्म टीकापुर विकास समितिको सहयोगमा चलेको टीकापुर बृहत् उद्यान नगरपालिकाले सञ्चालन गरेपछि पार्कको गेट निर्माण, टिकट काउण्टर, पिकनिकस्थल बस्ने चौतारीलगायतका केही पूर्वाधार बने तर, बजेट अभावमा ठूला पूर्वाधार र लगानी भने गर्न सकेको देखिएन । प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाही पार्क व्यवस्थापनमा असुविधा नहोस् भनी टीकापुर नगरपालिका लागिरहेको बताउँछन् । ‘पूर्वाधार निर्माणमा प्रयासरत छौँ, पार्क हाम्रो गौरव मात्र होइन पहिचान पनि हो । पूर्वाधार विकास गर्दै लैजाने हो’, शाहीले भने, ‘गत वर्ष महेन्द्र आरोग्य गृह पुनःनिर्माण गर्याैँ, यस वर्ष ऐश्वर्य उद्यान पुनःनिर्माण हुन्छ ।’ उनी पार्क प्रदेश, सङ्घको पनि गौरव भएकाले पार्कमा सङ्घ, प्रदेशको पनि सहयोग हुनुपर्ने बताउँछन् । ‘सबैले सहयोग गरुन् भनी नगरपालिका लागिरहेको छ’, उनले भने, ‘लगानी भएमा पार्कलाई थप व्यवस्थित गर्न सकिन्छ ।’ रासस
कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा एकै दिन ५ हजार पर्यटक पुगे
तनहुँ । सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात बिताएका छन् भने शनिबार बिहानैदेखि पर्यटकको भीड बढेको स्थानीय युवा अनिल अधिकारीले जानकारी दिए । ‘यस वर्षको सबैभन्दा बढी भीड आज भएको छ, पाँच हजारभन्दा बढीको उपस्थिति छ’, उनले भने, ‘आन्तरिक पर्यटकको आगमनले सवारी व्यवस्थापनमा समस्या भएको थियो ।’ व्यास नगरपालिका–२ निवासी कृष्णचन्द्र पाण्डेले मानुङकोटले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याएको बताए । ‘सूर्यास्त, सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि जिल्ला तथा जिल्ला बाहिर आन्तरिक पर्यटक यहाँ आइपुग्छन्, यसले गर्दा यहाँको होटल व्यवसाय पनि फस्टाएको छ’, उनले भने, ‘हामीले पनि एकरात मानुङकोटमा बिताएर सूर्योदय हेर्यौँ ।’ केही दिनयता मानुङकोटमा सञ्चालित होटल आन्तरिक पाहुनाले भरिएका छन् । होटल भ्यू मानुङका सञ्चालक चुडामणि दाहालले मानुङकोटमा पर्यटकको आकर्षण बढेको बताए । चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न मानुङकोटमा पर्यटक बढेका छन् । चिसो मौसममा कुहिराले दमौली बजारलाई ढपक्क ढाकेको छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमशृङ्खला । पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको मानुङकोटमा पर्यटकको चहलपहल बढ्न थालेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । मानुङकोटबाट कुहिरो, सूर्योदय र हिमालको मनोरम शृङ्खला देखिने भएकाले पर्यटकको चहलपहल बढेको उनको भनाइ छ । मानुङकोटबाट धवलागिरि, माछापुछ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । जाडो मौसम भएको र मानुङकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै यहाँ पुग्ने गरेका छन् । दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ । मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । खानेपानीको अभावमा यहाँका स्थानीयवासीले गाउँ छाडेका थिए । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ । खानेपानीको अभावमा विसं २०५२ मा मानुङकोट छाडेकी वसन्ती थापाले अहिले मानुङकोटमै होटल सञ्चालन गर्दै आएकी छिन् । मानुङकोटमा पर्यटकको चहलपहल बढेकाले दमौली छाडेर पुनः मानुङकोट उक्लिएको उनले बताए । रासस
करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले करका दरहरू परिवर्तन गरेकोबारे गण्डकी प्रदेश सरकारलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरू परिवर्तन गरेको देखिएको भन्दै स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २०७९/०६/२७ गतेको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनको सम्मुखमा आचारसंहिता लागू रहेको अवस्थामा यसप्रकारबाट करको दरमा छुट दिने जस्ता नीतिगत निर्णय गरी कार्यान्वयन गर्दा निर्वाचनको स्वच्छता र निष्पक्षतालाई असर पर्नुको साथै सो कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख)को विपरीतसमेत देखिएको पत्रमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारबाट करका दरहरूमा हेरफेर गर्ने गरी भएको निर्णय निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९२० बमोजिम २४ घण्टाभित्र बदर गरी सोको जानकारी यथाशक्य चाँडो निर्वाचन आयोगमा उपलब्ध गराउन’ निर्देशन दिइएको आयोगले जनाएको छ । आयोगले करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को खण्ड (ख) को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम निजहरूलाई कारबाही किन हुनु नपर्ने हो ? आफ्नो तर्फबाट २४ घण्टाभित्र छुट्टाछुट्टै स्पष्टीकरण पेश गर्न’ निर्देशन दिइएको छ ।