विकासन्युज

भटमास खेतीबाट तीन लाख ५० हजार आम्दानी गर्दै कञ्चनपुरका किसान

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव डेढ लाख रुपैयाँ आम्दानी गरे । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । थोरै मिहिनेतमा धेरै आम्दानी हुने भएकाले भटमास खेतीलाई निरन्तरता दिदै आएको घिमिरेले बताए । भारतको पन्तनगरबाट भटमासको बीउ ल्याएर यस क्षेत्रका किसानले भटमास खेती गर्दै आएका छन् । ‘भटमास खेतीका लागि माटो उयुक्त छ’ अर्का किसान महेश घिमिरेले भने, ‘आधुनिक तरिकाले भटमास खेती गर्नका लागि किसानलाई तालिमको आवश्यकता छ, किसानको क्षमता वृद्धि भए उत्पादन बढाउन सकिन्छ ।’ उनका अनुसार दोधारा चाँदनी भटमास खेतीको हवका रुपमा विकसित भैरहेको छ । यहाँ उत्पादन हुने भटमास नेपालगञ्ज र धनगढीका व्यापारीले खरिद गरेर लैजाने गरेका छन् । भटमास खेतीमा सम्लग्न किसान दीपक सापकोटाका अनुसार यो खेती गर्दा त्यतिधेरै सिचाईको आवश्यकता पर्दैन । ‘गाईबस्तुले भटमासका विरुवा खादैनन्’ उनले भने, ‘छाडा चौपायाले खाने समस्या हुदैन, थोरै गोडमेलले पुग्छ, थोरै परिश्रममा धेरै उत्पादन हुनाका साथै मनग्य आम्दानी पनि यस खेतीबाट लिन सकिन्छ ।’ तीन वर्षदेखि भटमास खेती गर्दै आएका सापकोटाले प्रति वर्ष दुई लाख रुपैयाँ भन्दा बढीको भटमास बिक्री गर्दै आएका छन् । ‘भटमास खेती पहाडी क्षेत्रमा मात्रै हुने गरेको थियो’ दोधाराकै किसान हरिनारायण तिवारीले भने, ‘निकटबर्ती क्षेत्रका भारतीयहरुले भटमास खेती गरेको देख्यौँं र त्यसकै अनुसरण गर्दै परीक्षणका रुपमा खेती गर्न लाग्यौँ, उत्पादन राम्रो भएपछि यसलाई निरन्तरता दिदै आएका छौँ ।’ दोधारा चाँदनीमा करिव सय बिघा जग्गामा भटमास खेती हुने गरेको छ । भटमास काट्न र चुटनका लागि स्थानीय किसानले उपकरणको प्रयोग गर्ने गरेका छन् । फल र पातमा रोग किराको प्रकोप देखिने भएकाले तीनदेखि चार पटकसम्म बिषादी छर्कनु पर्ने अबस्था रहेको किसान तिवारीले बताए । रोग तथा किरा रोकथामका लागि सल्लाह र सुझाव लिन भारतीय प्राविधिकको भर पर्नुपर्ने उनको भनाइ थियो । भटमासबाट तेल र सोयाविन बन्ने गरेको छ । भटमास प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । भटमास खेतीमा सम्लग्न किसानले सुदूरपश्चिम क्षेत्रमै भटमासबाट सोयाविन र तेल निकाल्ने उद्योगको माग गर्दै आएका छन् भटमासलाई बहुउपयोगी कोशेवालीका रुपमा लिइने गरिन्छ । घरमा भटमासको गेडा भुटेर, अचार बनाएर, उसिनेर खाने गर्नाका साथै दालका रुपमा प्रयोग गरिँदै आइएको छ । कृषि प्राविधिक करन सिंह बुढाऐरका अनुसार भटमासबाली काटिसकेपछि गहुँ बाली लगाउदा युरिया मलको मात्रा कमै मात्र प्रयोग गर्दा हुन्छ । भटमासको जरामा नाइट्रोजन प्रर्याप्त मात्रामा हुने भएकाले रासायनिक मलको मात्रा कम गरे पुग्ने उनले बताए । ‘मकैसँंगै भटमास खेतीगर्दा छुट्टै मल आवश्यक पर्दैन’ प्राविधिक बुढाएरले भने, ‘एक्लो बालीका रुपमा लगाउँदा भने मल प्रयाग गर्नुपर्दछ ।’ भटमास खेतीका लागि पानी नजम्ने दोमट किसिमको माटो आवश्यक पर्दछ । समुन्द्री सतहको पाँच सय मिटरदेखि दुई हजार मिटरको उचाईसम्म भटमास खेती गर्न सकिन्छ । रासस

चन्द्रागिरि नगरपालिकामा एक अर्ब बढीको लागानीमा खानेपानी आयोजना बन्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागिरी–१२ र १४ वडाबाट सुरुआत हुने र ११, १३ र १५ मा पनि सञ्चालन हुने जनाइएको छ । साथै निकट भविष्यमा नगरका बाँकी सबै वडामा आयोजना सञ्चालन हुने बताइएको छ । एसियाली विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्था विभागले चन्द्रागिरिका ती वडामा पहिलोपटक करिब एक अर्ब रुपैयाँभन्दा बढी लागतमा सो बृहत् खानेपानी तथा सरसफाइ आयोजना स्वीकृत गरेको हो । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले भने, ‘खानेपानी मन्त्रालयबाट सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना स्वीकृत भएको जानकारी नगरपालिकामा आइसकेको छ । नगरपालिकाका विभिन्न वडालाई सहज हुने सो बृहत् खानेपानी स्वीकृत भएसँगै अब यसलाई द्रुत कार्यान्वयनमा लैजान आवश्यक नीतिगत विषयहरू अगाडि बढाइसकेका छौँ ।’ यसका लागि नगरपालिकाले पहिलो चरणमा सम्बन्धित पक्षसँगको सर्वपक्षीय बैठक सम्पन्न गरिसकेको छ । उनका अनुसार अब एक महिनाभित्र नै उपभोक्ता समिति गठन भइ ‘सर्भे’ तथा ‘डिजाइन’को काम अगाडि बढ्ने छ । काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये र देशकै २० नगरपालिकामध्ये पहिलोपटक चन्द्रागिरिमा सो बृहत् खानेपानी आयोजना स्वीकृत भएको जनाइएको छ । आयोजनाका सामाजिक सुरक्षण विज्ञ समिर ढकालका अनुसार यो आयोजना दक्षिण एसियाकै नमूना योजनाभित्र पर्ने छ । उनले भने, ‘उपभोक्ता समिति गठन भइसकेपछि सर्भे तथा डिजाइनको काम अगाडि बढ्छ । एक वर्षभित्रमा सर्भे र डिजाइनको काम सकिन्छ र यसपछि काम अगाडि बढ्छ । आयोजना अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार सञ्चालनमा आउँछ ।’ नगरपालिकाले सो आयोजनालाई अगाडि बढाउन उच्च प्राथमिकतामा राखेको छ । यसका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गर्ने र दुई चरणमा सरोकार पक्षसँगको बैठकसमेत सम्पन्न गरेको छ । आयोजनाबाट जलवायु परिवर्तनका नकरात्मक असर कम गर्ने कार्य पनि हुनेछ । सुरक्षण विज्ञ ढकालले भने, ‘आयोजनाले निम्न वर्गका नगरवासीलाई धारा जडान र शौचालय निर्माणमा पनि अनुदान प्रदान गर्नेछ ।’ उनका अनुसार सन् २०२४ भित्रमा सो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘सबैका लागि खानेपानी र सरसफाइ’ भन्ने अवधारणाअनुसार आयोजनाले प्रत्येक घरमा निजी धारा जडान गरी प्रतिदिन प्रतिव्यक्ति एक सय ३५ लिटर राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ अनुसार वितरण गर्ने जनाइएको छ । अर्कोतर्फ सबै नगरवासीलाई खानेपानी र सरसफाइको आवश्यक पहुँच पुर्याउन नगरपालिकाले एकीकृत खानेपानी नीति कार्यान्वयनमा ल्याउने जनाएको छ । नगरप्रमुख गिरीले भने, ‘चन्द्रागिरिका खानेपानीका प्राकृतिक मुहान तथा भूमिगत स्रोत संरक्षणमा ध्यान दिएका छौँ ।’ उनले गत स्थानीय निर्वाचनमा ‘एक घर एक धारा’ आफ्ना अवधारणाअनुसार सबै नगरवासीलाई खानेपानीको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका थिए । आयोजना कार्यान्वयन गर्ने प्रतिबद्धता सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाले समेट्ने सम्बन्धित वडाका वडाध्यक्षले आयोजना कार्यान्वयनलाई उतार्न आवश्यक पर्ने नीतिगत तथा अन्य क्षेत्रहरूलाई सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेलले नगरपालिकाको गौरव र प्रतिष्ठासँग गाँसिएको खानेपानी आयोजना कार्यान्वयमा उतार्ने जानकारी दिए । उनले भने, ‘चन्द्रागिरि नगरको प्रतिष्ठासँग गाँसिएको बृहत् खानेपानी आयोजना कार्यान्वयनमा सहयोग हुन्छ । नगरवासीलाई खानेपानीको समस्या सम्बोधन गर्न उच्च प्राथमिकता दिएका छौँ ।’ चन्द्रागिरि–१२ का पूर्ववडाध्यक्ष प्रकाश श्रेष्ठले चन्द्रागिरि नगरपालिकामा सबैभन्दा बढी वडा नं १२ मा खानेपानीको समस्या रहेको जनाउँदै यसलाई सम्बोधन गर्न आफ्नो कार्यकालमा प्राथमिता दिएको बताए । वडा नं ११, १२, १३ र १४ का वडाध्यक्ष क्रमशः नरेन्द्रराज श्रेष्ठ, न्हुच्छेबहादुर महर्जन, श्रीकृष्ण खत्री र राजभाइ महर्जनले खानेपानीको समस्या सम्बोधन गर्न आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

माध्यमिक तह तृतिय श्रेणी पदको नतिजा सार्वजनिक, मधेसबाट सबै फेल

काठमाडौं । शिक्षक सेवा आयोग माध्यमिक तह तृतिय श्रेणीको नतिजा सार्वजनिक भएको छ । आयोगले ०७८/१२/१७ र ०७९/०३/११ गते लिएको लिखित परीक्षाको मंसिर १० गते शनिबार सूचना प्रकाशित गर्दै सो नतिजा प्रकाशन गरेको हो । जसमा प्रदेश १ मा २४, बागमती प्रदेशबाट २ जना, गण्डकी प्रदेशबाट ५ जना, लम्बिनी प्रदेशबाट जना, कर्णाली प्रदेशबाट ७ जना र सुदुरपश्चिम प्रदेशबाट १४ जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । तर, मधेस प्रदेशमा ८ जनाको लागि आवेदन खुलाइएकोमा एक जनाले पनि नाम निकाल्न सफल नभएको आयोगको सूचनामा उल्लेख गरिएको छ । लिखित परीक्षामा नाम निकालेका परीक्षार्थी मध्ये गणित र विज्ञान विषयको अन्तवार्ता यही मंसिर २८ गते सम्वन्धित प्रदेशमा पर्ने शिक्षा विकास निर्देशनालयमा हुने आयोगले सूचनामा उल्लेख गरेको छ । आयोगको सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश पारित

काठमाडौ‌ं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश पारित भएको छ । बैंकको चौथौं साधारणसभाले सेयरधनीको प्रस्तावित लाभांश पारित गरेको हो । बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ । आ।व, २०७८/७९ सम्म बैंकले  ३२ अर्ब ८९ रुपैयाँको कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड रुपैयाँ बरबरको कर्जा प्रवाह गरेको र  सोही अवधिमा बैंकले  १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालका साथै सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी,सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

प्रभु बैंक र मर्चेन्ट क्यापिटलबीचको मर्जर/प्राप्ति सम्झौता रद्द

काठमाडौं । प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच भएको मर्जर/प्राप्ति सम्झौता रद्द भएको छ । यसअघि प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबीच मर्जर सम्झौता भएपनि अहिले सम्झौता रद्द भएको सूचना सार्वजनिक गरेका हुन् । ‘प्रभु बैंक लिमिटेडले क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा दुबै संस्थाका तर्फबाट समझदारीपत्रमा हस्ताक्षर भएकोमा क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको च.नं.३८ / ०७९/८०, मिति २०७२ मंसिर १ गतेको पत्रबाट सो सम्बन्धी सबै प्रकृया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्जर तथा एक्विजिसन समिति समेत भङ्ग गर्न अनुरोध गरेकाले यस बैंकको मिति २०७९ मंसिर ८ गते दिनको ४ः०० बजे बसेको सञ्चालक समितिको २६९औं बैठकले सो संस्थाको अनुरोध बमोजिम क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गर्ने सम्बन्धमा अघि बढाइएको सम्पूर्ण प्रकृया अन्त्य गर्ने निर्णय गरेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु,’ प्रभु बैंकले नेप्सलेलाई पठाएको सूचनामा भनिएको छ । अहिले प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरको तयारीमा छ । प्रभु र सेञ्चुरी बैंकबीच १ः१ को सेयर स्वाप अनुपातमा मर्जर सम्झौता भएको छ ।

आरएसडिसी लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्ष भन्दा बढ्यो

काठमाडौं । आरएसडिएसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिकोे बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्नेछन् । लघुवित्तले आर्थिक वर्ष २०७७÷७८ मा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ लाभांश वितरण गरेको थियो ।

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १७, नेकपा एकिकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन् । निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो । हालसम्म दोलखा(१, स्याङ्जा(२, सुनसरी(१, ३ र ४, बाजुरा, इलाम(१, उदयपुर(१, महोत्तरी(१ र रामेछापको नतिजा आउन सकेको छैन । दोलखा(१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन । सुनसरी(१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहनु भएको छ भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९८२ मतसहित पछ्याइरहेका छन् । सुनसरी(३ मा एमालेकि भगवती चौधरी १८ हजार ४५६ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९३७ मतका साथ पछ्याइरहेका छन् । सुनसरी(४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४३३ मतका साथ दोस्रो स्थानमा छन् । बाजुराको बूढीनन्दा नगरपालिका(५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम(१ मा एमालेका महेश बस्नेत १८ हजार ५४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा एकिकृत समाजवादीका झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् । उदयपुर(१ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १०९ मतका साथ दोस्रो स्थानमा छन् । महोत्तरी(१ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४२० मतका साथ पहिलो स्थानमा छिन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९५८ मतका साथ उनलाई पछ्याइरहेका छन् । रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६६२ मतका साथ अग्रता कायम राखेका छन भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६४९ मतका साथ पछ्याइरहेका छन् । रासस