विकासन्युज

लाभांश पारित गर्न इन्भेष्टमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी पुस ७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले लाभांश पारित गर्ने प्रस्तावसहित आफ्नो ३६औं वार्षिक साधारण सभा डाकेको हो । सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको कूल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै छ । सभाले पारित गरेपश्चात बैंकका सेयरधनीले ७ प्रतिशत नगद (करसहित) र ४ प्रतिशत बोनस सेयर पाउने छन् । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । त्यस्तै, सभामा जानको लागि बैंकले आगामी मंसिर २१ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै मंसिर २० गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा, २ वर्ष यताकै कम

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षको सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको ११ गते बसेको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद गरी कूल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको चुक्ता पूँजी ३१ करोड ९९ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले १ करोड ५९ लाख ९६ हजार रुपैयाँ बराबरको बोनस सेयर र ८ लाख ४१ हजार ९२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश आगामी १६ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

एभरेष्ट मिडियाद्वारा मानवसेवा आश्रमलाई पाँच लाख ११ हजार सहयोग

पोखरा । पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ तयार गरिदिने भएको हो । यसका लागि पाँच लाख ११ हजार एक सय ११ रुपैयाँँ दिने प्रतिबद्धता व्यक्त गरेको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए । उक्त रकममध्ये पहिलो किस्तास्वरुप एक लाख रुपैयाँ एक एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई हस्तान्तरण गरिन् । आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहीन सडक आश्रित मानव राख्न पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा भवन निर्माण गरिरहेको छ । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा उसले मानवसेवा आश्रम पोखरालाई एक लाख आठ हजार आठ सय ४८ सहयोग गरेको थियो । एफएमका लगानीकर्ता दीपक कार्कीले पनि आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गरे । यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष वृद्धिका लागि पोखरामा आउँदो पुस १२ गते चर्चित ब्याण्डको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागिएको कोषाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा नेपथ्य लाइभ कन्सर्ट हुनेछ । रासस  

क्यानडालाई ४–१ गोलले पराजित गर्दै क्रोएसिया बिजयी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान एक एक गोल थपे गरे । यसैगरी क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर, खेलको ३६ औ मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । यसपछि खेलको ४४ औँ मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७० औँ मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३– १ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए । यस जितसँगै समूह ‘एफ’ को क्रोएसियाले दुई खेलमा चार अङ्क जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।

किवीले बजार नपाउँदा ताप्लेजुङका किसान चिन्तित

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरेका छन् । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आएका उनलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसकेका किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ । ‘जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्ने छ’, उनले भने । उनले काठमाडौं लगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए । होलसेल प्रतिकिलो एक सय रुपैयाँ र फाट्टफुट्ट एक सय ५० रुपैयाँका दरले बिक्री गरेको उनले बताए । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाएनन् । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए । यसरी बजार नपाउँदा उनीहरु मात्रै नभई जिल्लाका दर्जनौँ किसान निरास छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । ‘एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ’, राजकुमार गुरुङले भने । समयमा बजारीकरण नभए पनि शीतभण्डार कोल्डस्टोर भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । ‘पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो’, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । उनले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर एक सय रुपैयाँ प्रतिकिलोका दरले बेचे । गाउँघरमा ७० देखि ८० रुपैयाँँका दरले बिक्री गरेको उनको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताए । किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषकको भनाइ छ । किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्नसमेत आवश्यक रहेको उनीहरुको बुझाइ छ । जुुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् । धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बताइन्छ ।

खर्च विवरण बुझाउन थाले प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरू

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका उम्मेदवारलाई खर्च गर्न पाउने सीमा बराबरको जरिवाना तिनुपर्ने निर्वाचन आयोगल निर्णय गरेको थियो । नुवाकोटमा रहेको दुईवटा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम यही शनिबार सार्वजनिक भएको थियो । आइतबार नै सातजना उम्मेदवार निर्वाचन खर्च विवरण बुझाउन निर्वाचन कार्यालयमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी जयप्रसाद गौतमको अनुसार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि कार्यालय खुलेको पहिलो दिन सातजना उम्मेदवारले खर्च विवरण बुझाएका छन् । करिब एक दर्जनले फाराम लिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारसहित समानुपातिक उम्मेदवारसमेत आफैँ निर्वाचन कार्यालयम पुगेर आवश्यक कागजातसहितको खर्च विवरण बुझाएका छन् । मत परिणामअनुसार निर्वाचित हुनुभएका क्षेत्र नं २ को प्रदेश–१ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित रामप्रसाद ढुङ्गाना आइतबार विदुर नगरपालिकाको विभिन्न वडामा मतदातालाई धन्यवाद दिन जानुपर्ने थियो । नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अजुर्ननरसिंह केसी र प्रदेश–२ बाट निर्वाचित बहादुरसिंह लामा तामाङ सँगसँगै विजयी ¥यालीमा सहभागी हुनुपर्ने समयमा नव निर्वाचित सदस्य ढुङ्गाना भने खर्च विवरण बुझाउन चुनावी खर्चको बिलभर्पाइसहित आफैँ निर्वाचन कार्यालयमा पुगेका हुन् । ‘स्थानीयतहका उम्मेदवारले खर्च विवरण नबुझाएर जरिवाना तिर्न परेको सुनेको छु ।’ उनले भने, ‘निर्वाचित भएपछि मतदाताबाट लिनुपर्ने बधाई र दिनुपर्ने धन्यवादपछि साटासाट गर्न पाइन्छ तर, कानुनी प्रक्रियाअनुसार तोकिएको खर्च विवरण समयमा बुझाउन लागेको छु ।’ निर्वाचनमा पराजित भएका उम्मेदवार चुनावी समीक्षा गर्न र विजेता मतदातालाई धन्यवाद दिन घरघरमा जानुपर्ने व्यस्त समय भए पनि स्थानीयतहको निर्वाचनका उम्मेदवारले समयभित्र खर्च वितरण नबुझाएको कारण खर्च गर्न पाउने बराबरको जरिवानाको निर्णय निर्वाचन आयोगले तोकेको थियो । त्यसको सकारात्मक प्रभावको कारण अहिलेको आमनिर्वाचनका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । आम निर्वाचनअन्तर्गत जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारले निर्वाचन क्षेत्र नं १ मा ३१ लाख र क्षेत्र नं २ मा २९ लाखसम्म खर्च गर्न पाइने सीमा तोकिएको छ । प्रदेशसभातर्फ जिल्लाको चारवटामा नै प्रत्यक्षतर्फका उम्मेदवारले १७ लाखसम्म खर्च गर्न पाइने कानुनी व्यवस्था तोकिएको थियो । प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारले दुई लाखसम्म र प्रदेश समानुपातिक उम्मेदवारले एक लाख ५० हजारसम्म खर्च गर्न पाउने सीमा छ । सोही सीमाभित्र रहेर निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले एक महिनाभित्र उम्मेदवारले अनिवार्यरुपमा खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तोकिएको समयभन्दा ढिलो गरेमा उम्मेदवारले खर्च गर्न पाउने सीमा बराबरसम्मको जरिवाना तिर्नुपर्ने भएकाले जिल्लाका उम्मेदवार चुनावी नतिजा आएलगत्तै खर्च विवरण बुझाउन हतारिएका हुन् । रासस

स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२ औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए । यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दवबै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अङ्क जोडेको छ भने जर्मनी दुई खेलमा एक अङ्क जोडेर पुछारमा रहेको छ ।

कम्प्युटर/ल्यापटपमा यसरी हेर्न सकिन्छ सित्तैमा विश्वकप फुटबल

एजेन्सी । कतारमा विश्वकप २०२२ चलिरहेको छ । विश्वकप अझै झण्डै डेढ महिनासम्म सञ्चालन हुनेछ । संसारका धेरै मानिसहरुले फुटबल खेल हेर्न र खेल्न मन पराउँछन् । त्यसमध्ये हामी धेरै नेपालीहरु पनि फुटबल विश्वकप हेर्न मन पराउँछौं । शुल्क वा पहुँचका कारणले विश्वकप हेर्न रुची भएका धेरै दर्शकहरुले विश्वकपको लाइभ हेर्नबाट बञ्चित भइरहेका छन् । विगतमा जस्तै यसपालीको विश्वकप भने हामीले टेलिभिजनको पर्दामा निःशुल्क हेर्न पाएनौं । नेपालमा मिडिया हबले विश्वकप प्रसारण गर्ने इजाजत लिएर निश्चित च्यानलमार्फत् श:शुल्क प्रसारण गरेको छ । टिभी च्यानल प्रदायक संस्थाहरुसँग पैसा तिरेर मात्रै उक्त च्यानलमार्फत विश्वकपको लाइभ हेर्न सकिन्छ । धेरै नेपालीको पहुँचमा विश्वकप पुग्नै सकेन भन्ने गुनासो पनि छ । जसको घरमा टिभी छैन् तर मोबाइल छ र टिभी छैन तर कम्प्युटर वा ल्यापटप छ भने उसलाई पैसा खर्च नगरेरै विश्वकप घरमै बसेर हेर्ने सुविधा छ । यदि तपाईंलाई थाहा छैन भने हामीले त्यो जानकारी दिन खोजिरहेका छौं । मोबाइलबाट निःशुल्क विश्वकप हेर्नका लागि केही एप्लिकेसन सुविधाहरु छन्, जसको बारेमा हामीले पहिले नै सामग्री प्रकाशन गरिसकेका छौं । त्यो थाहा पाउन तपाईंले याे लिंकमा क्लिक गरेर पढ्न सक्नु हुन्छ । यदि तपाईंसँग कम्प्युटर वा ल्यापटप र इन्टरनेटको सुविधा छ भने तपाईंले सजिलोसँग एचडी क्वालीटीमा नै पैसा खर्च नगरीकन विश्वकप हेर्न सक्नुहुन्छ । त्यसको लागि तपाईंलाई स्पोर्ट फ्याक्ट डट नेटले त्यो सुविधा दिएको छ । स्पोर्ट फ्याक्ट डट नेट खेलकुदका कार्यक्रम हेर्ने धेरै ठूलो प्लेटफर्म हो । यो प्लेटफर्म सञ्चालन गर्नको लागि भिपिएनको व्यवस्था पनि गर्नुपर्दैन र यो साइट अवैधानिक पनि होइन । सो साइटबाट सित्तैमा विश्वकप हेर्नको लागि साइटले होम पेजमा नै विश्वकपको लाइभ खेलको सेड्युल राखेको छ । जहाँ सो दिन हुने खेलहरुको क्रमशः लिस्ट राखिएको छ र खेलको समय पनि दिइएको छ । विश्वकप सम्बन्धी रुची हुने भएपछि खेलको तालिका र समयको विषयमा पनि तपाईं पक्कै सुसुचित हुनुपर्छ । त्यसैले जुन खेलको लाइभ भइरहेको छ त्यसमा क्लिक गर्नुभयो भने तपाईंले आनन्दले ल्यापटप वा कम्प्युटरको स्क्रिनमा नै फुटबल विश्वकप हेर्न सक्नुहुन्छ । माथि उल्लेखित साइट बाहेक पनि सम्बन्धित साइटको सदस्यता सस्क्राइब गरेर र भिपिएनको प्रयोग गरेर निःशुल्क रुपमा फुटबलको विश्वकप हेर्न सकिने धेरै नै वेबसाइटहरु रहेका छन् । जसलाई तपाईंले गुगल सर्च गरेर भेटाउन सक्नुहुन्छ । मिडिया हबले भने विश्वकप प्रसारण गर्ने निःशुल्क साइटहरुलाइ नेपालमा प्रतिवन्ध लगाउनुपर्ने माग गरिरहेको छ । त्यसको लागि सरकारमार्फत् पहल गरिरहेको मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले बताए । उनले सरकारले एथेस्ट पहल नगरे फिफामार्फत् पनि सरकारलाई दबाब दिन लगाउने आफूहरुको तयारी भएको बताए । साथै उनले मिडिया हबले सबै दर्शकहरुले सजिलोसँग विश्वकप हेर्नको लागि मोबाइल एप्लिकेसनको पनि लञ्च गर्न लागेको जानकारी दिए ।