विकासन्युज

‘कृत्रिम गर्भ’ वर्षमा ३० हजार बच्चा जन्माउन सक्छ, प्रसव पिडाको अन्त्य हुने सम्भावना

एजेन्सी । बर्लिनमा रहेका फिल्म निर्माता तथा बायोटेक्नोलोजिस्ट हसम अल–घलीले निर्माण गरेको एउटा छोटो भिडियो सामाजिक सञ्जालमा निकै चर्चित भएको छ । अल–घलीले आफ्नो भिडियोमार्फत भविष्यमा पिडा रहित ढंगले सुरक्षित बच्चा पैदा गर्नसक्ने वैकल्पिक कृत्रिम गर्भासय(पाठेघर)को विषयमा बताएका छन् । उनले भिडियोमार्फत ‘इक्टोलाइफ’ कृत्रिम गर्भासय सुविधाको विषयमा आइडिया प्रस्तुत गरेका छन् । सन्तान पैदा गर्न नसक्ने बाँझोपनको समस्या भएका बाबुआमाको लागि उक्त प्रविधिले सुविधा प्रदान गर्ने जनाइएको छ । भिडियोमा प्रस्तुत गरिएको असम अल घलीको ‘इक्टो लाइफ’ ले वार्षिक रुपमा ३० हजार बच्चाहरु पैदा गर्न सक्छ । सो क्षेत्रमा ५० वर्षदेखि वैज्ञानिक अनुसन्धान हुँदै आएको थियो । भिडियोअनुसार सो प्रविधिमार्फत तपाईंले भ्रुणलाई कृत्रिम गर्भमा प्रत्यारोपण गर्नुअघि आनुवंशिक इन्जिनियरिङ गर्ने सुविधा पाउनुहुन्छ । तपाईंले आफूले कृत्रिम रुपमा पैदा गर्न चाहेको बच्चाको उचाई, क्षमता, कपाल वा आंखाको रंग, छालाको रंग आदि छनोट गर्न सक्नुहुन्छ । साथै आनुवंशिक रोगहरुबाट समेत बच्नेगरी बच्चा पैदा गर्न सकिन्छ । हसमका अनुसार इक्टोलाइफ पूर्णतया नवीकरणीय उर्जाबाट सञ्चालित हुनेछ र यो विश्वकै पहिलो कृत्रिम गर्भ सुविधा सम्बन्धी अवधारणा हो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभरी बच्चा जन्माउने प्रकृयामा २ लाख ९५ हजार महिलाहरुको मृत्यु भएको थियो । ‘इक्टो लाइफ’ ले बच्चा पैदा गर्ने क्रममा भोग्नुपरेको मानव पिडालाई कम गर्न मद्दत प्रदान गर्नेछ । साथै यसले मानिसको जन्मको इतिहासलाई नै बदल्ने अपेक्षा गरिएको छ । हसनका अनुसार ‘इक्टो लाइफ’ ले स्वास्थ्यमा देखिने समस्याका कारण महिलाहरुले पाठेघर हटाउनुपर्ने समस्यालाई न्यूनिकरण गर्न मद्दत गर्नेछ । यसले जनसंख्याको घट्दो अनुपात देखिएका दक्षिण कोरीया, बुल्गेरिया, जापान, आदि जस्ता मुलुकहरुलाई मद्दत गर्छ । हसन भन्छन की यो प्रविधि निर्माण भइसकेको छ, तर कानूनी जटिलताको कारणले मात्रै व्यवहारिक रुपमा उतार्न नसकिएको हो । साथै कृत्रिम ढंगले बच्चा पैदा गरिने प्रविधि पूर्णतया विज्ञानमा आधारित हुने वैज्ञानिक तथा इन्जिनियरहरुले यसको सफलता हासिल गरिसकेको उनको भनाइ छ ।

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै

उदयपुर । परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ । जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ-४ बलाम्ता लाकुका कृषक गोविन्द राईले भने, ‘विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।’ रौतामाई-४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र  सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो  । रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताए।  त्रियुगा-१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्ष अघिसम्म पनि आफूहरूको गाउँ को अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताए ।  गाउँमा बस्ने बूढाबूढीले जबर्जस्ती बारी खनेर केही जग्गामा मात्र कोदोखेती गर्ने गरिएका कारण कोदो उत्पादन पहिलेको जस्तो नभएको उनको भनाइ छ ।  ताप्ली गाउँपालिका पीपल भञ्ज्याङ तथा ओख्लेका कृषक दिलबहादुर राईका अनुसार आजभन्दा २०-२५ वर्ष अगाडिसम्म गाउँका अधिकांश पाखाबारीमा कोदोखेती मात्र हुने गरेको भए पनि कोदो उत्पादनले जीवन यापन हुन समस्या हुन थालेपछि १५ वर्षयता आएर अधिकांश गाउँलेले कोदो फल्ने बारीमा व्यावसायिक सुन्तलाखेती सुरु गरेपछि गाउँमा प्रायः केही कृषकले थोरै जग्गामा कोदोखेती गर्ने गरेको जनाइएको छ । गढी गाउँपालिका डुम्रेका कृषक टोपबहादुर घलेमगर भन्छन्, ‘पहिला-पहिला पर्याप्त चामल प्राप्त नहुँदा बाध्य भएर गाउँघरमा भात खानका लागि पनि धेरै कोदो उत्पादन गर्न पर्दथ्यो, हिजो आज गाउँघरमा सबैले चामल नै अन्नका रुपमा प्रयोग गर्छन्, कोदो सामान्य उत्पादन गरे पनि जाँड पकाउने र खाने, केही कोदो सहर, बजारको होटलमा जाँड तोङ्बा, बनाएर बिक्रीका लागि मात्र कोदो प्रयोग हुने गरेको छ ।’ अहिले गाउँमा विगतको जस्तो कोदो भातका रुपमा नै खानुपर्ने बाध्यता नभएका कारण कृषकले घरबारी पाखा जग्गामा कममात्रमा कोदो खति गर्ने गरेका कारण उत्पादनमा कमी आएको उनी बताउँछन् । जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार आजभन्दा १० वर्ष अगाडिसम्म जिल्लाको झण्डै सात हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो ।  विसं २०७८-७९ मा जिल्लामा दुई हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदोखेती भएको थियो भने पाँच हजार चार सय ५२ मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी महेश चौधरीले जानकारी दिए । यस वर्ष पनि सरदर दुई हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै चार हजार सात सय ७० मेट्रिकटन मात्र कोदो उत्पादन भएको जनाइएको छ  ।  जिल्लामा कोदोखेती घट्ने र उत्पादन कम हुँदै जानुमा अधिकांश पहाडी क्षेत्रका युवा विदेश पलायन हुनु र कोदोखेती गर्ने जनशक्तिको अभाव हुनु, पहाडी क्षेत्रका पाखाबारीमा हिजोआज कृषकले कोदोखेतीभन्दा अन्य फलफूल, सुन्तलालगायतका वैकल्पिक नगदेबालीको खेती गर्ने कारण पनि कोदो खेती र उत्पादनमा कमी आएको जनाइएको छ ।  विसं २०५० सम्म  जिल्लामा सरदर १० हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको थियो भने हाल दुई हजार ७६८ हेक्टरमा मात्र खेती गरिएको प्राविधिक मोहन फुयाँलले बताए।

भृकुटीमण्डपमा सुरु भयो फुटवेयर औद्योगिक मेला

काठमाडौं । नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरिन् । जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ । मेला संयोजक सुरज बञ्जाडेले अनुसार तीन दिने मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।

विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुन्छ : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले रेमिट्यान्स,निर्यात र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद्ले आयोजना गरेको नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्र रेमिट्यान्स मात्रै आएर नचल्ने भन्दै रेमिट्यान्स,निर्यात र पर्यटन तीन वटै क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न सकेमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका हुन् । उनले सरकारले रेमिट्यान्स भित्र्याउने,नेपाली उत्पादित वस्तु विदेशमा निर्यात गर्ने र पर्यटक धेरै भित्र्याएर विदेशी मुद्रा आर्जनका तीन वटै क्षेत्रलाई चलायमान बनाउन जरुरी रहेको बताए । उनले अर्थतन्त्रको तीन वटा इन्जिनमध्ये रेमिट्यान्स मात्रै आएर मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने उल्लेख गरे । अध्यक्ष गोल्छाले सरकारले विदेशी मुद्रा आर्जनको लागि मौलिक वस्तुको निर्यातका लागि प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले बैकिङ प्रणालीमा तरलताको अभाव र सोधानान्तर स्थिति कमजोर भएकाले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको बताए । उनले अहिले विदेशी मुद्राको आय स्रोत ९० प्रतिशत रेमिट्यान्स मात्रै भएकाले निर्यात र पर्यटनमा सरकारले विशेष जोड दिन सुझाव दिए । अध्यक्ष गोल्छाले नेपाली निर्यातजन्य वस्तुहरुको उत्पादनमा वृद्धि गर्नु आवश्यक रहेको बताए । उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले निर्यातका लागि ठूलो चुनौति भएको उल्लेख गरे । उनले सरकारले निर्यात प्रोत्साहनको लागि नगद अनुदानको व्यवस्था गरेपनि निर्यातकर्ताहरुले सहज रुपमा पाउन नसकेको गुनासो गरे । अध्यक्ष गोल्छाले नेपालमा कस्ट अफ डुईङ विजनेस बढीरहेकाले नेपाली निर्यातजन्य वस्तुहरुलाई प्रतिष्पर्धी बनाउन नसकिएको बताए । उनले निर्यातकर्ता सरकारले दिने अनुदान सहज रुपमा पाउनको लागि एस्पोर्ट हाउसको स्थापना गर्न आवश्यक रहेको बताए । उनले भने,‘मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा छ । खास गरेर बैकिङ प्रणालीमा तरलताको अभाव र शोधानान्तर स्थिति कमजोर भएकाले अर्थतन्त्रको यो स्थिति आएको हो । विदेशी मुद्राको आय स्रोत एउटा मात्रै भयो । ९० प्रतिशत आय रेमिट्यान्स छ ।  निर्यातकर्ताहरुले इन्सेन्टिभ दिनको लागि एस्पोर्ट हाउसको अवधारणा ल्याएका छौं । समग्रमा मुलुकको अर्थतन्त्र जुन विमान हो जसको एउटा मात्रै इन्जिन रेमिट्यान्स चलेको छ । अर्को इन्जिन निर्यात हुनसक्छ । सबैले निर्यात अनुदान पाउनुपर्छ । हाम्रो मौलिक वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न जरुरी छ ।’ निर्यात परिषद्ले २५ औं वार्षिक साधारण सभा तथा निर्यात दिवसको अवसरका दुई दिने नेपाली निर्यातजन्य वस्तुहरुको प्रदर्शनी काठमाडौंको ठमेलमा रहेको छाँया सेन्टरमा शुरु गरेको छ । पदर्शनीमा निर्यातजन्य नेपाली उत्पादनका विभिन्न विधालाई समावेश गरिएको छ । प्रदर्शनीमा २० वटा स्थलहरु राखिएको छ ।

तातोपानी नाकामा चहलपहल शून्य

चौतारा । काठमाडौँदेखि एक सय २४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो । चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो ।  तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । अहिले समय भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन । कुनै रेस्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो क्षेत्रमा यति बेला एउटा पनि होटल तथा रेष्टुराँ छैन । चीनसँग जोडिएको नेपालको सबैभन्दा पुरानो नाकाबाट भूकम्पपछि आंशिक रूपमा आयात खुला भएको चारवर्ष भए पनि निर्यात बन्द भएको सात वर्ष भइसकेको छ । जसका कारण चहलपहल शून्य जस्तै अवस्थामा पुगेको हो । तातोपानी नाका नियमित सञ्चालन नभएपछि मितेरीपुलदेखि चीन-नेपाल दुवैतर्फको करिब पाँच किलोमिटर क्षेत्रमा चहलपहल छैन । यो नाकाबाट कहिलेकाँही मात्र सामान आयात भने भइरहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए।  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार भएपछि चीन सरकारले तीन वर्षदेखि बन्द रहेका रसुवागढी र हुम्ला नाका खोलेको छ । हाल रसुवागढी नाकाबाट निर्यात सुरु भएको छ भने यारी नाकाबाट आयात भइरहेको छ । तर व्यवसायिकरुपले महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको तातोपानी नाका तीन वर्षदेखि पूर्ण रुपमा खुलेको छैन । केरुङबाट कन्टेनर ल्याउँदा ढुवानी भाडा बढी लाग्ने भएकाले नेपाली व्यापारीहरू तातोपानी नाकाबाटै सामान ल्याउन खोज्छन् ।  नेपाल च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ कोटा तोक्नेभन्दा पनि आवश्यक सामग्री ल्याउने गरी चीन सरकारले वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । चीनमा तीन वर्षदेखि जारी बन्दाबन्दी अहिले मात्रै हटेकाले नाकाबाट आयात-निर्यात खुला हुने स्थानीयमा आशा भने कायमै छ । चिनियाँ पक्षले बन्दाबन्दी हटेपछि खासाबाट पहिलेको तुलनामा बढी कन्टेनर नेपाल पठाउन थालेका छन् ।  लामो समयदेखि नाका नखुल्दा त्यहाँ कार्यरत मजदूरहरु समस्यामा परेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए। ‘सामान लोड र अनलोड गर्ने मजदुरहरुलाई काम नै पुगेको छैन’, उनले भने, ‘आयात र निर्यात पहिले झैँ भयो भने उनीहरुले पनि काम पाउँछन् ।’ नाका बन्द हुँदा त्यहाँ कार्यरत व्यवसायीहरू पलायन हुन थालेका छन् । लिपिङमा झोले पोके व्यापार र पर्यटकको भारी बोकेर गुजारा गर्ने स्थानीयहरु विदेश जान बाध्य भएका छन् । भोटेकोसी गाउँपालिकाको पाँच वटा वडा र बाह्रबीसे नगरका दुई वटा वडाका अधिकांश स्थानीय विदेश पलायन भएका हुन् । भोटेकोसी नारायणथान निवासी शेर्पाले तातोपानी नाका बन्द भएको आठ वर्षयता यस क्षेत्रका अधिकंश घर खाली भएको र धेरैजसो विदेश गएको बताए।

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु हुँदै, १४ महिनामा तयार हुने

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए । ‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ’, उनले भने, ‘अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो ।’ केही सामानहरु आयात हुन बाँकी रहेकाले सामान ल्याउने काम भइरहेको उनले बताए । फ्लाइओभर निर्माण अवधि १४ महिना तोकिएको छ । यस क्षेत्रमा पर्ने सडक बिस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो । हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक/एक लेन छन् । सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी सधान गुड्ने बनाउनुपर्ने सूचना अधिकारी बज्राचार्यको भनाइ छ । उक्त लेन सञ्चालन गरी मोटरसाइकल सञ्चालन गर्न सकिने उनले बताए । फ्लाइओभरको उचाइ छ मिटर हुनेछ भने बालकुमारीतर्फ दुई सय ८० मिटर लामो ‘र्याम’ र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो ‘र्याम’ बनाइनेछ । कुल चार सय ९० मिटर लम्बाइको फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटर हुनेछ । फ्लाइओभर सञ्चालनमा आएपछि मङ्गलबजार– इमाडोल– मङ्गलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन् ।

आँबुखैरेनीमा १५ शय्याको अस्पताल सञ्चालनमा

तनहुँ । जिल्लाको पूर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिकाले पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालन भएसँगै गाउँपालिकाका नागरिकलाई उपचारमा सहज भएको छ । गण्डकी प्रदेशकै पहिलो इएचआर इलेक्टोनिक्स हेल्थ रेकर्ड प्रविधि जडित अस्पतालबाट सेवा दिन थालिएकाले यहाँका बासिन्दालाई उपचारमा सहज भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । ‘गाउँपालिकाले अस्पतालमा सञ्चालनमा ल्याएको करिब एक महिनाको अवधिमा प्रविधिमैत्री बनाइएको हो । अबको दुई महिनापछि शल्यक्रिया सेवासमेत उपलब्ध गराउन प्रक्रिया अघि बढाइएको छ’, उनले भने, ‘पेपररहित कार्यले बिरामीले कागजको भारी बोकेर अस्पताल धाउनुपर्ने समस्या अन्त्य हुने विश्वास लिएका छौँ ।’ भिडियो एक्सरे, एक्सरे, ल्याब परीक्षणको रिर्पोट र चिकित्सकले रिर्पोटको आधारमा लेखिदिएको औषधिसमेत सबै जानकारी मोबाइलमा आउने व्यवस्था मिलाइएको अस्पताल प्रशासन शाखाका प्रमुख मुकेशकुमार शाहले जानकारी दिए । नयाा प्रविधिसहित सबै कोठामा कम्प्युटर जडानका लागि पचास लाख खर्च भएको गाउँपालिका कार्यालयले जनाएको छ । कर्मचारीलाई उक्त प्रविधि सम्वन्धी तालिम प्रदान पश्चात् प्रयोगमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए ।

पानी नपरेका कारण बढ्यो प्रदूषण

काठमाडौं । पानी नपरेका कारण केही दिनयतादेखि काठमाडौं उपत्यकासहित देशभर धुलोधुवाँ पनि बढेको र यसका कारण देशभर प्रदूषण बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको छ । सो शाखाले काठमाडौं, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको जनाएको छ । हावाको गुणस्तर सूचक मापन ‘एयर क्वालिटी इन्डेक्स’को आज बिहान ७ बजेर ४५ मिनेटको तथ्याङ्कअनुसार भक्तपुर, काठमाडौँ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर रहेको छ । काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्युआई एक सय ५३ रहेको छ । यस्तै भक्तपुरको एक सय ५४, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको छ । एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ । सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । उक्त सूचकाङ्कअनुसार एक सय ५० भन्दामाथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायुले मानिसको स्वास्थ्यमा असर पार्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गर्दै आएका छन् ।