लघु जलविद्युत बनाउन सरकारले ९० प्रतिशत अनुदान दिने, कसले पाउँछन् सुविधा ?
काठमाडौं । जलविद्युत नपुगेको र निकट भविष्यमा पुग्ने सम्भावना नभएको ठाउँमा पिको जलविद्युत (१० किलोवाट) र सुधारिएको पानीघट्ट विद्युतीकरण आयोजना बनाउँदा सरकारले ९० प्रतिशत सम्म अनुदान दिने भएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ‘नविकरणीय उर्जा अनुदान कार्यविधि परिचालन कार्यविधि, २०७९’ मार्फत् सो व्यवस्था गरेको हो । कार्यविधिअनुसार राष्ट्रिय प्रसारण लाइन नपुगेको वा सौर्य घरेलु विद्युत प्रणाली बाहेक अन्य माध्यमबाट विद्युतीकरण नभएका त्यस्ता स्थानमा लघु तथा साना जलविद्युत आयोजना निर्माणको लागि सरकारले अनुदान उपलब्ध गराउने छ । ‘कुनैपनि स्रोतबाट विद्युतीकरण नभएको र निकट भविष्यमा पुग्ने सम्भावना ज्यादै न्यून रहेको, आयोजनाको माग भएको क्षेत्रको भौगोलिक अवस्था, पिछडिएको वर्ग, क्षेत्र र समूदायको बसोबास भएको र आयोजनाबाट उपलब्ध हुने उर्जा उत्पादनमुलक क्षेत्रमा समेत उपयोग हुनसक्ने सम्भावना भएको’ आधारहरुलाई लिएर अनुदानको लागि आयोजना छनौट गरिने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा आयोजना सम्पन्न गरेर शतप्रतिशत घरधुरीमा विद्युत जडानको सुनिश्चितता भएपछि मात्रै अनुदान भुक्तानीको लागि माग पेस गर्नुपर्ने उल्लेख गरिएको छ । स्थानीय तहका सामुदायिक संस्थामार्फत निर्माण गरिने लघु तथा साना जलविद्युत अयोजनामा कम्तिमा १० प्रतिशत लगानी जुटाउनुपर्ने र कार्यप्रगतिको आधारमा केन्द्रले अनुदान रकम उपलब्ध गराउने विषय कार्यविधिमा उल्लेख गरिएको छ । ‘कार्यविधिअनुसार विकासकर्ता, प्रवद्र्धक, सामुदायिक संस्था र सहकारी वा निजी वा सार्वजनिक निजी साझेदारी’ लगानी स्वरुपमा अनुदानमा सहभागी हुनेगरी लगानी गर्न पाइने छ । अनुदानमा विद्युतीकरण कार्यक्रमका लागि केन्द्रले माग संकलन गर्ने, छनौट समितिले छनौट गर्ने र प्राविधिक पुनरावलोकन समितिले प्राविधिक पुनरावलोकन गर्ने काम गर्नेछन् । कार्यविधिमा छुट्छुट्टै प्रकृतिका आयोजनाको लागि छुट्टाछुट्टै अनुसूचीको व्यवस्था गरिएको छ । कार्यविधिअनुसार उर्जा खपतको आधारमा मुगु, हुम्ला र डोल्पामा अनुदान रकम कम भएको आधारमा थप रकम उपलब्ध हुनेछ । साथै लक्षित लाभान्वित वर्गलाई थप अनुदान उपलब्ध गराउने विषय कार्यविधिमा उल्लेख गरिएको छ । [pdf id=380125]
सानिमा बैंकको भिसा कार्ड प्रयोगकर्तालाई ३३२ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट
काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगन्ज, चितवन र पोखराको ३३२ मर्चेन्टहरुमा छुट पाउनेछन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम। संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, साढे ५ अर्बको कारोबार
काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार हुने साताको अन्तिम दिन आज नेप्से परिसूचक ४१ दशमलब शून्य दुई अङ्कले ओरालो लागेर दुई हजार एक सय ४९ दशमलब ४१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८९ अङ्कले ओरालो लागेर चार सय ११ दशमलब २५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कारोबार भएकामध्ये २१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । यस्तै, एक सय ८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । कूल एक करोड ४४ लाख ८२ हजार नौ सय ५९ कित्ता से पाँच अर्ब ४७ करोड ७६ लाख २४ हजार सात सय २४ मूल्यमा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब तीन अर्ब १५ करोड ६९ लाख ४७ हजार छ सय २५ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड २० लाख १२ हजार एक सय ३१ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी १७ करोड ८३ लाख १० हजार आठ सय २२, ङादी पावर कम्पनी १६ करोड ९४ लाख २० हजार छ सय ७०, अपि पावर कम्पनी रु १४ करोड चार लाख ४५ हजार आठ सय र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी रु १२ करोड ८४ लाख ९९ हजार नौ सय २३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार कुमारी धनवृद्धि योजना, सिङ्गटी हाइड्रो इनर्जी र बाराही हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबीएल समृद्धि फण्ड दोस्रो नौ दशमलब ३० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सात दशमलब ६१ प्रतिशतले कमाउका छन् । त्यस्तै, गुराँस लघुवित्त नौ दशमलब १८, कालिका पावर कम्पनी आठ दशमलब ४८, बलेफी हाइड्रोपावर सात दशमलब ४४, स्वाभिमान लघुवित्त सात दशमलब ३१ र खप्तड लघुवित्तको शेयर मूल्य सात दशमलब ३० प्रतिशतले घटेको छ ।
अब उपभोक्ताले आफुले पिएको पानीको गुणस्तर थाहा पाउनसक्ने
काठमाडौं । अब उपभोक्ताले समेत आफुले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले पानीको गुणस्तरको मापन गर्न सक्ने भएका हुन् । स्मार्ट वाटर प्रविधि अन्तरगत रहेको एक सेन्सर मार्फत खानेपानी समिति मात्र नभएर उपभोक्ताले समेत आफ्नो घरमा आएको खानेपानीको गुणस्तर थाहा पाउन सक्ने छन् । राजधानीको टोखा खानेपानी समितिबाट पाइलट प्रोजेक्टका रूपमा सुरू गरिएको यस प्रणालीलाई लागु गर्न देशभरका खानेपानी समितिहरू उत्सुक देखिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीको अनुसार हाल केही समितिहरूमा यस प्रणाली लागु हुने क्रममा छ । हालसम्म करिब ६ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो प्रणालीको विकास गरेको जनाएको छ
दाङ्गको लमहीमा खुल्यो होटल ग्रीन लुम्बिनी
काठमाडौं । दाङ्गको लमहीमा होटल ग्रीन लुम्बिनी खुलेको छ । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीसँग व्यवस्थापकीय साझेदारीमा खुलेकाे यस होटलले शुक्रबारदेखि सेवा दिने जनाएको छ । होटल ग्रीन लुम्बिनीमा २० वटा अत्याधुनिक सुविधा युक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल, पारिवारीक वातावरण भएको रेष्टुरेन्ट, प्राइभेट डाइनिङ हल, बार, स्विमिङ पुल,स्पा लगायतका सुबिधाहरु उपलब्ध रहेका छन । होटलले निकट भविष्यमा ४२ वटा अत्याधुनिक सुविधा युक्त कोठा, जिम् , हेल्थ क्लब, साथै चार तारे स्तरीय सुविधा दिने योजना रहेको जनाएको छ । सिद्धार्थ ग्रुपले भैरहवामा पाँच तारे होटल सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको छ ।
यी हुन् अटो एक्स्पोमा राखिएका ६०० किलोमिटरसम्म रेञ्ज दिने विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता
नयाँ दिल्ली, भारत । बुधबारदेखि भारतको नयाँ दिल्लीमा अटो एक्स्पो २०२३ सुरु भएको छ । बुधबार भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको हो । प्रदर्शनीमा विभिन्न कम्पनीले विभिन्न मोडलका गाडीहरु प्रदर्शनीमा राखेका छन् । । एक्स्पोमा विशेष गरेर विद्युतीय सवारी साधनहरुको बाहुल्यता छ । बुधबार अर्थात् पहिलो दिन ५९ मोडलका सवारी साधनहरु सार्वजनिक गरिएको थियो । जसमा सबैभन्दा बढी विद्युतीय गाडीको नै वर्चश्व थियो । बुधबार आधा दर्जन बढी कम्पनीले विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेका थिए । बुधबार मारुती, सुुजुकी, हुन्डाई, टाटा, किआ, एमजी र बीवाईडी कम्पनीहरूले करिब दुई दर्जन मोडलका विद्युतीय गाडी प्रदर्शन गरेका छन् । ती विभिन्न कारहरु २०२३ देखि २०२५ सम्म भारतीय बजारमा आउन आउने बताइएको छ । प्रदर्शनीमा मारुतीको इभीएक्स, हुण्डाई आइकोनिक–५, आइकोनिक–६, टाटा सियरा, टाटा हैरियर, टाटा कर्व, टाटा अविन्या, एमजी इएचएस, एमजी फोर, एमजी फाइभ, मिफा–८ र किया ईभी–९ लगायतका विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएका छन् । एक्स्पो सर्वसाधारणका लागि भने भोलि अर्थात् शुक्रबार मात्रै खुल्ला गरिने छ । दुई पाँग्रे सवारी साधनहरु पनि प्रदर्शनीमा उल्लेख्य मात्रामा छन् । टर्क मोटर, लाइजर, मेटर, कार्टस्, भिडा, बजाज, टीभीएस लगायतका ब्राण्डले ईभी प्रदर्शनीमा राखेका छन् । यस्ता छन् कारका विशेषता इभीएक्स भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले अटो एक्स्पो २०२३ मा ईभीएक्स विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस ईभीको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम रहेको बताइएको छ । यस कारमा ६० किलोवाट आवरको ब्याट्री प्याक, ५५० किलोमिटरसम्म ड्राइभिङ रेन्ज र मूल्य अधिकतम् २० लाख रुपैयाँ भारु तोकेको छ । यो गाडी २०२५ सम्म बजारमा ल्याउने बताइएको छ । आइकोनिक–५ र ६ कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले इलेक्ट्रीक कार आइकोनिक ५ र आइकोनिक –६को सार्वजनिक गरेको छ । यी दुवै कारण धेरैले रुचाइएका मध्येका कार हुन् । आइकोनिक–५ मा ६२१ किलोमिटर रेञ्ज, ७२.६ किलोवाट आवरको ब्याट्री छ भने ४४.९५ लाख रुपैयाँ भारु मुल्य निर्धारण गरिएको छ । हुण्डाई आइकोनिक–६ को भने ७७.४ किलोवाट ब्याट्री, ६१० किलोमिटरको रेञ्ज रहेको छ । यो कारको मूल्य भने निर्धारण गरिएको छैन । टाटा टाटा कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस कम्पनीले टाटा कर्व, टाटा अविन्या, टाटा हैरियर र टाटा सियरा कार प्रदर्शनीमा राखेको छ । यी सबै गाडीहरु २०२४ देखि २०२५ भित्र बजारमा पठाउने कम्पनीको दावी छ । यी गाडीहरुको रेञ्ज ४०० देखि ५०० किलामिटरसम्मको रेञ्ज छ । एमजी एमजीले पनि विभिन्न मोडलका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । एमजी इएचएस, एमजी फोर, एमजी फाइभ मोडलका विद्युतीय गाडी प्रदर्शनीमा छन् । एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गर्न थालिएको छ । एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । एमजी फोरको ५१ देखि ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा छ । एमजी फाइभको पनि ४०२ किलोमिटर रेञ्ज र ६१.१ किलोवाट ब्याट्री छ । एमजीको विद्युतीय कार एमजी जेडएस ईभी नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो । किया ईभी–९ किया मोटर्सले प्रदर्शनीम किया ईभी–९ मोडलको विद्युतीय कार राखेको छ । यस कारले एक पटकको फुल चार्जमा ५४० किलोमिटरको रेन्ज दिने बताइएको छ । इभी ९ को लम्बाइ ४९३० एमएम, चौडाइ २०५५ एमएम र उचाइ १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेसको लम्बाइ भने ३१०० एमएमको रहेको छ । यस कारलाई २० मिनेट चार्ज गर्दा ८० प्रतिशत हुने बताइएको छ । जसको ७७.४ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।
माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा
काठमाडाैं । अपि पावर कम्पनीले आफ्नो छैठौं आयोजनाको रुपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुर्याएकाे छ । दार्चुला जिल्लामा कम्पनीले यस अघि ८.५ मे.वा क्षमताको नौगड गाढ जलविद्युत आयोजना र ८ मे.वा क्षमताको माथिल्लो नौगड गाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ । कम्पनीले मिश्रित उर्जा नितिलाई आत्मसाथ गर्दे ४ मे.वा क्षमताको चन्द्रनिगापूर सौर्य आयोजना, १ मे.वा क्षमताको ढल्केवर सौर्य आयोजना र १ मे.वा क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरि यि सौर्य आयोजनाहरु समेत राष्ट्रिय प्रशारण लाईनमा प्रवाह गरिरहेको छ । दुई वटा जलविद्युत आयोजनाहरु र तिन वटा सौर्य आयोजनाहरु संचालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकाल बाटनै शेयरधनिहरुलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो उर्जा कम्पनी रहेको छ । कम्पनीले आफ्नो छैठौं आयोजना स्वरुप ४० मे.वा क्षमतको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पूगेको कम्पनीका कार्यकारी संचालक संजिव न्यौपानेले बताए । दार्चुला जिल्लामा बहने चमेलिया नदिमा उक्त आयोजना निर्माण भईरहेको छ । आयोजनाबाट उत्पादित विद्युत शक्ति ने.वि.प्रा को चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा १३२ के.भिका टावरहरुबाट जडान गरिनेछ । आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो । कम्पनीको यो छैठौं आयोजनाको निर्माण पश्चात कम्पनीले शेयरधनिहरुलाई अमm आकर्षक लाभांश दिन सक्ने समेत जनाएको छ । यो आयोजना वि.स २०८० साल बैशाख भित्र संचालनमा आउने समेत कम्पनीले जनाएको छ । हाल आयोजनाको विद्युत गृह, सर्ज टंयाक, सवस्टेशनको निर्माण कार्य सतप्रतिशत सम्पन्न भईसकेको छ भने एलान्मेण्ट तर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिल कार्य भईरहेको छ । आयोजनामा जेपर्ट, अष्ट्रियाबाट आयात गरिएका मेसिनहरु साईटमा जडानको कार्य समेत सुरु गरिएको छ । आयोजनामा हिमालयन बैंक लि को अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरुको लगानी रहेको छ ।
अन्यत्र बसोबासको व्यवस्था भए बस्ती छाड्न तयार छौं : सुकुम्बासी
काठमाडाैं । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताए । ‘अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई पो रहर हुन्थ्यो र? ‘, उनले भने, ‘सरकारले अन्यत्र व्यवस्था गरिदिए हामीलाई यो स्थान छाड्न सजिलो हुन्थ्यो ।’ उनीसँगै सुकुम्बासी बस्तीमा लामो समयदेखि बस्दै आएका गोपाल पौडेल पनि चौधरीसँग सहमत छन् । ‘म मात्रै होइन, बस्तीका अधिकांश मानिसहरु यहाँबाट सर्न तयार छौँ, तर व्यवस्था बिना कहाँ र कसरी सर्ने ?’, उनले प्रश्न गरे । एकीकृत बागमती सभ्यता विकास समितिका प्रवक्ता बीरेन्द्र थपलियाले थापथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि आफूहरुले अध्ययन गरिरहेको बताए । ‘केही समयअघिसम्म उहाँहरू (सुकुम्बासी) अहिलेकै स्थान छाड्न तयार हुनुहुन्नथ्यो, तर अहिले अर्को ठाउँमा व्यवस्था भए जान तयार हुनुभएको हामीले पाएका छौँ’, उनले भने । उनले यसका लागि छलफल चलिरहेको समेत बताए । ‘छलफल अघि बढिसकेको छ तर सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त नभइसकेकाले निष्कर्ष निकाल्न सकिएको छैन’, उनले भने । नयाँ मन्त्री आउनासाथ ‘ब्रिफिङ’का लागि तयारी पनि भइरहेको उनले जानकारी दिए । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नरेन्द्र खड्काले काठमाडौं महानगरपालिकासँग बागमती नदी किनारका सुकुम्बासी व्यवस्थापनका लागि समन्वय हुन नसकेको गुनासो गरे । ‘देशभरका सबै स्थानीय तहमा लगत सङ्कलन र प्रमाणीकरणको काम अघि बढेको छ । तर काठमाडौँ महानगरले भने काम अघि बढाएको छैन’, उनले भने । महानगरले दुई हप्ताअघि गृह मन्त्रालयले थापाथली सुकुम्बासी बस्ती हटाउन सहयोगका लागि अनुरोध गरेको थियो । तर गृह मन्त्रालयले भने आवश्यक छलफल, समन्वय र पूर्व तयारी नभएसम्म सहयोग नहुने र पूर्णरुपमा प्रक्रिया मिचेर बस्ती हटाउन नसकिने जवाफ दिइसकेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरले गृह मन्त्रालयको निर्देशनअनुसार महानगरले तत्काल केही कदम नचालेको बताए । महानगरले गृहमन्त्रालयसँग छलफलपछि मात्रै महानगरको काम अघि बढाउने उनले जानकारी दिए । प्रवक्ता मानान्धरले थापाथली सुकुम्बासी बस्तीको पटक–पटक लगत सङ्कलन भइसकेको तर भूमि आयोगले व्यवस्थापनको काम टुङ्गो लगाउन नसकेको बताए । एकीकृत बागमती सभ्यता विकास समितिका प्रवक्ता थपलियाले पाँच महिनाअघि लगत सङ्कलन गरेको तथ्याङ्कले कति जना भूमिहीन र अव्यवस्थित भन्ने विषय नसमेटेको बताउँछन् । समितिले आन्तरिक प्रयोजनका लागि बस्तीमा कति जना छन् भनेर घरधुरीबारे तथ्याङ्क सङ्कलन गरेको उनले बताए । समितिले सुकुम्बासीका प्रतिनिधि, राष्ट्रिय भूमि आयोग, काठमाडौं महानगरपालिकासँग छलफल तथा वार्ता गर्ने क्रममा रहेको उनको भनाइ छ । रासस