काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गरेका छन् अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उनले सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको बताए ।
एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उनले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिए । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाए ।
सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताए ।
नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राखे । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गरे । राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस