धनुषामा पेस्तोलसहित २ जना पक्राउ
फाइल फाेेटाे धनुषा । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो । इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए । उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ । सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई तीव्रता दिइएको पनि जनाएको छ ।
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपतकाल घोषणा
एजेन्सी । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपतकाल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत् आपूर्ति हुन सकेन । यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जीनजीवन कष्टकर पारेको छ । राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ । अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । सुरक्षा बल अहोरात्र उद्धारमा खटेका छन् । स्थिति अझै सामान्य बनेको छैन । केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्याण्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिए। लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उनले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी पनि दिए।
सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम रु चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो । यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो । यस्तै पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरका तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत रु ९० करोड छ । सो डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ । सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रूख कटान लगायतका काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताउनुभयो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने नभए सरकारले आफैँले निर्माण गर्ने जनाउँदै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने छ । सङ्घीय राजधानीबाट बाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधनमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । रासस ।
देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ : नेता कोइराला
विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो । ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ’, उनले भने। नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे । ‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ’, उनले भने। राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला र अमृत अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लाम्साल, कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता उद्धव थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडालगायतको उपस्थिति थियो ।
कोभिड र भूकम्पपछि मानसिक समस्या एकदमै बिकराल बनेको छ – डा. पाण्डे
काठमाडौं । पछिल्लो समय नेपालमा पनि मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको कुनै रोग वा दुर्वलता उपस्थित नहुनु मात्र होइन बरु शारीरिक, मानसिक तथा सामाजिक समग्रमा स्वस्थ हुने अवस्था हो । हामी शारीरिक रुपमा समस्या सानो भएपनि तत्काल अस्पताल लाग्छौँ । तर मानसिक तथा सामाजिक रुपमा जति अस्वस्थ भएपनि त्यसको बेवास्ता गर्छौं । शरीर स्वस्थ रहनका लागि मन स्वस्थ हुनु अपरिहार्य छ, मानसिक स्वास्थ्य बिना स्वास्थ्यको परिकल्पना नै अधुरो र अपुरो हुने गर्छ । मानसिक रूपमा स्वस्थ व्यक्तिहरुले आफ्नो क्षमताको सही पहिचान गरी जीवनका विभिन्न परिस्थिति सामना गर्दै उत्पादनशील जीवनयापन गर्न सक्षम हुन्छन् । मानसिक रुपमा अस्वस्थ हुनु भन्नाले मगज बिग्रिनु वा पागल हुनु होइन, बरु मनमा अन्तरद्वन्द्व, अनावश्यक डर, त्रास, उदासीपन, खुशीको अनुभुति नहुनुका साथै तनाव सहनेसक्ने क्षमता कम हुनु, व्यक्तिगत तथा सामाजिक जीवनबीच सन्तुलन कायम राख्न सक्षम नहुनु, उत्पादनशीलता एवं बौद्धिक क्षमतामा ह्रास आउनु तथा मानसिकतामा असामान्य परिवर्तन हुनु हो । तर नेपाली समाजमा भने मानसिक समस्यालाई पागलपन मानेर त्यसको उपचार गर्नै नजाने र आफैँले समस्या समाधान गर्न लाग्ने तथा अन्य नजिकका मानिसहरुले थाहा नपाउन् भन्ने हिसावले लुकाउने गरेको पाइन्छ । मानसिक व्यथाको प्रवृति शारीरिक पीडा भन्दा बिल्कुलै फरक हुन्छ । यही असहनीय पीडाकै कारण बिरामीहरु आफू मर्न वा अरुलाई मार्न समेत पछि पर्दैनन् । विश्वमा हुने आत्महत्याहरुको प्रमुख कारण मानसिक अस्वस्थता नै रहेको अध्ययनले देखाउँछ । प्रायः हत्याकाण्डहरु पनि मानसिक वा सामाजिक विकृतिकै कारण हुने गरेको विज्ञहरुले बताउँदै आएका छन् । त्यसैले पनि हामीले मानसिक रुपमा अस्वस्थ व्यक्तिहरुको समयमै उपचार गरायौं भने बिरामीहरुलाई एउटा नयाँ जीवन प्रदान गर्न सक्दछौं । यसै सन्दर्भमा केन्द्रित रहेर नशा तथा मनोरोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग कुराकानी गरेको छ । डा.पाण्डे अल्का अस्पतालमा नशा तथा मनोरोग विशेषज्ञको रुपमा कार्यरत रहेका छन् । विशेषज्ञहरु नशा र मनोरोग एकै ठाउँमा जोडेर हेर्ने गर्छन्, तर नशाको समस्या अर्कै हो, मनोरोगको समस्या अर्कै हो भन्ने आम बुझाइ छ, खासमा यो कस्तो खालको समस्या हो र कस्तोकस्तो किसिमको लक्षण अथवा समस्या देखिँदा मेडिकल टर्ममा यो समस्या भएको बुझिन्छ ? न्युरो साइक्याट्रिक भनेर भन्छौँ हामी । यसमा खास किन न्युरो साइक्याट्रिक अथवा साइक्याट्रिकमा चाहीँ नशा कसरी जोडियो भन्ने कुरा आउँछ । न्युरो साइक्याट्रिक भनेकै मन सम्बन्धीको विषय हो । मन भनेपछि हामी मुटुलाई हेर्छौं । खास मन भनेको चाहीँ वी आर टकिङ अवाउट द माइण्ड एण्ड बे्रन । हामी माइण्ड र ब्रेनको बारेमा कुरा गर्छौं । ब्रेन जोडिने बित्तिकै ब्रेनसँग हजारौँ न्युरोन्सहरु जोडिन्छ । त्यहीँबाट मन, विचार उत्पादन भइरहेको छ । त्यही भएर हामीले न्युरो साइक्याट्रिक भनेका हौँ । यो नशासँग जोडिएकै विषयवस्तु हो । अब यसका के, कस्ता लक्षणहरु हुन्छन् भन्दा, यसको सयौँ रोगहरु छन् । यसमा खासगरी हुने लक्षणहरु भनेका निन्द्रा नलाग्ने, टाउको दुख्ने, डर लाग्ने, ढुकढुक हुने, आत्तिने, मर्छु जस्तो लाग्ने, शंका लाग्ने, अरु कसैले मलाई बिर्गान लागे, मार्न लागे, मेरो बारेमा कुरा गरिरहेको छ कि भनेर शंका, उपशंकाहरु हुने । मन निराश हुने, दिक्क लाग्ने, कुरा खेल्ने, नरमाइलो लाग्ने, आत्महत्याको महशुस हुने । चुरोट, रक्सी, खैनी, गाँजा, ट्याब्लेट, इन्जेक्शनहरुको सेवन गर्ने, हातखुट्टा झमझम ग¥यो । पोल्यो, ज्यान दुख्यो भन्ने । त्यस्तै बेहोसीको समस्या । सास फेर्न गाह्रो हुने । सेक्सुअल प्रोब्लम, डिजायरहरु कम हुने । यसमा धेरै खालका समस्याहरु हुन्छन् । सामान्य समस्या तपाईलाई अचम्म लाग्ला पेटसम्बन्धी समस्या पनि मनको कारणले गर्दा हुनसक्छ । ग्यास टाइटिक (ग्याष्ट्रिक) को औषधि खाँदाखाँदा सन्चो नभएपछि आजकाल पेटकै डाक्टरहरुले पनि हामीकहाँ पठाउनुहुन्छ । ग्यास टाइटिक सन्चो भएन, उल्टी भयो । साइकोजेनिक बोमेटिङ भन्छौँ हामी । मनको कारणले गर्दा डाइरिया हुने, मुटु ढुकढुक हुने, छाती दुख्ने, मन भारी हुने मान्छे गंगालाल गएर देखाउनुहुन्छ, केही पनि छैन भनेर भन्दिनुहुन्छ । लास्टमा फेरि उहाँहरु हामी भएको ठाउँमा आउनुहुन्छ मुटुको समस्या लिएर । हेर्दाखेरी मुटुको लक्षणजस्तो देखिन्छ तर रियालिटीमा मनको समस्या । सबै ब्रेनले गरिरहेको छ । कोही हात चलेन भन्दै आउनुहुन्छ । औँलाहरु लाटो भयो, हातखुट्टा दुख्यो, झमझम भयो भन्दै आउनुहुन्छ । कोही बेहोसीमा परेर आउनुहुन्छ, कोही टाउको दुखेर उल्टी भएर आउनुहुन्छ । विभिन्न लक्षणहरु नशा र मनसँग जोडिएर आएको हुन्छ । कुन स्टेजमा तपाईकहाँ बिरामी आइपुग्छन् ? सामान्यतया मानसिक रोग भन्ने बित्तिकै नेपाली जनमानसले आजपनि म पागलको डाक्टरकोमा गएँ की । बौलाहाको डाक्टर कहाँ गएँ की भन्ने डरको कारणले गर्दाखेरी समस्या हुँदाहुँदै पनि उसले आत्महत्याको प्रयास गरिसकेपछि वा कुलतमा पनि एकदमै इन्जेक्शन हानेर खुट्टा काट्नुपर्ने अवस्था भइसकेपछि मात्रै घरका मान्छेहरुलाई रियलाइज हुने वा कुनै घटना भइसकेपछि चाहे आफैँलाई असर परिसकेपछि अथवा अरु कसैलाई असर पारिसकेपछिको परिस्थिति रहोस् । त्यस्तो खालको परिस्थितिपछि मात्रै घरपरिवारका मान्छेहरु आउने गर्नुहुन्छ । सामान्यतया हाम्रो समाजले के भन्छ भने आँफै बलियो भएर बसे भइहाल्यो नि किन कुरा खेलाउने ? त्यहाँ मानसिकको डाक्टरकोमा गयो भने बौलाहाको औषधि दिन्छ । दिमागले काम गर्दैन । त्यहाँ जानु हुँदैन । मलाई पनि डिप्रेशन भएको थियो आफैँ बलियो भएँ । किन कुरा खेलाइरहने, राम्रो राम्रो सोच्यो भने त सन्चो भइहाल्छ नि । भनेर परिवारका मान्छेसँग सहयोग माग्दा उसलाई त्यहाँबाट पन्छाइदिने । त्यो आँफै बलियो हुने भनेको के हो त्यो कसैलाई पनि थाहा छैन । त्यो खालको कारणले गर्दाखेरी परिवारबाट पनि साथ नपाउने । समाजबाट पनि त्यो चिजको साथ नपाउने, आत्महत्या जस्ता समस्या आउने गर्छन् । हरेक दिनजसो म अस्पतालमा दुई÷तीनवटा आत्महत्याको प्रयास गरेर आउने बिरामीहरु हरेक दिन हेर्छु । म एउटा डाक्टरले दिनमा दुई, तीन जना हेर्छु भन्दा महिनामा ६०, ७० जना बिरामी त म एक्लै हेर्छु । भनेपछि यस्तो कतिवटा अस्पताल होलान् ? भनेपछि यो कुन फेजमा रहला ? कोभिडपछि, भूकम्पपछि मानसिक समस्या एकदमै विकराल रुपमा छ । बेरोजगारी, आर्थिक समस्या आदिलाई कसरी व्यवस्थापन गर्नसक्छ त ? यि सबै समस्याहरुलाई मान्छेले जब व्यवस्थापन गर्न सक्दैन त्यसपछि उसलाई इमोशनमा, फिलिङ्समा, थर्ट प्रोसेसमा, बिहेभियरमा समस्या आउँछ । उसको विचार फरक बनिदिन्छ । सोचहरु फरक बनिदिन्छ । अनुहारको एक्सप्रेसनहरु फरक बनिदिन्छ । हाउभाउहरु फरक भइदिन्छ । रिसाउने भइदिन्छ । चिटचिटापन भइदिन्छ । अहिले त नयाँ समस्या के देखिएको छ भने सात वर्षदेखिको बच्चाहरु साइकोलोजिकल प्रोब्लमहरु लिएर आइराख्नुभएको छ । सात, आठ वर्षका बच्चाहरु मोबाइल चलाउने । मोबाइल पाएन भने टाउको फुटाएर आउने । पब्जि खेल्न पाएन भने झगडा गर्ने । स्कुल नजाने । कति बच्चाहरु चौबिस घण्टा हिन्दी सिनेमाहरु हेर्दा हेर्दा नेपाली र अंग्रेजी भाषा नै बिर्सिएर पागल जस्तो भएर आइदिने । यस्ता यावत् चिजहरु ११, १२ वर्षका बच्चाहरुले आत्महत्या गरेका । निद्रा नपरेका । टाउको दुख्यो भन्दै आउने । एकदमै लार्ज स्केलमा । हामीले डिस्कस गर्नुपर्ने तर डिस्कस नगरिएको विषय वस्तुमा यो पर्छ । र हामीले डिस्कस गरेपनि नगरेपनि यो समस्याले हामीलाई छोड्दैन । तपाईले बालबालिका को कुरा गर्नुभयो, कुनै डेटा छ यति प्रतिशत बालबालिकाहरु प्रभावित भइराखेका छन् अथवा बढ्दै गइरहेको छ भन्ने ? नेशनल सर्भे त हामीसँग छैन । तर मेरो अनुभव मैले दश वर्ष पहिला अभ्यास शुरु गर्दाखेरी मैले सायद एउटा पनि पेसेन्ट हेर्दिन थिएँ भने अहिले उस्तै प¥यो भने ६ वर्षदेखि १४/१५ वर्षका ३/४ जना पेसेन्ट मैले दैनिक हेर्नु परिराखेको छ । यस्तो हरेक ठाउँमा हरेक स्थानमा भइराखेको होला । यही लेभलमा बढीराखेको होला यो समस्या । बच्चाहरु हावा चलेपनि डराउने, एक्लै बस्न नसक्ने, समाजमा गएर कुरा गर्न नसक्ने । समाजबाट एक्लिँदै छौँ भन्ने सोच्ने, बच्चाले बोल्न नपाउँदा आवाज नै नफुटेको । ढिलो बोल्ने । नयाँ मान्छेहरु सँग गफ गर्न नसक्ने । बच्चाहरुका यी समस्या एकदमै धेरै छन् । उपचारपछि बिरामीमामा आएको परिवर्तन कस्तो छ ? के पाउनुभएको छ ? त्यो एकदमै राम्रो छ । मोर द्यान ९५ पर्सेन्ट पेसेन्ट्स वि कम नर्मल । सर्टेन पेसेन्टमा हामीले त्यसमा औषधि पनि बन्द गरिदिन्छौँ । बिरामीलाई के लाग्छ भने, समाजलाई के लाग्छ भने मानसिक रोग भनेको पागलपन हो । मानसिक रोग हेर्ने डाक्टर पनि पागल हुन्छ । रोग पनि पागलपनको रोग हो । त्यो कारणले गर्दाखेरी हामी सकेसम्म पागलपनको डाक्टरकहाँ जाने होइन । आँफै कोशिस गर्नुपर्छ । योगा गरेर, ध्यान गरेर, मनमा कुरा नखेलाएर, सकारात्मक सोच्यो भने आफैँ सन्चो हुन्छ भनेर हामी आफ्नै समस्यालाई लम्ब्याउँदै जान्छौँ र एकैचोटी सुसाइड गरेर आइसियुमा आइपुग्ने अवस्था हुन्छ । यो खालको परिस्थितिमा बिरामीहरु बसिराख्नुभएको छ । यही परिस्थितिमा हाम्रा छोराछोरीलाई, हाम्रा दाजुभाईलाई, हाम्रो समाजलाई कहिलेसम्म यो समस्याबाट ग्रसित गराइराख्ने ? अथवा यसको बारेमा कसले बोल्ने त ? विगत एक वर्षको समयको विश्लेषण गर्दा कस्तो खालको समस्याको प्रकृति लिएर आउने र उमेर समूह पनि कस्तो खालका बढेका छन् ? अहिले सबभन्दा कमन देखिएको एन्जाइटी । डर, ढुकढुक हुने, आत्तिने, सास फेर्न गाह्रो हुने, अर्को अनिद्रा, युवा पुस्तामा चाहीँ अनिद्राको समस्या । मोबाइल, टेक्नोलोजी, सोसल मिडियाको प्रयोगको कारणले गर्दा अधिक मान्छेहरु यसको शिकार भइराखेका छन् । सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक कुरा पनि आउँछन् । तर त्यसको सेलेक्शन कसरी गर्ने ? फिल्टर कसरी गर्ने ? नकारात्मक सोच र नकारात्मक जानकारीहरुको प्रभाव हाम्रो मनमा कसरी परिरहेको छ ? आफैँले रोग पत्ता लगाएर आफैँले उपचार गर्न खोज्ने प्रवृत्तिको कारणले गर्दा मानिसहरुमा यावत समस्याहरु देखिएको छ । मिडियाको प्रयोगले गर्दा मान्छे १/२ बजे सुत्ने । मोबाइल चलाउने, टिकटक चलाउने, पब्जी लगायतका गेम खेल्ने यसरी मानिसहरु अल्मलिइरहनुभएको छ । त्यसो हुँदा युवापुस्ताको ब्रेन, क्रेटीभिटी सबै हट्दै गइरहेको छ । मानिसहरुलाई तपाईको सुझाव के छ, के–के भयो भने नडराईकन न्युरो साइक्याट्रिककोमा आउनुस् भन्नुहुन्छ ? नशा तथा मानसिक रोग भनेको कुनै ठूलो समस्या होइन । एकदमै सामान्य समस्या हो । ग्यास टाइटिक (ग्याष्ट्रिक) को समस्यामा औषधि खाएर सन्चो भएको जस्तै मनको पनि समस्या भयो भने औषधि खाएर सन्चो हुन्छ । यसका सयौँ प्रकृतिका रोग छन् । एउटै मात्र प्रकृतिको रोग छैन । जाने बित्तिकै डाक्टरले दिमागले काम नगर्ने औषधि दिन्छ भनेर कल्पना गर्नुपर्दैन । हामी सामान्य गफ गरेर, काउन्सिलिङ गरेर पठाउन सक्छौँ । कति पटक हामी साइको थेरापी सेसनहरु प्लान गर्नसक्छौँ । त्यति धेरै डराउनुपर्ने आवश्यकता छैन । औषधि खाइहाल्दा पनि डाक्टरलाई सोध्दा हुन्छ कति समयसम्म खानुपर्छ औषधि भनेर । डाक्टरले प्रष्ट रुपमा भन्नसक्छ, १ वर्षजति खायो भने मज्जाले पुग्छ । सामान्य रोगहरुको अवस्थामा । तर सर्टेन रोगहरुमा चाहीँ औषधि अलि लामो समय खानुपर्ने हुन्छ । त्यो कुरा पेसेन्टलाई राम्रोसँग भनिएको हुन्छ । बिरामीलाई रोगको बारेमा भनिएको हुँदैन भने बिरामीको मान्छेलाई भनिएको हुन्छ । यो चिजहरुबाट रोक्नका लागि तपाई आफैँले नै आफूबाट शुरु गर्नुपर्छ । आफ्नो घरबाट शुरु गर्नुपर्छ । निस्कर्षमा यो न्युरो साइक्याट्रिक समस्या पछिल्लो समय बढ्दै गइरहेको छ भन्नसक्छौँ ? बालबालिकाको उमेर समूहमा पनि बढेको छ ? मज्जाले भन्नसक्छौँ । कोभिडपछि बालबालिकाको उमेर समूहमा पनि बढेको छ । युवा, किशोरमा पनि बढेको छ । कोभिडको कुरा मात्र रहेन । आर्थिक समस्याको कुरा मात्र रहेन । बुबाआमाले समय दिन नसक्नु, यसमा विभिन्न फ्याक्टरहरु छन् । धेरै फ्याक्टरहरुको रोल छ । आमा, बुबाको दोष अथवा पैसाको कमी यो कुनै एउटा चिज छैन ।
भैँसीपालनबाट आम्दानी गर्दै, सफल व्यवसायी बनिन् वकी डाँगी
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४५ वर्षीय वकी डाँगीको दिनचर्या बिहानको मिर्मिर उज्यालोदेखि बेलुकासम्म भैँसीका पाडापाडीको स्याहारसुसारमा बित्ने गरेको छ । छोटो समयमा व्यावसायिक भैँसीपालन गरेर एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएकी डाँगी सधैँ भैँसी स्याहारदेखि दूध बिक्रीवितरणको काममा व्यस्त देखिन्छिन् । आठ वर्षदेखि भैँसीपालन गर्दै आउनुभएकी डाँगीको परिवारमा अहिले दुईजना सदस्य पनि यहीँ पेशामा संलग्न भएकी छन्। साथै उनले आफ्नो फार्ममा स्थानीय दुईजनालाई रोजगारी समेत दिएकी छन् । डाँगी पशुपालन पेसाबाट सन्तुष्ट छिन् । ‘वार्षिक रू सात लाख बचत गर्ने गरेकी छु, आम्दानी राम्रो भएपछि दैनिकी सहज भएको छ’, उनले भनिन् । बिहानको मिर्मिरे उज्यालोसँगै उनको व्यस्तता सुरु हुन्छ । परम्परागत खेतीपाती गर्दै आएकी डाँगीले २०७० मा ‘शुभ भैँसी फार्म’ दर्ता गरी व्यावसायिक रुपमा भैंसीपालनको सुरुआत गरेकी थिइन् । उनले भनिन्, ‘सुरुमा रू एक लाखमा एउटा उन्नत जातको भैँसी खरिद गरी भैँसीपालन गरेका र्हौ अहिले फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन् ।’ तीमध्ये १० वटा दुहुना भैँसी छन् । उनका अनुसार दैनिक ८० देखि ९० लिटरसम्म दूध तुलसीपुर बजारमा रहेको आफैँले डेरी उद्योगबाट बिक्रीवितरण गर्छिन् । कोरोना महामारीका समयमा उत्पादित दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भएपनि अहिले भने बजारको कुनै समस्या नरहेको डाँगीले बताइन्। ‘एक वर्षयता आफैँले तुलसीपुर बजारमा डेरी उद्योग सञ्चालन गरेका छौँ, दाङमा दूधको फुटकर मूल्य रू ९० र दहीको रू एक सय प्रति लिटर छ, अहिले आम्दानी राम्रै भएको छ’, उनले भनिन् । शुक्रबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घरआँगनमा शुद्ध दूध खान पाइने भएकाले यहीँबाट लैजाने गरेको बताइन्। ‘यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ’, उनले भनिन्। डाँगीले फार्ममा अहिलेसम्म रू ४० लाख लगानी गरिसकेकी छन् भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रू २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको छ । आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर गत वर्ष रू सात लाख बचत गर्नुभएको थियो । यसपटक डेरी पनि सञ्चालनमा रहेकाले बचत रकम बढ्न सक्ने उनको भनाइ छ । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरनलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको छ । ‘सरकारी निकायबाट प्राविधिक सहयोग पाएको छु तर आर्थिक सहयोग भने कुनै निकायबाट पनि पाएको छैन’, डाँगीले भनिन् । कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरिदका लागि मानिसहरु आउने गरेका छन् । पैसा कमाउन र जीविकोपार्जन गर्न जागिर खानै पर्छ वा विदेश जानैपर्छ भन्ने छैन, आफूले पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय राम्रो क्षेत्रका रुपमा साबित हुने उनको बुझाइ छ । राज्य नारामा मात्र सीमित नभई कृषि व्यावसायमा लाग्नेलाई व्यावहारिक रुपमा सहयोग गरेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनसके कृषिमा आत्मनिर्भर हुनेको सङ्ख्या बढ्ने उनको धारणा छ । उत्पादित कृषि सामग्रीलाई उचित बजारको व्यवस्था गर्न सकेमा किसानलाई थप हौसला प्राप्त हुने उनको अनुभव छ ।
चितवनमा चेक बाउन्सका उजुरी बढ्दै
चितवन । चितवन जिल्लामा चेक बाउन्सका मुद्दा बढ्दो क्रममा रहेका छन् । कात्तिक महिनामा स्थापना भएको बैङ्किङ कसुर तथा अपराध अनुसन्धान शाखामा अहिलेसम्म दुई सय ११ निवेदन परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार परेका निवेदनमध्ये ६७ मुद्दा दर्ता भएका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दर्ता भएका मुद्दामध्ये २६ मुद्दा फैसला भएका छन् । यस्तै परेका निवेदनबाट २१ आन्तरिक छलफलबाट टुङ्ग्याइएको उनले बताए। उनले भने, ‘चेक बाउन्सका दैनिक तीन हाराहारी उजुरी पर्ने गरेका छन् ।’ उजुरी जग्गा व्यवसाय, उद्योगी व्यापारी र निर्माण व्यवसायीका रहेको उनले बताए । चेक अनादर गर्ने क्रम बढ्दो क्रममा रहेको जनाउँदै उनले पैसा कमाउन सजिलो बाटो रोज्दा समस्या बढेको बताए। बैङ्किङ् कसुरमा मुद्दा लागेका व्यक्तिलाई बिगो बराबरको जरिवाना र बिगो अनुसारको एकदेखि पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । पछिल्लो समय चेकलाई केही होइन भन्नेको सङ्ख्या बढ्दो रहेकाले पनि समाजमा बैङ्किङ कसुर बढ्दै गएको पण्डितले बताए ।
यतिको विमान दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ : नेपाली सेना
काठमाडौं । कास्कीको पोखरास्थित सेती खोंचमा यति एयरको विमान दुर्घटनामा परी हराइरहेका एक जनाको खोजी भइरहेको नेपाली सेनाले जनाएको छ । कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ मा दुर्घटनास्थलमा खोज तथा उद्धारमा खटिएको टोलीलाई फिर्ता गर्ने निर्णय गरेपनि दुर्घटनामा परेकामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेकाले खोजीकार्य जारी रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। चालक दलका चारसहित ७२ जना यात्रु बोकोर काठमाडौँदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको विमान यही माघ १ मा पोखराको सेती नदीको खोंचमा खसेको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा ७१ जनाको शव फेला पारेको थियो । साथै उद्धारका क्रममा भेटिएको ब्लाक बक्सलगायतका सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो । विमान दुर्घटनाको खबर प्राप्त गर्नासाथ खोज तथा उद्धार कार्यलाई नेपाली सेनाले तिव्रता दिएको थियो ।