विकासन्युज

हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताए । राजविराजमा आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए । ‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ,’ उनले भने । भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कांग्रेस (आइ)ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए । उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए ।

कन्सर्टको भीडमा ९ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ९ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै ९ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

समृद्धि फाइनान्सद्वारा विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागीय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको फाइनान्सले जनाएको छ । राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

भारतमा दुई वटा सैनिक विमान एकआपसमा ठोक्किएर दुर्घटना

एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए । गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । त्यस अघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।

सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण सम्पन्न

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित सम्पती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका एक प्रतिशतभन्दा बढि शेयर स्वामित्वभएका शेयरधनी, संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा माघ १३ गते सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २६ मर्चेन्ट बैंकिङ्ग संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तीय जानकारी इकाईका विभागीय प्रमुख तथा निर्देशक दिर्घबहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्पmबाट कानुनी प्रवर्तन इकाई र एएमएल विभागका का.मु.निर्देशक राजाराम दुवाल उपस्थिति रहेको थियो । नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आई. एम. ई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा सहभागी भएका अतिथिहरुलाई प्रशसांको चिनो/प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरी कार्यक्रम समापन गरिएको थियो ।

अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

फाइल फाेटाे काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’ अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए। अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ । महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए । उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे ।

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो – रामनारायण बिडारी

काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए । उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्यो भन्दै प्रश्नसमेत गरे । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पारे । उनले भने, ‘राष्ट्रपति एकताको प्रतिक हो । संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो । यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन । तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुक्मांगत कटुवालको बाहेक अन्यमा बहस गर्नुपरेन तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो । दलीय प्रभाव परको, गर्नु नहुने काम गर्नुभयो । राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पद जस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ । राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ ।’ वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताएका छन् ।

व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा

तनहुँ । गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आएका छन् । तर बजार नपाएपछि उनी बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्छन् । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताए । उनीसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आएका छन् । उनले भने, ‘सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।’ ‘आफूहरुले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ’, उनले भने, ‘ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुई वटासम्म ठेकी बनाउने गर्दछौँ ।’ कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरुले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताए । ‘गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने ?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्छौँ’, उनले भने। हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरुको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताए । ‘गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो’, स्थानीय रामबहादुर विश्वकर्माले भने। समूहगत रुपमा छलफल भएअनुसार आफूहरु कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उनले जानकारी दिए । रामबहादुरले भने, ‘समूह बनाएर बाँडिएर फरक–फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।’ केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरुसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका–४ रम्घाका श्रीकृष्ण सोतीले बताए । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उनको भनाइ छ । ‘ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ । तर राम्रो भनेर दुई वर्षअघि किनेको फुट्यो’, सोतीले भने, ‘त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाउँदै गरेको किनेको छु । अब भने ५/७ वर्ष केही नहोला भन्ने ठानेको छु ।’ आफूहरुले परम्परागत रुपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भए पनि लगानी अभावका कारण उद्योग दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताए। गाउँका अधिकांश व्यीक्त साक्षर मात्र छन् । एसइई उत्तिर्ण गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उनको भनाइ छ । यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछन् । ठेकी प्रतिमाना रू चार सय तथा गिलास, कचौरा र कप आकारका आधारमा रू एक हजारदेखि रु दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए। काठका यस्ता सामान बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ । यसरी विभिन्न काठका सामग्री उत्पादन गर्ने गरेका भए पनि बजार तथा उचित मूल्य पाउन भने समस्या हुने गरेको व्यवसायी बताउँछन् ।