बुढानीलकण्ठ नगरपालिकामा खानेपानी समस्या समाधान गरिने
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बुढानीलकण्ठ नगरपालिका ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिए । कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।
सुनको मूल्य प्रतितोला एक लाख ६ हजार पुग्यो
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
उपकार लघुवित्तको ६५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
५ वर्षमा वाणिज्य बैंकहरुको नाफा : झिनो सुधार, देखिएन स्थीरता
काठमाडौं । पछिल्लो ५ वर्षको अवधिमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकहरुको नाफा ८.४७ प्रतिशतले बढेको हो । बैंकहरुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा ३० अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले चालु आवको सोही अवधिमा ३३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तै, अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा बैंकको नाफा ५ प्रतिशत नाफा बढेको थियो । उक्त वर्षको ६ महिनामा बैंकहरुले ३२ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । तर, कोरोना महामारीले गर्दा सरकारले लकडाउन गरेपछि बैंकहरुले व्यवसाय विस्तार गर्न सकेनन् । जसकारण बैंकको नाफामा असर गर्याे । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा बैंकको नाफा २ प्रतिशत घट्न पुग्यो । सो वर्ष बैंकहरुले ३१ अर्ब ८६ करोड मात्रै नाफा कमाए । कोरोना महामारी न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा बैंकहरुको नाफा ७.३५ प्रतिशतले बढेको थियो । उक्त अवधिमा बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका थिए । कोरोना महामारीपश्चात अर्थतन्त्रले विस्तारै सुधारको लय समात्दै थियो । तर बजारमा तरलता अभाव हुँदा बैंकहरुको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ । जसले गर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा घट्न पुगेको छ । यसपटक लगानीयोग्य रकम अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर बढाए । तर, बैंकको ब्याजदर बढ्दा कर्जाको लागत बढ्न पुग्यो । जसले गर्दा कर्जाको माग घटेपछि व्यवसाय विस्तार हुन सकेन । व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा प्रभावित हुन पुगेको बैंकर्सहरु बताउँछन् । ५ वर्षको तुलनामा बैंकहरुले गत असारमा ३९.४६ प्रतिशत वृद्धि गरेका थिए । बैंकहरुले गत असारमा ७४ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएका थिए । २०७५ असारमा ५३ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएका थिए । २०७६ असारमा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत नाफा बढेको थियो । उक्त वर्ष ६५ अर्ब २१ अर्ब रुपैयाँ नाफा कमाएका थिए । यस्तै, २०७७ असारमा भने बैंकहरुको नाफा १०.८६ प्रतिशत घटेको थियो । उक्त अवधिमा ५४ अर्ब ३५ करोड रुपैयाँ मात्रै नाफा कमाएका थिए । यस्तै, २०७८ असारमा ९ प्रतिशत नाफा बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ कमाएका थिए । त्यसै, २०७९ असारमा बैंकहरुको नाफा ११.४८ प्रतिशत बढेर ७४ अर्ब ८५ करोड नाफा कमाएका हुन् । लगानीयोग्य रकमको अभावका कारण अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने बैंकर्सहरु बताउँछन् । अघिल्ला वर्षहरुमा जथाभावी लगानी बिस्तार गरेकाले केही बैंकहरुको खराब कर्जाको अनुपात पनि बढ्ने संभावना छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल पछिल्लो समय बैंकहरुले तरलता अभावको समस्या खेप्नु परेका कारण पनि अपेक्षा गरिए जस्तो वित्तीय विवरण नआउने बताउँछन् । अर्थतन्त्रमा दवाव सहितका विभिन्न कारणले गर्दा पहिलो क्वार्टरपछिको दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनले बताए । ‘सामान्यतया प्रत्येक वर्ष पहिलो क्वार्टर त्यति धेरै राम्रो हुँदैनथ्यो, दोस्रो त्रैमास राम्रो हुन्थ्यो, त्यो एउटा ट्रेण्ड थियो तर, यसपटक त्यो ट्रेण्ड रहन सकेन,’ उनले भने, ‘किनभने तरलता सुधार भएको छैन, वर्षको अन्त्यमा पुग्दा भने सुधार हुन्छ ।’
निजी क्षेत्रलाई पार्किङको जिम्मा दिदैँ पोखरा विमानस्थल कार्यालय
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उत्तरपट्टी रहेको जग्गा पार्किङका लागि ठेक्कामा लगाउने भएको छ । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आईतबार एक सूचना जारी गर्दै टर्मिनल भवन रहेको उत्तरपट्टी रहेको १० हजार ५ सय १४.८३७ वर्गमिटर क्षेत्रफलमा सवारी पार्किङ तथा शुल्क संकलनका लागि टेन्डर आह्वान गरेको छ । सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र इच्छुक आवेदन कर्ताले नेपाल बैंक लिमिटेड पोखरा शाखामा रहेको कार्यालयको खातामा ३ हजार ३९० रुपैयाँ बुक्राएको भैचर सहित बोलपत्र खरिद गर्न सक्ने जनाएको छ । कार्यालयले ५ वर्षका लागि कम्पनी छनोट गर्न लागको हो । कार्यालयले पाँच वर्षका लागि न्यूनतम १ करोड ६२ लाख ३३ हजार रुपैयाँ तोकेर टेन्डर गरेको छ । यसअघि नै प्राधिकरणलाई बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेका कम्पनी उक्त बोलपत्रमा सहभागिता जनाउन नपाउने प्राधिकरणले सूचना मार्फत जनाएको छ । कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा तोकेको भन्दा बढी सेवा ग्राहीसँग लिन पाउने छैन् ।
काम अलपत्र पार्ने १२ वटा निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी/आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने कम्पनीमा मुख्य व्यक्ति गोपाल ढकाल रहेको युनिभर्सल मल्टी सर्भिसेस प्रालि शङ्खमुल काठमाडौँ, कुमार भण्डारी मुख्य व्यक्ति रहेको श्री स्वर्गद्वारी महाप्रभु विलडर्स प्रालि भिंग्री प्यूठान, कृष्णबहादुर खड्का मुख्य व्यक्ति रहेको श्री सुक्रिन निर्माण सेवा घोराही दाङ, निरजकुमार मिश्र मुख्य व्यक्ति रहेको श्री एसडी कन्स्ट्रकसन जनकपुरधाम धनुषा छन् । त्यसैगरी जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरा, जनार्धन धिताल मुख्य व्यक्ति रहेको मुक्तिनाथ बिल्डर्स एण्ड कम्पनी प्रालि टोखा धापासी, रामबहादुर राना मुख्य व्यक्ति रहेको लक्ष्मी निर्माण सेवा छत्रदेव अर्घाखाँची, प्रकाश कोइराला मुख्य व्यक्ति रहेको जलेश्वर निर्माण सेवा नीलकण्ठ धादिङ, माधबबहादुर घिमिरे मुख्य व्यक्ति रहेको डिभी घिमिरे कन्स्ट्रक्सन इच्छाकामना, कुरिनटार, पुष्करप्रसाद मुख्य व्यक्ति रहेको अञ्जना निर्माण सेवा भरतपुर चितवन छन् । कार्यालयका अनुसार रानीकुमारी रौनियार मुख्य व्यक्ति रहेको दिल्ली ट्रेडिङ वीरगञ्ज पर्सा र शिवहरि पुडासैनी मुख्यव्यक्ति रहेको बी म्यानेजमेन्ट प्रालि नयाँ बजार पोखरा छन् । कालोसूचीमा राखिएका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन् । जगतबहादुर जोरा मुख्य व्यक्ति रहेको राष्ट्र निर्माण सेवा भागेश्वर गाउँपालिका डडेल्धुरालाई तीन वर्ष तथा बाँकी कम्पनीलाई एक वर्ष कालोसूचीमा राखिएको कार्यालयको भनाइ छ ।
हिमालयन उर्जाले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपात अर्थात् २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्रै हकप्रद सेयर निष्काशन गर्ने छ । साथै, विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनुपर्नेछ । कम्पनीको सञ्चालक समितिको बैठकले अधिकृत पूँजी र जारी पूँजी वृद्धि गरी ३ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै, हकप्रद सेयर निश्कासनपश्चात् प्राप्त हुने पूँजी मध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय गरेको छ । कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयार सञ्चालक समितिमा रहने गरी प्रबन्ध पत्र संशोधन गर्ने निर्णय गरिएको छ ।
सिभिल लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।