५ वर्षमा वाणिज्य बैंकहरुको नाफा : झिनो सुधार, देखिएन स्थीरता

<p>काठमाडौं । पछिल्लो ५ वर्षको अवधिमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकहरुको नाफा ८.४७ प्रतिशतले बढेको हो । बैंकहरुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा ३० अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले चालु आवको सोही अवधिमा [&hellip;]</p>

काठमाडौं । पछिल्लो ५ वर्षको अवधिमा वाणिज्य बैंकहरुको नाफा सामान्य बढेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकहरुको नाफा ८.४७ प्रतिशतले बढेको हो ।

बैंकहरुको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासमा ३० अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले चालु आवको सोही अवधिमा ३३ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

यस्तै, अघिल्लो आवको तुलनामा आर्थिक वर्ष २०७६/७७ मा बैंकको नाफा ५ प्रतिशत नाफा बढेको थियो । उक्त वर्षको ६ महिनामा बैंकहरुले ३२ अर्ब ३८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

तर, कोरोना महामारीले गर्दा सरकारले लकडाउन गरेपछि बैंकहरुले व्यवसाय विस्तार गर्न सकेनन् । जसकारण बैंकको नाफामा असर गर्याे । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा बैंकको नाफा २ प्रतिशत घट्न पुग्यो । सो वर्ष बैंकहरुले ३१ अर्ब ८६ करोड मात्रै नाफा कमाए ।

कोरोना महामारी न्यूनीकरण भएपछि आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा बैंकहरुको नाफा ७.३५ प्रतिशतले बढेको थियो । उक्त अवधिमा बैंकहरुले ३४ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएका थिए ।

कोरोना महामारीपश्चात अर्थतन्त्रले विस्तारै सुधारको लय समात्दै थियो । तर बजारमा तरलता अभाव हुँदा बैंकहरुको नाफामा प्रत्यक्ष असर परेको देखिन्छ । जसले गर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुको नाफा घट्न पुगेको छ ।

यसपटक लगानीयोग्य रकम अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर बढाए । तर, बैंकको ब्याजदर बढ्दा कर्जाको लागत बढ्न पुग्यो । जसले गर्दा कर्जाको माग घटेपछि व्यवसाय विस्तार हुन सकेन । व्यवसाय विस्तार हुन नसक्दा बैंकहरुको नाफा प्रभावित हुन पुगेको बैंकर्सहरु बताउँछन् ।

५ वर्षको तुलनामा बैंकहरुले गत असारमा ३९.४६ प्रतिशत वृद्धि गरेका थिए । बैंकहरुले गत असारमा ७४ अर्ब ८५ करोड रुपैयाँ नाफा कमाएका थिए । २०७५ असारमा ५३ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएका थिए ।

२०७६ असारमा अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत नाफा बढेको थियो । उक्त वर्ष ६५ अर्ब २१ अर्ब रुपैयाँ नाफा कमाएका थिए । यस्तै, २०७७ असारमा भने बैंकहरुको नाफा १०.८६ प्रतिशत घटेको थियो । उक्त अवधिमा ५४ अर्ब ३५ करोड रुपैयाँ मात्रै नाफा कमाएका थिए ।

यस्तै, २०७८ असारमा ९ प्रतिशत नाफा बढेर ६३ अर्ब ३७ करोड रुपैयाँ कमाएका थिए । त्यसै, २०७९ असारमा बैंकहरुको नाफा ११.४८ प्रतिशत बढेर ७४ अर्ब ८५ करोड नाफा कमाएका हुन् ।

लगानीयोग्य रकमको अभावका कारण अघिल्ला वर्षको तुलनामा धेरै राम्रो प्रगति विवरण नआउने बैंकर्सहरु बताउँछन् । अघिल्ला वर्षहरुमा जथाभावी लगानी बिस्तार गरेकाले केही बैंकहरुको खराब कर्जाको अनुपात पनि बढ्ने संभावना छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल पछिल्लो समय बैंकहरुले तरलता अभावको समस्या खेप्नु परेका कारण पनि अपेक्षा गरिए जस्तो वित्तीय विवरण नआउने बताउँछन् । अर्थतन्त्रमा दवाव सहितका विभिन्न कारणले गर्दा पहिलो क्वार्टरपछिको दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनले बताए ।

‘सामान्यतया प्रत्येक वर्ष पहिलो क्वार्टर त्यति धेरै राम्रो हुँदैनथ्यो, दोस्रो त्रैमास राम्रो हुन्थ्यो, त्यो एउटा ट्रेण्ड थियो तर, यसपटक त्यो ट्रेण्ड रहन सकेन,’ उनले भने, ‘किनभने तरलता सुधार भएको छैन, वर्षको अन्त्यमा पुग्दा भने सुधार हुन्छ ।’

Share News