विकासन्युज

बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन तथा निर्जीवन बीमा कम्पनीका नुवाकोटस्थित शाखा कार्यालयका प्रमुखहरूसँग शुक्रबार बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा क्षेत्रमा देखिएका समस्याहरू र समाधानका उपायका बारेमा छलफल भएको हो । कार्यक्रममा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूले केही हदसम्म बीमा दाबी भुक्तानी शाखा कार्यालयबाट नै दिनसक्ने व्यवस्था हुनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि तालिम दिनुपर्ने र बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निरन्तररूपमा आयोजना गर्नुपर्ने विचार व्यक्त गरे । साथै, उनीहरूले बीमा व्यवसायमा देखिएका अस्वस्थ प्रतिस्पर्धा नियन्त्रणका लागि प्राधिकरणले निरीक्षण एवम् नियमनमा जोड दिनुपर्ने र बीमा अभिकर्ताका लागि समेत तालिमको व्यवस्था गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न, शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउन र बीमा दाबी भुक्तानी पनि शाखा कार्यालयहरूबाट नै दिने व्यवस्था गर्न बीमा कम्पनीहरूलाई प्राधिकरणबाट निर्देशन दिइएको जानकारी दिए । यसैगरी, शुक्रबार नै नुवाकोटको सातविसेस्थित सुन्दरा माध्यमिक विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूलाई बीमा सम्बन्धी विषयमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा शिक्षकहरू तथा कक्षा १०, ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस्तै, नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा बिहिबार आयोजना गरिएको बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि तथा कर्मचारी, शिक्षक, बीमा अभिकर्ता, कृषकहरू लगायतको सहभागिता रहेको थियो । नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा बीमालाई पनि समेट्ने र कृषि बीमाशूल्कमा गाउँपालिकाका तर्फबाट समेत अनुदानको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै, उनले बीमा दाबीका लागि कागजात जुटाउन समस्या पर्ने गरेको र दाबी भुक्तानीमा पनि ढिलाई हुने गरेको उल्लेख गर्दै बीमा दाबी भुक्तानी प्रक्रियालाई सरलीकरण गर्न आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक निर्देशक गीता नेपाल आचार्यले स्वागत र सहायक प्रथम शिव प्रसाद खनालले कार्यक्रम संचालन गरेका थिए ।

भिर छिचोलेर बागलुङको घुम्टे लेकमा पदमार्ग

गण्डकी । जोखिमको पर्वाह नगरी मजदुरले बागलुङको घुम्टे लेकमा पदमार्ग बनाएका छन् । राम्चेढुङ्गादेखि पदमार्ग निर्माणका लागि कामदार वनमै बास बसे । बडिगाड गाउँपालिकाको फोर्सादेखि आएका मजदुरले महिनौँसम्म अप्ठ्यारोमा बसेर पनि काम गरेका हुन् । कठिन भौगोलिक अवस्थालाई छिचोलेर पदमार्ग बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए । ‘चट्टाने भिरमा मजदुरले काम गरे’, उनले भने, ‘पहरो काटेर, कतै चार/पाँच मिटर तलबाट पर्खाल उठाएर पनि पदमार्ग बनाइएको छ ।’ चार वर्षअघि पदमार्ग निर्माण थालिएको थियो । अहिलेसम्म राम्चेढुङ्गादेखि तुलसीको मैरोसम्म तीन किमी पदमार्ग बनिसकेको छ । सबैभन्दा जटिल स्थल पार गरेर पदमार्ग बनाइएकोे उनले सुनाए । दुई वर्षअघि ठूलासम्मादेखि गल्लाको घाँटीसम्म पदमार्ग बनाउन फोर्साली मजदुर खटिएका थिए । त्योबेला उनीहरु वनमै टहरो हालेर बसेका थिए । दैनिक बस्तीसम्म आवतजावत गर्न कठिनाइ हुने भएपछि वनमै बास बसेर काम गरिएको कामदार डिलबहादुर घर्तीले बताए । टहरो हालेर बस्दा ओढ्ने, ओछ्याउने कपडादेखि खानलाई चाहिने सामान जुटाएर जाने गरिएको उनको भनाइ थियो । जोकोहीले जोखिमपूर्ण काम गर्न नसक्ने भएकाले निर्माणका क्षेत्रमा नाम कहलिएका फोर्साली मजदुरलाई झिकाइएको हो । ‘भौगोलिक कठिनाइ भएको ठाउँमा पदमार्ग निर्माण भइसकेको छ, अब गरिने काम केही सहज हुने भएकोछ’, अध्यक्ष थापाले भने, ‘थप बजेट व्यवस्था भएमा यसै वर्ष पदमार्गको काम सकिन्छ, स्रोत जुटाउन पहल गरिरहेका छौँ ।’ अप्ठ्यारो र भिरको ठाउँमा ‘रेलिङ’ राखेर पदमार्गलाई सुरक्षित बनाइएको उनले जानकारी दिए । गण्डकी प्रदेशको पर्यटन मन्त्रलायबाट छुट्याइएको पाँच लाख बजेटबाट यसपाली गल्लाको घाँटीदेखि तुलसीको मैरोसम्म पदमार्ग निर्माण गरिएको हो । अझै करिब दुई किमी पदमार्ग बनाउन बाँकी छ । त्यसका लागि थप ३० लाख बजेटको खाँचो छ । ‘बीचमा कतैबाट पनि बजेट आउन सकेन, झण्डै दुई वर्षजति पदमार्गको काम रोकियो”, उनले भने, ‘यो वर्ष प्रदेशबाट आएको पाँच लाख बजेटबाट तीन सय मिटर जति पदमार्ग बनिसकेको छ ।’ बाँकी खण्ड सजिलो ठाउँको भएकाले कम बजेटमा पनि धेरै काम गर्न सकिने भएको छ । गलकोट–७ का वडाध्यक्ष राजबहादुर थापाले पदमार्गका लागि वडा र नगरबाट बजेट उपलब्ध गराउन पहल गर्ने बताए । ‘छोटो दूरी भएकाले यो पदमार्ग हुँदै घुम्टे उक्लने पर्यटक बढ्छन्, जतिसक्दो चाँडो पदमार्गलाई पूर्णता दिनुपर्छ’, अध्यक्ष थापाले भने । पदमार्गमा स्थानीय सामग्री, सीप र प्रविधि प्रयोग भइरहेको छ । उक्त पदमार्गमा सङ्घ र प्रदेश सरकारको गरी हालसम्म ३५ लाख खर्च भइसकेको छ । भौगोलिक जटिलताका कारण पनि पदमार्ग निर्माणले बढी समय लिएको हो । उक्त पदमार्गले घुम्टेसहित आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले पर्यटन विकासका लागि पदमार्गसहित अरु पूर्वाधार पनि चाहिने बताए । ‘पदमार्ग बन्दैछ अब पर्यटक आकर्षित गर्ने खालका गतिविधि पनि सञ्चालन गरिनुपर्छ’, उनले भने, ‘पूर्वाधार बनाउनसके घुम्टेमा पर्यटक आउँछन् ।’ पदमार्ग निर्माणको कामलाई गति दिएर बेलैमा सक्न स्थानीय तहसहित राज्यका निकायले यथोचित बजेटको प्रबन्ध हुनुपर्नेमा अध्यक्ष बस्नेतले जोड दिए । एकतीस सय १० मिटर अग्लो घुम्टेको लेक गण्डकी प्रदेशका एक सय १० पर्यटकीय गन्तव्यमध्येमा सूचीकृत छ । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सीमामा पर्ने घुम्टे प्रदेशकै उदाउँदो पर्यटकीयस्थलमा पर्छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा आस्थावान पर्यटकलाई घुम्टेले लोभ्याउने गर्छ । घुम्टेको चुचुरोमा सिद्ध भैरवको मन्दिर छ । बर्सेनि वैशाख पूर्णिमामा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । त्यहाँ पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिकरूपले सुन्दर, हिमालमा देखिने सूर्योदय तथा सूर्यास्त अवलोकन, बहुमूल्य जडीबुटी, ऐतिहासिक मन्दिर, गुराँसे वन आदि घुम्टेका विशेषता हुन् । घुम्टेमा विगत एक दशकदेखि नयाँ वर्षको अवसरमा ‘गुराँस उत्सव’समेत आयोजना हुँदै आएको छ । वसन्त याममा थरीथरीका गुराँसले घुम्टे ढकमक्क हुन्छ । यहाँको पर्यटन गुरुयोजना पनि निर्माणको चरणमा छ । गलकोट नगरपालिकाले घुम्टेदेखि तल देउरालीसम्म सडक पु¥याउन लगानी गरिरहेको छ । बागलुङ सदरमुकामदेखि ४५ किमि गाडीको यात्रापछि हटिया पुगिन्छ । हटियादेखि कच्ची सडकमार्फत एक घण्टामा टेउवा पुग्न सकिन्छ । टेउवाबाट पैदल अढाइ/तीन घण्टामा घुम्टे पुगिन्छ । गलकोट–१० पाण्डवखानी र ताराखोला–३ हिलबाट पनि घुम्टे पुग्न सकिन्छ । रासस

भिभोद्वारा नेपालमा वाई ०२ सार्वजनिक

काठमाडौं । भिभोले वाई सिरिजमा नयाँ मोडल वाई ०२ सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्ने कम्पनीले बताएको छ । वाई ०२ मा दिनभरिका कामहरू सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीवी र्याम+३२ जीवी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ । यो स्मार्टफोन १२,४९९ रुपैयाँ मुल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ । वाई ०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । यसको २.५ डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ । यो स्मार्टफोन दुई सुन्दर रंगहरू-कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ । वाई ०२ स्मार्टफोन युवा उपभोक्ताहरूको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरूको दैनिकीलाई सहज बनाउँछ । वाई ०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माईकलले भने, ‘युवा उपभोक्ताहरूलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरू मध्ये एकको रूपमा स्थापित गरेको छ । वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरूमा निर्भर पर्छन । यसको विशाल ५००० एमएएच ब्याट्री, २ जीवी+३२ जीवी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई ०२ लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।’ शक्तिशाली प्रदर्शन र लामो समय सम्म चल्ने ब्याट्री भिभो वाई ०२ मिडियाटेक पी २२ द्वारा संचालित छ जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ । यसमा २जीवी र्याम+३२जीवी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ । यसको ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामको लागि पर्याप्त शक्ति प्रदान गर्दछ जहाँ प्रयोगकर्ताहरुले आफुलाई मनपर्ने गित तथा गेमको आनन्द लिन सक्छन् । उच्च गुणस्तरका तस्बिरहरूको लागि सुपीरियर क्यामेरा वाई ०२ मा ८ एमपी रियर क्यामेरा तथा ५ एमपी फ्रन्ट क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरुको क्यामेरा अनुभवलाई सुधार गर्दछ । यसमा फेस ब्यूटी र टाइम-ल्याप्स जस्ता सुविधाहरू छन् जसले दिन-प्रतिदिन प्रयोगकर्ताहरुको शूटिंग अनुभवलाई वृृद्धि गर्दछ । परिणाम स्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन् । निर्विघ्न अनुभव नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई ०२ मा धेरै नयाँ विशेषताहरू थपेको छ । – फेस वेकः भिभोको फेस वेक सुविधाले दु्रत गतिमा फोन अनलक गर्छ – मल्टि टर्बो ५.५ः भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरूमा ल्याग कम गर्न कोर दृश्यहरूलाई अप्टिमाइज गर्नमा केन्द्रित छ । यो उपकरण मेमोरी र सिपियूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरू एकैसाथ चलिरहेको बेला) इन्जिनियर गरिएको छ ।

साढे ८ करोड ठग्ने लालुपाते सहकारीका अध्यक्षलाई कारबाही गर्न निर्देशन

खोटाङ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय सुनसरीले खोटाङ दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशी एवम् उनका परिवारविरुद्ध रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउने वा असुल उपरको प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ । सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नेक्रममा जोशी र उनको परिवारको नाममा कायम देखिएको आठ करोड ४६ लाख ८९ हजार ६७८ थैलो कायम गरी रकम अपचलन र ठगी कसूरमा मुद्दा चलाउन वा असुल उपरको प्रक्रिया अपनाउन सञ्चालक समितिलाई निर्देशन दिएको हो । कार्यालयले सञ्चालक समितिका सबै सदस्यहरुले साविकमा भएको हिनामिना तथा बेरुजु असुल उपरका लागि कारबाही, स्थानीय पालिका र प्रशासनसँगको पहलमा पुरानो नउठेको ऋण असुल उपर वा मालपोत कार्यालयमा रोक्का, हिनामिनाको रकम रोक्का राखेको जग्गा बेचबिखनमा लैजानेलगायतमन प्रक्रिया सुरु गर्न १६ बुँदे निर्देशन दिएको हो । कार्यालयका निमित्त रजिष्ट्रार हरिबहादुर खत्रीले जारी गरेकाे निर्देशनमा ऋण लगानी सुरक्षित गर्न बिनाधितो ऋण असुल उपर वा धितो रोक्का राख्ने व्यवस्था गर्न, रोक्का राखेको धितोबाट असुल उपरको प्रक्रिया अघि बढाउन भनिएको छ । साथै आवश्यक परे हिनाहिनाको मस्यौदामा दोषी भएका उपर सम्बन्धित अदालतमा मुद्दा दायरसम्म गर्न, सम्बन्धित मालपोत कार्यालयलाई पत्राचार गरी धितो रोक्का वा सञ्चालक, कर्मचारीको जायजेथा रोक्कालगायतमन निर्देशन दिइएको छ । लेखा परीक्षणका क्रममा जोशी र उनका परिवारका नाममा देखिएको रू नौ करोड ११ लाख १७ हजार छ सय ७८ मध्ये सहकारी बैंकले धितो लिलाम गरेर ८० लाख असुल उपर गरेको थियो । यस्तै पछिल्लो हिसाबका क्रममा जोशी र उनको परिवारका नाममा थप १५ लाख ७२ हजार रकम भेटिएको सञ्चालक समितिले जनाएको छ । गत पुस २३ गतेदेखि पुस २९ गतेसम्म अनुगमन तथा छानबिन गरेको सहकारी कार्यालयले सहकारीको सबै ऋणीबाट हिनामिना तथा बेरुजु रकम असुल उपर गर्न सबै खालका कारबाहीका प्रक्रिया अपनाउन सुझाव दिएको छ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ विसं २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । उनको निधनपछि बचतकर्ता रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो । सहकारीको नाममा खरिद गरिएको जग्गासमेत जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको जनाइएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता आन्दोलनमा छन् । सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बन्द रहेको सहकारीले आफूहरुको रू सात करोड बढी बचत रकम फिर्ता नदिएको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । आफूहरुको बचत रकम फिर्ता गर्न पटक-पटक माग गर्दा पनि सुनुवाइ नभएपछि सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएको समितिका सदस्य एवम् बचतकर्ता धनीराम नछुङले बताए । चार हजार पाँच सय बचतकर्ता रहेको सहकारीका बचतकर्ताले गत सोमबार नारा/जुलुससहित दिक्तेल बजार परिक्रमा गर्नुका साथै सहकारीको कार्यालय, जिल्ला प्रशासन र नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । रासस

मालीबाट मालिक बनिन् ‘सनसरी’

वालिङ । विसं २०५३ मा दुई मानो आटो (मकैको पिठो) सहित चार छोराछोरी च्यापेर विकट गाउँबाट वालिङ झरिन् सनसरी सार्की । श्रीमान्को उपचारमा कालीकाकोटमा भएभरको सम्पत्ति पनि सकियो र श्रीमान्को आयु पनि । बस्ने, खाने ठेगान छैन तर गाउँमा बस्नभन्दा बजारतिर झरे केही न केही काम पाइन्छ भन्ने आशासहित बजार आइन् । बजार आउँदा बेलुकीको छाक पुग्ने आटो मात्रै साथमा थियो । छोराछोरी ससाना, कहाँ बस्ने के खाने चिन्तै चिन्ताका बीच वालिङ झरिसकेपछि कोठा खोजेर भाडामा बस्न थाले । दुःख परेकाबेला काम दिने मान्छे पनि भगवान् जस्तै लाग्यो । ‘नयाँ ठाउँमा काममा नपत्याइदिएको भए झन् के हालत हुन्थ्यो होला धन्न बालुवा बोक्ने, गिटी बोक्ने काममा पत्याइदिनुभयो त्यही काम गर्न थालेँ’, उनले भनिन्, ‘दुई वर्षजति ज्यालामा यस्तै यस्तै मजदूरी गरेँ र बालबच्चा पाल्दै आएँ ।’ खाने मुख धेरै तर काम गर्ने आफू एक्लै भएकाले पनि सुरुको दैनिकी निकै जटिल भएको उनी सम्झिन्छिन् । ज्याला मजदूरी गर्दै दैनिकी चलाउँदै आएकी सनसरी २०५५ सालतिर वालिङ नगरपालिकाको सरसफाइ कर्मचारीका रुपमा काम गर्न थालिन् । सरसफाइमा काम गर्दा गर्दै नगरपालिका परिसरमा सौन्दर्यकरणमा ध्यान दिँदै फूलबारी निर्माण गरियो र यसको रेखदेख र फूलहरुको व्यवस्थापन गर्ने थप जिम्मेवारी उनै सनसरीलाई दिइयो । कतै बाटोमा हिँड्दा राम्रो फूल, नयाँ प्रजातिको फूल देख्नासाथै त्यसकाबारेमा जिज्ञासु भई बुझ्थिइन् । नगरपालिकामा मालीको जिम्मेवारी थपिएपछि भने झन ऊर्जा मिल्यो र जिज्ञासा झनै बढ्दै गएको सम्झन्छिन् उनी । ‘बाटो हिँड्नेक्रममा कहीँकतै नयाँ तथा नौलो प्रजातिका फूल देखेँ भने त्यसको बीउ, बेर्ना वा हाँगा सङ्कलन गर्थें’, उनले भनिन्, ‘सुरुका दुई वर्ष त म नगरपालिका कार्यालयमा जाँदा एउटा न एउटा बीउ, बेर्ना, हाँगा नलिइ जान्थिन् ।’ मालीका रुपमा काम गर्न थालेकी सनसरीलाई आफ्नो मात्रै बुझाइ र रहरले नभई अझै यसलाई राम्रो र व्यवस्थित गर्छु भन्ने हुटहुटी चल्यो । फलस्वरुप उनले तत्कालीन कार्यकारी अधिकृत सुरथ पोख्रेललाई फूलबारी व्यवस्थापनसम्बन्धी तालिमका लागि सिफारिस गरिदिन अनुरोध गर्नुभयो र काठमाडौँमा एकहप्ते तालिमसमेत प्राप्त गरिन् । नर्सरी व्यवस्थापन, गोडमेल, कटानी छटानी, फूलबारीको व्यवस्थापनसम्बन्धी तालिम लिइन् । त्यहाँ सिकेको सीपलाई वालिङ आएसँगै दैनिक जीवनमा प्रयोगमा ल्याइन् । ‘पहिला आफ्नै सुरमा बीउ रोप्ने, बेर्ना लगाउने काम गर्थें’, उनले भनिन्, ‘तालिमपछि कुन फूलको बीउ कुन नर्सरी गर्ने, कुन याममा लगाउने, कुनको हाँगा, कुनको बीउ लगाउने भन्ने अहिले फूल हेरेरै थाहा हुने गरेको छ ।’ सरसफाइमा झण्डै १५ वर्षजति काम गरेकी सनसरीले आठ/नौ वर्षदेखि सरसफाइसँगै मालीका रुपमा फूलबारीको स्याहारसुसार गर्छिन् । वालिङ नगरपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गर्नासाथै झट्ट देखिने रङ्गीविरङ्गी फूलबारीको सौन्दर्यकरणमा उहाँको विशेष लनशीलता र परिश्रम छ । बिहानको समयमा बिरुवा रोप्ने, सार्ने र दिउँसोको समयमा सिँचाइ गर्छिन् । नगरपालिकामा आफ्नो दैनिक जिम्मेवारी पूरा गरेसँगै बाँकी रहेको समयलाई उनले वालिङकै एक सहकारीले निर्माण गरेको नर्सरीमा लगाइन् । नगरपालिका कार्यालय, सहकारीको नर्सरी व्यवस्थापनबाट घरखर्च चलाएर बचत गरेको रकमबाट उनले वालिङ बजारमै २० लाख मूल्यमा चार आना घडेरी खरिद गरिन् । अहिले उनको तीनकोठे पक्की घर छ । उनकै प्रेरणाबाट कान्छा छोराले अहिले आफ्नै बिरुवा नर्सरीमा काम गर्दै आएका छन् । आफ्नो घर नजिकै जग्गा भाडामा लिएर ‘वालिङ नर्सरी उद्योग’ सञ्चालन गरेकी हुन् । करिब ४० प्रजातिका मौसमी तथा बेमौसमी फूलहरु उनको नर्सरीमा पाइन्छ । विभिन्न प्रजातिका मौसमी तथा बेमौसमी फूल, बिरुवा नर्सरी, गमला, कलमीका फूल, विवाह ब्रतबन्धलगायतका कार्यका लागि फूलको मालाहरु उपलब्ध गराउँदै आएकी छिन् । वालिङमा हुने विवाह, ब्रतबन्ध तथा अन्य कार्यमा आवश्यकपर्ने फूल काठमाडौं, पोखरा, बुटवललगायतका ठाउँबाट आउने गरेको उनले बताइन् । ‘फूलसम्बन्धी सबै सेवा, बिरुवा आफ्नै ठाउँमा पाउनुभयो भने पक्कै पनि ग्राहक अन्यत्र जानुहुन्न’ उनले भनिन्, ‘त्यसका लागि अझै मौसमी तथा बेमौसमी र धेरै प्रजातिका फूलहरु थप गर्ने तयारीमा छु ।’ वालिङ आसपासमा फूलको माग राम्रो हुने गरेको छ । अहिले पनि आफ्नो नर्सरीमा फूलका बारेमा जान्न बुझ्न धेरै नै आउने गरेको उनी बताउँछिन् । चार्डपर्वका समयमा सयपत्री, मखमलीलगायतका फूल तथा मालामो माग बढी हुने गरेको छ । यस्ता अवसरमा सनसरीले फूल तथा बिरुवा बिक्रीबाट राम्रो आम्दानी लिँदै आएकी छिन् । दृढ सङ्कल्प र मनमा इच्छाशक्ति भए विदेशिनुपर्छ भन्ने नभएको उहाँको कर्मबाट उदाहरण प्राप्त हुन्छ । उनले भनिन्, ‘कुनैबेला काम खोज्दै हिँडे अहिले आफ्नै नर्सरी स्थापना गरी अरुलाई पनि काम दिनसक्ने अवस्थातिर लम्कँदै छु ।’ आफूले गरेको कर्मबाट सन्तुष्ट रहेको उनी बताउँछिन् । जुन काम आत्मैदेखि सन्तुष्टि भएर गरिन्छ त्यसले सफलतामा पु¥याउने उनको विश्वास छ । नगरपालिका परिसरको सौन्दर्यकरण र हरियालीमा जोड दिंदै फलफूल तथा फूलका बिरुवा रोप्न थालिएको वालिङ नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत सुरथ पोख्रेलले बताए । स्थानीयस्तरमा पाइने विभिन्न प्रजातिका फल लाग्ने बिरुवाहरु तथा विभिन्न प्रजातिका फूलहरुको खोजी गरी लगाउन सुरु गरेसँगै कार्यालय परिसरको सौन्दर्य नै छुट्टै खालको देखिन थालेको उनी अहिले पनि सम्झिन्छन् । ‘काठमाडौं, पोखरा तथा बुटवल गएका बेला त्यहाँबाट पनि विभिन्न प्रजातिका फूलका बिरुवा ल्याइएको थियो’, उनले भने । तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्ने र निरन्तरता दिएमात्रै त्यसको महत्व बढेर जान्छ । सुरुदेखि नै कामप्रति लगनशील र परिश्रमी सनसरीले फोहरमैला व्यवस्थापनसहित मालीका रुपमा जिम्मेवारीपूर्वक कार्य गर्दै आउनुभएको हो । ‘स्मार्ट सिटी’को अवधारणा अनुरुप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको परिसरमा पुग्ने जो कोही पनि रङ्गीविरङ्गी फूलको सौन्दर्यमा आनन्दित हुन्छन् । मौसमअनुसारका विभिन्न प्रजातिका फूलहरु बाह्रै मासे फूलिरहेका हुन्छन् । फूलको बीउ लगाउने, बेर्ना उमार्ने, त्यसलाई रोप्ने, खनजोत, गोडमेल, कटानी छटानी सबै काममा उनलाई लामो कार्यानुभव रहेको आफूले पाएको बताउँछन् वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई । ‘कुन फूल कुन समयमा सार्ने, गोडमेल गर्ने समय, कटानी छटानी गर्ने समय सबै उहाँलाई थाहा छ’, उनले भने, ‘नगरपालिका परिसरको सौन्दर्यकरण हेर्न लायक छ ।’ उनको लगनशीलता र परिश्रमलाई मूल्याङ्कन गर्दै नगरपालिकाले यसअघि उत्कृष्ट कर्मचारीका रुपमा सम्मानसमेत गरेको थियो । रासस

मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न जरुरी : राज्यमन्त्री कार्की

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताएकी छिन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको बताइन् । उनले गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना सरकारले पहल गर्ने पनि बताइन् । उनले १५ वर्ष मुनिका बालबालिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा र स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान चलाउनुपर्ने बताइन् । उनले भनिन्, ‘अब गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गरेर प्रादेशिक स्तरमा पुर्याउनु अति आवश्यक देखिएको छ । गंगालाल अस्पतालका संस्थाहरु प्रादेशिक अस्पतालमा सेवा युनिटको रुपमा स्थापना गर्न चाहन्छौँ । १५ वर्ष मुनिका र ज्येष्ठ नागरिकको हकमा निःशुल्क सर्जरी सेवा, स्वास्थ्य बीमा कार्यक्रमलाई बिस्तारित गर्दै अब सम्पूर्ण रुपमा हरेक नागरिकले अनुभुत गर्नेगरी मुटु रोग उपचार शल्यक्रियालाई निःशुल्क बनाउने अभियान पनि ठूलो उद्देश्य छ ।’ स्वास्थ्य राज्यमन्त्री कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिने कुरामा सरकार सदैव साथमा रहने बताइन् ।

विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने, भागेर गरेको विवाह दर्ता नै नहुने

काठमाडौं । विवाह गर्दा वडाको स्वीकृति लिनुपर्ने भएको छ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर २ ले विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले बाल विवाह मैलाएको भन्दै विवाह गर्नु पूर्व स्वीकृति लिनुपर्ने नियम ल्याएको हो । वडा कार्यालयले पुसको पहिलो साता विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने निर्णय गरेको वडा नम्बर २ का वडा सदस्य अमृका प्रसाद थारुले बताए । वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य रहेको भन्दै सूचना समेत प्रकाशन गरेको उनले जानकारी दिए । ‘हाम्रो वडामा केही समय अगाडि बाल विवाह हुँदैछ भनेर कसैले प्रहरीमा उजुरी गरिदिएछ, त्यस पश्चात् ठूलो विवाद भयो, विवाह पनि रोकियो, त्यसैले आगामी दिनमा यस्तो नहोस् भनेर विवाह गर्दा वडाको स्वीकृति लिनुपर्न व्यवस्था गरेका हौं,’ उनले भने । जुनसुकै उमेर समूहका नागरिकले पनि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनु पर्ने पनि थारुले जानकारी दिए । सिफारिस नलिई विवाहको गरेको थाहा पाएमा कारबाही गर्ने समेत चेतावनी वडा कार्यालयले दिएको छ । उनले भागेर गरेको विवाह दर्ता नहुने पनि जानकारी दिए ।

शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षकहरुलाई मासिक रुपमा तलब दिने तयारीमा शिक्षा मन्त्रालय अगाडि बढेको छ । शिक्षामन्त्रीको जिम्मेवारीमा शिशिर खनाल आएसँगै उनले सो विषयलाई अगाडि बढाएका हुन् । शिक्षा मन्त्रालयमा भएको छलफलका कार्यक्रममा मन्त्री खनालले सो विषयलाई प्राथमिकतामा राखेको सचिवालयले जनाएको छ । मन्त्री खनालले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षकहरुले मासिक रुपमा तलब नपाउने समस्याको कारणको विषयमा १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको मन्त्रालय स्रोतले बताएको छ । अहिलेसम्म शिक्षकहरुले आफ्नो तलब चौमासिक रुपमा बुझ्दै आएका छन् । शिक्षा मन्त्रीले तलब मासिक रुपमा उपलब्ध गराउनेगरी छलफल अगाडि बढाएपछि शिक्षकहरु उत्साहित भएका छन् ।