विकासन्युज

वृद्ध भत्ता पाउने उमेर ६५ मा झार्न पहल गर्छु : पूर्वमन्त्री यादव

काठमाडौं । पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सरकारले ६८ वर्षको उमेरमा दिने वृद्ध भत्ताको उमेरलाई घटाएर ६५ मा झार्न पहल गर्ने बताएका छन् । पर्साको पर्सागढी नगरपालिकाका ज्येष्ठ नागरिकलाई कम्बल र च्यामनप्रास वितरण गर्दै पूर्वमन्त्री यादवले वृद्धवृद्धाका लागि भत्ता पाउने उमेर ६८ वर्ष भन्दा पनि ६५ वर्ष उपयुक्त रहेको बताउँदै यसका लागि आफूले संसद् मार्फत पहल गर्ने बताएका हुन् । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य (सांसद्) पनि रहेका यादवले छोराछोरीहरुले कमाउने आम्दानीको केही रकम अभिभावकका लागि अनिवार्य रुपले छुट्याउनु पर्ने कानुनका लागि पनि पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । ‘आजको युगमा छोरीछोरीहरुले आफ्नो अभिभावकलाई एक समयपछि अवहेलना गर्ने चलन बढ्दै गएको छ, अभिभावकको आम्दानीको स्रोत बन्द भएपछि उनीहरु छोराछोरी माथि आश्रित हुन्छन तर सन्तानले उनीहरुको सबै मागलाई पूरा गर्दैनन्, त्यसैले पनि यस्तो व्यवस्था गर्नु आवश्यक छ,’ उनले भने । पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा आयोजित कार्यक्रममा ७० वर्ष उमेर नाघेका १ सय ५० जना वृद्धवृद्धालाई जनही एक/एक थान कम्बल र चवनप्रास वितरण गरिएको थियो । कार्यक्रममा वडा कार्यालयको बजेटबाट खरिद गरिएको कम्बल र चवनप्रास यादवले वृद्धवृद्धालाई हस्तान्तरण गरेका थिए । वडा नम्बर ९ का वडा अध्यक्ष राम बढाई यादवको सभापतित्वमा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, कार्यपालिका सदस्य अस्लम आलम, वडा नम्बर ४ का वडा अध्यक्ष खुर्शेद आलम लगायतको पनि उपस्थिति रहेको थियो ।

फरवार्ड लघुवित्तले जम्मा गर्याे सेयरधनीको खातामा लाभांश

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ३० प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तले आज माघ १५ गतेदेखि गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । साथै, २५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरिने जनाएको छ । लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । बैंक खातामा लाभांश जम्मा गर्दा कुनै शुल्क लाग्ने भएमा सेयरधनीहरुले नै व्यहोनुपर्नेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

मोलुङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज माघ १५ गते अन्तिम दिन रहेको छ । कम्पनीको पुस १९ गतेदेखि निष्काशन गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको ४४ प्रतिशत अर्थात् ३५ करोड ३१ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यदरका ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ८ लाख २ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको मोलुङ्ग गाउपालिकाका बासिन्दाहरुको लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुको लागि २.५ प्रतिशत गरी १० प्रतिशत सेयर निष्काशन गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

सुपर मादी हाइड्रोको आईपीओमा पौने १२ लाख लगानीकर्ताको हात रित्तो !

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आईपीओमा साढे १३ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा १३ लाख ५७ हजार ७४५ जना आवेदकले १ करोड ५५ लाख ६२ हजार २१० कित्ताका लागि १ अर्ब ५५ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको हो । कम्पनीको आईपीओमा ११ गुणा बढी आवेदन परेको हो । कम्पनीले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । जसमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र ४२ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ७२ हजार ३ सय जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका ११ लाख ८३ हजार लगानीकर्ताको हात रित्तो हुने देखिन्छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

हारपछि जित हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरु मात्रै सफल हुने बताए । राजविराजमा आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताए । ‘हार भन्ने कुरा सधैँ भइरहँदैन, बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ,’ उनले भने । भारतमा पनि जवाहारलाल नेहरु, इन्दिरा गान्धी हुँदा जितिरहेको कांग्रेस (आइ) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कांग्रेस (आइ)ले अहिले सुरु गरेको देशव्यापी अभियानमा लाखौँलाख मानिसहरू जोडिएर नयाँ तरङ्ग सिर्जना गरिरहेको बताए । उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न बारम्बार आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए ।

कन्सर्टको भीडमा ९ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटा । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी ९ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ । अत्यधिक भीडका कारण झण्डै ९ जनाभन्दा बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी घाइते भएकाको विवरण र क्षति भने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए । आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ ।

समृद्धि फाइनान्सद्वारा विजनेस डेभलपमेन्ट वर्कसप सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १३ र १४ गते विजनेस डेभलपमेन्ट वर्कसप कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा संस्थाको अर्धवार्षिक समीक्षा गरिएको थियो र आगामी रणनितिक योजनाको बारेमा छलफल गरिएको थियो । काठमाण्डौंको मस्र्याङ्दी होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, विभागीय प्रमूखहरु र सबै शाखाका शाखा प्रबन्धहरूको उपस्थिति रहेको फाइनान्सले जनाएको छ । राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले हाल आठ ओटा शाखामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

भारतमा दुई वटा सैनिक विमान एकआपसमा ठोक्किएर दुर्घटना

एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा विमानका भग्नावशेष राजस्थानको भरतपुरमा र अर्को विमानका अवशेष मध्यप्रदेशको मोरेनामा फेला परेका मोरेनाका प्रहरी उपरीक्षकले बताएका छन् । दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ समिति गठन गरिएको छ । दुवै विमान अभ्यास उडानमा थिए । गत अक्टोबरमा अरुणाचल प्रदेशमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो । त्यस अघि पनि सोही राज्यमा हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकको ज्यान गएको थियो । सन् २०२१ को डिसेम्बर भारतका प्रधानसेनापति विपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो ।