सिभिल लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । लघुवित्तको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
निजीमा भन्दा सामूदायिक विद्यालयमा विद्यार्थी बढी
इलाम । इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिए । उनले भने, ‘विसं २०७८ को तुलनामा गर्दा सामुदायिक विद्यालयमा ११ दशमलव २५ प्रतिशत विद्यार्थी वृद्धि भएको देखिन्छ ।’ पालिकामा सामुदायिक विद्यालय, गुरुकूल र गुम्बासमेत गरी ६६ वटा, संस्थागत ३१ वटा र गुठीबाट सञ्चालित एउटा गरी जम्मा ९८ वटा विद्यालय सञ्चालनमा छन् । साथै सामुदायिक सिकाइ केन्द्र तीन वटा र स्नातक तहसम्म अध्यापन हुने एउटा क्याम्पस पनि सञ्चालनमा छन् । क्याम्पसमा हाल करिब तीन सय विद्यार्थी अध्ययनरत रहेको प्रवक्ता भुजेलको भनाइ छ । उनले अनुसार नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी तीन सय ९८, माध्यमिक तथा आधारभूत तहका अनुदान कोटाको शिक्षक सङ्ख्या १४, बाल शिक्षक ६२ तथा विद्यालय सहयोगी र सहायक कर्मचारी ७८ गरी जम्मा पाँच ५२ जनाको दरबन्दी छ । नगरपालिका क्षेत्रभित्रका विद्यालय र समग्र शैक्षिक स्थिति सुधारका लागि पालिकाले आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७६ तथा नियमावली २०७६ लागू गरी समयसापेक्षरुपमा संशोधन गर्दै आएको नगरप्रमुख रणबहादुर राईले बताए । ‘सबै सामुदायिक विद्यालयको दरबन्दी मिलान सम्पन्न गरी विषयगत शिक्षक व्यवस्थापन गरेका छौँ’, प्रमुख राईले भने, ‘सबै आधारभूत तहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा शिक्षण सिकाइ भइरहेको छ । इन्टरनेटको पहुँच सबैतिर पुगेको छ ।’ नगरपालिकाले सामुदायिक विद्यालयको आर्थिक व्यवस्थापन गर्न कार्यविधि २०७७ पारित गरी कार्यान्वयन गरिरहेको छ । विद्यालय कार्यसम्पादन निर्देशिका, २०७८ बमोजिम करार सम्झौता हुने गरेको र समयसमयमा स्वमूल्याङ्कन हुने गरेको राईले बताए । विद्यार्थी गणित विषयमा कमजोर भएको पाइएपछि नगरपालिकाले ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ भन्ने नाराका साथ विद्यार्थीलाई गणित अभ्यास पुस्तिका वितरण गरेको छ भने आधारभूत विद्यालयमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना र सञ्चालन भइरहेको छ । ‘बाह्र महिना बाह्र कार्यक्रम’ अन्तर्गत हरेक महिना अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ । पालिकाले सञ्चालन गर्दै आएको ‘छोरी बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले बताए । ‘कार्यक्रमअन्तर्गत नगरपालिकाले करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा अध्ययनरत एक सय ५४ जना छोरी बुहारीका लागि वार्षिक २५ लाख छात्रवृत्ति उपलब्ध गराइरहेको छ’, उनले भने, ‘यस वर्ष वितरण गरिएको २५ लाखबाट छोरी बुहारीलाई स्नातक तह उत्तीर्ण गराई उच्च शिक्षा प्र्राप्त गर्ने महिलाको दर बढाउने कार्य भइरहेको छ ।’ यहाँका २४ वटा सामुदायिक विद्यालयमा ई(हाजिरी जडान भएका छन् । अविभावक परिचयपत्र वितरण, बाल बचतका लागि बैंक खाता, सूचना प्रविधि प्रयोगशालाको स्थापना, मेयर शिक्षा सुधार कोष सञ्चालन कार्यविधिबाट प्राविधिक विषय अध्ययनका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन नगरपालिकाले प्रयास गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताए । सूर्योदय प्रदेश नं १ को पर्यटकीय नगरी र तेस्रो बालमैत्री नगरपालिकासमेत हो । रासस
आत्मदाह गरेका स्व. आचार्यको छोराछोरीलाई पूर्वमन्त्री बस्नेतले पढाइदिने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले स्व प्रेमप्रसाद आचार्यको छोराछोरीलाई पढाइदिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यमा नेता बस्नेतले आज स्व आचार्यका परिवारलाई सिनामङ्गलमा भेटेर सान्त्वना दिँदै छोराछोरीको पठनपाठनको जिम्मा आफूले लिने बताए । भेटमा पूर्वमन्त्री बस्नेतले स्व आचार्यकी श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने र छोराछोरीलाई पठनपाठनको जिम्मा आफूले लिएको बताए । ‘स्व आचार्यको परिवारलाई सरकारका गृहमन्त्रीले भेटे पनि स्व आचार्यका परिवारले राखेका माग पूरा गर्न सरकारले कुनै ध्यान नदिएपछि मैले रोजगारी र पठनपाठन गरिदिने निर्णय गरेको हुँ’, पूर्वमन्त्री बस्नेतले बताए । आचार्यका छोराछोरीलाई उच्च शिक्षासम्मको अध्ययनको व्यवस्था गराउनका लागि नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता एवं अरनिको यातायात सेवा समितिको अध्यक्ष केदार क्षेत्रीलेसमेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गत माघ १० मा आचार्यले संसद् भवन नयाँ बानेश्वर अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार विहान मृत्यु भएको थियो ।
मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगी
काठमाडौं । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा औँलाहरु सुनिने गर्दछ । चिकित्सकका अनुसार कुष्ठरोगले मुख्यतया स्नायु र छालालाई असर गर्दछ । समयमा उपचार नगरिएमा, यसले स्नायु क्षति, अनुभूति (सनसनी) गुमाउने र हात, खुट्टा र अनुहारको मांसपेशिको पक्षाघात गराउन सक्छ । विश्वका सय भन्दा बढी देशमा वार्षिक दुई लाखभन्दा बढी व्यक्तिलाई कुष्ठरोगको लक्षण देखिने गरेको छ । सरकारले सन् २०१० को जनवरीमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि अहिलेसम्म नेपालमा पूर्ण रुपमा कुष्ठरोग निवारण भने भइसकेको छैन । आर्थिक वर्ष २०७९/८० मा नेपालमा दुई हजार २८५ नयाँ कुष्ठरोगका बिरामी भेटिएका छन् । नयाँ भेटिएका बिरामीमध्ये मधेस प्रदेशमा सबैभन्दा धेरै कुष्ठरोगका विरामी रहेका छन् । सरकारी तथ्याङ्कअनुसार मधेस प्रदेशमा नौ सय १० जना, लुम्बिनी प्रदेशमा पाँच सय ८१ जना, प्रदेश नं १ मा तीन सय ४५ जना, सुदूरपश्चिम प्रदेशमा दुई सय पाँच जना, कर्णाली प्रदेशमा ६८ जनालाई कुष्ठरोग भेटिएको छ । गण्डकी र बागमती प्रदेशमा भने अन्य प्रदेशको तुलानामा कुष्ठरोगीको सङ्ख्या कम रहेको छ । १६ जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको छ । जसमा झापा, मोरङ, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, परासी, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अछाम रहेका छन् । मधेस प्रदेशको सप्तरीबाहेक सबै जिल्लामा अहिले कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ । नेपालमा रहेका कूल कुष्ठरोगीमध्ये मधेस प्रदेशमा मात्र ४० प्रतिशत कुष्ठरोगी भेटिएका हुन् । मधेस प्रदेशमा धेरै कुष्ठरोगी भेटिएसँगै यतिबेला कुष्ठरोगसँग काम गर्ने सरकारी तथा गैरसरकारी संस्था मधेस केन्द्रित हुन थालेका छन् । सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेस प्रदेशको महोत्तरी र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी र धनुषा जिल्लाका ३३ स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरुलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ । एनआरएल कुष्ठरोग नियन्त्रण कार्यक्रमका संयोजक डा रविन्द कुशवाह अहिलेसम्म महोत्तरीका पाँच र धनुषाका चार स्थानीय तहका पाँच हजार सात सय ९५ सम्पर्क व्यक्तिलाई औषधि वितरण गरिसकेको बताउँछन् । ‘महोत्तरी र धनुषामा रहेका कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी उनीहरुलाई कुष्ठरोग लाग्न नदिन औषधि खानका लागि सल्लाह दिँदै औषधीसमेत वितरण गर्दै आएका छौँ’, उनले भने । एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंहले कुष्ठरोग मुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताए । कार्यकारी निर्देशक सिंह धनुषा र महोत्तरीमा कुष्ठरोगी र उनीहरुका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन् । ‘एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरुको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ’, उनले भने । कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेस प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ । मिसनका कार्यक्रम निर्देशक यामनाथ योगीले तीनै सरकारको सहकार्यमा मिसनले कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको बताए । यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पताल समेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ । मधेस प्रदेशमा कुष्ठरोगका बिरामी बढी देखिएपछि यसको उपचार तथा रोकथाममा मधेस प्रदेशले पनि चासो देखाएको छ । मधेस प्रदेशमा कुष्ठरोगका बिरामी उपचार गर्नका लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्र रहेको छ । उक्त अस्पताल नेपाल लेप्रोसी ट्रष्टअन्तर्गत समाज कल्याण परिषद्मा दर्ता भएर सञ्चालनमा रहेको हो । मधेस प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा मुक्तिनारायण शाहले कुष्ठरोगका बिरामी पत्ता लगाउन तथा उपचार गर्न लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रको सहयोगमा हरेक जिल्लामा महिनाको एक दिन कुष्ठरोगको शिविर सञ्चालन गर्न लागिएको बताए । लालगढ कुष्ठरोग अस्पताल तथा सेवा केन्द्रले अहिले दैनिक चारसय छालाका रोगी तथा कुष्ठरोगीको उपचार गर्दै आएको छ । अस्पतालका उपनिर्देशक कृष्णबहादुर तामाङ ९२ शैयामार्फत लालगढ अस्पतालले छाला तथा कुष्ठरोगीका बिरामीको उपचार गर्दै आइरहेको बताउँछन् । ‘लालगढ अस्पताल आउने बिरामीमध्ये ८० प्रतिशत नेपाली र २० प्रतिशत भारतीय रहेका छन्’, उनले भने । लालगढ अस्पतालका तालिम अधिकृत अरविन्द शाह खुला सिमानाका कारण भारतबाट धेरै बिरामी लालगढ अस्पतालमा उपचारका लागि आउने गरेको बताउँछन् । कुष्ठरोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयावहको स्थिति सिर्जना नहुने उनको भनाई छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले तीनै तहको सरकार र विभिन्न गैरसरकारी संस्था मिलेर काम गर्नसके कुष्ठरोगलाई मधेसबाट चाँडो निवारण गर्न सकिने बताए । कुष्ठरोग नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धताको खाँचो रहेको उनको भनाइ छ । कुष्ठरोग निवारणका लागि मधेस प्रदेशले वार्षिक वजेट विनियोजन गरेर काम गरिरहेको उनले बताए । रासस
नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पन्न गर्यो वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा जारी ‘सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६’ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा २०७९ साल माघ १३ गतेका दिन काठमाडौंको ठमेलस्थित होटेल एलफ्टमा उक्त कार्यक्रमको आयेजना गरेको थियो । सो अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्फबाट कानून विभागका का.मु. निर्देशक एवं ए.एम.एल तथा सि.एफ.टी शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति रहेको थियो ।
धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० घाइते
धनकुटा । शनिबार राति धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए । उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी २ बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए । विराटनगर पठाइएका बच्चा र प्रतिष्ठानमा उपचारत ६ जना बालबालिकासहित सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए । घाइते हुनेमा धनकुटा नगरपालिका–५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी ६ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, १३ वर्षीय सविन लिम्बू, १ वर्षीय सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, ५० वर्षीय प्रकाश प्रधान र धनपा–४ का १२ वर्षीय प्रवेश राई रहेका छन् । घाइते हुनेमा अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, १८ का सविन पौडेल, ४२ का सन्दिप शाह, नाम नखुलेका करीब ३/४ वर्षका १ बालक रहेका छन् । सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् । आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए । गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको महोत्सवको मुलगेटबाट मान्छे एकैचोटी प्रवेश गर्ने क्रममा घटना भएको प्रहरीले जानकारी दिएको छ । माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप २ दिन थप्ने कार्यक्रम रहेको थियो ।
‘के लत बस्यो’ गजललाई १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज
काठमाडौं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो । एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन् । गायक पेलाकै सङ्गीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय सङ्गीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित सङ्गीत र पाको गायकीले गजलमा प्राण भरेको छ । पेलाको गजलले गम्भीर भाव र शैलीका सङ्गीत सिर्जनालाई रुचाउने स्रोता/दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत/गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डो¥याइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्युजिक भिडियो पनि सामान्य छ । गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो । गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र सङ्गीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् । उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल सङ्गीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।
सुन्तलाबाट यसवर्ष मात्रै ४५ लाख आम्दानी गर्दै स्याङ्जाका मुक्ति अधिकारी
वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्न सफल भएका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए। ‘बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ’, उनले भने, ‘यसबाट हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु।’ सुन्तला टिप्नेक्रम जारी रहेको र अझै तीन लाख जतिको सुन्तला बोटमै रहेको उनले सुनाए। गतवर्ष यही समय (माघको दोस्रो साता) मा प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो। गत वर्षभन्दा यसवर्ष सुन्तला अधिक उत्पादन भएकाले पनि अपेक्षाअनुसार बजार मूल्य नपाइएको हुन सक्ने उनले बताए। ‘गतवर्षका तुलनामा यसवर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन’, उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आसले शीतभण्डारमा सुन्तला भण्डारण गरे तर कुहियो, उल्टै घाटा लाग्यो।’ उनले स्याङ्जा शीत भण्डारमा छ सय १७ क्यारेट सुन्तला भण्डारण गरेका थिए। जसमध्ये ३९० क्यारेन्ट सुन्तला कुहिँदा झण्डै सात लाख नोक्सान भएको उनी बताउँछन्। ‘हालसम्म सुन्तला बिक्रीबाट ४२ लाख आम्दानी गरे, अझै तीन लाख जति आम्दानी हुन बाँकी नै छ’, उनले भने, ‘शीतभण्डारमा राखेकोमध्ये ठूलो परिमाणमा सुन्तला कुहिएको छ, नकुहिएको भए त आम्दानी झण्डै ५५ लाख आसपास पुग्थ्यो।’ विसं २०३२देखि तेजनारायण अधिकारीसहित अन्य चार जनाले स्याङ्जामा व्यवसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ । ‘बुवाले लगाउनुभएको पाँच सय बोटलाई बिस्तार गरी मैले विसं २०६९बाट संरक्षण गर्दै थप्दै गएँ’, किसान मुक्तिले भने, ‘अहिले मसँग दुई हजार दुई सय बोट सुन्तला छन्, तर सबै फलिसकेका छैन, सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।’ चौध वर्ष कोरियामा रोजगारी गरेका उनले अहिले सुन्तलाको संरक्षण र बगैँचा विस्तारमा ध्यान दिएका छन् । ‘अधिकारी कृषि फर्म’ दर्ता गरी व्यावसायिक रुपमा सुन्तला खेती गरेका उनको हाल एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् । उनी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव थिए ।