सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण सम्पन्न
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । संघले नेपाल धितोपत्र बोर्डद्वारा निर्देशित सम्पती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६ को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका एक प्रतिशतभन्दा बढि शेयर स्वामित्वभएका शेयरधनी, संचालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा माघ १३ गते सम्पत्ति शुद्धिकरण तथाआतङ्कवादी क्रियाकलाप सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २६ मर्चेन्ट बैंकिङ्ग संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त स्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तीय जानकारी इकाईका विभागीय प्रमुख तथा निर्देशक दिर्घबहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्पmबाट कानुनी प्रवर्तन इकाई र एएमएल विभागका का.मु.निर्देशक राजाराम दुवाल उपस्थिति रहेको थियो । नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आई. एम. ई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालद्वारा धन्यवाद ज्ञापन तथा स्रोत व्यक्तिका रुपमा सहभागी भएका अतिथिहरुलाई प्रशसांको चिनो/प्रतिक प्रदान गरी उक्त कार्यक्रमको अन्त्य गरी कार्यक्रम समापन गरिएको थियो ।
अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
फाइल फाेटाे काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रुपमा भइरहेको छ’, उनले भने, ‘सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’ अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए। अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ । महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए । उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे ।
राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो – रामनारायण बिडारी
काठमाडौं । राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतिक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको बताए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भएपनि पछिल्ला घटनाक्रमले राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्ने आवश्यक्ता देखिएको बताए । उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्यो भन्दै प्रश्नसमेत गरे । राष्ट्रपतिको चुनाव गोप्य हुनु भनेको ह्वीप लाग्दैन भन्ने अर्थ रहेको स्पष्ट पारे । उनले भने, ‘राष्ट्रपति एकताको प्रतिक हो । संघीयताको प्रतिक हो, गणतन्त्रको प्रतिक हो । यसलाई देशका सबै राजनीतिक दलले गम्भीरपूर्वक छलफल गरेर सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनायौँ भने राष्ट्रपतिबाट अहिले जेजे दुःख पाएका छौँ, त्यो भोग्नु पर्दैन । तत्कालीन राष्ट्रपति रामवरण यादवको पालामा रुक्मांगत कटुवालको बाहेक अन्यमा बहस गर्नुपरेन तर राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा धेरै राजनीतिक गन्ध आयो । दलीय प्रभाव परको, गर्नु नहुने काम गर्नुभयो । राष्ट्रपति बडो विचार गरेर बनाउनुपर्ने रहेछ, पहिलो यो फालेको पद जस्तो थियो, अहिले प्रधानमन्त्री रोक्न र बनाइदिन पनि सक्नुहुने रहेछ । राष्ट्रपतिय पद्धतिलाई परिमार्जन गर्नको निम्ति विद्वत वर्गले सुझाव दिनुपर्छ ।’ वरिष्ठ अधिवक्ता बिडारीले राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने अभ्यास गर्नुपर्ने बताएका छन् ।
व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा
तनहुँ । गाउँघरमा गाईभैँसी पाल्नेका लागि काठको ठेकी र मदानी अनिवार्य जस्तै मानिन्छ । वैदेशिक रोजगारीसँगै बजार क्षेत्रमा बसाइँ सर्ने क्रम बढेपछि गाईभैँसी पाल्ने घट्दै गएका छन् । यसको असर ठेकी र मदानी बनाउने पेसा सङ्कटमा परेको छ । कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आएका छन् । तर बजार नपाएपछि उनी बिक्री गर्नका लागि बस्ती बस्तीमा पुग्छन् । पच्चीसदेखि ५० वर्ष उमेरका ३० युवाले छवटा समूह बनाएर ठेकी र मदानी बनाउनका लागि कास्की, लमजुङ र तनहुँका विभिन्न गाउँ पुग्ने गरेको विश्वकर्माले बताए । उनीसहित ३२ वर्षीय राजकुमार विश्वकर्मा, ३३ वर्षीय अर्जुन विश्वकर्मा, २८ वर्षीय अञ्जित विश्वकर्मा र २६ वर्षीय भीमबहादुर विश्वकर्मा समूह बनाएर लमजुङको मध्यनेपाल नगरपालिका क्षेत्रमा बस्दै आएका छन् । उनले भने, ‘सबैले बराबर रकम उठाएर दैनिक उपभोग्य सामान किन्ने गरेका छौँ ।’ ‘आफूहरुले बनाएको ठेकी र मदानी किन्न गाउँमै ग्राहक नआएपछि छ वटा समूह बनाएर कास्की, तनहुँ र लमजुङका विभिन्न गाउँमा बनाउने र त्यही बेच्ने गरेका छौँ’, उनले भने, ‘ठेकी बनाउन विभिन्न बस्ती जानुभन्दा पहिला कुन समूह कुन भेगमा जाने भन्नेबारे छलफल हुन्छ, सोही अनुसार हामी जाने गरका छौँ । एउटा समूहले एक दिनमा एक पाथी क्षमताको बढीमा दुई वटासम्म ठेकी बनाउने गर्दछौँ ।’ कटहर, दार र खमारी प्रजातिको काठको ठेकी, मदानी राम्रो र टिकाउ हुने भएकाले आफूहरुले त्यसकै बनाएर दिने गरेको अर्जुन विश्वकर्माले बताए । ‘गाउँ गाउँ गएका विभिन्न समूहसँग नियमित सम्पर्क भइरहन्छ, के कति ठेकी र मदानी बनाइयो वा बनाउने ?, व्यापार व्यवसाय कस्तो भयो भन्नेबारे मोबाइलबाटै सोधीखोजी गर्छौँ’, उनले भने। हंसपुरमा एक सय ४० मध्ये ६० परिवार विश्वकर्मा जातीका छन् । ठेकी र मदानी बनाउने उनीहरुको परम्परागत व्यवसाय भएको विश्वकर्माले बताए । ‘गाउँमा बाबुबाजेले यही पेशा गर्दै आउनुभएको थियो’, स्थानीय रामबहादुर विश्वकर्माले भने। समूहगत रुपमा छलफल भएअनुसार आफूहरु कास्कीको उत्तरी भेगका विभिन्न बस्तीमा जाने तयारीमा रहेको उनले जानकारी दिए । रामबहादुरले भने, ‘समूह बनाएर बाँडिएर फरक–फरक गाउँ पुग्दा व्यापार पनि सहज हुन्छ । हामीबीच प्रतिस्पर्धाको भावना पनि हुँदैन ।’ केही व्यापारीले कमसलखालका ठेकीलाई राम्रो काठबाट बनेको भनेर झुक्काउने गरेकाले आफूले गाउँमै आएर बनाउनेहरुसँग किन्ने गरेको मध्यनेपाल नगरपालिका–४ रम्घाका श्रीकृष्ण सोतीले बताए । एक पाथी क्षमताको ठेकीलाई रू तीन हजार तिरेको उनको भनाइ छ । ‘ठेकी किन्दा राम्रो काठको हेर्नुपर्छ । तर राम्रो भनेर दुई वर्षअघि किनेको फुट्यो’, सोतीले भने, ‘त्यसैले अहिले कटहरको काठको ठेकी आँखैअघि बनाउँदै गरेको किनेको छु । अब भने ५/७ वर्ष केही नहोला भन्ने ठानेको छु ।’ आफूहरुले परम्परागत रुपमा गर्दै आएको पेसालाई व्यावसायिक बनाउने सोच भए पनि लगानी अभावका कारण उद्योग दर्ता गर्न नसकिएको ३३ वर्षीय राजकुमार विश्वकर्माले बताए। गाउँका अधिकांश व्यीक्त साक्षर मात्र छन् । एसइई उत्तिर्ण गरेका केही युवा खाडी पसेका छन् भने केही युवा गाउँमै खेतीपाती र ठेकी, मदानी बनाउने पेसामा संलग्न रहेको उनको भनाइ छ । यसरी समूह बनाएर हिँड्नेले ठेकी र मदानी बाहेक काठको गिलास, कचौरा र कपसमेत बनाउने गर्दछन् । ठेकी प्रतिमाना रू चार सय तथा गिलास, कचौरा र कप आकारका आधारमा रू एक हजारदेखि रु दुई हजार पाँच सयसम्ममा बिक्री हुने गरेको उनले जानकारी दिए। काठका यस्ता सामान बनाउँदा विभिन्न सामग्रीको आवश्यकता पर्दछ । यसरी विभिन्न काठका सामग्री उत्पादन गर्ने गरेका भए पनि बजार तथा उचित मूल्य पाउन भने समस्या हुने गरेको व्यवसायी बताउँछन् ।
धनुषामा पेस्तोलसहित २ जना पक्राउ
फाइल फाेेटाे धनुषा । धनुषामा अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार जनकपुरमा पत्रकार सम्मेलन गरी मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतोलाई पक्राउ गरिएको जानकारी गराएको हो । इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रमुख एसपी विश्वराज खड्काले बताए । उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ । सो पेस्तोल भारतीय सिमानाका जटहीबाट खरिद गरी ल्याएको खुल्न आएको उल्लेख गर्दै प्रहरीले थप अनुसन्धानको कामलाई तीव्रता दिइएको पनि जनाएको छ ।
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपतकाल घोषणा
एजेन्सी । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपतकाल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् । व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत् आपूर्ति हुन सकेन । यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जीनजीवन कष्टकर पारेको छ । राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ । अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । सुरक्षा बल अहोरात्र उद्धारमा खटेका छन् । स्थिति अझै सामान्य बनेको छैन । केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ । प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्याण्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिए। लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उनले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी पनि दिए।
सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ । सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम रु चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ । यी दुवै सडकखण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि सो सडकखण्ड विस्तार गर्न लागिएको हो । यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको हो । यस्तै पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले रु एक अर्ब लागत लाग्ने अनुमान गरिएको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरका तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत रु ९० करोड छ । सो डिपिआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले देखाएको छ । सो दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । आयोजना प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फी अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । साथै बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ । काठमाडौंबाट धुलिखेलतर्फ जाने लेनमा नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षिणी क्षेत्र विपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रूख कटान लगायतका काम गर्दै आए पनि केही समयमै सो कार्य रोकिएको थियो । सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपिआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताउनुभयो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने नभए सरकारले आफैँले निर्माण गर्ने जनाउँदै आएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि धुलिखेल–भक्तपुरको सवारीचाप निकै कम भई सडक विस्तारमा अर्को फड्को मार्ने छ । सङ्घीय राजधानीबाट बाग्मती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश नं १ र मधेस प्रदेशका नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने अनुमान गरिएको छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारी साधनमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ । रासस ।
देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ : नेता कोइराला
विराटनगर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने धाराणा राखे। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने नेता कोइरालाको धारणा थियो । ‘राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ’, उनले भने। नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उहाँले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे । ‘कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन । सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ’, उनले भने। राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सधैँ प्राप्तिका लागि राजनीति गर्नुभन्दा विचार, उद्देश्य र सङ्गठनका लागि गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला र अमृत अर्याल, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लाम्साल, कांग्रेस प्रदेश नं १ संसदीय दलका नेता उद्धव थापा, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का सभापति लीलाबल्लभ घिमिरे, महासङ्घ प्रदेश समितिका महासचिव विवेक गौतम, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल प्रेस युनियन प्रदेश समितिका संयोजक डिल्लीराम खतिवडालगायतको उपस्थिति थियो ।