साना किसान र आरमएडिसी लघुवित्तले राष्ट बैंकबाट पायो सैद्धान्तिक सहमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । दुई लघुवित्तबीच १००:८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । अर्थात आरमएडिसीको हाल १०० कित्ता सेयर हुनेले साना किसानको ८७ कित्ता सेयर पाउनेछन् । प्रारम्भिक सम्झौतामा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र आरमएडिसीको तर्फबाट अध्यक्ष सुजता जोशीले हस्ताक्षर गरेकी थिइन् । राष्ट्र बैंकले स्वाप रेसियो पारित गरेपछि दुवै लघुवित्तबीच मर्जर हुनेछ ।
प्रधानमन्त्रीद्वारा शहीदप्रति सम्मान अर्पण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइदैछ । सोही क्रममा प्रधानमन्त्री दाहालले स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान प्रकट गरे । शहीद दिवसका अवसरमा शान्ति वाटिकादेखि लैनचौरसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका थिए । यस्तै, प्रधानमन्त्रीले आजै गोकर्णस्थित जगडोलमा निर्माण गरिएको शहीदपार्कको उद्घाटन गर्ने कार्यक्रम छ ।
सुनको मूल्य प्रतितोला एक लाख ६३ सय पुग्यो
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिनको मूल्य १ लाख ५ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रधानमन्त्री र काठमाडौं महानगर प्रमुखबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबीच काठमाडौं महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राखेका थिए । काठमाडौंका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
किबीबाट जाम उत्पादन सुरु
दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम खुदो उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ’, उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्रामको तीन सय रुपैयाँ र सात सय ग्रामको चार सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।’ जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए । गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा २५ लाख रुपैयाँ बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा पाँच लाख रुपैयाँ लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् । जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किबी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रति केजी दुई सय ५० रुपैयाँमा फार्मबाटै जिल्ला बिक्री हुँदै आएको छ । जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई तथा राजधानी काठमाडौँमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् । रासस
दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स सिंगापुर पठाईयो
फाइल फाेटाे काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर पठाईएको छ । सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित जाँच आयोगले उक्त ब्ल्याक बक्सको अध्ययन एवंम अनुसन्धानका लागि सोमबार सिंगापुर पठाएको हो । उक्त जहाजको ब्ल्याकबक्स लिएर संयोजक घिमिरे, सदस्य एवं हवाई विज्ञ दीपकप्रसाद वास्तोला तथा उक्त जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछाने सिंगापुर गएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुग्नै लाग्दा गत माघ १ गते यती एयरलाइन्सको जहाज सेतीको खोँचमा खसेको थियो । दुर्घटनामा हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरूले माघ २ गते सो विमानको ब्ल्याक बक्स भेटाएका काठमाडौं पठाएका थिए । ब्ल्याक बक्समा जहाज दुर्घटना हुनुअघि पाइलटले आपसमा गरेको कुराकानी रेकर्ड भएको हुन्छ । जसले दुर्घटनाको कारण पत्ता लगाउन सहजीकरण गर्छ । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । ब्ल्याक बक्स के हो ब्ल्याक बक्स विमानको पछिल्लो भागमा रहने विद्युतीय उपकरण हो । विमान दुर्घटनाका घटनामा यो उपकरण निकै महत्त्वपूर्ण हुन्छ । ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको चाहिँ हुँदैन । यस्तो उपकरण गाढा सुन्तला रङ्गको हुन्छ । विमान दुर्घटना भएको ठाउँमा भेट्न सहज होस् भनेर यस्तो रङ्गमा ब्ल्याक बक्स बनाइएको हुन्छ । ‘दुर्घटना हुँदा कम क्षति हुने भाग भएकाले यसलाई विमानको पछिल्लो भागमा राखिएको हुन्छ,’ एक दर्जनभन्दा बढी विमान दुर्घटना छानबिनमा संलग्न भएका एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले भने । प्रायः ब्ल्याक बक्समा दुईवटा भाग हुन्छन् । तर सबै विमानमा यी दुवै भाग नहुन पनि सक्छन् । उच्च तापक्रम र पानीमुनिको गहिरो सतहमा पनि यसभित्रका डेटा नष्ट नहुनेगरी ब्ल्याक बक्सको निर्माण गरिएको हुन्छ ।
सरकारले शिक्षा ऐन ल्याएर धेरै समस्या समाधान गर्ने आशामा शिक्षक
काठमाडौं । नयाँ सरकारले संघीय शिक्षा ऐन ल्याएर शैक्षिक क्षेत्रका धेरै समस्याहरुको समाधान गर्ने पर्खाइमा शिक्षकहरु देखिएका छन् । विगतका सरकारले ५ वर्षमा शैक्षिक क्षेत्रका समस्यालाई सम्बोधन नगर्दा समस्याहरु थुप्रिदै गएको र वर्तमान सरकारले सो समस्यालाई सम्बोधन गर्ने शिक्षकहरुको भनाइ छ । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा शिक्षा सेवा ऐनलाई पनि पनि प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरुलाई दिएको ३१ बुँदे निर्देशनमा शैक्षिक क्षेत्रमा देखिएको समस्यालाई महत्वका साथ उठाएका छन् । सरकारको नीतिगत तथा कार्यक्रमिक प्राथमिकतामा परेको र शिक्षा मन्त्रीले पनि चासोका साथ लिएकाले शिक्षकहरु वर्तमान सरकारको समयमा शिक्षा सेवा ऐन आउन सक्नेमा आशावादी देखिएका छन् । नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सरकारसँग सहमति भएअनुसार शिक्षा ऐन आउने विषयमा आफूहरुको अपेक्षा रहेको बताइन् । ‘शिक्षा ऐनमा हाम्रो दरबन्दीका सवालहरु छन्, राहतलाई दरबन्दीमा कन्भर्ट गरेर आन्तरिक र खुला प्रतिस्पर्धा हुनुपर्छ, विद्यालयका कर्मचारीहरुलाई पनि दरबन्दीमा रुपान्तरण गरेर स्थायी प्रकृयामा लैजानुपर्छ, हामीले स्तरवृद्धिको कुरा पनि उठाएका छौं’, अध्यक्ष तुलाधरले भनिन् । सामुदायिक विद्यालयहरुलाई राम्रो बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने सरकारकालाई उनको सुझाव छ । संविधानअनुसार विद्यालय तहसम्मको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी स्थानीय तहले पाएको अवस्थामा शिक्षकहरुले संगठनमार्फत शिक्षकहरुका सेवा सुविधा संघीय सरकारमार्फत अपेक्षा गरेका छन् । सो विषयमा महासंघकी अध्यक्ष तुलाधरले माध्यमिक तहसम्मको शिक्षा हेर्न सक्ने क्षमता स्थानीय तहसँग नभएको बताएकी छन् । ‘माध्यमिक तहसम्मको शिक्षा हेर्न सक्ने क्षमता स्थानीय तहको नै छैन, संघीय सरकारले नै हेर्नुपर्छ’, उनले भनिन् । शिक्षक र विद्यालयलाई हेर्ने तथा अनुगमन गर्ने काम स्थानीय जनसमुदायले नै गर्ने भएतापनि व्यवस्थापन र सञ्चालनको काम प्रभावकारी रुपमा हुन नसकेको तुलाधरको भनाइ छ । संविधान संसोधन गरेर पनि शिक्षा क्षेत्रलाई संघीय सरकारले नै जिम्मेवारी लिनुपर्ने उनी बताउँछिन् । शिक्षा मन्त्रीसँग छलफल गरेर सरकारसँग गरेका समझदारी र नेपालको शैक्षिक गुणस्तरको विषयमा जानकारी गराउने तयारी महासंघले गरेको उनको भनाइ छ । मुलुकको समृद्धि र प्रगति शिक्षासँग जोडिने र सन् १९५० तिर नेपालसँगै भएका जापान र दक्षीण कोरियाले ठूलो फड्को मार्न सकेका तर, नेपालको अवस्थामा सुधार हुन नसकेको अवस्था रहेको नेपाल शिक्षक संघका महासचिव सोम गिरि बताउँछन् । ‘जापान र दक्षीण कोरियाले शिक्षाको सम्पूर्ण दायित्व आँफूले लिए, नेपालले भने व्यापार गर्न थाल्यो, शिक्षा बेच्ने, निजीकरण गर्ने व्यापारीकरण गर्ने काम भयो, जसले गर्दा हामी यहाँ आइपुग्यौं’, महासचिव गिरिले भने । राज्यमा धेरैपटक व्यवस्था परिवर्तन हुँदा पनि शिक्षा ऐन भने २०२८ कै सञ्चालन भइरहेको बिडम्बना रहेको भन्दै उनी नयाँ सरकारबाट शिक्षा ऐन छिटो ल्याउन पर्ने बताउँछन् । नेपाल शिक्षक संघको तर्फबाट शिक्षामन्त्रीसँग भेटेर सो विषयमा ध्यानआकर्षण गराएको उनले बताए । उनले वर्तमान समाजको विकासका लागि नयाँ शिक्षा ऐन ल्याउन आवश्यक भएको र आफूहरुको पनि सोहीअनुसारको अपेक्षा रहेको बताए । अहिलेका विद्यार्थीहरुमा माध्यमिक तह अध्ययन गरिसकेपछि नेपालमै जागिर खाने वा उद्यम गर्ने भन्दा पनि विदेश कसरी जाने भन्ने विचार पैदा हुने गरेकोमा यसलाई समाधान गर्नेगरी शिक्षा ऐन ल्याउनुपर्ने महासचिव गिरिको भनाइ छ । अहिले शिक्षा मन्त्रालय लिएको पार्टीले शिक्षालाई राज्यले लिनुपर्ने अभिव्यक्त दिँदै आएकोले सो विषय कार्यान्वयन हुनुपर्ने उनले बताए । ‘सबैभन्दा बढी ध्यान शिक्षामा दिनुपर्छ, शिक्षालाई राज्यले लिनुपर्छ, भन्ने कुरा उहाँहरुले भन्नुभाछ, उहाँहरुको प्रतिवद्धतामा पनि छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ’, महासचिव गिरिले भने । शिक्षामन्त्री आफूहरुसँगको भेटघाटमा शिक्षकहरुलाई अन्य राष्ट्रसेवकहरुलाई सरह किन मासिक रुपमा तलब दिन सकिएन भन्ने विषयमा ध्यानआकर्षण समेत गरेर मानवस्रोत विकास केन्द्रलाई त्यसको कारणबारे प्रतिवेदन पेस गर्न दिर्नेशन जानकारी गराएको भन्दै उनले राम्रो कामको सन्दर्भमा आफूहरुले सहकार्य गर्ने बताए । सरकारले शिक्षकहरुसँग सम्झौता गरेको विषयलाई कार्यान्वयन गर्ने कुरामा नै आफूहरुको पहिलो चासो भएको उनको भनाइ छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले पनि शिक्षामन्त्रीले शुरुवातको अवस्थामा नै शिक्षकहरुको तलबको विषयमा चासो दिएर शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कारणको प्रतिवेदन बनाउन निर्देशन दिएको विषयलाई सकारात्मक लागेको बताए । विद्यालय शिक्षा बुझेको शिक्षामन्त्री भएको हुँदा केही न केही सकारात्मक काम होला भन्ने आँफूहरुलाई लागेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीले पनि सरकारको न्यूनतम कार्यक्रममा शिक्षा ऐनलाई प्राथमिकताका साथ प्रस्तुत गर्नुभएको र शिक्षामन्त्री पनि शिक्षाको क्षेत्रमा लाग्नुहुन्छ भन्ने लागेको छ’, भण्डारीले बताए । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन ल्याउनुपर्ने र शिक्षा सेवा विधेयक पनि सम्बन्धित सरोकारवालाबीचमा छलफल गराउनुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ । गणतन्त्रको अभ्यास भइरहँदा पनि पञ्चायती व्यवस्थाले ल्याएको शिक्षा ऐन कार्यान्वयन गरेर जाने कुरा राम्रो नहुने उनले बताए । शिक्षकहरुको वृद्धि विकासको लागि कर्मचारी सरहको ग्रेड समायोजन हुनुपर्ने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले अरुको तुलनामा शिक्षकहरुको तलब धेरै हुनुपर्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको हुँदा शिक्षकहरुको निम्ति सकारात्मक नतिजा आउनेमा आशावादी रहेको उनले बताएका छन् । शिक्षकहरुलाई सेवा सुविधाको दृष्टिकोणले तेस्रो दर्जामा राखिएकाले सो अवस्थाको अन्त्य हुनुपर्ने बताए । प्रधानमन्त्री र शिक्षामन्त्रीले संघीय शिक्षा ऐन ल्याउने विषयमा गरेको प्रतिवद्धताले आशा जगाएको एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले बताए । केपी ओली नेतृत्वको सरकारले नचाहेर शिक्षा ऐन नल्याएको बताउँदै अधिकारीले शेरबहादुर नेतृत्वको सरकारले क्याबिनेटबाट समेत पास गरिसकेको र वर्तमान सरकार साढेदुई वर्ष टिक्ने भनिएकोमा सो समयभित्र शिक्षा ऐन आउनेमा आफूहरु आशावादी रहेको उनले बताए । यो वर्षभित्रमा भने सरकारले सो विषयमा सुरसार गरेन भने आफूहरुको संघठन नयाँ ढंगले अगाडि बढ्ने उनले बताए । त्यस्तै, निजी विद्यालयमा कार्यरत शिक्षकको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन राष्ट्रिय समिति (इस्टु) का अध्यक्ष होमकुमार थापाले निजी विद्यालयहरुले ऐन कानून पालना नगरिरहेको सन्दर्भमा सरकारले त्यसको लागि उच्चस्तरको संयन्त्र बनाउने समझदारी गरेको र कार्यान्वयन नभएको बताए । उनले त्यसका लागि शिक्षामन्त्रीलाई अनुरोध गर्ने उनले बताए । सामाजिक सुरक्षा कोषमा प्याब्सन एन्ड एन प्याब्सनले जाने सैद्धान्तिक सहमति जनाएपनि ९० प्रतिशत भन्दा धेरै विद्यालयहरु नगएकाले त्यसलाई श्रम मन्त्रालयसँग समन्वय गरेर अगाडि बढाउन सकिएमा निजी विद्यालयका शिक्षकहरुको धेरै समस्या समाधान हुने भन्दै त्यसको लागि आफूहरुले पैरवी गर्ने उनको भनाइ छ । शिक्षा ऐनको विषय पनि प्रत्येक मन्त्रीले ल्याउँछु भन्ने तर कार्यान्वयन नभएकाले पछिल्लो समयमा विकसित अवस्थाअनुसारको शिक्षा ऐन ल्याउने विषयमा सरकारको पहल हुनुपर्ने अध्यक्ष थापाले बताए ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु
काठमाडौं । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गरेका हुन् । अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो । अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन् । उनीहरुबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ । नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्को अडिसन हुने तय भएको छ । सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिए । मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ट प्रतियोगीमा ओहायो राज्यको सिनसिनाटी सहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुवेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुङ्गेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मगर, भर्मण्ट मोन मगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन् । अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा थिए । उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताए । नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वास राख्ने हरेक नेपालीले आफू रहेकै स्थानमा विश्वभर परिचय बनाउन यी शोहरुले उपयुक्त अवसर दिने उनले बताए । अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही रु एक करोड रकम पुरस्कार दिइने छ । उनले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिए । छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभालाई जहाँ रहेका भए पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर प्रदान गर्न सकियोस् भनेर यी शो आयोजना गरिएको उनको भनाइ थियो । अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गरे । सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ । उनले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिए । फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिए । अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन् ।