विकासन्युज

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

कर्णाली । पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार अहिले देशभरको आकाशमा बादल लागेको छ । आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही प्रकारको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाले आगामी २४ घण्टासम्मका लागि सचेत हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका थोरै स्थान, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । तराईका केही स्थानमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा सामान्य असर पर्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

धनुषामा हिरासत फोडेर ६ जना थुनुवा फरार

धनुषा । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हिरासतमा रहेका सात जनामध्ये छ जना गएराति फरार भएका हुन् । फरार हुनेमा दुई जना हातहतियार, तीनजना शान्ति सुरक्षा र अभद्रव्यवहार, तथा एक जना लागुऔषध मुद्दामा थुनुवा रहेका धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए। हिरासतमा एकजना सवारी दुर्घटनाको मुद्दाका थुनुवा मात्र बाँकी छन् । इलाका प्रहरीको भवन पुरानो एवं पछाडिपट्टिबाट जीर्ण रहेकाले फोडेर भाग्न सफल भएको क्षेत्रीको भनाइ छ ।

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइहरूलाई आग्रह गरेको छ । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएकोे अवस्थामा मन्त्रालयले श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जनाएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरे । उनका अनुसार हाल छ हजार आठ सय ६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठहरू तथा ई पुस्तकालयको पनि प्रवद्र्धन हुँदै आएको छ ।

९९ जना महिला मिलेर सुरु भएको ‘दिदिबहिनी किचन’, साढे दुई करोड लगानीबाट मासिक २० लाख आम्दानी

पोखरा । सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ । उनान्सय जना महिलाले पर्यटकीय नगरी पोखरामा सञ्चालन गरेको व्यवसाय ‘रोयल दिदीबहिनी किचन’ यस्तै प्रतीकात्मक बिम्ब हो । जसले निकै खराब समयबाट गुज्रिएर आशाको प्रकाश बालेको छ र यो महिला सशक्तिकरणको ज्वलन्त उदाहरण बनेको छ । यहाँ गृहणीदेखि विभिन्न पेशा व्यवसायमा जोडिएका महिला एकताबद्ध भएर केही फरक, चुनौतीपूर्ण र नमूना काम गर्ने प्रयासमा छन् । पोखरा महानगरपालिका वडा नम्बर १० को बुद्ध चोकमा महिलाहरुको सामूहिक प्रयासमा साढे दुई करोड लगानीमा रेस्टुराँ सुरु भएको हो । उनीहरु सबै पोखरा ‘रोयल बचत तथा ऋण सहकारी’मार्फत् एकआपसमा जोडिए । कम्पनी ऐनअनुसार निजी कम्पनी दर्ता गरे र रेस्टुराँ तथा बैङ्क्वेट चलाए । महिला सशक्तीकरणका लागि केही फरक गर्नुपर्छ भन्ने लागेरै आफूहरुले रेस्टुराँ शुरु गरेको सञ्चालक रुद्रकुमारी गुरुङ बताउँछिन् । पोखरा रोयल बचत तथा ऋण सहकारीमा अध्यक्ष गुरुङकै नेतृत्वमा महिलाहरु एकजुट भइ दिदीबहिनी किचन स्थापना गरेका हुन् । ‘सहकारीमा उपाध्यक्ष हुँदा मैले दिदीबहिनी किचनको नेतृत्व गरेको हुँ । विभिन्न अध्ययन अवलोकन र भ्रमणमा आउनेका लागि कार्यक्रम सञ्चालन गर्न र सँगसँगै खाना खान मिल्ने ठाउँको आवश्यकता महशुस भएपछि रेस्टुराँ शुरु गरेका हौँ’, गुरुङले भनिन् । महिलाहरु एकताबद्ध भएर भइ सञ्चालन गरेको यो व्यवसाय आफैँमा उदाहरणीय भएका कारण विभिन्न क्षेत्रका महिला समूह र सहकारी संस्थाका सदस्यहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको उनको भनाइ छ । रोयल दिदीबहिनी किचनमा पोखरा रोयल सहकारीकै सदस्यहरु जोडिएका भएपनि छुट्टै कम्पनी हो । यो प्राइभेट लिमिटेडका रुपमा दर्ता छ । हरेक सदस्यले समान साढे दुई लाख रुपैयाँ बराबर लगानी गरेका छन् । रेष्टुराँमा एक सय जनालाई एकै साथ सेवा दिने क्षमता छ भने एक सय जनासम्म अटाउने बैङ्क्वेट तथा पार्टी भेन्यु पनि सञ्चालनमा छ । एउटा रेन्टुराँ चलाउनका लागि उनान्सय जनाको लगानी किन ? ‘यसको सांकेतिक अर्थ त छ नै । व्यवहारिक रुपमा पनि यस्तो हुन गयो । प्राइभेट कम्पनीमा ९९ जनाभन्दा बढी सदस्य बस्न नमिल्ने रहेछ । नत्र हामी अरु महिला दिदीबहिनीलाई पनि यसमा सहभागी गराउने सोचमा थियौँ’, सञ्चालक गुरुङले भनिन् । कोभिड–१९ महामारीभन्दा केही समयअघि मात्र शुरु भएको रेस्टुराँ लकडाउनका समयमा नराम्रोसँग थलियो । व्यवसाय पूर्णरुपमा बन्द भएपछि सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था आएको थियो । तर दिदीबहिनी किचनले कर्मचारी कटौती गरेन । तीन वर्षदेखि सञ्चालनमा रहेको रेस्टुराँमा हाल २० जना कर्मचारी छन् । व्यवसाय शुरु गरेको पहिलो दुई वर्ष निकै समस्या भोगेको रेस्टुराँ आर्थिक वर्ष २०७८/७९ मा भने लगानीकर्तालाई पाँच प्रतिशत लाभांश दिन सफल भएको अध्यक्ष गुरुङको भनाइ छ । दिदी बहिनी किचेनले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ । रेस्टुराँसँग जोडिएका दिदीबहिनीहरु सामाजिक काममा पनि खटिन्छन् । यसवर्ष हामीले न्यून आर्थिक अवस्था भएका केहीलाई न्यानो कपडा बाँड्यौं । कम्पनीमा आवद्ध महिलालाई अन्य सीपमुलक काममा पनि खटाउने गरेको उनको भनाइ छ । उनका अनुसार मासिक २० लाख रुपैयाँ आम्दानी सो रेष्टुराँबाट भइरहेको छ ।  सहकारीको अवधारणाबाट सञ्चालित रेष्टुराँ निजी क्षेत्रका लागि पनि अनुकरणीय छ । यहाँ सदस्यहरु आफै सेवामा खटिन्छन् । लगानीकर्ताका परिवारका सबै सदस्य प्रत्येक महिना कम्तीमा एकपटक यो रेस्टुराँमा खाना खान आइपुग्छन् ताकि यहाँको व्यवस्थापन मात्र होइन खानेकुराको स्वाद, गुणस्तर, सेवाप्रवाह जस्ता कुराको जानकारी लिन सकियोस । रेष्टुराँलाई विस्तार गर्ने योजना रहेकाे उनले सुनाइन् । करिब दुई रोपनीमा रेष्टुरेन्ट फैलिएको उनले बताइन् । अब राति बस्नका लागि पनि व्यवस्था गरिने उनको भनाइ छ । यस्तै, सो रेष्टुराँमा प्रत्येक सदस्यको परिवारले महिनामा एक पटक आएर खानु पर्ने नियम बनाएको बताइन् ।

पोखरामा आगोमा जलेका युवालाई बचाउने महिलाको मृत्यु

काठमाडौं । आइतबार पोखरामा आगोमा जलेका युवालाई बचाउन जाँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणबाट १६ करोड राजस्व सङ्कलन

गण्डकी । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीरकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । सो अवधिमा दुई लाख २५ हजार पाँच सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा एक लाख ३३ हजार आठ सय ६४ सवारी चालकलाई गरिएको कारबाहीमा आठ करोड ८७ लाख दुई हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यसवर्ष छ हजार दुई सय ६२ कार्यक्रम सञ्चालन गर्दा नौ लाख ६० हजार एक सय ४६ जना सहभागी भएका र अघिल्लो वर्षयसै अवधिमा गरिएको कार्यक्रममा पाँच हजार ३८ वटा कार्यक्रममा चार लाख ७६ हजार आठ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए । प्रदेशमा यसवर्ष चार सय दुई वटा दुर्घटना भएकामा दुई सय १३ मानिसको मृत्यु, तीन सय ८१ जना सख्त घाइते, दुई सय ४५ सामान्य घाइते भएका र त्यसमा पाँच सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष चार सय १५ वटा दुर्घटना हुँदा दुई सय ५१ जनाको मृत्यु, दुई सय ७४ सख्त घाइते, दुई सय ७० जना सामान्य घाइते भएका र त्यसमा पाँच सय ५४ सवारीसाधन परेका थिए । ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए ।

नेपालीलाई मुटुरोग उपचारको लागि विदेश जानबाट मुक्त गराउँदैछौं : डा. चन्द्रमणि अधिकारी

काठमाडौं । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्ने मुल उद्देश्य लिइ २०५२ सालमा यस केन्द्रको स्थापना भएको हो । स्थापनाकालमा नौ श्ययाबाट आफ्नो सेवा सुरु गरेको यस केन्द्रमा हाल दुई सय ७० श्यया सञ्चालनमा रहेको छ । प्रारम्भमा मुटुरोगसम्बन्धी सामान्य उपचारबाट सेवा सुरु गरेको यस अस्पतालले समयको अन्तरालसँगै मुटुरोगसम्बन्धी विभिन्न किसिमका गुणस्तरीय विशेषज्ञ उपचार सेवाहरु सर्वसुलभरुपमा उपलब्ध गराउँदै आइरहेको छ । सीमित स्रोत र साधनबाट सुरु भएको यस केन्द्र हाल वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा विश्वस्तरीय अत्याधुनिक उपकरणले उच्चस्तरीय विशिष्टिकृत कार्डिक केन्द्रका रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । मुटुरोगको निदान, उपचार र रोकथाममा केन्द्रले खेलेको भूमिका उदाहरणीय रहेको छ । विसं २०५२ असार २६ राष्ट्रिय हृदय केन्द्रका रुपमा स्थापना भएको यो केन्द्रलाई सरकारले २०५२ भदौ ८ मा बाँसबारी छाला जुत्ता कारखानाको जमिन हस्तान्तरण गरेको थियो । विसं २०५३ भदौ १९ मा यस केन्द्रको नाम शहीद गङ्गालाल श्रेष्ठको नामबाट शहीद गङ्गालाल राष्ट्रिय ह्दय केन्द्र राखियो । विसं २०५४ पुस १५ मा बहिरङ्ग र २०५६ वैशाख १६ मा नौ श्ययाको बिरामी सेवा सुरु गरेको थियो । विसं २०५८ भदौ २० मा ६० श्ययाको इआर, ओटी, आइसियु, सिसियु, क्याथल्याबसहितको पूर्णरुपमा क्रियाशील अस्पतालको औपचारिकरूपमा उद्घाटन भएको थियो । विश्वस्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगका रुपमा देखाएको छ । पछिल्ला दिनमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेका सन्दर्भमा केन्द्रले प्रदान गर्दै आइरहेका उपचारात्मक तथा प्रवद्र्धनात्मक सेवा र कार्यक्रमका कारण केन्द्र स्थापनाको उपादेयता बढ्दै गएको देखिन्छ । देशमा बढ्दो मुटुरोगीको उपचार, निदान अभिभाराका साथ गुणस्तरीय सेवा प्रदान गर्ने उपचारको क्षेत्रमाछुट्टै पहिचान बनाउन केन्द्र सफल भएको छ । देशकै प्रथम हृदय केन्द्रका रुपमा स्थापित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले हिजो २७ औ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा केन्द्रलाई गुणस्तरीय उपचार पद्धतिमार्फत एक विश्वासिलो विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । केन्द्रको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिएको बताएका थिए । यसले देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न उत्साह जगाएको छ । प्रधानमन्त्रीले सातै प्रदेशमा विशेष स्वास्थ्य क्षेत्रसहित प्रदेश अस्पतालहरू निर्माण गरिने र त्यसमा मुटुरोगको युनिट पनि राखिने बताएका थिए । यसै सन्दर्भमा केन्द्रका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीसँग गरेको कुराकानी : नेपालमा मुटुको रोगको अवस्था कस्तो रहेको छ ? विश्वव्यापीरुपमा नसर्ने रोगहरुमध्ये मुटुरोग एक प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको छ । यसका मुख्य कारणमध्ये मानिसको जीवनशैली पनि एक हो । यसबाट करोडौँ मानिस प्रभावित हुँदै आएका छन् र लाखौँ मानिसले अकालमै जीवन गुमाइरहेका छन् । मुलुकमा पछिल्ला वर्षमा जीवनशैलीको परिवर्तन सँगसँगै मुटुरोगसम्बन्धी समस्या पनि वृद्धि हुँदै गइरहेको तथ्याङ्कले पुष्टि गर्दछ । नेपालमा पनि मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै छ । पहिलेको र अहिलेको रोगको प्रकृति भने फरक छ । पहिले मुटु बाथरोगीको सङ्ख्या बढी थियो भने पछिल्लो समय ह्दयाघातको सङ्ख्या बढ्दै गएको छ । पहिले ५० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिमा यो समस्या धेरै हुने गरेकामा अहिले २०/२५ वर्षकै व्यक्तिमा समस्या आउन थालेको छ । मुटु बाथरोग र हृदयाघातको अवस्थामा के भिन्नता हुन्छ नि ? बाथ मुटु रोग गरिबी, अशिक्षा, तल्लोस्तरको जीवनस्तरका मानिसमा देखिन्थ्यो । गरिब देशमा ठूलो समस्या थियो । प्रायः धनी देशमा बाथ मुटु रोग उन्मुलन भइसकेको छ । मानिसको आर्थिकस्तरमा सुधार आएपछि यो समस्या कम भएको छ । सहरी क्षेत्रमा कम हुँदै गएको छ । तर व्यायाम, तयारी खानेकुरा, चिन्तायुक्त जीवनशैली, काममा बढी व्यस्तता, सुर्ती तथा मदिराको सेवनले हृयादयाघातका मुटुरोगीको सङ्ख्या बढ्न थालेको छ । अन्य देशको तुलनामा नेपालमा हृदयरोग मृत्युको पहिलो कारण बनेको छ । गङ्गालालको तथ्याङ्क हेर्दा पनि यस्तै देखिन्छ । ग्रामीण क्षेत्रमा मुटुरोगको उपचार सेवालाई विस्तार गर्न केन्द्रले के गर्दैछ ? मुटु रोगको समस्या पहिले सहरमा बढी छ भनिन्थ्यो तर अहिले गाउँमा पनि बढ्न थालेको छ । त्यसैले यसको उपचार सेवालाई गाउँगाउँसम्म विस्तार गर्न आवश्यक छ । मानिसलाई मुटुको समस्या आउन नदिन जनचेतना अभिवृद्धि गर्नुपर्ने देखिन्छ । यसका लागि केन्द्रमा छुट्टै डिपिसिसिआर विभाग छ, यसले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका कामहरु गर्छ । जनताको आचरण, जीवनशैली बानी व्यवहारमा परिवर्तन गरी स्वस्थ जीवनयापन गर्नमा जनचेतनामूलक सन्देश प्रवाहमा जोड दिएको छ । जनकपुरमा केन्द्रको शाखा विस्तार गरेका छौँ, अन्यत्र पनि क्रमशः विस्तार गर्ने योजना छ । विपन्न जनताको पहुँचसम्म मुटुरोगको उपचार सेवा पु¥याउन केन्द्रले के–कस्ता कार्यक्रम सञ्चालन गरेको छ ? विभिन्न संस्थाहरुको सहकार्यमा केन्द्रले देशका विभिन्न स्थानमा नै शिविर सञ्चालन गर्दै आएको छ । केन्द्रले गत आवमा देशका विभिन्न जिल्लामा मुटुरोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी तीन हजार ६०० भन्दाबढी बिरामीको मुटु परीक्षण गरेको छ । शिविरमा मुटुको भल्भमा समस्या देखिएका शुल्क तिर्न नसक्ने बिरामीहरुलाई काठमाडौं बोलाएर निःशुल्क उपचार गर्ने गरिएको छ । कतिपयलाई विपन्न नागरिक उपचार कोषबाट उपचारकोे गरिएको छ । केन्द्रमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म १७ हजार बिरामीहरु लाभान्वित भएका छन् । मुटुको रोगको उपचारका लागि अहिले पनि नेपाली–भारतलगायत विभिन्न देशमा जाने गर्छन् । नेपालमै यसको सम्पूर्ण उपचार सम्भव छैन र ? दक्षिण एशियामा भारतमा जस्तै उपचार नेपालमा पनि गर्न सकिन्छ । नेपालमा मुटुरोगको उपचार गर्न भारतबाट पनि बिरामी आउँछन् । खासगरी नेपालको सीमा नजिकका बिरामी आउने गर्छन् । सस्तो र गुणस्तरीय सेवा प्रदान गरी एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित यस केन्द्र मुटुरोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यताबाट सबै नेपालीलाई मुक्त गर्न थप आधुनिक र गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम हुँदैछ । केन्द्रले अनुसन्धानका क्षेत्रमा के–कस्ता काम गरेको छ ? विसं २०७७ साउनमा अनुसन्धान एकाइ गठन गरिएको छ । यस एकाइमार्फत २०० वटा अनुसन्धानलाई अगाडि बढाएका छौँ । अनुसन्धानबाट निस्केका निस्कर्षहरुलाई विश्वका विभिन्न जर्नलहरुमा प्रकाशित गरिएको छ । मुटुरोगको उपचार, रोकथाम तथा अध्ययन अनुसन्धानमा केन्द्रले उल्लेखनीय भूमिका खेल्दै आएको छ । सन् २०२२ मा अध्ययन अनुसन्धान क्षेत्रमा ३६ वटा अनुसन्धान प्रस्ताव स्वीकृत भएका छन् । केन्द्रको सेवा विस्तार गर्नेतर्फ के योजना रहेको छ ? केन्द्रको प्रायः ९० प्रतिशत श्यया भरिएको हुन्छ । क्षमता विस्तार नगरिएमा दुई/चार वर्षमा बिरामीले श्यया पाउन मुस्किल पर्नेछ । त्यसैले सरकारसँग दुई सय श्ययाको बनाउन अनुरोध गरेका छौँ । केन्द्रमा दिन प्रतिदिन बढ्दै गइरहेको बिरामीको चापलाई मध्यनजर गर्दै केन्द्रको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । यसका लागि केन्द्रले दुई सय श्ययाको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको लागि डिपिआर तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइसकिएको छ । साथै केन्द्रलाई प्रतिष्ठानका रुपमा विकास गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने अवस्थासमेत रहेकाले यसका लागि नेपाल सरकारसँग अनुरोध गरेका छौँ । केन्द्रले नेपालमै पहिलो पटक विनाअपरेशन सेवा सुरु गरेको छ । यस्तो शल्यक्रियाको प्रभाव कस्तो रहेको छ ? केन्द्रमा २००६ देखि मुटुको प्वाललाई शल्यक्रिया नगरी उपचार गर्ने विधिको सुरुआत गरिए पनि सन् २०१४ पछि मात्रै उल्लेख्यमात्रामा यस्तो शल्यक्रिया गर्न सकेका थियौँ । विश्वमा छाती चिरेर नगर्ने शल्यक्रियालाई जोड दिन थालिएको छ । २००२ मा फान्समा कृत्रिम भल्भबाट प्रात्यारोपण सुरु भएको थियो । भारतले २०१२ मा सुरु गरेको थियो । नेपालमा आठ वटा शल्यक्रिया गरिएकामा केन्द्रबाट मात्रै सातवटा शल्यक्रिया गरिएको छ । गत वर्ष २०७८ फागुन १६ गते नेपालमै पहिलो पटक विनाअपरेशन सुरु गरी हालसम्म सात जनामा सफलतापूर्वक मुटुको भल्भ प्रत्यारोपण गरियो । नेपालमा पहिलोपटक यो सेवा सुरु भएको हो । मुटुरोगको उपचारमा सरकारले कत्तिको प्राथमिकता दिएको छ ? नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी मौलिक हकअन्तर्गत व्यवस्था गरेको छ । साथै आफ्नो स्वास्थ्योपचारका सम्बन्धमा जानकारी पाउने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक हुने हकको प्रत्याभूति गरेको सन्दर्भमा सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्नु राज्यको कर्तव्य हुन आउँछ । यसै अनुसार केही वर्षहरूदेखि नेपाल सरकारले पनि मुटुरोगको उपचारमा उतिकै महत्व दिँदै आइरहेको छ । विसं २०६३/६४ बाट सुरु भएको १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु उपचार, आव २०६४/६५ देखि ५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, आव २०६६/६७ देखि विनाअप्रेशन मुटुको साँघुरिएको भल्भ खोल्ने प्रविधि, बाथ मुटुरोगीको निःशुल्क शल्यक्रिया, गरिब बिरामी राहत सुविधालगायतका कार्यक्रम नियमितरुपमा सञ्चालन हुँदै आइरहेका छन् । यी कार्यक्रमका लागि नेपाल सरकारद्वारा गत आव २०७८/७९ मात्रै सामाजिक सेवा अनुदानअन्तर्गत ३७ करोड ६० लाख विनियोजन भएको र यसबाट गरिब असहाय बिरामीको उपचारमा निकै सहज भएको छ । अन्त्यमा यस केन्द्रलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ने देख्नुहुन्छ ? मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालका रुपमा विस्तार गर्नु आवश्यक छ । आगामी दिनमा मुटुरोगको उपचारमा नवीन प्रविधिसहित संस्थागत क्षमता विकासमार्फत एक उत्कृष्ट नमुना अस्पतालका रुपमा आफूलाई विकास र विस्तार गरी सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको सुनिश्चिततातर्फ केन्द्रले काम गर्नुपर्नेछ । आगामी दिनमा केन्द्रलाई समयानुकूल थप चुस्तदुरुस्त बनाई मुटुरोगको उपचारमा संस्थागत क्षमता विकास गर्दै एक उत्कृष्ट नमुना अस्पतालका रुपमा विकास गर्नु आवश्यक छ । मुटुरोगको उपचारमा तुलनात्मकरुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रका रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । रासस

नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा नर्सहरुलाई नवजात शिशुको उपचार तालीम

काठमाडौं । नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा बिरगंजका करिब ४० जना नर्सहरु नवजात शिशुको पूर्नजीवन तालीममा सहभागी भए । नेपाल मेडिसिटी बयोधा अस्पतालले नेपाल नर्सिङ्ग दिवसको उपलक्ष्यमा आयोजना गरेको उद्घाटन सत्रमा बिरगंजस्थित नेशनल मेडिकल टिचिङ्ग हस्पिटलकी नर्सिङ्ग निर्देशक श्रीमती गंगा गुरुङ्ग प्रमुख अतिथिको आसनबाट नर्सहरु भनेको अस्पतालको मेरुदण्ड भएको बताईन् । नर्सहरुले आफ्नो ज्ञान र सीपलाई अभिबृद्धि गर्दै अस्पतालहरुमा दीगो सेवालाई प्रत्याभूत गर्न आवश्यक रहेको पनि उनको भनाई थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहेकी बिरगंज नर्सिङ्ग क्याम्पसकी प्रमुख जमुना भट्टराईले नेपालमा जेष्ठ नागरीकहरुको संख्या बृद्धि भईरहेकोले नर्सहरु तथा अस्पतालहरुले पनि जेष्ठ नागरिकहरुको उपचारमा अभ बढी ध्यान दिनुपर्ने बताईन् । नर्सहरुको सेवा, सुविधा तथा जीवनयापनका लागि पर्याप्त पारिश्रमिकको ब्यवस्था अस्पतालहरुले गरेको खण्डमा नर्सहरुको कार्यकुशलतामा अभिबृद्धि हुने उनले बताईन् । नेपाल मेडिसिटी बयोधा अस्पतालले नर्सहरुको ज्ञान र सीपलाई अभिबृद्धि गर्न नियमित रुपमा तालीमहरुको ब्यवस्था गरिरहेको र स्वास्थ्यका अधिकांश सेवाहरुलाई बिरगंजमै उपलब्ध गराईरहेकोले सम्पूर्ण उपचार अब बिरगंजमै सम्भव बनाउन आफूहरु लागीपरेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए । आफूहरुले बिरगंजका सबै अस्पतालहरुसंग सहकार्य गरेर विरामीहरुलाई प्राथमिक, माध्यमिक र विशिष्ट सेवा बिरगंजमै उपलब्ध गराउने प्रयास गरिरहेकोले अब उपचारका लागि अन्यत्र जाने अवस्था न्यून हुने उनको धारणा छ । उद्घाटन सत्रपश्चात नवजात शिशुको पूर्नजीवन ब्यवहारिक तालीममा बिरगंजका अधिकांश अस्पताल तथा नेपाल मेडिसिटी बयोधा अस्पतालका गरी करिब ४० जना नर्सहरु सहभागी रहेका थिए । उक्त कार्यक्रममा नवजात शिशुहरुको अस्पतालमा गरिने उपचार तथा नवजात शिशुहरुको सघन उपचारका तरीकाहरुको ब्यवहारिक तालीम दिईएको थियो । नेपाल मेडिसिटी बयोधा अस्पतालको बालरोग विशेषज्ञ डा. आनन्द रौनियार, डेपुटी नर्सिङ्ग सुपरिन्टेन्डेण्ट विद्या गुप्ता, एसिस्टेन्ट नर्सिङ्ग सुपरिन्टेन्डेण्ट रविन्द्र कानुले नर्सहरुलाई प्रशिक्षण दिएका थिए ।