विकासन्युज

तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो । आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । ‘मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत्गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्, श्रेष्ठले भने । आयोजनाको एक हजार चार सय ५६ दहमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ । प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । ‘डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ’, श्रेष्ठले भने । सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ । प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्र्तगत हालसम्म रू दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ । प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ । प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शुन्य छ र वित्तीय प्रगति ५३ दशमव शुन्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ । रासस

बैंकको ब्याजदर घटाउन माग गर्दै सडकमा उत्रिए उद्योगी व्यवसायी

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकविरुद्ध प्रदर्शन गरेको छ । सोमबार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नयाँ बानेश्वर व्यापार व्यवसायी संघ, ललितपुर तयारी पोशाक व्यवसायी संघ, नेपाल कम्प्लेक्स व्यापार संघ लगायतले माईतीघरमा ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए । महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताए । उनले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पुर्याएकाले व्यवसायीहरु मर्कामा परेको बताउ । उनले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा पुगेको बेला बैंकहरुले उद्योगी व्यवसायीहरूलाई अपमान गरेको जानकारी दिए । उनले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका उद्योगी व्यवसायी माथि राज्य र बैंकहरुले अवहेलना गरेकाले आन्दोलन गर्नुपरेको बताए । उनले बैंकको चर्को ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित भएकाले राज्यले बैंक ब्याजदर, कालोसूची र धितोलिलामी जस्ता काम रोक्नुपर्ने बताए । उनले बैंकहरुले कर्जा तिर्नको लागि समय माग गर्दा समेत नदिएको बताए । अध्यक्ष कार्कीले बैंकहरुले धितोलिलामी गरेर हजारौं व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको अरोप लगाए । उनले महासंघले उठाएका माग सम्बोधन नभए चरणवद्ध रुपमा आन्दोलन गर्ने बताए । उनले महासंघले लामो समयदेखि व्यवसायीहरुको माग सम्बोधन गर्नको लागि सबैसँग पहल गर्दा पनि नहुने देखिएपछि सरकारको आँखा खोल्न सडक आन्दोलनमा आएको बताए । त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताए । उनले बैंकहरुले ब्याजदर बढाएर आंतक मच्याएकाले बैंकको आंतक रोक्नुपर्ने माग राखेर आन्दोलन गरिएकोमा जोड दिए । उनले व्यवसायीहरुको लागि वैज्ञानिक भाडादर लागू हुनुपर्ने बताए । उनले व्यवसायीहरुले उठाएका मागहरु सरकारले तत्काल सम्बोधन नगरे मुलुकभरका उद्योगी व्यवसायीहरु वृहत आन्दोलनमा उत्रने बताए । उनले बैंकको आंतक बढ्दै गएमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायीको चाबी सरकार र राष्ट्र बैंकलाई बुझाउने जानकारी दिए । उनले सरकारले उद्योगी व्यवसायीहरुलाई समेत राहदानी बनाएर विदेश पठाउने नीति लिएको आरोप लगाए । उनले सरकारको व्यवसायीमैत्री नीति नहुनु र बैंकहरुको आंतकको कारण व्यवसायीहरुले आत्महत्या र आत्मदाह गर्न समेत बाध्य बनाएको बताए । त्यस्तै, महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाइन् । उनले बैंकहरुले २० करोडको धितोलाई १० करोडमा लिलाम गर्ने प्रवृति लिएको बताइन् । खड्काले घरजग्गा बैंकहरुलाई जिम्मा लगाउनको लागि व्यवसायीहरुले व्यापार व्यवसाय नगरेकोमा जोड दिइन् । उनले बैंकहरुले असहज अवस्थामा सहजिकरण गर्नुपर्नेमा उल्टो ब्याजदर उच्च बनाएर पीडित बनाएको बताइन् । त्यस्तै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताइन् । उनले बैंकको चर्को ब्याजदर सरकारले नियन्त्रण गर्न आवश्यक रहेको जानकारी दिइन् । सडक आन्दोलनमा व्यवसायीले बैंकिङ आतङ्क बन्द गर, बैंक सधैँ नाफामा उद्योगी, व्यवसायी घाटामा, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दै छ, बैंकिङ ब्याजदर १ अंकमा ल्याउ, ब्याजदर घटाउ गरिखान देउ, उद्योग व्यापार बचाऔँ राष्ट्रिय अर्थतन्त्र उठाऔँ, स्व. प्रेम आचार्यका माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगीव्यवसायी एक हौँ, उद्योगी, व्यवसायी आत्महत्या गर्न बाध्य नपार, सहज व्यवसायिक वातावरण कायम गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

गृहमन्त्रीको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीकाे हाे : उपाध्यक्ष महरा

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताएका छन् । सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष महराले प्रधानमन्त्री दाहालले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टी भित्र प्रवेश नै नगराइएको जिकीर समेत गरे । ‘गृह मन्त्रीको विषयमा प्रवेश नै गरिएन, यो सरकारको विषय हो, गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो, यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सी छलफल होला,’ उनले भने । सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए । सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री दाहालले आवश्यक निर्णय गरेका छैनन् भने लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दावी नछाडने जनाएको छ ।

किसान भन्छन् : अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुर । उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका १० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन् । ‘यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन’, उनले भने । कटारी ९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरुले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० रुपैयाँ भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरु बर्सेनि मारमा पर्दै आएको बताउँछन् । जिल्लाको ताप्ली गाउँपालिका–५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो ४० देखि ५० सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् । त्रियुगा नगरपालिका(१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, ‘जिल्लाका अदुवा खरिदकर्ताले नै सुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ ।’ उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरुले बिक्री गर्दै आएका छन् । जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने गरेको जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ । कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने, ‘अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।’ जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउँछन् । उनका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ । जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो ८० देखि एक सय बताउँदै आएका छन् ।

राहदानी विभागले दैनिक १५ सयका दरले अनलाइन आवेदन खोल्ने

काठमाडौं । राहदानी विभागले आफ्ना सेवा सहज बनाउने उद्देश्यले एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागले एक सूचना प्रकाशित गरी आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुने जनाएको छ । हाल दुईदेखि तीन दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकामा अब एक महिनाको गर्न लागिएको विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए । उनका अनुसार दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । आज प्रि–इनरोलमेन्ट गर्दा फागुन १५ सम्ममा समय पाइनेछ । विभागसहित विदेशमा रहेका कूटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि–इनरोलमेन्ट गराउने छन् । काठमाडौँ नजिकका जिल्लामा १० देखि १२ दिनभित्र, तराईका जिल्लामा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गरिने विभागले जनाएको छ ।

४१ अंकले घट्यो सेयर बजार, तीन अर्ब बढीको कारोबार

काठमाडौं । सोमबारको सेयर बजार ४१.०१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २१२७.५२ विन्दुमा पुगेको छ । सेयर बजार घट्दा आज ८८ लाख कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३० लाखको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार सूर्यज्योती लाइफ इन्स्योरेन्सको १७ करोड रुपैयाँको भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३३ अङ्कले ओरालो लागेर चार सय दुई दशमलव ९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै सेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये नौ कम्पनीको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै दुई सय चार कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार चार सय ८८ कित्ता सेयर तीन अर्ब ३० करोड २२ लाख एक हजार आठ सय २५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको सेयर कारोबार भयो । रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार आठ सय सात, पिपुल्स पावर कम्पनी नौ करोड ५६ लाख २९ हजार छ सय ९७, माथिल्लो तामाकोसी नौ करोड ३५ लाख ९२ हजार आठ सय ८८ र अपि पावर कम्पनी सात करोड ७७ लाख ९३ हजार नौ सय ७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर छ दशमलव ५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स पाँच दशमलव १४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् । त्यस्तै, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर सात दशमलव १४, श्वेतगङ्गा हाइड्रोपावर छ दशमलव ७१, सगरमाथा इन्स्योरेन्स छ दशमलव ४४, सयपत्री हाइड्रोपावर पाँच दशमलव ८० र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य पाँच दशमलव ७४ प्रतिशतले घटेको छ । आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार तीन सय ३६ कायम भएको छ ।

प्रेमप्रसाद मृत्यु प्रकरण : प्रहरीले लियो भाटभटेनीका सञ्चालकको बयान

काठमाडौं । प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई बयानका लागि बोलाएको छ । नयाँ बाेनेश्वरस्थित संघीय संसद् भवनअगाडि आत्मदाह गरेका आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेसँगै भाटभटेनीका सञ्चालक गुरुङलाई बयानका लागि बोलाएको हाे । उनको बयान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंको टेकुस्थित कार्यालयले जानकारी दिएकाे छ । आत्मदाह गर्नुअघि आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटसका आधारमा प्रहरीले गुरुङलाई बोलाएको हो । आचार्यले भाटभटेनीदेखि धेरै कम्पनीहरुको नाम उल्लेख गर्दै समयमा पैसा नदिएको आरोप लगाएका थिए ।

ड्रागनफ्रुट सम्भावनासँगै चुनौती पनि बढ्दै

पथरी । पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि   ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो छ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती गरेका थिए । आइतबार सुनसरीको इटहरीमा भएको ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’ प्रदेश नं १ को भेलामा किसानहरुले सम्भावनासँगै चुनौती पनि बढ्दै गएको बताएका छन् । फलको बजारिकरणमा समस्या हुन थालेपछि विकल्पका रुपमा जुस, जाम र वाइन जस्ता सामग्री उत्पादन गरेर बिक्रीवितरण गर्ने गरेको मोरङ पथरी शनिश्चरेका किसान प्रेम लिम्बूले बताए ।  ड्रागनफ्रुट खेतीका लागि विशेषज्ञ नभएको, माटो परीक्षण विधि नभएको र रोग लागेमा औषधि समेत नपाइने भएकाले खेती गर्न समस्या भएको झापा गौरीगञ्जका उपेन्द्र थापाको भनाइ छ । जमिन र बिरुवामा जति धेरै विषादी प्रयोग गर्यो त्यती नै रोग लाग्ने सुनसरीका किसान कृपासुर घलेले बताए । अहिले ड्रागनफ्रुटका बिरुवामा चार किसिमका रोगहरू देखा पर्न थालेका छन् । ‘माटो र बिरुवाको सुरक्षाका लागि गाईको गहुँत, गोबर र कुखुराको सुली प्रयोग गर्दा रोग लाग्दैन’, उनले भने । कार्यक्रममा ‘ड्रागनफ्रुट प्रोड्युसर्स एशोसिएशन नेपाल’का केन्द्रीय उपाध्यक्ष भेषराज शाक्यले ड्रागनफ्रुट स्वास्थ्यका लागि फलदायक र लाभकारक हुने भएकाले खेतीमा धेरै सम्भावना भए पनि चुनौती थपिँदै गएको बताए । नेपालमा ड्रागनफ्रुट खेतीका विशेषज्ञ नभएको र सरकारसँग पनि माटो परीक्षणविधि नरहेका कारण किसान समस्यामा रहेको केन्द्रीय सदस्य वासु ढकालले बताए । नेपालमा ड्रागनफ्रुटमा बीमा नीति नभएका कारण सुरक्षाको प्रत्याभूति नरहेको ढकालको भनाइ छ । कार्यक्रममा दिननाथ भट्टराईले ड्रागनफ्रुट खेतीको चुनौती र खेती गर्ने विधिबारे सहजीकरण गरेका थिए भने बाबुराम निरौलाले माटो सुधारका विधिबारे जानकारी गराएका थिए । भेलाले जयबहादुर तामाङको अध्यक्षतामा ११ कार्यसमिति समेत गठन गरेको छ । एशोसिएशनको उपाध्यक्षमा सञ्जीव राई, सचिवमा एक्सन राई, कोषध्यक्षमा बाबुराम निरौला, सदस्यमा टेकनाथ पौडेल, कमला गुरुङ, रुद्रबहादुर कार्की, भुपेन्द्र थापा, सुरेस सिवाकोटी,   मनिस राई र उसा तामाङ छन् । भेलामा प्रदेश नं १ का ५० जना भन्दाबढी किसानको सहभागिता थियो । रासस