सन्दीपविरुद्धको निवेदनमाथि सुनुवाइ हुँदै
काठमाडौं । बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ । लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए । नेपाल क्रिकेट सङ्घले सन्दीपलाई आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एक दिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा समावेश गरिसकेको छ ।
१४ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार चार सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला रु एक लाख सात हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख छ हजार एक सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख सात हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर एक हजार तीन सय ६५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सानिमा र रिलायन्स लाइफले एकैदिन डाके साधारण सभा, मर्जरको प्रस्ताव पारित गर्ने
काठमाडौं । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारण सभा आव्हान गरेका छन् । दुबै कम्पनीले आगामी फागुन १२ गते पाँचौं वार्षिक साधारण सभा डाकेका हुन् । जसमध्ये सानिमा लाइफले सो दिन बिहान ११ बजे धुम्बाराहीस्थित कुण्डलीनी दरबारमा र रिलायन्स लाइफले पनि बिहान ११ बजे नक्सालस्थित लिसारा रिसेप्सन्समा साधारण सभा डोकेका छन् । दुबै कम्पनीको सभाले दुई कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गर्दै छ । त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको नाम सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड कायम गर्ने प्रस्ताव रहेको छ । साथै, कम्पनीको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव रहेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण सेयरको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव छ । उक्त सभामा जाने प्रयोजनको लागि दुबै कम्पनीले आगामी माघ २९ गते बुक क्लोज गर्दै छन् ।
बैंक तथा वित्तीय संस्थाविरुद्ध पोखराका उद्योगी
पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहसंयोजक रहेको सङ्घर्ष समितिसमेत गठन गरेको छ । बैंक तथा वित्तीय संस्थाले कर्जाका साँवा र ब्याजका लागि भइरहेका धरपकडविरुद्ध संयुक्त सङ्घर्षका कार्यक्रमको घोषणा गरिएको हो । सङ्घर्ष समितिमा पोखरा र लेखनाथस्थित विभिन्न वस्तुगत सङ्घका अध्यक्षहरू सदस्य रहेका छन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीबाट साँझ–बिहान र रातमा पनि टेलिफोन गरेर मानसिक तनाव दिने, घर र पसलमै पुगेर बालबालिकाका सामु धम्क्याउने, पसलमा दिनभर बिक्री भएको पैसा बोकेर हिँड्ने काम भएपछि बाध्य भएर सङ्घर्ष गर्ने निर्णय गरिएको पोखरा उद्योग वाणिज्य सङघका अध्यक्ष पवनकुमार प्रजापतिले बताए । सङ्घर्ष समितिले बैंक तथा वित्तीय संस्थाबाट भएका यस्ता कामको सामूहिक प्रतिवाद गर्ने बताउँदै उनले कसैमाथि बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भए सङ्घर्ष समिति वा पोखरा र लेखनाथ उद्योग वाणिज्य सङ्घलाई जानकारी दिन अनुरोध गरे । बैंक तथा वित्तीय संस्थाबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी–व्यवसायी मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको बताउँदै उनले ज्यादती तत्काल रोकिनुपर्ने बताए । विषम परिस्थितिम कुनै बैंक तथा वित्तीय संस्थाले कुनै व्यवसायीको धितो लिलामी प्रक्रिया अगाडि बढाए त्यसको पनि प्रतिकार गरिने बताउँदै अध्यक्ष प्रजापतिले समितिको आउँदो बैठकले सङ्घर्षका थप कार्यक्रम र स्वरुप निर्धारण गर्ने जानकारी दिए । भेलामा नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले कुनै बैंक तथा वित्तीय संस्थाबाट धम्कीपूर्ण टेलिफोन र पत्र आए त्यसको जानकारी सङ्घर्ष समिति एवं आफूलाई दिन आग्रह गरे । दुःख दिने बैंक तथा वित्तीय संस्थालाई परिआए एकमुष्ट लालपुर्जा लगेर बुझाइने उनले चेतावनी दिए । महासङ्घका केन्द्रीय सदस्य दामु अधिकारीले व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको बेला बैंक तथा वित्तीय संस्थाको सुदखोर व्यवहार मान्य नहुने बताउँदै कर्जाको समयसीमा बढाउन र ब्याजदर घटाउन माग गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बलराम ढकालले बैंकहरूबाट कर्जामा एकाएक बढाइने ब्याजका कारण व्यवसायी मर्कामा परेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष वसन्त उदास, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव बलराम आचार्य, लेखनाथ उद्योग वाणिज्य सङ्घका उपमहासचिव जानुका अधिकारीसहित विभिन्न वस्तुगत सङ्घका अध्यक्ष तथा पदाधिकारीले बोलेका थिए । रासस
मोबाइल खरिदमै बाहिरियो १ खर्ब ३७ अर्ब रुपैयाँ, नेपालीले प्रयोग गर्छन् ५२ प्रकारका फोन
काठमाडौं । मोबाइल फोन आयातमै मासिक रुपमा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । सरकारले विलासिताका वस्तुको सूचिमा राखेको मोबाइल फोन आयातबाट वार्षिक रुपमा २७ अर्बभन्दा बढी नेपाली रुपैयाँ बाहिरिने गरेको छ । विगत ५ वर्षको अवधिमा मोबाइल फोन आयातमा मात्रै एक खर्ब ३७ बढीभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ सालदेखि २०७८/०७९ सम्ममा दुई करोड ७४ लाख ८२ हजार ११७ वटा मोबाइल फोन नेपाल भित्रिएको छ । उक्त मोबाइल फोन नेपाल ल्याउँदा पाँच वर्षमा एक खर्ब ३७ अर्ब ३० करोड ४४ लाख १३ हजार नेपाली रुपैयाँ बाहिरिएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ६२ लाख २३ हजार ६६५ वटा मोबाइल फोन आयात हुँदा २४ अर्ब ८७ करोड ८३ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, आर्थिक वर्ष २०७५/०७६ मा ४२ लाख ७५ हजार ५१८ वटा मोबाइल फोन आयात हुँदा १९ अर्ब २७ करोड ६९ लाख ९६ हजार, आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार ९९० वटा फोन आयात हुँदा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजार, आर्थिक वर्ष २०७७/०७८ मा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँ र आर्थिक वर्ष २०७८/०७९ मा ५५ लाख ८६ हजार ५७८ वटा मोबाइल फोन आयात हुँदा ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार नेपाली रुपैयाँ बाहिरिएको हो । ५ वर्षको तथ्यांक अनुसार वार्षिक रुपमा २७ अर्ब ४६ करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ । तथ्यांक अनुसार ५ वर्षको अवधिमा १ खर्ब ३७ अर्ब बढीको मोबाइल फोन आयात हुँदा सरकारले २१ अर्ब ६४ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन भएको छ । तथ्यांक अनुसार सरकारले वार्षिक रुपमा मोबाइल फोन आयतबाट ४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन गर्ने गरेको छ । ५२ ब्राण्डका मोबाइल प्रयोग नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालमा विभिन्न ५२ ब्राण्डका मोबाइल फोन प्रयोग गर्ने गरेको पाइएको छ । प्राधिकरणले तथ्यांक अनुसार एनसेलमा ५१ र नेपाल टेलिकमको नेटवर्कमा ५२ वटा मोबाइल फोन प्रयोग गर्ने गरेको उल्लेख छ । प्रतिवेदन अनुसार अध्ययनको क्रममा एनसेलको नेटवर्कमा कुल एक करोड ७० लाख ३९ हजार ३५ र नेपाल टेलिकमको सिस्टममा एक करोड ५७ लाख ८४ हजार ७२३ ओटा मोबाइल सेट पहिचान भएको थिए । एनसेल र नेपाल टेलिकमको नेटवर्कमा सबैभन्दा बढी सामसुङका सेटका मोबाइल प्रयोग भएको पाइएको उल्लेख छ । सामसुङपछि साओमी, ओप्पो, भिभो, आईटेल, लाभा, नोाकियाका प्रयोगकर्ता सबैभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ । ७० प्रतिशत स्मार्ट फोन प्राधिकरणले गरेको अध्यननमा दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुको सिष्टममा ७० प्रतिशत स्मार्ट फोनको प्रयोगकर्ता गरेको उल्लेख छ । जसमा एनसेलको नेटवर्कमा ६९.७३ प्रतिशत स्मार्ट फोनका प्रयोगकता रहेको पाइएको हो । नेपाल टेलिकमको नेटवर्कमा ६६ प्रतिशत स्मार्ट फोन र स्मार्ट टेलिकमको नेटवर्कमा दुई लाख ९५ हजार १८० स्मार्टफोन को प्रयोग भएको उल्लेख छ । यस्तैगरी, बारफोनका २८.१५ प्रयोगकर्ता रहेका छन् । प्राधिकरणले सेवाप्रदायकको नेटवर्कमा पहिचान भएको तथ्याङ्कका आधारमा सो प्रतिवेदन तयार पारिएको जनाएको छ ।
शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीबाट मनग्य आम्दानी गर्दै पोखराका शिव गौतम
पोखरा । पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त छन् । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उनी पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्छन् । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गरेक छन् । उनले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उनले बताए । कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उनी सुनाउछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देखे । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले बताए । त्यही समयमा जग्गा भाडामा लिएर बिरुवा लगाए । अहिले उनलाई सोचेजस्तै भएको छ । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्यो’, उनले भने, ‘अनि उनीसँग सल्लाह भयो । चैतमा उनलाई भेट्नै गएँ अनि विष्टले भनेझै बिरुवा लगाएँ अनि राम्रो नि हुँदै गएको छ ।’ उनले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । ‘एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ’, उनले भने, ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’ नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउछन् । उनले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताउए । उनका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो रु छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु’, उनले भने, ‘मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि ६० हजारको बिक्री गरेँ ।’ बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उनले सुनाए । बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ । पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उनको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उनले दुई कामदार राखेका छन् । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उनको सुझाव छ । रासस
युट्युब हेरेरै उद्यमी बनेका भुवनले तीन महिनामै असुल गरे लगानी
बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केही सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा हुन भुवन जोशी । करिब एक दशकसम्म शिक्षक पेसामा आबद्ध जोशीले युट्युबकै सहारामा गत वर्ष न्यू मालिका फुड्स एण्ड प्रोडक्ट नामक उद्योग सञ्चालनमा ल्याए । खप्तडछान्ना गाउँपालिका–७ धर्तिवाडा बझाङका जोशीले व्यवसाय सुरु गरेको एक वर्षमै दोब्बर कमाइ गरे । स्नातक उत्तीर्ण गरेलगत्तै निजी तथा सामुदायिक विद्यालयमा अध्यापन गराएका जोशी विद्यालयमा झन्झटिलो भएर काम गर्नुभन्दा स्वतन्त्र हुन व्यवसाय गर्न चाहन्थे । दैलेखको एक निजी विद्यालयमा तीन वर्ष र अछामको एक सामुदायिक विद्यालयमा छ वर्ष काम गरेपछि उनलाई कुनै नै कुनै व्यवसायमा आबद्ध हुने सोच पलायो । ‘अब कुनै न कुनै व्यवसायमा हात हाल्नुपर्यो सोचिसकेको थिएँ’, उनले भने , ‘दिनभरि विद्यालयमा पढाउँदा पनि डाकै सुकिहाल्ने । बिहान–बेलुका मोबाइल हेर्दैमा ठिक्क । एक दिन युट्युबमा प्रेरणादायी कथा सुन्दै गर्दा सडकबाट करोडपति भएका व्यवसायीसँग ठोक्किए । तिनका कुराहरू बुझ्दै जाँदा जुनसुकै पेसा व्यवसायमा पनि मेहनतले फल दिन्छ भन्ने बुझेँ र अछामबाट दशैँ बिदामा घर आएँ ।’ दशैँ बिदामा घर आएको बेलामा शिक्षक पेसा छोडेर व्यवसाय गर्छुभन्दा जोशीलाई परिवारले ठाडै अस्वीकार गर्यो । भएको शिक्षक पेसा छाडेर व्यवसाय गर्छु भन्दै डुल्न खोजेको भन्दै कसैले पनि उनको कुरा सुन्नै चाहेन । परिवारको सुझाव बेवास्ता गर्दै जोशीले विद्यालय छाडिदिए । आफू विद्यालयमा आउन नसक्ने भन्दै प्रअलाई टेलिफोन गरे र गाउँमै बस्न थाले । दुई–चार दिन परिवारमा नरमाइलो भयो । जोशी गडरायतिर डुलिरहेका थिए । पालिकाभरि नै डुले। बाहिरबाट ल्याएको चाउमिन महँगोमा किन्नुपर्ने व्यवसायीको गन्थन सुने । त्यसपछि उनको सोच चाउमिन उद्योगमा गयो । ‘गडरायमा चाउमिन उद्योग सञ्चालन गर्नुपर्यो भनेर कैलालीका उद्योगीसँग सल्लाह लिएँ’, उनले भने, ‘कैलालीबाट फर्कँदा मेसिनलगायतका सामान लिएर आएँ । युट्युब हेर्दै जडान गरेँ । त्यसरी नै सिके । युट्युब हेर्दै सिक्न एक महिना नै लाग्यो । त्यसपछि चाउमिन बनाउने भइसकेँ ।’ बिहान चाउमिन बनाउने र दिउँसो गडराय बजारकै होटलमा बेच्नु उनको दैनिकी भयो । विस्तारै व्यवसाय बढ्दै गएपछि दुई जनालाई रोजगारीसमेत दिए । गत वर्ष गडरायलाई मात्र पुग्ने चाउमिन अहिले दुई पालिकाभर जान्छ । आजभोलि दैनिक डेढ क्विन्टल चाउमिन उत्पादन गरिरहेको उनि सुनाउँछन् । जोशीको उद्योगबाट अहिले बझाङ, बाजुराका क्रमशः खप्तडछान्ना र खप्तडछेडेदह गाउँपालिकाका होटलमा चाउमिन छ्यापछ्याप्ती छ । जोशीका अनुसार मागअनुसार चाउमिन उत्पादन गरिन्छ । ‘हामी मागअनुसार चाउमिन उत्पादन गर्छौँ । नियमित डेढ क्विन्टल हो । मागअनुसार चार–पाँच क्विन्टल पनि बनाउँछौँ’, उहाँले भन्नुभयो । बाजुरामा मात्रै जोशीले उत्पादन गरेको चाउमिन दैनिक ७०–८० केजी जान्छ । बझाङमा भने माग पु¥याउनै नसकेको उनी बताउँछन् । उनी बजारमा चाउमिन पु¥याउन पनि आफैँ जान्छन् । बिहानभर चाउमिन बनाउने र दैनिक बिक्री गर्ने गरेको उनी बताउँछन् । तीन महिनामै असुल भयो लगानी जोशीले चाउमिन उद्योग सञ्चालन गरेको तीन महिनामै लगानी असुल भइसकेको थियो । ‘सुरूआती तीन महिनामै लगानी असुल भइसक्यो’, उनी भन्छन्, ‘अब जति गर्न सक्यो, त्यो आफ्नै फाइदा हुन्छ, तर भने जति पु¥याउन सकेको छैन ।’ उनका अनुसार अहिलेसम्म कतैबाट अनुदान सहयोग भने प्राप्त भएको छैन । ‘अहिलेसम्म माग गरेको ठाउँबाट केही पाइएन, अहिले पनि दुई ठाउँमा अनुदानका लागि निवेदन हालेको छु”, उनले भने, “अनुदान पाइयो भने उद्योग नै बढाउने थिएँ । दुई–चार जना कर्मचारीसमेत थपेर व्यवसाय बढाउने सोच छ । त्यसका लागि लागिरहेको छु ।’ जोशीले उद्योग सुरु गर्दा सुरुमा पाँच लाख लगानी गरेका थिए । ‘सुरु गरेको एक महिनामा सिक्नै लाग्यो । अलि–अलि बिक्री पनि भयो । दोस्रो महिनाबाट भने दशैँको सिजनमा गडरायमै चाउमिन जति पनि खपत हुने भयो । त्यही दुई महिनाको आम्दानीबाट लगानी असुल भयो । अहिले हरेक महिना डेढ–दुई लाखसम्मको कारोबार भइरहन्छ’, उनी भन्छन् । अहिले भुवनको काम देखेर परिवारमा पनि सबै खुसी छन् । ‘सुरुमा जागिर नछोड् भनेका हौँ’, उनका दाजु वाल्मीकि जोशीले भने, ‘अहिले भने घरमै भाइले धेरै राम्रो व्यवसाय गरिरहेको छ । त्यसको कामप्रति परिवारमा सबै खुसी छन् ।’ जोशी अहिले बेरोजगार युवाका लागि प्रेरणाका स्रोत भएका छन् । ‘काम गर्नेलाई यहाँ पनि राम्रै छ । यसै छान्नामा पनि चार–पाँचवटा चाउमिन उद्योग राम्रै चल्छन् । तर गर्ने मान्छे छैनन् । चाउमिनमा मात्रै नभई मिल, काठे उद्योग, तरकारी खेतीलगायतका काम गर्न सकिन्छ ।’ उनले चाउमिनमा भने कम मेहनत, छोटो समयमा धेरै राम्रो उपलब्धि हुने गरेको बताए। चाउमिनमा दैनिक चार घण्टा काम गरे पर्याप्त हुने उनी बताउँछन् । ‘दैनिक चार घण्टा त मेसिनमा पिठो तयार बनाउनसम्म खटेरै काम गर्नुपर्छ । बाँकी समय त बजार डुल्ने हो । यसमा खर्च पनि दाउरा र इन्धनमात्रै लाग्छ, धेरै खर्च पनि हुँदैन’, उनी भन्छन् । रासस
तुलसीपुरमा दुईवटा चक्रपथ बनाइँदै
तुलसीपुर। दाङ तुलसीपुरमा बाहिरी चक्रपथ निर्माण हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका इञ्जीनियर पवन योगीका अनुसार शीतलपुरबाट मजगैसम्मको बाहिरी चक्रपथ निर्माण गर्नका लागि अध्ययन गरिने भएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाहिरी चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो । ‘बजारमा सवारीको चाप निकै भयो’, इञ्जीनियर योगीले भने, ‘त्यसलाई मध्यनजर गरी बाहिरी चक्रपथ निर्माण गर्न लागिएको हो ।’ यसअघि उपमहानगरपालिकाले भित्री चक्रपथ निर्माण सुरु गरेको थियो। त्यो चक्रपथको काम पनि अगाडि बढ्न सकेको छैन । उक्त चक्रपथको ट्र्याक खोलिएको भए पनि कालोपत्र गर्ने काम भने निकै सुस्तगतिमा छ । अहिलेसम्म करिब साढे दुई किलोमिटरमात्रै कालोपत्र भएको छ । उपमहानगरपालिकाले डेढ किलोमिटर कालोपत्र गरेको हो । त्यसपछि केन्द्रीयस्तरको योजना रहेको भन्दै डिभिजन सडक कार्यालय दाङले डिपिआर गरेपछि प्रदेशले कालोपत्रको काम गरिरहेको छ। अहिलेसम्म प्रदेशले एक किलोमिटरभन्दा बढी कालोपत्र गर्न सकेको छैन । एक दशक अघिदेखि निर्माण सुरु भएको चक्रपथको काम सुस्तगतिमा अघि बढेको छ। वैकल्पिक सडकका रूपमा लिइएको चक्रपथको काम ढिलो हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ। तुलसीपुर उपमहानगरपालिका–७ राजापुरबाट रक्षाचौर आँखा अस्पताल–तुलसीपुर–३ डाँडाखुट्टी, तुलसीपुर–८ टिकरी, तुलसीपुर–१२ को टरिगाउँ हुँदै राजापुर जोड्ने चक्रपथ निर्माणको रेखाङ्कन गरिएको थियो। यसको २९ किलोमिटर लम्बाइ थियो भने ३० मिटर चौडाइ रहेको छ। साविक नगरपालिकाको सबै क्षेत्रलाई छुने गरी करिब ३७ किलोमिटर लामो चक्रपथ निर्माण हुने भने पनि निर्माण प्रक्रिया सुस्त भएको हो । उपमहानगरले आर्थिक वर्ष २०७७\७८ को नीति तथा कार्यक्रममा तुलसीपुर चक्रपथ निर्माणका लागि एक करोड ४० लाख, आव २०७८\७९ मा तुलसीपुर चक्रपथ निर्माणलाई निरन्तरता दिन प्रदेश सरकारमार्फत एक करोड ५० लाख बजेट व्यवस्था गरेको थियो । साविकका नगरपालिका हुँदा १३औँ नगर परिषद्ले चक्रपथ निर्माणका लागि पारित गरेर काम सुरु गरेको थियो । तुलसीपुर नगरपालिका उपमहानगरपालिका भएर अन्य गाविस पनि गाभिएपछि केही समय यसको काम रोकिएको थियो । तर जनप्रतिनिधि आएपछि चक्रपथ निर्माणको काम सुरु भए पनि त्यसले निरन्तरता पाउन सकेन ।