कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम सुरु
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निमार्णको काम सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो । जग्गा प्राप्तिको मौखिम सहमति भएपछि निमार्णको काम सुरु भएको मझगाउँ विमानस्थलका आयोजना प्रमुख मीनराज ओझाले बताए । ‘जग्गा पाउने मौखिक सहमति भएको छ, अहिले पुनः निमार्णको काम सुरु भइसकेको छ’, उनले भने, ‘निकुञ्ज प्रशासन र नेपाली सेनाले काम नरोक्ने सहमति जनाएका छन् ।’ उनले जग्गा भोगाधिकारका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको बताए । ‘अब निमार्णको काममा कुनै समस्या छैन’, उनले भने–’जग्गाको प्राप्तीका लागि पनि मन्त्रालयबाट निर्णय गर्ने प्रक्रियामा रहेको छ ।’ अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच २५ मिटर पुग्छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जङ्गबहादुर मल्लले विमानस्थलको आवश्यकता रहेकाले विमानस्थल निमार्णको काम समयमा सक्नुपर्ने बताए । ‘हामीले विमानस्थल सञचालनमा आउनुपर्छ भनेर आवाज उठाएको पनि धेरै भइसक्यो’, उनले भने, ‘यसले गड्डाचौकी नाकाबाट आउने तेस्रो मुलुकका पर्यटकलाई सहज हुन्छ ।’ कञ्चनपुरको महाकाली नदीमा पक्की पुल र दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको उनले बताए । वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशीले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । ‘हामीले प्रधानमन्त्रीज्यूसँग भेटेरै विमानस्थल, सुक्खा बन्दरगाह चाँडो बन्नुपर्छ भनेर ध्यानाकर्षण गराएका छौँ’, उनले भने, ‘विमानस्थल सञ्चालनमा आए यहाँको आर्थिक क्षेत्र चलायमान हुन्छ ।” भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो ।’ तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको हो । पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि २०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो। रासस
नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि
त्रिवेणी । वाल्मीकि आश्रमलाई जोड्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गेपुल निर्माणपछि यहाँ पर्यटकको आगमन बढेको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरस्थित त्रिवेणीधाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा झोलुङ्गेपुल निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । हालै मात्र वाल्मीकि आश्रममा नेपालकै बाटो भएर जान मिल्ने गरी नारायणी नदीमा पुल निर्माण गरिएको छ । पुल निर्माण गरेसँगै त्रिवेणीधामसहित पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेको अध्यक्ष शाहले बताए । झोलुङ्गे पुल क्षेत्रमा मात्रै दैनिक पाँच सयका हाराहारीमा पर्यटक आउने गरेको उनले बताए । यहाँ आउने धेरैजसो पर्यटक भारतीय हुने गरेका छन् । साथै नवलपुरसहित नजिकका जिल्लाबाट समेत त्रिवेणीधाम र झोलुङ्गे पुल अवलोकनका लागि पर्यटक आउने गरेको उनले बताए । पुल क्षेत्रमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । ‘हिजो आज पुल क्षेत्रमा पर्यटकको आगमन बढेको छ, अहिले पुलबाट वाल्मीकि आश्रम जान मिल्दैन, तर पुल हेर्न, फोटो खिच्न, टिकटक बनाउन मात्रै भए पनि पर्यटक आउने क्रम बढेको छ’, अध्यक्ष शाहाले भने । वाल्मीकि आश्रम जान मिल्ने गरी निर्माण गरिएको झोलुङ्गेपुल पाँच सय ३५ मिटर लम्बाइको रहेको छ । पुल नौ वर्षमा निर्माण सम्पन्न भएको हो । पुल निर्माण गरिएको भए पनि हाल सुरक्षा चुनौतीका कारण पुलबाट वाल्मीकि आश्रम जान रोक लगाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र पर्ने भएकाले सुरक्षाको प्रबन्ध नभएसम्मका लागि पुलबाट आवतजावतमा रोक लगाइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । चितवनतर्फ पुल पारी वाल्मीकि आश्रमसम्म जानका लागि हाल बाटो निर्माणको कामसमेत बाँकी रहेको छ । सुरक्षाको प्रबन्धसँगै पारिपट्टि बाटो निर्माणका बारेमा छलफल चलिरहेको गाउँपालिका अध्यक्ष गिरीले बताए । ‘सुरक्षाकर्मी स्थायी रुपमा बस्ने गरी केही संरचना निर्माण गर्ने विषयमा छलफल चलेको छ, पारिपट्टि बाटोसमेत बनाउनुपर्ने छ’, उनले भने, ‘त्यसपछि झोलुङ्गेपुल सञ्चालन गर्ने कुरा छ, त्यसपछि नेपालकै बाटो भएर सहज रुपमा वाल्मीकि आश्रम जान सकिन्छ ।’ चितवनमा पर्ने वाल्मीकि आश्रम पुग्न यसअघि भारतको बाटो हुँदै जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै जान मिल्ने गरी त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुल निर्माण गरे पनि अझै सञ्चालनमा ल्याउन नसक्दा भने यहाँ पुग्ने पर्यटक वाल्मीकि आश्रम नगइ फर्कने गरेका छन् । चाडै आवश्यक व्यवस्थापन गरी पुलबाट वाल्मीकि आश्रम जाने प्रबन्ध गरे त्रिवेणीसहित यस क्षेत्रमा थप पर्यटकको आगमन बढ्ने स्थानीय हरिशङ्कर कँडेलले बताए । वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि यसको व्यवस्थापनको काम गाउँपालिकाले गर्दै आएको छ । त्रिवेणी धामसँगै वाल्मीकि आश्रमलाई एकीकृत गरी पर्यटन प्रवद्र्धन गर्न सके यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको थप आगमन बढ्ने कँडेलले बताए । रासस
शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘जुगल गाउँपालिकाका आदरणीय जनसमुदायका लागि यो कार्यक्रम खुसी र गौरवको कुरा हो । विद्यालय निर्माणका निम्ति मेरो भूमिका छ । म नेपाल सरकार एवं मेरोतर्फबाट चीन सरकार र चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’ विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उनले स्मरण गरे । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उनको भनाइ छ । नेपाली जनताको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उनले बताए । ‘सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिल्दै आएको छ । दुःख र सुखीमा म तपाँईहरुको साथमा छु’, प्रधानमन्त्रीले अगाडि भने, ‘जुरेको पहिरो, भूकम्पपछिको पुनःनिर्माण, मेलम्चीको विनाश लगायतका सबै पीडामा तपाईंहरुसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ ।’ उहाँले मुलुकको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताए । ‘निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधार देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, उनले विश्वास व्यक्त गरे । उहाँले प्रतिनिधिसभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताए । ‘विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ । नेपालको विकासमा भारत र चीन सरकारबाट महत्वपूर्ण सहयोग रहनेछ’, उनले भने । शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उनले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गरे । ‘शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो’, उनले भने । प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारका साथै शिक्षाको गुणस्तर महत्वपूर्ण भएको भन्दै यसका लागि शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य र सम्बन्ध जरुरी रहेको बताए । कार्यक्रममा प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ्गलगायतले सम्बोधन गरेका थिए ।
पशुपति क्षेत्रलाई गुरुयोजना मन्त्रिपरिषद्मा पेस गर्ने तयारी
काठमाडौं । पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ । पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाइने गुरुयोजनामा उल्लेख गरिएको छ । यस क्षेत्रको योजनाबद्ध विकासका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँगको सहयोग र सहकार्यलाई प्रोत्साहित गरिने नीति गुरुयोजनामा लिइएको छ । पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञयागादिका लागि आउने भक्तजन र दृश्यावलोकनका लागि आउने पर्यटकहरुको सेवा, सुविधाका लागि आवश्यक पूर्वाधारको विकास गरिने गरी तयार पारिएको गुरुयोजना गत पुस ८ गते सञ्चालक परिषद्बाट पारित गरिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । परिषद्को अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐनमा गरिएको छ । पशुपति क्षेत्रको योजनाबद्ध विकासका लागि कोषले विसं २०५३ मा अवधारणात्मक गुरुयोजना सरकारले स्वीकृत गरेको थियो । आर्थिक वर्ष २०५७/५८ देखि लागू भएको यो गुरुयोजना १० वर्षसम्म कार्यान्वयन भएको थियो । आव २०७०/७१ देखि पशुपति क्षेत्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । परिषद्बाट हालै पारित भएको पशुपति क्षेत्रको संरक्षण एवं व्यवस्थापन गुरुयोजना २०७९, मन्त्रालयमा पेस गरी त्यहाँबाट मन्त्रिपरिषद् पठाउने तयारी गरिएको उनले जानकारी दिए । पशुपति क्षेत्रको धार्मिकता, आध्यात्मिकता, सांस्कृतिक एवं पवित्रताको प्रवद्र्धन गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ । यस क्षेत्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा, कला एवं वास्तुकलाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य पनि गुरुयोजनाको छ । पशुपति क्षेत्रको भूबनोट, भू–संरचना, नदी जङ्गललगायतका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण जोगाउने, रैथाने जीवजन्तु जोगाउने र पशुपक्षीका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध गराउन पूर्वाधार विकास गरिने भएको छ । यस क्षेत्रमा आउने तीर्थयात्री तथा पर्यटकका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध आवश्यक काम गरिने भएको छ । परम्परागत स्रोत, साधन र अभ्यासलाई पुनःस्थापित गर्दै पशुपति क्षेत्रमा रहेका गुठीको समुचित व्यवस्थापन गरिने भएको छ । चालू आर्थिक वर्षमा गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा अघि बढाइने भएको छ । पशुपति क्षेत्रको दुई सय ८३ हेक्टर जमिनमध्ये ८३।५५ हेक्टर क्षेत्रफल प्राचीन स्मारक क्षेत्रमा पर्छ ।
विकासका योजना गाउँमा, मान्छे सहरमा
अर्घाखाँची । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ । सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन् । गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै । विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९ वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके । बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए । अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको सङ्या सबैभन्दा थोरै छ । त्यहाँबाट विगत ३२ महिनामा तीन सय ३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी शालिकराम नेपालीले बताए । सो अवधिमा एक सय ७८ घरपरिवार अन्यत्रबाट बसाइँ आएका थिए । विगत ३२ महिनामा शीतगङ्गा नगरपालिकाबाट आठ सय ९७ घरपरिवार बाहिरिएका र दुई सय १५ घरपरिवार भित्रिएका नगरपालिकाका पञ्जीकरण शाखाका धर्म बन्जाडेले बताए । भूमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घरपरिवारका एक हजार तीन सय ७७ व्यक्ति बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले जानकारी दिए । पाणिनी गाउँपालिकाबाट चार सय ३६ घरपरिवार बसाइँसराइ गरेर गएका र ४३ घरपरिवार अन्यत्रबाट बसाइसराइ गरेर आएको त्यहाँका कर्मचारी माधव घिमिरेको भनाइ थियो । यसैगरी छत्रदेव गाउँपालिकामा छ सय १६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको र ७० घरपरिवार भित्रिएको गाउँपालिकाले जनायो । राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाकोे कूल जनसङ्ख्या एक लाख ९७ हजार छ सय ३२ रहेकामा पुरुष ८६ हजार दुई सय ६६ र महिला एक लाख ११ हजार तीन सय ६६ थिए । विसं २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या घटेर एक लाख ७२ हजार पुगेको थियो । स्थानीय, प्रदेश तथा सङ्घका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरुको थियो । निर्वाचनमा युवालाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरु अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन् । अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिहस्थान, सिद्धेश्वर शिवालयलगायत ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना भने अझै बनेको छैन । जिल्लाका छवटै पालिकामा बसाइँसराइ कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेबाली लगायतलाई प्राथमिकता दिनुपर्ने, विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिनुपर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिनुपर्ने विकासका पूर्वाधार दिगो विकासको नीतिअनुरूप अघि बढाउनुपर्ने प्रस्ताव अघि बढाइएको थियो । बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ गर्ने बढेका र बढ्दो सहरीकरण, सेवासुविधा उपलब्ध, सुरक्षालगायत कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको हो । अर्घाखाँची विप्रेषण आउने जिल्लामध्ये अग्रपङ्क्तिमा रहेपनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा अन्यत्र श्रम बेच्ने मानिस उत्पादन गर्ने थलो बनेको स्थानीयवासीको गुनासो थियो । अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलाशिता र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । युवा जनशक्तिलाई विदेश पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको नभएको र स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यन्साको रकम बाहिरिने गरेको हो । वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेपनि तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको स्थानीय सहकारी संस्थाको अनुमान छ । चालिस प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र (घडेरी र घरमा) खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालले बताए । उहाँका अनुसार जिल्ला सदरमुकाम र कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडाँैमा घर घडेरी उक्त रकम खर्च भएको छ । बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बसजस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहे पनि सम्बद्ध व्यावासायीले बीचैमा व्यवसाय छाड्ने गरेका पाइन्छ । गाउँका अधिकांश बारी तथा खेत बाँझै छन् । सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान्हरु रोजगारीका लागि विदेश र श्रीमतीहरु छोराछोरी पढाउन भनेर सहर झरेका छन् । रासस
एक वर्षमै तीन संस्थाको सीईओ, मर्जरले बेरोजगार
काठमाडौं । मीन बहादुर बोहरा धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । लघुवित्तमा काम गरेको उनले तीन दशक भयो । यो तीन दशकको अवधिमा उनले विभिन्न आरोह र अवरोहहरु पार गरेका छन् । लघुवित्तमार्फत् नै सयौंलाई रोजगारी दिएका छन् भने हजारौंलाई लघुवित्त व्यवसाय सिकाएका छन् । तर, विडम्वना । तीन दशक समय लघुवित्तमा बिताएका बोहरा जीवनको उत्तरार्धमा बरोजगार बन्दैछन् । वि.स २०२६ साल साउन २० गते डोटीको बडिकेदारमा जन्मेका बोहरालाई लघुवित्तप्रतिको लगाव र झुकाव पृथक किसिमको छ । एउटा मध्यम परिवार । खेति किसानी गरेर गुजारा चलाउने परिवारका लागि बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नु असामान्य विषय जस्तै थियो । त्यसमाथि पनि सुदूरपश्चिममा लघुवित्तको जग बसाल्न भूमिका खेल्नु पनि असामान्य नै थियो । तर, त्यो आँट गरे मीन बहादुर बोहराले । डोटीमा जन्मे पनि उनको विद्यालय तहको पढाइ कैलालीको धनगढीमा भयो । धनगढीको पञ्चोदय माध्यामिक विद्यालयबाट उनले वि.स २०४४ सालमा एसएलसी (हालको एसईई) पास गरे । प्लसटूको परीक्षा भारतको देहरादूनबाट पास गरेका उनले स्नातक तहको पढाई भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसबाट पुरा गरे । यो बिचमा अन्य काममा पनि उनी आवद्ध भए । थप अध्ययन गर्नु पर्छ भन्ने हुटहुटी उनको मनमा थियो । स्नातकोत्तर पढ्न उनी भारतको कुमाउ विश्व विद्यालय पुगे । उनले कुमाउ विश्व विद्यालयबाट समाजशास्त्रमा (एमए) पास गरे । एसएलसी पास गरेपछि उनले शिक्षक बनेर पनि काम गरिसकेका थिए । त्यतिखेर आफ्नो तलब ३५० रुपैयाँ रहेको उनी सुनाउँछन् । ‘म एउटा समान्य परिवारको मान्छे, केही गरेर देखाउनु पर्छ भन्ने हुटहुटीमा ममा थियो, गाउँघरमा पढे-लेखेका कोही थिएनन्, त्यसैले पनि एसएलसी लगत्तै काम पाएँ,’ उनले विगत स्मरण गर्दै भने । उनले एक वर्ष अध्यापन गरे । पछि सुदूरपश्चिमको धनगढीमा रहेको ग्रामीण विकास बैंकमा नाम निकाले र वित्तीय क्षेत्रमा आफुलाई अभ्यस्त गर्न अग्रसर भए । त्यतिखेर शेर बहादुर थापा ग्रामीण विकास बैंकमा सञ्चालक थिए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा सो संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) थिए । उनै शर्मा लघुवित्तमा आफ्नो गुरु भएको बोहरा बताउँछन् । एक वर्षमै ३ संस्थाको सीईओ वि.स २०५० सालबाट सुदूरपश्चिम ग्रामीण विकास बैंकमा सहायक तहबाट बैंकिङ्ग करियर सुरु गरेका बोहराले सो संस्थामा तीन वर्ष काम गरे । पछि उनी पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अधिकृतस्तरको सातौं तहमा पास भए । त्यहाँ उनले १० वर्ष काम गरे । लघुवित्तप्रतिको उनको झुकाव बढ्दै थियो । एकपछि अर्को जिम्मेवारी र उपलब्धिले उनलाई थप हौसला प्रदान गर्न मद्दत पुर्याउँदै थियो । १० वर्ष पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा काम गरेपछि उनकै सक्रियतामा बुटवलमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक स्थापना भयो । उक्त बैंकमा उनी कायममुकायम सीईओसम्म भए । वि.सं २०७० सालमा उनले सो बैंक छोडे । भूकम्पले मानिसमा एक किसिमको सोचाइको विकास गर्यो । पैसा, सम्पत्ति र प्रतिष्ठा क्षणिक हुन् भन्ने त्यो बेला धेरैलाई लाग्यो । हुन पनि हो, हरेक संकट र महामारीले मानिसलाई यस्तै पाठ सिकाउँछ । बोहरा भूकम्प गएको वर्ष (२०७२ सालमा) गाउँमा खेतीपाति गर्न थाले । उनले गाउँ फर्केर कफी खेती सुरु गरे । अहिले उनले सुरु गरेको कफी खेतीबाट उत्पादन भइरहेको छ । उनी तीन वर्ष गाउँमै बसे । तीन वर्षको गाउँ बसाईंपछि उनी पुनः लघुवित्तमै फर्किएको बताउँछन् । उनी वि.स २०७३ सालमा कालिका लघुवित्तको सीईओ बने । साढे ३ वर्ष काम गरेर २०७७ असारमा कालिका लघुवित्त छाडे । त्यसको एक महिना अर्थात् साउन १५ गतेदेखि नेपाल लघुवित्तको सीईओ भए । उनी पुनः त्यही वर्षको चैतबाट धौलागिरी लघुवित्तको सीईओमा नियुक्त भए । वर्षमै तीन वटा लघुवित्तको सीईओ बन्ने दुर्लभ व्यक्ति हुन् बोहरा । कारण थियो मर्जर । उनी कालिकाको सीईओ हुँदा जनसेवी लघुवित्त वित्तीय संस्था मर्ज भयो । नेपाल एग्रो लघुवित्तको सीईओ हुँदा इन्फिनीटी लघसवित्तसँग मर्ज भयो । बैंकिङ क्षेत्रमा ३० वर्ष काम गरेका उनी ५ वटा लघुवित्त संस्थाको उच्च तहमा रहेर काम गरे । अहिले उनी सीईओ रहेको धौलागिरी लघुवित्त खप्तड लघुवित्तसँग मर्जर हुँदैछ । ‘एकै वर्ष तीन वटा संस्थाको सीईओ भएको क्षणलाई अवसरको रुपमा लिएको छु, यस्तो अवसर कमैले पाउँछन्, धौलागिरी लघुवित्त खप्तडसँग मर्ज हुँदैछ, सीईओ बन्ने मन भएमा नपाउने भन्ने थिएन तर अब मलाई सीईओ बन्ने रहर छैन, तीन दशकसम्म लघुवित्तमा काम गरियो, उमेरको उत्तरार्धमा बेरोजगार हुनु पर्यो तर पनि म खुसी छु, अब गाउँ फर्किन्छु,’ उनले निराश हुँदै भने । अविस्मरणीय त्यो क्षण मान्छेको जीवन विभिन्न आरोह र अवरोहहरुले भरिपूर्ण हुन्छ । दुःख र सुखको संगम हो मान्छेको जिन्दगी । ती आरोह र अवरोह मीनबहादुर बोहराको जीन्दगीमा पनि देखा परे । क्यान्सर भएर श्रीमति गुमाउनु परेको पीडा होस् वा केही दिन अगाडि मात्रै जन्म दिने आमा गुमाउनु परेको असह्य पीडा मीनबहादुरले भोग्नु परेको छ । उनको यो कथा लेख्दै गर्दा अहिले उनी आमाको मृत्युको शोकमा छन् । केही दिनपछि बेरोजगार हुँदैछन् । तर, पनि उनको मनमा जागिर गुमाउनेभन्दा पनि श्रीमति र आमा गुमाउनुको पीडा ठूलो छ । कुनै दिन बोहराको जीन्दगी देख्नेहरु र्याल चुहाउँथे । श्रीमति पनि सँगै काम गर्थिन् । तर, श्रीमतिको मृत्युपछि उनको दैनिकी केही ओरालो लाग्यो । उनी भन्छन्, ‘तर, हार भने कहिल्यै खाइनँ ।’ मीनबहादुर बोहराको जीवनमा अनेकन घटनाहरु आइलागे । ती घटनाक्रमहरुले उनलाई कत्ति पनि थकित बनाएन । संघर्षको मैदानबाट उनी बाहिरिएनन् । गाडी दुर्घटनामा परेर पाएको पुर्नजन्मलाई पनि आफ्नो अवीस्मरणीय घटनाका रुपमा लिन्छन् । वि.स २०७५ सालमा उनको गाडीमा दुर्घटना भयो । तर, केही चोटपटक लागेपनि जीवन भने बाँच्यो । उनी त्यो पल स्मरण गर्दै भन्छन्, ‘दुर्घटना हुँदा बाँच्ने आश मारिसकेको थिएँ, तर बाँचे ।’ उनी पटक-पटक मृत्युको मुखबाट फर्केका छन् । वि.स २०७५ भदौमा उनी आँधिखोला र्याफ्टिङमा थिए । उनी चढेको डुंगा पल्टेर ओढारमा पस्यो । अरु साथीहरु बगेर तल पुगे । उनी तालको भूमरिमा फसे । पछि उनको उद्वार भयो । बाँचे । सोही वर्ष उनको बुबाको निधन भयो । यस्ता हण्डर-ठक्करको फेहरिस्थ उनीसँग प्रशस्त छ । देश विदेश भ्रमणका अनुभवहरु उनीसँग छन् । भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवई, कुवेत, टर्की लगायतका देशहरुमा भ्रमण उनले गरेका छन् । अहिले उनले अर्को विवाह गरेका छन् । उनका जेठी श्रीमतिबाट एउटा र कान्छी श्रीमतिबाट २ वटा छोरा रहेका छन् । जेठो छोरा आईटी इन्जिनियर हुन् । उनी मुक्तिनाथ विकास बैंकको आईटी विभागमा काम गर्छन् । उनका ७ भाई र एक बहिनी छिन् । परिवार ठूलो छ । त्यही परिवारसँगै मिलेर बस्ने उनको अझै चाहना छ । गाउँ फर्केर राजनीति धौलागिरी खप्तडसँग मर्ज भएपछि उनी आफ्नै गाउँ फर्किने योजनामा छन् । गाउँ फर्केर आफ्नै गाउँमा केही गर्ने योजनामा छन् मीनबहादुर । सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेको खप्तड लघुवित्त पनि अब गाभिएर आफ्नो अस्तित्व मेटाउँदैछ । त्यसपछि सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेका लघुवित्तहरुको संख्या शून्य हुनेछ । उनी अब गाउँ फर्केर राजनीति गर्ने बताउँछन् । उनी जन्मेको गाउँमा सडक, विद्युत सेवा र खानेपानीको समस्या अझै पनि छ । बैंक तथा वित्तीय संस्थाको पहुँच पनि छैन । यी समस्याको समाधानका लागि राजनीति गर्ने उनको योजना छ । सीईओ बोहराको गाउँ । ‘बैशाखमा भएको स्थानीय तहको चुनामा उम्मेद्वार बन्ने मेरो इच्छा थियो तर बनिएन, अब आगामी चुनावका लागि गाउँ फर्किन्छु, तयारी गर्छु, लामो समय बैंकिङ सेवामा रहेर काम गरेँ, अब राजनीति गर्न चाहन्छु, तीन दशकको अवधिमा धेरै पैसा कमाएँ होला, त्यो पैसा जहाँ कमाएँ, त्यहीँ सकेँ, म जन्मेको ठाउँको लागि केही गर्न सकिनँ, अब राजनीति गरेर आफु जन्मेको ठाउँको सेवा गर्न चाहन्छु,’ उनले आफ्नो आगामी योजना सुनाउँदै भने । उनी जन्मिँदा गाउँ जुन अवस्थाको थियो, अहिले पनि हाल उस्तै छ । कुनै पनि परिवर्तन हुन सकेको छैन । बरु उनी खेल्दा हुर्किदा गाउँघरमा एक किसिमको आत्मियता र भाइचाराको सम्बन्ध थियो । छिमेकीहरुले दुःख परेको बेला सहयोग गर्थे । दुःख सुखहरु आदानप्रदान हुन्थे । उनी भन्छन्, ‘अहिले त आफ्नाहरु पनि पराई जस्ता भइसकेछन्, गाउँ बिरानो भइसकेछ, एकले अर्काको मतलब नगर्ने रहेछन् ।’ उनी अब गाउँमै बसेर सामाजिक काम गर्न चाहन्छन् । आफूले जानेका कुरा गाउँघरका दाजुभाइ दिदिबहिनीलाई सिकाउन चाहन्छन् । सर्वसाधारणको पहुँच बैंकसम्म पुर्याउन चाहन्छन् । अब गाउँमै बसेर गाउँकै सेवा गर्न चाहन्छन् मिनबहादुर ।
जग्गा बाँझो नराख्नेलाई अनुदान
फाइल फोटो तनहुँ । भिमाद नगरपालिकाले बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्नेक्रम बढ्दै गएपछि कृषितर्फ प्रोत्साहन गराउन कृषकलाई अनुदानको व्यवस्था गरेको हो । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरूको बारीबाट उत्पादन गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरिएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । ‘बाँझो जग्गा राख्न रोकी उत्पादन गरेर व्यापारका माध्यमबाट कृषकलाई आम्दानी दिने योजना बनाएका छौँ’, उनले भने, ‘अनुदान पाउने भएपछि कृषक पनि उत्साहित भएका छन् ।’ ‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’ भन्ने मूल नाराका साथ नगरपालिका क्षेत्रमा उत्पादन बढाउने अभियान सुरु गरेको उनले बताए । कृषकलाई लागत मूल्य घटाउन ट्र्याक्टर तथा हाते ट्र्याक्टरलगायतका कृषि औजार अनुदानमा दिने व्यवस्था मिलाइएको सो नगरपालिका कार्यालयले जनाएका छ । बाँझो जग्गा उपयोग गर्ने कृषकलाई मल, बीउ र खनजोतका लागि प्रोत्साहनस्वरूप चालु आर्थिक वर्षदेखि अनुदानको व्यवस्था गरिएको छ । बाँदरले अन्नबाली धेरै नोक्सान गर्ने स्थानमा अदुवा र बेसार खेती गर्न कृषकलाई प्रोत्साहन गरिएको छ । बाँझो जमिन सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा संलग्न हुन चाहने कृषकलाई निवेदन पेस गर्न नगरपालिकाले आग्रह गरेको उपप्रमुख शारदा खनालले बताए । कार्यक्रमले विशेष गरी जमिन बाँझो राखेर विदेश जाने युवालाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने र उत्पादन भएपछि खाद्यान्नमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात हुँदै आएको छ । आफ्ना जग्गा बाँझो राखेर गुणस्तरहीन वस्तु प्रयोग गर्दै आएको छौँ । उनले भने, ‘भारतले निर्यात रोकिदियो भने भोकमरीमा पर्न सकिन्छ, त्यसकारण खाद्यान्नमा आत्मनिर्भर हुन आवश्यक छ ।’ ताजा र विषादीरहित वस्तु प्रयोग गर्नाले मानव जीवनमा समेत नकारात्मक असर पर्नबाट जोगाउन सकिने हुँदा उत्पादमा जोड दिइएको उनले बताए ।
बैंकले पर्यटनमा लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था बनाउन नाट्टाको सुझाव
काठमाडाैं । व्यवसायीहरुले पर्यटन क्षेत्रमा बैंकहरुले निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । राष्ट्र बैंकले गर्न लागेको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाका लागि नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कृषि क्षेत्रमा जस्तै पर्यटनमा पनि बैंकहरुले लगानी गर्नै पर्ने बाध्यात्मक व्यवस्था गरिदिन सुझाव दिएकाे हाे । नाट्टाले पछिल्लाे समय पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको बताउँदै ऋणको प्रवाहलाई सहज गरिदिन पनि राष्ट्र बैंकलाई सुझाव दिएकाे छ । यस्तै, पुर्नकर्जा कम्तीमा ५ वर्षसम्म निरन्तरता दिनुपर्ने नाट्टाकाे सुझाव छ । नाट्टाले पर्यटन क्षेत्र थोरै चलायमान हुन लागेको अवस्थामा राष्ट्र बैकले पुर्नकर्जा कार्यविधिमा गरेको परिवर्तनले असाध्यै अपठ्यारो परिस्थिति उत्पन्न भएको बताएकाे छ । नाट्टाले राष्ट्र बैंकले जारी गरेको पुर्नकर्जा संशोधित कार्यविधिमा एक पटक पुनकर्जा सुविधा पाएको व्यवसायले नपाउने र पछिल्लो दुई वर्षको औसत रिर्टन अफ इक्विटी ३ प्रतिशतभन्दा बढि रहेका उद्योग व्यवसायमा प्रवाहित कर्जालाई सुविधा नदिने व्यवस्था परिवर्तन गरी पहिलाकाे जस्तै बनाउन सुझाव दिएकाे छ । यस्तै, पर्यटन व्यवसायीहरु ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्थामा भएकाे बताउँदै नाट्टाले विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गर्न पनि नाट्टाले राष्ट्र बैंकलाई सुझाव दिएकाे छ । ‘कोभिड १९ पछि पर्यटन क्षेत्र अति प्रभावित क्षेत्रमा परेको र पर्यटन व्यवसायीहरुले लिएको बैंक ऋणको किस्ता समयमा भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको हुँदा कुनै शुल्क वा विलम्ब शुल्क नलाग्ने गरि भुक्तानीको अवधिलाइ रिसेड्युल गरि पर्यटन व्यवसायलाई संरक्षण र प्रवद्र्धनको वातावरण बनाउनुपर्ने देखिएको छ,’ सुझावमा भनिएकाे छ ।