जसले नेपाली रुपैयाँ चलनचल्तीमा ल्याए, पहिलो निजी बैंक स्थापनाको श्रेय पाए
काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आइतबार बिहान निधन भएको छ । उनको आइतबार बिहान ८ बजे ९७ वर्षको उमेरमा निधन भएको हो । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर समेत रहेका उनी सन् १९५६ अप्रिलदेखि सन् १९६१ फेब्रुअरीसम्म नेपाल राष्ट्र बैंकको गभर्नर भएका थिए । नेपाली अर्थतन्त्रमा उनको ठूलो योगदान छ । नेपाली बजारमा दबदबा राखेको भारतीय रुपैँया विस्थापित गर्न उनको भूमीका अनुकरणीय छ । भारतीय रुपैयाँ विस्थापित गरेर नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैयाँलाई चलनचल्तीमा ल्याएर नेपालीलाई नेपाली नोट सहज रुपमा उपलब्ध गराउन उनले अहम भूमीमा खेलेका छन् । त्यसबेला नेपाल राष्ट्र बैङ्क स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपैयाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो । त्यो परिपाटीको अन्त्य उनै राणाले गरेका हुन् । त्यो बेला भारुलाई नेपालीमा परिवर्तन गर्दा सटही दर निर्धारण गर्न पनि निकै कठिन काम थियो । उनै राणाले तीन वर्ष लगाएर त्यसमा अनुसन्धान गरे । कैलालीदेखि इलामसम्म रहेका राष्ट्र बैंकको शाखाबाट त्यो क्षेत्रमा चलनचल्तिमा रहेका भारुको तथ्यांक निकाले । पछि १ सय रुपैयाँ भारुको १६० रुपैयाँ नेपाली विनिमय दर निकाले । विस्तारै भारु नेपाली बजारबाट विस्थापित हुँदै गयो । जब महेन्द्र महाराजधिराजले संसद विघटन गरेर सत्ता लिए । बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरु सबैलाई राजा महेन्द्रले अपदस्थ गरे । त्यो अपदस्थमा उनी पनि परे । पहिलो अर्थसचिव पनि १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको पहिलो अर्थसचिव बने । आफु अर्थ सचिव हुँदा नेपालको अर्थतन्त्रमा धेरै परिवर्तन भएको उनले विगतका विभिन्न सार्वजनिक कार्यकक्रममा बोल्दै आएका थिए । राणा शासनकालमा देशमा अर्थ मन्त्रालय नै थिएन । आम्दानी–खर्च गोप्य राख्ने चलन थियो । उनी अर्थसचिव भएपछि सरकारको आयव्यय सार्वजनिक हुन थाल्यो । बजेट ल्याउने अभ्यास पनि उनकै पालामा सुरु भएको हो । उनी अर्थसचिव हुँदा भएको महत्वपूर्ण अर्को काम भनेको नयाँ आर्थिक नियमावलीहरु बने । हिमालयन बैंक पनि स्थापना उनी नेपाल राष्ट्र बैंकबाट बाहिरिएपछि निष्कृय भएर बसेनन् । नेपाली लगानीसहितको पहिलो बैंक हिमालयन बैंक स्थापना गर्ने पनि उनै राणा हुन् । उनकै नेतृत्वमा सन् १९९३ मा पाकिस्तानको हबिब बैक लिमिटेडसँगको संयुक्त लगानीको रूपमा सुरू भएको हो । यो नेपालको पहिलो निजी बैक पनि हो । अहिले हिमालयन बैंक निजी बैकहरूमध्ये आफुलाई अग्रस्थानमा राखेर काम गरिरहेको छ । हिमालयन बैंकसँगै हिमालयन डिस्टिलरी पनि उनल नै स्थापना गरेका हुन् । हिमालय शमशेर राणा प्रधानमन्त्री श्री ३ देव शम्शेरको नाती हुन् । उनी वि।स २००८ देखि २०१३ सम्म अर्थसचिव थिए । उनी पछिल्लो समय किताब लेखिरहेका थिए ।
एकैदिन तोलामा २ हजारले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ४५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता आज, कांग्रेसको समर्थन माओवादीलाई
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज (आइतबार) मनोनयन दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । उम्मेदवारीको विषयमा आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको संसदीय समितिको बैठकले उम्मेद्वारी नदिने घोषणा गरेको हो । उक्त बैठकले उम्मेद्वारी नदिने घोषणासँगै नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको जनाईएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन सोमबार हुनेछ ।
हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले
बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो । वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका–२ लमसुङका पलु पुनले बताए . ‘यो समयमा गत वर्ष तीनपटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्’, उनले भने । यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबालीसमेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका–७ ताकमका स्थानीय दीपक सुवेदीले बताए । हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्व रहेको सुवेदीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृषक हिमपातको प्रतीक्षामा छन् । हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन् । हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन् । पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ । हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ । हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन् । पछिल्लो वर्षहरूमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ । मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ । हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेनलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन् । मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका पर्यटन व्यवसायी क्याप्टेन डमबहादुर पुनले बताए । ‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सुमात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ’, अन्नपूर्ण गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका पुनले भने । गत वर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको चहलपहल भएको स्मरण गर्दै पुनले यस वर्ष हिउँ नपरेपछि पर्यटनसमेत प्रभावित बनेको सुनाए । ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटासहित सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउने घटेका छन्’, उनले भने । हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ । म्याग्दीमा हिमपात भएपछि पर्यटकीयस्थल पुनहिलसँगै टोड्के, रुइसे, झाँक्रेपानी, मालिका धुरी, दुरलेकलगायतका स्थानमा पर्यटकको चहलपहल बढ्ने गर्दछ । जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि अचम्मित बनेको जनता मावि दग्नामका प्रअ गुनबहादुर पुनले बताए । ‘मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूलहरू बेमौसममा फुल्न थालेका छन्’, प्रअ पुनले भने ।
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची
गण्डकी । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ । संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी र सुरक्षाकर्मीका लागि आवासको उचित प्रबन्ध हुनसकेको छैन । सञ्चारकर्मीका लागि मिडियाकक्ष छैन । प्रतिक्षाकक्ष, चमेनागृहजस्ता भौतिक पूर्वाधार व्यवस्थित छैनन् । आधुनिक सुविधायुक्त प्रदेशसभा भवन निर्माणका लागि बनाइएको रु डेढ अर्बको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अलपत्र परेको छ । बजेट नभएपछि भवन निर्माण अघि बढेन । सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा भवनमा भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताए । ‘बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल, कुर्ची छन्’, उनले भने, ‘साउण्ड सिस्टमको पनि समस्या छ ।’ भवन साँघुरो भएकाले बैठक सञ्चालनलगायतका काममा कठिनाइ उत्पन्न हुने गरेको सभामुख धितालले बताए । ‘सुविधासम्पन्न प्रदेशसभा भवन बनाउन यसअघि प्रस्ताव भएर डिपिआर पनि बनेको रहेछ’, उनले भने, ‘बजेट ठूलो भएकाले कसैले आँट गरेनन्, न केन्द्रले न प्रदेशले बजेट दियो ।’ सभामुख धितालले एकैपटकमा सबै संरचनाको निर्माण थाल्न नसकिए पनि खण्ड–खण्ड गरेर काम गर्ने गरी स्रोत जुटाउनुपर्ने उल्लेख गरे । उनले आफ्नो कार्यकालमा प्रदेशसभालाई भौतिक पूर्वाधार सम्पन्न बनाउन पहल लिने बताए । ‘तत्काल सुधार गर्न सकिने कामका लागि मुख्यमन्त्री र मन्त्रीज्यूहरूसँग पनि कुराकानी अगाडि बढाएको छु, प्रदेशसभामा एउटा स्वास्थ्य एकाइ राख्नका लागि पनि पहल भइरहेको छ’, उनले भने, ‘सुरक्षा पर्खाल, पुस्तकालय व्यवस्थापन आदिको काम पनि अगाडि बढ्दैछ ।’ प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले प्रदेशसभाको पहिलो कार्यकाल बित्दासमेत आफ्नै भवन बन्न नसकेको बताए । ठाउँ अभावले गर्दा सचिवालयलाई प्रदेशसभाभन्दा केही तल रहेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवनमा राखिएको उनको भनाइ छ । ‘दुईतिर कार्यालय हुँदा कर्मचारीलाई बढी आहोर–दोहोर गरिरहनुपर्ने बाध्यता छ, त्यसले कार्यबोझ थपिएको छ, कार्यसम्पादनमा असहजता छ’, उनले भने, ‘आशा गरौँ, प्रदेशसभाको यो कार्यकालमा आफ्नै आधुनिक सुविधायुक्त भवन बन्नेछ ।’ प्रदेशसभा सदस्य कुसुम बुढामगरले पहिलोपटक बैठककक्ष छिर्दा सोचेभन्दा भिन्न अनुभव भएको सुनाए । ‘ससंद् भवन भनेपछि अलि भव्य र व्यवस्थित छ होला भन्ने लागेको थियो, तर एकदमै साँघुरो रहेछ, मन्त्रीज्यूहरू बस्ने ठाउँ पनि उस्तै’, उनले भने, ‘भौतिक पूर्वाधारका दृष्टिले प्रदेशसभा पछाडि नै छ ।’ सञ्चारकर्मी र बैठक अवलोकनकर्ताहरूको बसाइका लागि पनि सानो क्षेत्र तोकिएको छ । पत्रकारलाई बैठकको तस्वीर र दृश्य लिन पनि कठिन छ । आल्मुनियमले बारमाथिबाट जनेतेन तस्वीर खिच्नुपर्ने स्थिति छ । सचिवालयका कर्मचारी र मर्यादापालकका लागि पनि कार्यस्थल साँघुरो छ । भौतिक संरचनामात्रै नभएर प्रदेशसभामा अन्य स्रोत साधनको पनि कमी देखिएको छ । दक्ष र विषयगत कर्मचारीको अभाव रहेको सचिवालयले जनाएको छ । प्रदेशसभाको आफ्नै सेवा समूहको व्यवस्था नभएकाले कर्मचारीको सरुवा–बढुवा हुँदा कार्यसञ्चालनमा समस्या निम्तने गरेको छ । सचिवालयको कार्यबोझ बढी भए पनि कर्मचारीलाई प्रोत्साहन दिन नसकिएको जनाइएको छ । कर्मचारीको समयसापेक्ष सीप र क्षमता विकास गर्नुपर्ने खाँचो छ । प्रदेशसभाको भौतिक पूर्वाधार निर्माणसहित दैनिक कार्यसञ्चालनका लागि सरकारले पर्याप्त बजेट दिनसकेको छैन । नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको भवनबाट विगत पाँच वर्षदेखि प्रदेशसभा सञ्चालन हुँदै आएको छ । भवनसहित ६४ रोपनी जग्गाको भोगाधिकार प्रदेशसभाले पाइसकेको छ । पाँच वर्षअघि आजकै दिन प्रदेशसभाको पहिलो बैठक बसेको थियो । आज प्रदेसभाको पाँचौँ वार्षिकोत्सव मनाइँदैछ । रासस
२ वर्षपछि समता घरेलु लघुवित्तको लाभांश घट्यो, १५ प्रतिशत बोनस दिँदा नगद कति ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ २० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत बोनस सेयर ६.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
राणाको निधनले मुलुकको अर्थ क्षेत्रमा अपुरणीय क्षति : अर्थमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका प्रथम गभर्नर हिमालयशम्शेर राणाको निधनबाट मुलुकको बैंक, वित्तीय एवं समग्र अर्थ क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । उनले केही समयअघि ट्वीट गर्दै राणाको निधनको खबर सुन्दा आफू स्तब्ध भएको र उनको निधनले नेपालको अर्थतन्त्रका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । ‘नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपालको अर्थ तथा कूटनीतिक क्षेत्रका जानकार विशिष्ट व्यक्तित्व हिमालयशम्शेर जबराको निधनको खबरले स्तब्ध छु’, उनले भनेका छन् । अर्थमन्त्री पौडेलले यस दुुःखको घडीमा राणाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । राणाको ९५ वर्षको उमेरमा आजै थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।
स्वास्थ्य पत्रकार मञ्चको नयाँ नेतृत्व चयन
काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा सरोज ढुङ्गेल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको आठौँ वार्षिक साधारणसभा र पाँचौँ राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै उनी निर्वाचित भएका हुन्। मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित भएका छन् । यस्तै महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे निर्वाचित भएका छन् । मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की निर्वाचित भएका छन् । यस्तै प्रदेश संयोजकमा प्रदेश–१ जुना भट्टराई, मधेस प्रदेश सुष्मा कर्ण, बागमती प्रदेश ज्योति अधिकारी, गण्डकी बिना न्यौपाने, लुम्बिनी वासुदेव न्यौपाने र कर्णाली प्रदेशमा कृष्ण आचार्य निर्वाचित भएका छन्। सुदूरपश्चिम संयोजक भने पछि चयन गरिने भएको छ । नयाँ नेतृत्व चयन प्रकृयामा पेशागत भन्दापनि राजनीतिक समूह हाबी भएको भन्दै लामो समयदेखि मञ्चमा आवद्ध रहँदै आएका १२ जना क्रियाशील स्वास्थ्य पत्रकारहरुले साधारण सदस्यबाट राजीनामा दिएका छन् ।