विकासन्युज

हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

हेटौँडा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिृकत डा रिता गुरुङले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मन्त्रालयले इन्ट्रा अकुलर लेन्स उतपादन विभाग स्थापनाका लागि प्रतिष्ठानका नाममा रु दुई करोड पक्की भवन निर्माण अनुदान निकासा गर्नेछ । सो रकम पक्की भवन निर्माणका कार्यबाहेक अन्यमा खर्च गर्न पाइने छैन । भवन निर्माण गर्दा गुणस्तरीयता कायम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । प्रतिष्ठानले कानुनबमोजिम मुनाफा वितरण नगर्ने उद्देश्य राखी लेन्स उत्पादन कम्पनी/उद्योग दर्ता प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ । चालु आवका लागि निकासा भएको अनुदान रकम आगामी जेठसम्ममा खर्च गरी सक्नुपर्ने सम्झौतामा उल्लेख छ । चालु आवमा खर्च हुन नसकेको बजेट फिर्ता गर्नुपर्नेछ । सम्पादन भएको कार्यको भौतिक तथा वित्तीय प्रगतिको त्रैमासिक प्रगति प्रतिवेदन अनिवार्यरुपमा प्रतिष्ठानले मन्त्रालयमा पठाउनुपर्नेछ । विभाग स्थानान्तरणका लागि आवश्यक खरिद गर्ने, निर्माण गर्ने, लेखापाल गर्ने, लेखापरीक्षण गराउने, प्रतिवेदन गर्नेलगायत सम्पूर्ण जिम्मेवारी प्रतिष्ठानको हुनेछ । लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि प्रतिष्ठानले मन्त्रालयमा पठाउनु पर्नेछ । समझदारीपत्रमा उल्लेख गरिएका विषय कार्यान्वयन गर्न दुवै पक्षका एक/एक जना सम्पर्क अधिकृत तोक्ने सहमति भएको छ ।

रास्वपाको बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरु भएको छ । पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरु भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने निर्णय लिने बताइएको छ । यस्तै, रास्वपाका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दैछन् । उनले आइतबार बिहान सामाजिक सञ्जाल मार्फत पार्टी केन्द्रीय कार्यालयबाट दिउँसो पत्रकार सम्मेलन गर्ने बताएका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ, त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु, म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्, मैले सिधाकुरा नगरेको धेरै भएछ,’, उनले लेखेका छन् ।

चार गभर्नरको नजरमा हिमालय शमशेर राणा

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणाको निधन भएको छ । उनको निधनप्रति वर्तमान गभर्नर महाप्रसाद अधिकारी र पूर्व गभर्नरहरुले दुःख व्यक्त गरेका छन् । गर्भनर महाप्रसाद अधिकारीले राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे । भारतीय मुद्रासँग नेपाली मुद्राको उहाँको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, ‘त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरुपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चूनौति थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’ गभर्नर अधिकारीसँगै पूर्व गभर्नरले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाली करेन्सीलाई चलनचल्तिमा ल्याएको योगदान बिर्सिन सकिँदैन : पूर्व गभर्नर नेपाल पूर्व गभर्नर चिरञ्जिवी नेपाल । उहाँले नेपालमा वित्तीय क्षेत्रको स्थापना गर्नु भयो । जुन बेलामा नेपालमा भारतीय मुद्राको दबदबा थियो । त्योबेला उहाँले नेपाली मुद्रा प्रचलनमा ल्याउन ठूलो योगदान गर्नुभयो । नेपालको मुद्रा बजारको लागि उहाँ नै संस्थापक हुनुहुन्छ । केन्द्रिय बैंकमा पनि उहाँको ठूलो योगदान छ । आदरणीय प्रथम गभर्नरलाई नेपालको वित्तीय क्षेत्र स्थापना र नेपाली करेन्सीलाई चलनचल्तिमा ल्याउने ब्यक्तिका रुपमा चिन्छु । कलंकी बसमा भएको घटना कहिल्यै बिर्सिन सक्दिनँ : पूर्व गभर्नर क्षेत्री एउटा असहज अवस्थामा उहाँले राष्ट्र बैंकको गठन गर्नु भयो । उहाँले भरतीय मुद्रासँगको विनियम दर १६० रुपैयाँ कायम गर्नु भएको थियो । उक्त विनिमय दर वि.सं. २०१३ सालमा भएको थियो, जुन हाल पनि कायम रहेको छ । उहाँले अध्ययन गरेर १६० रुपैयाँ तोक्नु भएको थियो । त्योबेला द्वयद मुद्रा प्रणाली थियो । भारतीय रुपैयाँ जहाँत्यहीँ चल्थ्यो । त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर उहाँले नेपाली मुद्रा सञ्चालनमा ल्याउनु भयो । उहाँका मार्गनिर्देशन अहिले पनि पालना गर्छाैं । उहाँको स्वास्थ्यले साथ दिएसम्म राष्ट्र बैंकको अभिभावकत्व दिइरहनुभयो । उहाँको योगदानप्रति राष्ट्र बैंक परिवार अहिले पनि कृतज्ञ हुनुपर्छ । उहाँको निधन प्रति म पनि हार्दिक समवेदना व्यक्त गर्दछु । विश्व व्यापार संगठनको सदस्यता लिँदा उहाँको अध्यक्षतामा समिति गठन भएको थियो । त्यो समितिमा म पनि सदस्य थिएँ । उहाँले अन्तर्राष्ट्रिय स्तरको अनुभवलाई समेटेर विभिन्न अभिव्यक्ति दिनुभयो । ब्यापार नियमन र अन्तर्राष्ट्रिय संस्थाहरुसँग संलग्नता राख्नु पर्ने उहाँहरुको अभिव्यक्ति हुन्थ्यो । ब्यापारमा प्रतिस्पर्धा हुनुपर्छ । साथसाथै आन्तरिक रुपले हाम्रो बजारलाई बलियो बनाएनौं भने फाइदा हुँदैन भन्नु हुन्थ्यो । यो सर्वमान्य विषय पनि हो । पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री । म ६ महिना मात्रै गभर्नर भएको हुनाले उहाँबाट मार्गनिर्देशन वा सुझाव पाउन सकिनँ । मेरो कार्यकाल हुरी बतास जस्तै भयो । बैंकिङ्ग क्षेत्र निकै तहसनहस थियो । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकको निती निर्देशन पालना गर्दैनथे । पालना गर्न लगाउँदा एउटा विकास बैंक नै खारेज गर्नुपरेको थियो । त्यस्तो बेला हामी आफै तल्लीन भएकोले उहाँको मार्ग निर्देशनलाई लिन सकिएन । बैशाख १४ गते बैंक दिशव मनाउँदा, अर्थतन्त्र अफ्ठ्यारो परेको बेला, मौद्रिक नीति तय गर्दा पूर्व गभर्नरहरुको राय लिने गरिन्छ । तर, मेरो कार्यकालमा यी कार्यहरु हुन सकेनन् । उहाँ राणा परिवारको मान्छे भएपनि विद्रोही हुनुहुन्थ्यो । संस्थापन राणाहरुमा मोहन शमशेर राणा प्रधानमन्त्री हुनुहुन्थ्यो । सुवर्ण शमशेर राणा सत्ताको बिमति राख्नु हुन्थ्यो । त्यसैले उहाँले प्रजातान्त्रिक बिचारहरुलाई अगाडि बढाउन भूमिका खेल्नु भयो । अरुलाई सम्मान गर्याे भने आफूले पनि सम्मान पाउँछौं भन्ने हेक्का उहाँमा मैले देखेको छु । म प्रायः सार्वजनिक यातायातमा सवार गर्छु । एक दिन रत्नपार्कबाट कलंकीसम्म जाँदा गाडीको सह–चालकले नचाहिँदो शुल्क लियो । मैले किन धेरै भाडा लिएको भनेर बादविवाद गरेको थिएँ । त्यो कुरा एउटा मिडियाको सम्पादकले सुनिरहनु भएको थियो । भोलिपल्ट एउटा पत्रिकामा समाचार आयो । राणाज्यूले ए दिपेन्द्र तिम्रो विषयमा मैले आज समाचार पढेको थिएँ भन्नु भयो । हत्तेरीका खानदान र इज्जत भएको ब्यक्तिले आफ्नै मोटरमा हिँडेको भए पनि हुन्थ्यो नी भन्ने उहाँले सोच्नु भएको थियो होला जस्तो लाग्छ । समाचार पढेको अपुष्ट कुरा मात्रै भन्नु भयो । उहाँमा पनि साधारण जीवन शैली हदैसम्मको थियो । अरुलाई पनि आदर गर्नुहुन्थ्यो । यस्ता धेरै उहाँबाट सिक्नुपर्ने गुण हुन् । स्वावलम्बन हुनुपर्छ भन्ने उहाँको विचार थियो । स्वास्थ्य ठिक गर्नका लागि म अहिले पनि गल्फ खेल्छु भन्नु हुन्थ्यो । म जहिलेपनि तपाईं यत्रो उमेरको मान्छेले स्वास्थ्यलाई कसरी बलियो राख्नु भएको छ ? हामीलाई पनि सिकाइदिनु पर्याे भन्थेँ । उहाँ मुसुक्क हाँस्नुहुन्थ्यो । दिनचर्या र अरुलाई सम्मान गर्ने विषयमा एकदमै अगाडि हुनुहुन्थ्यो । उहाँको दुखद निधन मुलुक र केन्द्रिय बैंकको लागि ठूलो क्षति हो । उहाँको आशिर्वाद र अविभावकत्व गुमेकोमा हामी चिन्तित छौं । उहाँबाट स्वास्थ्यदेखि सीपका कुरा सिकियो : पूर्व गभर्नर रावल पूर्व गभर्नर डा. तिलक रावल । उहाँ अति आदरणीय ब्यक्ति हुनुहुन्थ्यो । उहाँले नेपालको आर्थिक क्षेत्रमा अतुलनीय योगदान गर्नु भएको छ । केन्द्रिय बैंकलाई राम्रो दिशातर्फ उन्मुख गराउनु भएको छ । उहाँको योगदान अविस्मरणीय छ । उहाँले संयुक्त राष्ट्र संघमा रहेर लामो अवधि विभिन्न देशमा काम गर्नु भयो । त्यहाँ पनि उहाँको राम्रो नाम चल्यो । स्वदेश फर्केर आएपछि उहाँले वित्तीय क्षेत्रमा योगदान गर्नुभयो । निजी क्षेत्रमा बैंक स्थापनामा उहाँको अग्रणी भूमिका छ । अहिलेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक उहाँले नै स्थापना गर्नु भएको हो । उहाँ लामो आयू लिएर जन्मिनु भएको रहेछ । देवी देवताले उहाँलाई लामो आयू दिनु भएको रहेछ । जीवन पनि उहाँको राम्रै किसिमले बित्यो । विभिन्न कार्यक्रम, सभा समारोहमा केही वर्षअघिसम्म सक्रिय हुनुहुन्थ्यो । अहिले पनि उहाँ बिरामी भएर स्वर्गवास हुनु भएको होइन । सबैले उहाँकै जस्तो स्वस्थ जीवन र दीर्घायू पाउन, देवी देउताले सबैलाई यस्तै प्रकारको कृपा र करुणा आशिर्वाद दिउन् भन्ने मेरो कामना छ । दीवंगत आत्माको चिरशान्तीको कामना गर्दै परिवारजनमा परेको अतुलनीय दुःखको घडीमा भगावनले यो दुःख र पीडालाई सहने शक्ति प्रदान गरुन् भन्ने कामना छ । गभर्नर भएको ९ महिनामा नै सरकारले मलाई हटायो । म अदालत पुगेको थिएँ । मेरो पुर्नवहाली सर्वाेच्च अदालतबाट भएको हो । त्यसबेलाका न्यायाधिश कृष्णजंग रायमझी र तोप बहादुर सिंहले पुर्नवहाली गर्नु भएको थियो । सरकारले ममाथि जुन प्रहार गरेको थियो । त्यसको निन्दा उहाँ लगायत धेरै ब्यक्तिहरुले गर्नु भएको थियो । उहाँसँग जहिले पनि कुरा गर्दा नयाँ कुरा प्राप्त गर्थे । आफूले गरेको कामलाई थप अगाडि बढाउन थप हिम्मत हौसला मिल्थ्यो । उहाँ मिलनसार ब्यक्ति हो । उहाँले धेरै कुरा गरेर देखाउनु भयो । आफूलाई स्वस्थ राख्न खेलकुदमा पनि विशेष ध्यान दिनुहुन्थ्यो । कुन बेला के खाने, कति बेला के खेल्ने, कसरी मनोरञ्जन लिने भनेर उहाँ संवेदनशील र सचेत हुनुहुन्थ्यो जसलाई हामीले अनुसरण गर्न सक्छौं ।

काठमाडौंको बबरमहल र सुन्धारामा फाइभजी परीक्षण गर्दै एनटीसी

काठमाडौं । आजदेखि नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा फाइभजीको आन्तरिक परीक्षण सुरु गरेको हो । आजदेखि आन्तरिक परीक्षण सुरु भएतापनि ग्राहकले त्यसको उपयोग गर्न पाउने छैनन् । फाइभजी नेटवर्कको आन्तरिक परीक्षण कम्पनीले आफ्नो बबरमहल र सुन्धारा स्थित कार्यालयबाट गर्दैछ । साथै केही समयपछी पोखरामा पनि परीक्षण थालिने कम्पनीले जनाएको छ । टेलिकमले भिभो, ह्वावे, साओमी, सामसङ लगायत ब्रान्डका फाइभजी स्मार्टफोनमा यो सेवाको परीक्षण हुने जनाएको छ । यसअघि नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्षदेखि फाइभजी सेवा परीक्षणको रुपमा शुरु गर्ने योजना बनाएको भएपनि बजारमा डिभाइस कम हुँदा परीक्षण स्थगित गरेको थियो । फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइस कम हुँदा तत्कालका लागि परीक्षण स्थगित गरिएको त्यस बेला जानकारी दिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीका लागि २६०० फ्रिक्वेन्सीको अनुमति दिएको छ ।

मिथिला लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मिथिला लघुवित्तले फागुन १७ गते बुधबार साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्न चौथौं साधारण सभा बोलाएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै, कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ५ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ फागुन ४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा यस कम्पनीको सेयरधनीको रुपमा कारोबार गर्नेले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

वाग्मती प्रदेशसभाको बैठक बस्दै

मकवानपुर । वाग्मती प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भएको छ । वाग्मती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए । प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा समाजवादी पार्टीका ७, राप्रपाका १३, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना सांसद छन् ।

संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षति : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर राणाको निधनले मुलुकको अर्थतन्त्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । राणा निवास थापाथलीमा पुगी पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै गभर्नर अधिकारीले राणाको निधनले नेपालको अर्थतन्त्रमा निकै ठूलो क्षति भएको बताए । ‘समग्र अर्थतन्त्र र बैंकिङ क्षेत्रमा उनको निधनले ठूलो क्षति पुगेको छ, यो क्षेत्रले अभिभावक गुमाएको छ ।’ केन्द्रीय बैंकको सोच, आवश्यकता, स्थापना, दृष्टिकोण ल्याउने व्यक्तित्व राणाले मुलुकको आर्थिक क्षेत्रमा भएको योगदान चर्चा गरेर नसकिने भन्दै अधिकारीले राणाले अर्थसचिवका साथै नेपालको प्रतिनिधिकारुपमा संयुक्त राष्ट्र सङ्घमा काम गरेको स्मरण गरे । देशको सार्वभौमसम्बन्धी महत्वपूर्ण मुद्धा सम्वोधनका लागि बैंक स्थापना गरी नेपाली एकल मुद्राको सञ्चालन गर्ने अभियानकैरुपमा संस्थापक राणाले ठूलो योगदान गरेका थिए । भारतीय मुद्रासँग नेपाली मुद्राको उहाँको प्रयासमा भएको निर्धारण भएको सटही दर अहिले पनि कायम छ । गभर्नर अधिकारीले भने, ‘त्यस बेला नेपालमा भारतीय मुद्राको व्यापकरुपमा चलन चल्तीमा थियो, भारती मुद्रासँग नेपाली मुद्राको सटही दर कायम गर्ने ठूलो चूनौति थियो, सबै जनताको भावनालाई बुझेर तय गरेको उही दर हाल कायम छ ।’ राष्ट्र बैंकका संस्थापक राणाको आज विहान उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई निमोनियम सङ्क्रमण भएको थियो ।

एनआइएमबिले सुरु गर्यो पिओएसमा क्युआर र एनएफसि मार्फत भुक्तानी सेवा

काठमाडाैं । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपिओएसिबाट नेपालपे ट्याप र नेपालपे क्युआर सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको डिभाइसहरूमा आफ्नो एनएफसि उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्याप मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी, डायनामिक नेपाल पे क्युआरलाई एनआइएमबिले आफ्नो फिनपिओएसमा उपलब्ध क्युआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्टआइपिएस प्रयोग गर्न सकिन्छ । एनआइएमबिले सुरुवात गरेको पिओएस डिभाइसमा क्युआर र एनएफसि मार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो भएकाे बैंककाे दावी छ । एनएफसी प्रविधिमा आधारित नेपालपे ट्यापले दुईवटा डिभाइसहरु बीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पिटुपि र पिटुएम भुक्तानीहरूको लागि कन्ट्याक्टलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसि सम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पिओएसबाट भुक्तानी गर्दा कार्डको प्रयोग बिना नै आफ्नो फोन फिनपिओएसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा कनेक्ट आइपिएस मोबाइल एप मार्फत उपलब्ध रहेको बैंकले जनाएकाे छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसि इनेबल भएको हुनुपर्दछ । हाल नेपालपे ट्यापको कारोबार सीमा प्रति कारोबार ५ हजारसम्म रहेको छ ।