गैरकानुनी लाभ लिएको भेटिएपछि विमानस्थल प्रमुख निलम्बनमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गैरकानुनी लाभ लिएको पाइएको भन्दै ठाकुरलाई निलम्बन गरेको हो । विमानस्थका महाप्रबन्धक रहेका ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यकले गरेको कुराको अडियो सार्वजनिक भएको छ । उक्त अडियो सार्वजनिक भएपछि क्यानले उनलाई निलम्बन गरेको हो । महाप्रबन्धक ठाकुर २ वर्षदेखि विमानस्थल प्रमुखका रुपमा कार्यरत थिए ।
राष्ट्र बैंकलाई प्रश्न : सेयरधितो कर्जामा १२ करोडको सीमा किन हटेन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएपछि राष्ट्र बैंकप्रति सेयर लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताहरु राष्ट्र बैंकले सो सीमा नहटाएपछि असन्तुष्ट भएका हुन् ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंक सेयर लगानीकर्ताका सुझाव प्रति लचक नभएको बताइन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै सेयरधितो कर्जामा १२ करोडको सीमा हट्न सक्ने संकेत देखाएपनि अन्तः व्यवस्था किन हटाएनन् भन्ने चासो पनि धेरैको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने बैंकिङ क्षेत्रमा अझै जोखिम कायमै रहेकोले १२ करोडको सीमा नहटाएको बताए । ‘बैंकिङ क्षेत्रमा जोखिम कायमै छ, अहिले नै सीमा हटाउँदा भोलि पुनः समस्या आउन सक्छ, त्यसैले पनि अहिले सेयरधितो कर्जामा लगाइएको सीमा हटाउन उचित देखिएन,’ उनले भने । उनले विस्तारै तरलतामा सुधार हुँदै जाँदा मौद्रिक नीतिका कार्यदिशा पनि परिवर्तन हुँदै जाने बताए । ‘हिजोको गल्ति नै दोहोर्यो भने पुनः समस्या आउन सक्छ, यसबेला हामी सजग बन्नु पर्छ, अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन खोजिएको हो, अहिले नै कुनै नीतिहरु रिभ्यू गर्दा भोलि अर्को जोखिमा आउन सक्छ, अहिले नै नीति परिमाजर्न गर्नु अनुकुल देखिँदैन, बैंकिङ क्षेत्रको एसेट र रिसोर्स म्यानेज्मेन्टका लागि यो व्यवस्था गरिएको हो,’ उनले भने । यस्तै, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले पनि अहिले सेयर बजारप्रति लचक बन्ने समय नरहेको बताए । उनले पनि अहिले नै लचक बन्दा पुनः समस्या दोहोरिन सक्ने भन्दै राष्ट्र बैंकले केही कडाइका नीतिहरु यथावत राख्नु परेको धारणा राखे । ‘ब्याजदर घट्ने संकेत देखिएको छ, अहिले भएको व्यवस्थाले केही सहज गरिरहेको छ, तरलतामा सुधार हुँदा सेयर बजार केही सहज हुन्छ, यसले सबैलाई सहज हुन्छ, अहिले नै नीति परिवर्तन गर्दा पुनः असर पर्न सक्छ,’ उनले भने ।
६ महिना कमको संस्थागत मुद्दती निक्षेप राख्न नपाइने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले छ महिनाभन्दा कम समयको संस्थागत मुद्दती निक्षेप राख्न नपाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुवैतर्फको न्यूनतम तीन महिना समयका लागि मुद्दती निक्षेप राख्न पाउने व्यवस्था थियो । तर नेपाल राष्ट्र बैंकले बिहीबार ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा परिमार्जन गर्दै संस्थागत मुद्दती निक्षेप कम्तीमा छ महिनाका लागि हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो । व्यक्तिगततर्फको मुद्दती निक्षेप भने तीन महिनाका लागि पनि राख्न पाइनेछ । ‘तीन महिनाभन्दा कम समयावधिको मुद्दती निक्षेप तथा छ महिनाभन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्व निर्धारित ब्याजदर कायम गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन । संस्थागत निक्षेपको हकमा छ महिना व्यतीत हुनुअगावै कुनै पनि रकम भुक्तानी वा फिर्ता गर्न पाइने छैन,’ राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै भनेको छ । त्यस्तै, निक्षेप सङ्कलन गर्दा अन्य खाताको तुलनामा दिइने निक्षेपको ब्याजदरभन्दा विप्रेषण बचत खातामा दिइने ब्याजदर बढी हुनुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले ल्याएको छ । ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा खोलिएको वा खोलिने विप्रेषण बचत खातामा निक्षेप राखेको न्यूनतम एक प्रतिशत बिन्दु थप गरी ब्याज दिनुपर्नेछ,’” संशोधित एकीकृत निर्देशनमा भनिएको छ ।
तरकारी खेतीले फेरिएको जिन्दगी : वार्षिक ६ लाख आम्दानी
मोरङ । मोरङ सुन्दरहरैँचा नगरपालिका–११ स्थित शुक्रबारेका कृषक मोहनलाल श्रेष्ठले २५ वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा सक्रिय रहेर मनग्य आम्दानी गर्न सफल भएका छन् । ५ दशकअघि सामान्य किसान परिवारमा जन्मिएका मोहनलालले न्यू दीपा कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा कृषि पेसा अपनाएका छन् । उनले कृषि विकास बैंकबाट ६० हजार ऋण गरी तरकारी खेती सुरू गरेका थिए । १ बिघा जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएका मोहनलालले अहिले यसै पेसाबाट सम्पूर्ण खर्च कटाएर वार्षिकरूपमा ६ लाखसम्म आम्दानी गर्ने गरिरहेका छन्। ‘वर्षभरिमा करिब १ हजार स्थानीय कामदारलाई तरकारी खेतीबाट रोजगारीसमेत दिँदै आएको छु, कृषि पेसाअन्तर्गत तरकारी खेती हाम्रो परिवारका लागि आम्दानीको राम्रो स्रोत भएको छ,’ उनले भने । हिउँदे र बर्खे यामअनुसारको तरकारी खेती गर्दै आएका मोहनलालको बारीमा अहिले लटरम्म उन्नत जातको गोलभेँडा, काउली र बन्दागोभी देख्न सकिन्छ । ‘केही आफ्नो र बाँकी भाडाको जग्गामा व्यावसायिक तरकारी खेती गर्दै आएको छु, सिजन अनुकूल गोलभेँडा खेतीसँगै काउली, बन्दा, काँक्रा, लौका, फर्सी, धनियाँलगायत रायोसागसमेत लगाएर राम्रै आम्दानी गरेको छु,’ उनले भने । उनको देखासिकी गरी गाउँका अन्य व्यक्ति पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन् । अहिले उनलाई तरकारी खेतीमा छोरा कृष्णकुमारले पनि सहयोग गरेका छन् । तरकारी बिक्री गरेरै आफूले १५ कट्ठा जग्गासमेत जोड्न सफल भएको मोहनलालले बताए। उनले तरकारी खेतीसँगै गाई फार्म सञ्चालन तथा खसी र बाखापालनसमेत गरेका छन् । तरकारी खेतीसँगै गरेको गाईपालनबाट दैनिक २० लिटर दूधसमेत बिक्री गर्ने गरेका छन् । बायोग्यास जडान गरेपछि भान्छामा खाना पकाउन ग्यासको सुविधा भएको छ भने लेदोमलले खेतबारीमा राम्रो अन्न तथा तरकारी खेती पनि राम्रो भएको उनी बताउँछन् । तरकारी खेतीमा अहिलेसम्म कुनै सरकारी निकायबाट प्रोत्साहन नपाए पनि युवा लक्षित स्वरोजगार कार्यक्रमबाट ४ वर्षअघि ६० हजार प्राप्त गरेको मोहनलालका छोरा कृष्णलालले बताए। चर्को व्याजमा ऋण गरी विदेशी भूमिमा तातो घामपानी सहँदै पराईको नोकर भएर काम गर्नुभन्दा स्वदेशमा कृषि पेशाबाटै मनग्गे आम्दानी गर्न सकिने कृष्णलाल बताउँछन् । मलेसियामा ३ वर्षसम्म रोजगारीका लागि बसेर गाउँ फर्किएपछि अहिले बुबासँगै व्यावसायिक तरकारी खेतीतर्फ क्रियाशील भएको उनको भनाइ छ । तरकारी बिक्री गरेको आम्दानीबाट मोहनलालले आफ्ना छ छोराछोरीको लालनपालन र पढाइको खर्च जुटाएका छन् । ‘तरकारीको अति राम्रो बजार भाउ छ । उत्पादन गरेको तरकारी नबिक्ला कि भन्ने चिन्ता छैन । मागअनुसार उत्पादन गर्न सकिएको छैन, तरकारीको बजारको समस्या नभएको बताउँदै मोहनलालले भने । तरकारी खेती र पशुपालनलाई अझै बढाउँदै लैजाने उनको योजना छ। खेतीपातीका लागि विविध कुरा बुझेर अनुभव हासिल गरी मेहनतका साथमा अघि बढ्दा राम्रो फाइदा हुने उनको अनुभव रहेको छ । कहिलेकाहीँ घामपानी नमिल्दा तरकारी खेतीमा घाटासमेत हुने भएकाले एकपटक भएको घाटाबाट निराश हुन नहुने उनको सुझाव छ । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको मोहनलाल बताउँछन् । ‘व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी रहेको छ,’ उनले भने । बेमौसमी तरकारी खेतीका लागि प्रोत्साहन हुनसके तरकारीमा देशलाई नै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । रासस
मौद्रिक नीतिको समीक्षाले बजारमा तरलता सहज हुन्छ, ऋणीलाई राहत पुग्छ : बैंकर ज्ञवाली
काठमाडौं । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले अब बजारमा तरलता सहजता हुने बताए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामाथि टिप्पणी गर्दै बैंकर ज्ञवालीले नयाँ व्यवस्थाहरुले बजारमा तरलता सहज हुने, बैंकको ब्याज खर्च घट्नेदेखि ऋणीलाई राहात हुनेसम्म बताए । उक्त समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने भनिएको छ । यसले बजारमा तरलता सहजतासंगै अन्तर बैंक ब्याजदरमा कमी आएको छ सोही अनुरूप नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको र बैंकहरुको ब्याज खर्च घट्न जाने बैंकर ज्ञवाली बताउँछन् । साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने भएको छ । यसले साना तथा मझौला उद्योग-व्यवसाय को पुनरसंरचना तथा पुनरतालिकीकरण सहजीकरण गर्ने गरेर निर्देशन आउने ज्ञवाली बताउँछन् । साथै, यस्तो कर्जाको लागी गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा समेत पुनर्विचार गरेर निर्देशन आएको अवस्थामा साना तथा मझौला उद्योगहरुलाई राहत पुग्न जाने सक्ने देखिन्छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिने भनिएको छ । यसले कर्जा नियमित हुँदा साथ असल कर्जामा लेखाङ्कन गरेर कर्जा नोक्सानी व्यवस्थापन गर्न पाउने हालको व्यवस्थामा केहि कडाइ हुन सक्ने बैंकले ज्ञवाली बताउँछन् । यो अनुसार कसरी लेखाङ्कन गर्ने भन्ने विषय निर्देशन पछि प्रष्ट हुने समेत उनले बताए । २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/व्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ । ‘यसले ऋणीलाई पेनाल ब्याज तिर्नपर्ने व्यवस्थामा १ महिना ग्रेस अवधि थप हुनेछ । यसले गर्दा कर्जा ग्राहकहरुलाई केही राहत हुनेछ भने भाखा कै मितिमा ब्याज प्राप्त नहूने अवस्था आउन सक्छ । तेस्रो त्रयमासको इन्ट्रेष्ट सस्पेन्स अझै बढ्न सक्दछ,’ ज्ञवालीले सामाजिक सञ्जाल मार्फत बताए । अन्य नीतिगत व्यवस्था र उपकरणहरू यथावत छन् भने चर्चाका अन्य विषयहरुमा मौद्रिक नीतिको समिक्षाले नबोलेको उनी बताउँछन् । साथै, अब आउने निर्देशनहरु मार्फत अन्य विषयहरु सम्बोधन हुन सक्नेमा उनी आशावादी छन् । (बैंकर ज्ञवालीको समाजिक सञ्जालमार्फत)
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुले क्षेत्रगत कर्जा विस्तारमा आफ्नो लक्ष्य पूरा गरेको देखाइएको छ । राष्ट्र बैंकले तोकेकोे विद्यमान व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु घरेलु र साना तथा मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्छ । वाणिज्य बैंकहरुले गत पुस मसान्तमा कृषि क्षेत्रमा १३ प्रतिशत अर्थात् कूल पाँच खर्ब ४३ अर्ब ४७ करोड कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ऊर्जा क्षेत्रमा छ दशमलव तीन प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ५५ करोड कर्जा लगानी भएको छ । लघु घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा नौ दशमलव पाँच प्रतिशत अर्थात् तीन खर्ब ९६ अर्ब ९१ करोड कर्जा लगानी रहेको छ । विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २६ दशमलव छ प्रतिशत अर्थात् एक खर्ब १५ अर्ब ७५ करोड बराबर कर्जा लगानी भएको छ । त्यसैगरी वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा ती क्षेत्रहरुमा औसत २२ दशमलव चार प्रतिशत अर्थात् १९ अर्ब ३३ करोड कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले छ दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब १७ करोड बराबर कर्जा प्रवाह गरेका छन् । त्यस्तै, विकास बैंकहरुले ११ दशमलव एक प्रतिशत अर्थात् ४८ अर्ब २३ करोड र वित्त कम्पनीहरुको सात दशमलव तीन प्रतिशत अर्थात् छ अर्ब २९ करोड कर्जा विपन्न वर्गमा लगानीमा गरेका छन् ।
गैँडाको खाग खरिद बिक्रीमा संलग्न १५ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो । त्यसपछि सोधपुछ तथा अनुसन्धानका क्रममा उक्त कारोबारमा संलग्न अन्य १३ जनालाई विभिन्न मितिमा विभिन्न जिल्लाबाट पक्राउ गरी निजहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौँमा बुझाइएको ब्यूरोका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए। ब्यूरोको टोलीले अनुसन्धानका क्रममा यही माघ १२ गते बाबुलाल भट्टराई, गजाधर सापकोटा र प्रताप चौधरीलाई पक्राउ गरेको थियो । यसैगरी माघ २० गते डम्बरकुमार आलेमगर, दानबहादुर राना र निर्मल शाहीलाई, माघ २२ गते हरिमाया राना, माघ २४ गते कमला तामाङ तथा माघ २५ गते सोमबहादुर चेपाङ, तुलसी चेपाङ, वीरमान वाइबा, राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ । रासस
१०० रुपैयाँमै होटलको रुम दिँदै सिद्धार्थ बिजनेश ग्रुप
काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले २५औं वार्षिकोत्सव मनाएको छ । रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरी संचालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा २५औं वार्षिकोत्सव मनाएको हो । २५औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराए। पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए। पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सँधै प्राथमिकतामा राखेको बताए । त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । ग्रुपका अध्यक्ष चिन्तामणि लक्ष्मण न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण बर्ष १९९८ को सन्दर्भ पारी बिस २०५४ माघ २३ गतेका दिन टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको ब्यवसाय पाँच तारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए ।अन्य व्यबसायीलाई पनि उनले नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न सुझाब पनि दिए । २५ औं वार्षिकउत्सबको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाकामा एक जना ग्राहकलाई २५ बर्ष अघिकै सुरुवाती मूल्य बराबर १०० रुपैयाँमा होटलको रुम उपलब्ध गराउने छ, साताभरी देशै भरका शाखामा कतिपय प्याकेज मूल्यमा २५ प्रतिशत सम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ सिविर, वृद्धाश्रममा निशुल्क भोजन लगायतका कार्यक्रमहरू समेत राखिएका छन् । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, ट्रेडिङ्, होटेल ब्याबस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन् । न्यौपानेका अनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ। समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन् । कार्यक्रममा देशभर सिद्धार्थले संचालन गरेका होटल तथा रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरू मध्येबाट विभिन्न बिधा र शाखाका उत्कृष्टहरूलाई नगद राशी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरूमा इम्प्लोइ अफ द इयरमा कृष्ण कुमारी पुन, म्यानेजर अफ द इयरमा उत्तम खत्री हुन् भने फाइनान्स बिभागका प्रमुख , फुड एन्ड बेभरेज उत्पादन प्रमुख मंगल डगौरा, फुड एन्ड बेभरेज सेवा प्रमुख बाशुदेव तिमल्सिना, फ्रन्ट डेस्क प्रमुख प्रकाश भट्ट,सेल्स एन्ड मार्केटिङ बिभाग प्रमुख नवीन भट्ट छन् । त्यस्तै भ्यू होटल सिद्धार्थ नेपालगन्ज उत्कृष्ट होटलका रुपमा पुरस्कृत भएको छ ।