काठमाडौं । नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज ज्ञवालीले अब बजारमा तरलता सहजता हुने बताए । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामाथि टिप्पणी गर्दै बैंकर ज्ञवालीले नयाँ व्यवस्थाहरुले बजारमा तरलता सहज हुने, बैंकको ब्याज खर्च घट्नेदेखि ऋणीलाई राहात हुनेसम्म बताए ।
उक्त समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने भनिएको छ । यसले बजारमा तरलता सहजतासंगै अन्तर बैंक ब्याजदरमा कमी आएको छ सोही अनुरूप नेपाल राष्ट्र बैंकले बैंक दर घटाएको र बैंकहरुको ब्याज खर्च घट्न जाने बैंकर ज्ञवाली बताउँछन् ।
साना तथा मझौला उद्योग-व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सकृय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न पाउने व्यवस्था मिलाउने भएको छ । यसले साना तथा मझौला उद्योग-व्यवसाय को पुनरसंरचना तथा पुनरतालिकीकरण सहजीकरण गर्ने गरेर निर्देशन आउने ज्ञवाली बताउँछन् । साथै, यस्तो कर्जाको लागी गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा समेत पुनर्विचार गरेर निर्देशन आएको अवस्थामा साना तथा मझौला उद्योगहरुलाई राहत पुग्न जाने सक्ने देखिन्छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थामा अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा पुनरावलोकन गरिने भनिएको छ ।
यसले कर्जा नियमित हुँदा साथ असल कर्जामा लेखाङ्कन गरेर कर्जा नोक्सानी व्यवस्थापन गर्न पाउने हालको व्यवस्थामा केहि कडाइ हुन सक्ने बैंकले ज्ञवाली बताउँछन् । यो अनुसार कसरी लेखाङ्कन गर्ने भन्ने विषय निर्देशन पछि प्रष्ट हुने समेत उनले बताए ।
२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/व्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।
‘यसले ऋणीलाई पेनाल ब्याज तिर्नपर्ने व्यवस्थामा १ महिना ग्रेस अवधि थप हुनेछ । यसले गर्दा कर्जा ग्राहकहरुलाई केही राहत हुनेछ भने भाखा कै मितिमा ब्याज प्राप्त नहूने अवस्था आउन सक्छ । तेस्रो त्रयमासको इन्ट्रेष्ट सस्पेन्स अझै बढ्न सक्दछ,’ ज्ञवालीले सामाजिक सञ्जाल मार्फत बताए ।
अन्य नीतिगत व्यवस्था र उपकरणहरू यथावत छन् भने चर्चाका अन्य विषयहरुमा मौद्रिक नीतिको समिक्षाले नबोलेको उनी बताउँछन् । साथै, अब आउने निर्देशनहरु मार्फत अन्य विषयहरु सम्बोधन हुन सक्नेमा उनी आशावादी छन् ।
(बैंकर ज्ञवालीको समाजिक सञ्जालमार्फत)