विकासन्युज

राजनीति तातो पिँडालु बन्यो

काठमाडौं । नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ । विभिन्न कालखण्डमा ठूला परिवर्तनहरू पनि भए तर त्यसको उद्देश्यअनुसार परिणाम भने आउन सकेन । राजनीति सुकिलो हुनुपर्नेमा फोहरी बन्यो । नेताहरू निर्लोभी हुनुपर्नेमा लोभी भए । लोभी पनि औधी लोभी । नेता राजनीतिक कार्यकर्ता र जनताका लागि हुनुपर्नेमा आफू र आफन्तका लागि सीमित भए । यसले गर्दा नेताबाट जनताको विश्वास हराउँदै गयो । राजनीति नदीको पानीजस्तै सलल्ल बग्नुपर्नेमा जम्दै गयो । जमेको पानी फोहर बन्यो । सलल्ल बगेको राजनीति चोखो हुन्थ्यो । चिसो कुरा चिसो नै हुन्छ । सक्कली भनेको सक्कली नै हो । यसमा केही जोडिरहनु पर्दैन । नक्कलीलाई जति सिङ्गारे पनि कहिल्यै सक्कली हुँदैन । यो ध्रुवसत्य हो । आज नेपालको राजनीति यस्तै अवस्थाबाट गुज्रँदै आएको छ । जनयुद्ध सुरु हुने ताका आम सर्वसाधारण, धेरै नेपालीलाई थाहा भइसकेको थियो कि राजा वा राजसंस्था चाहे त्यो संवैधानिक होस् वा प्रत्यक्ष होस् त्यसको आवश्यकता वा औचित्य छैन भन्ने भइसकेको थियो । तत्कालीन राजा प्रत्यक्ष शासन गर्ने दाउमा थिए । जबकी राजाको प्रत्यक्ष शासनको युग समाप्त भइसकेको थियो । त्यतिबेला नै मानिस बाँधिएर बस्न चाहेका थिएनन् । जुन २० औँ शताब्दीको सन्देश थियो । स्वतन्त्रताको स्वादिलो हावा नेपालमा विसं १९८७ देखि लाग्न थालिसकेको थियो । नेपालमा खड्गमान बस्न्यातजस्ता केही युवकले उतिबेला नै राणा शासन उखेलेर राजाको शासन ल्याउन चाहेका थिए तर परिस्थिति परिपक्व हुन बाँकी नै थियो । राणाहरूको पारिवारिक एकतन्त्रीय शासनले युवा विद्रोहीलाई गिरफ्तार गरी निर्मम सजाय दिनेबाहेक राणाहरूले अन्य विकल्प देखेनन् । त्यो आन्दोलन दमन गरियो । परन्तु चेतनाको टुसो नेपाल पसिसकेको थियो । पछि त्यो टुसो मोरङमा टुसायो । कृष्णप्रसाद कोइराला पूर्वी नेपालको दुम्जामा जन्मिएका रहेछन् । बसाइँ सर्दासर्दै मोरङ पुगेछन् । विराटनगरमा बसोबास गरेछन् । औलोको खानी मोरङ विराटगर, तर औलोसँग जुधी त्यहीँ बसोबास गरे । भारतमा पनि इस्ट इन्डिया कम्पनी सरकारले व्यापार गर्दा गर्दै अङ्ग्रेजलाई हटाई भारतीयहरूद्वारा सरकार सञ्चालन गर्ने चेतना आएछ । भारतीयहरूद्वारा नै शासन गर्ने मनसायले अखिल भारतीय राष्ट्रिय कांग्रेस गठन गरियो । यता राणाहरूको नीति पैसा मस्त कमाउन दिने र सरकारी ठेक्का दिने थियो । काम सकिएपछि यसका कमजोरी पत्ता लगाई जरिवाना गर्ने नीति थियो । सर्वस्वहरण गर्ने उनीहरूको नीति थियो । जसले कमाएको छ सबै सर्वस्व हुन्थ्यो । त्यो सम्पत्ति श्री ३ महाराजको हुने गथ्र्यो । राणा शासनको यस्तो चङ्गुलमा कृष्णप्रसाद कोइराला पनि परेछन् । उनले भन्सार अड्डाको ठेक्का लिएछन् । पछि त्यसैका आधारमा उनको सर्वस्वहरण भयो । उनले शिक्षाको महत्त्व राम्ररी बुझेका थिए । विराटनगरमा विद्यालय खालेर आफ्ना छोराहरू मातृका र विश्वेश्वर (वीपी) लगायतलाई पढ्न लगाएका थिए । कृष्णप्रसादको सर्र्वस्व भएपछि नेपाल बस्न नसकी भारतमा प्रवासी बन्न पुगे । आफ्ना छोराछोरीलाई उतै पढ्ने व्यवस्था मिलाए । त्यसैबेला भारतमा स्वतन्त्रता आन्दोलन चर्किएको थियो । मातृका, विश्वेश्वर पनि भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिन पुगे । आन्दोलनमा उनीहरू पक्राउ परे । मनमोहन अधिकारी पनि भारतीय स्वतन्त्रता सङ्ग्राममा संलग्न भए । वीपीलगायत केही व्यक्तिलाई अड्डासार गरी काठमाडौँ ल्याई थुनियो । यो घटनाले पहाडमा प्रजातन्त्रको चेतना ल्यायो । यसै क्रममा कृष्णप्रसाद थुनामा परे, त्यहीँ उनको मृत्यु भयो । छोराहरूले उनको काजकिरिया पनि गर्न पाएनन् । यसैबेला पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरी छपाए । यसले नेपालमा ठूलो प्रभाव पा¥यो र नेपाल कम्युनिष्ट पार्टीको जन्म भयो । राणा विरोधी आन्दोलन बिस्तारै बढ्न थालेको थियो । सशस्त्र क्रान्ति हुने नै भयो । राजा त्रिभुवन माइला नाति ज्ञानेन्द्रलाई राजगद्दी छाडी दिल्ली गए । उनी दिल्लीमा नेहरुको घरमा बसे । भारत सरकारले भेट्न अनुमति दिएका व्यक्तिले मात्रै राजासँग भेट्न पाउँथे । राजा त्रिभुवन एक किसिमले नजरबन्दमा थिए । यता नेपालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन भयो । थीरबम मल्ल शहीद बने । आन्दोलन केही समय शिथिल बन्नपुग्यो । पछि फेरि हतियार ल्याएर आन्दोलनलाई सशक्त पारियो । मोहन शम्शेरले ज्ञानेन्द्रको नाममा टकमरी (नाममा पैसा छाप्ने) गराएका थिए । पछि त्यो हट्यो । त्रिभुवन नेपाल आउने भएपछि मोहन शम्शेरले ठूलै रकम त्रिभुवनलाई दिएका थिए भनिन्छ । राणा शासन र प्रजातन्त्र मिलाउने काममा विजय शम्शेरले ठूलो भूमिका खेलेका थिए । प्रजातन्त्र आएपछि नेपाली जनताले आफ्ना प्रतिनिधिले छानेको विधायिका सभाका सदस्यले संविधान बनाउँछन् भनिएको थियो तर त्यसमा राजा इमान्दार रहेनछन् । राजाले चुनाव गराउन खोजेनन् । प्रधानमन्त्री टङ्कप्रसाद आचार्यमार्फत छिट्टै विधानसभा वा संसद्को चुनाव हुन्छ भन्न लगाए । राजाले २०१५ फागुन १ गते चुनाव हुने घोषणा गरे तर केको चुनाव हुने भन्ने प्रष्ट भनेका थिएनन् । भित्रभित्रै राजाले बेलायतका संविधानविद् सर आइभर जेनिङलाई संविधान लेख्न लगाई फागुन १ गते नै संविधानको घोषणा गरे । एकैचोटि २०१५ फागुन ७ गतेदेखि संसद्को चुनाव सुरु भयो । मतदान विभिन्न चरणमा भयो । त्यतिबेला कांग्रेसको प्रभाव भएकाले जनताले पनि कांग्रेसलाई नै भोट दिए । झण्डै दुई तिहाइ सिट जितिन्छ भन्ने स्वयं वीपीलाई पनि विश्वास थिएन भने राजालाई कुनै पार्टीले बहुमत ल्याउँछ भन्ने लागेको थिएन । राजाका नजिककाहरूले कसैले पनि बहुमत ल्याउन सक्दैन भनेर विश्वास दिलाएका थिए । वीपीले पनि कांग्रेसको खास शक्ति कति हो भनी अनुमान गर्न सकेका थिएनन् । राजनीति तातो पिँडालु बन्यो मुलुकमा प्रजातन्त्र आए पनि जनतामा त्यसको अनुभूति हुन सकेन । जनता र नेताबीचको खाडल बढ्दै गयो । चुनाव लड्ने नेताहरूमा पनि प्रजातन्त्रप्रति विश्वास घट्दै जान थाल्यो । यसले गर्दा नेपालको राजनीति एक पछि अर्को विकृत हुँदै जान थाल्यो । अहिले त धेरैजसो नेताहरू नै राजनीतिबाट त्रसित बन्न थालेका छन् । अहिले पार्टी नेतालाई हेर्ने भयो वा नेताले पार्टीलाई आफ्नो अनुकूल बनाउन थाले । सत्तामा जोसुकै होस् उनीहरूका लागि राजनीति तातो पिँडालुजस्तो भएको छ । न खाउँ भने भोक लागेको छ, खाउँ भने तातो पिँडालुले पोल्छ । राजनीतिमा इमान्दारी भएन भने त्यसको प्रतिफल विकृत आउँछ । यसैगरी राजनीति विकृत बन्दै जाने हो भने देशै बिग्रने सम्भावना छ । अहिले राजनीतिक मैदानमा मुख्यगरी प्रचण्ड, केपी ओली र देउवा मुख्य खेलाडी छन् । अझै मौका छ, यी तीन नेताले बुद्धि पु¥याई राजनीतिलाई सही दिशामा डोहो¥याउन सक्नुपर्छ । अरु पार्टीलाई जनताले पत्याएका छैनन् । देश सप्रेमा वा बिग्रेमा यसको दायित्व नेपाली जनतामा होइन, यिनै नेताहरूमा जान्छ । नेपाली जनता धेरै ज्ञानी र धैर्यशील छन् । मिडियाको भूमिका महत्त्वपूर्ण राजनीतिलाई गलत बाटोमा जान नदिन मिडियाको पनि उत्तिकै भूमिका हुनुपर्छ तर यतिबेला नेपालको मिडिया अलमलमा परेकोजस्तो देखिन्छ । कतिपय मिडियाले त प्रतिगमनलाई पनि पछ्याएको देखिन्छ जुन सरासर गलत हो । प्रतिगमन कहिल्यै अग्रगमन हुन सक्दैन । वर्षौंवर्षदेखि स्वतन्त्र, स्वाधीन, स्वाभिमानी रहँदै आएको नेपाललाई आजको पुस्ताले उज्यालो बनाउनुपर्छ । यो पावन काममा नेपालको मिडियाले निःस्वार्थरूपमा निश्चित फलाकाङ्क्षी नभई सघाउनुपर्छ । संस्थाहरू उत्तरदायी हुनु भनेको यस्तो अप्ठ्यारोमा हो । सजिलो परिस्थितिमा त जो कोही पनि नजिक जान्छन्, असजिलोमा सहयोग गर्नु नै सिद्धान्तप्रति इमान्दारी हो, समर्पण हो । अन्त्यमा राजनीतिक प्रणालीलाई जनतासँग जोड्ने काममा राससले अग्रणी भूमिका खेल्न सक्नुपर्छ । राससलाई जनताले हाम्रो हुनुपर्छ भनेका छन् । सरकारबाट पनि विपक्षी नहुने र राजनीतिक पार्टीहरू पनि विपक्षी नहुने आम जनता कसरी आफ्नो हुन्छन् ? भन्ने कुरामा रासस सधैँ चनाखो हुनुपर्छ । राससले आफ्नो योगदान गर्ने भनेको सुविधा र सजिलो बेलामा नभई यस्तै असजिलो अवस्थामा आफ्नो परिचय दिनुपर्छ । राजनीतिक प्रणाली र नेताहरूप्रति अविश्वास बढ्न नदिन र जनतामा सकारात्मक सञ्चार गराउन राससले अभिमत निर्माण गर्न सक्नुपर्छ । रासस लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ)

भनसुनका आधारमा योजना छनोट अन्त्य भइसक्यो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले सरकारले व्यावहारिक हिसाबले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत संशोधित अनुमान पेश गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिँदै उनले कानूनबमोजिम नै मध्यावधि समीक्षा गरिएको र बजेट कार्यान्वयनलाई थप गति दिन खोजिएको बताए । भनसुनका आधारमा योजना छनोट गर्ने अवस्थाको नेपालमा अन्त्य भएको जानकारी दिदै उनले आयोजना आवश्यकताका आधारका हो वा होइन भन्ने स्पष्ट भएपछि मात्रै अगाडि बढाइने उल्लेख गरे । आयोजनाको छनोट, तयारी र कार्यान्वयनको प्राथमिकीकरण गरेर मात्रै अगाडि बढाइने उपप्रधानमन्त्रीको भनाइ छ । पर्याप्त अध्ययन गरेर मात्रै आयोजना अगाडि बढाउने क्रम सुरु भएको जानकारी दिँदै उनले भनसुनका आधारमा कुनै पनि परियोजना अगाडि नबढाइने बताए । सरकारको जोड आन्तरिक उत्पादन वृद्धि गर्नेतर्फ नै केन्द्रित रहेको स्पष्ट पार्दै आयातका आधारित राजस्व प्रणालीलाई उत्पादनमा आधारित बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरे । संरचनागत सुधारका लागि अर्थमन्त्रालयले प्रयास थालिसकेको उनको भनाइ थियो । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको तथ्य पेश गर्दै अर्थमन्त्रीले सञ्चित कोषमा देखिएको घाटा, राजस्व सङ्कलनमा देखिएको गिरावटलाई सरकारले मध्यनजर गरेर अगाडि बढेको उनको भनाइ छ । उपप्रधानमन्त्री पौडेलले चोरी पैठारीको नियन्त्रणका लागि सरकार क्रियाशील रहेको जानकारी दिए । सरकार रकमान्तर नगर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले विनियोजन एउटा परियोजनामा गर्ने, त्यसमा खर्च नगर्ने र अन्य आयोजनामा बजेट उपलब्ध गराउ भन्ने विषयमा आफैँमा मिल्दो विषय नभएको बताए । ऋणको ब्याजदरमा क्रमशः कटौती हुने विश्वाससमेत उनले व्यक्त गरे । कम्युनिष्ट सरकारलाई दाताले विश्वास गर्दैनन् भन्ने टिप्पणी आफैँमा मिल्दो नभएको भ्रमपूर्ण बुझाइ भएको उल्लेख गरे । सांसद प्रकाश पन्थ, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, युवराज शर्मा, कमला पन्त, इन्दु कडरिया, विमला घिमिरे, भैरवसुन्दर श्रेष्ठलगायतले अर्थमन्त्रीलाई चालु आवको बजेटको अर्धवार्षिक समीक्षाका सन्दर्भमा जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्री प्रचण्डको प्रश्न : परनिर्भर किन भयौं ? खोजी गर्नु पर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आधुनिकताको कुरा गर्दै परनिर्भर हुँदै किन गयौं भनेर खोजी गर्नुपर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘हामी पाँच दशक अघि खाद्यान्न निर्यात गथ्यौं, अर्बाै रुपैयाँ त्यहाँबाट लिन्थ्यौं, यतिका वर्ष अध्यान अनुसन्धान गरी आधुनिकताको कुरा गरेर पनि परनिर्भर किन हुँदा गयौं, त्यसको खोजी गर्नु छ, त्यसको निमित्त सोच बदल्नु पर्छ,’ उनले भने । दाहालले लघु, घरेलु तथा साना उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्ने पनि बताए । केही दशकअघि नेपालले कृषि उपज र खाद्य वस्तु निर्यात गर्ने गरेको बताउँदै प्रधानमन्त्री दाहालले नेपाली वस्तुको प्रयोगमार्फत नेपाली हुनुमा गर्व गर्नुपर्ने र कृषिमा आधारित उद्योगको लगानीमा बढावा दिनुपर्ने बताए । ‘सरकारको नीतिबाटै साना तथा घरेलु उद्योग प्रवर्द्धन र संरक्षण गर्न आवश्यक छ, त्यसका लागि छुट्टै ऐन चाहिएको छ । यस्ता उद्योगमा लगानी बढाउन सरकारले विशेष व्यवस्था गर्छ,’  उनले भने । लघु, घरेलु तथा साना उद्योगमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई सहज बनाउनका लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत पहल गरेको पनि दाहालले बताए । त्यस्तै यस्ता उद्योगमा प्रवाह भएको कर्जाको पुनर्संरचना र पुनरतालिकीकरणका लागि पनि राष्ट्र बैंकले कुनै ठोस निर्णय गर्नुपर्ने जानकारी दिए । अहिले मुलुक वित्तीय सङ्कटको अवस्थाबाट गुज्रिरहेकाले त्यसको निराकरण सरकारको पहिलो दायित्व हुने पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘तत्काल देखिएको वित्तीय सङ्कट हटाउनका लागि सरकार लागिपरेको छ, अर्थतन्त्र सुधार गर्नु सरकारको मुख्य कार्यभार हो र यो पटक हामीलाई असफल हुने छुट छैन,’ उनले भने । दाहालले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी नबनाई आर्थिक क्षेत्रको समस्यालाई समाधान गर्न सक्ने ठाउँमा जान नसक्ने पनि बताएका छन् ।

नक्सा पासबिनै सघन सहरी तथा भवन निर्माण आयोजनाले भवन निर्माण गर्दै

काठमाडौं । बागलुङ बजारमा ठूला घर तथा भवन निर्माण भइरहेका छन् । भवन निर्माण गर्दा भवनसंहिता अनुसार निर्माण गर्नुपर्छ । तर यहाँ निर्माण भइरहेका धेरै सरकारी तथा निजी भवनसंहिता विपरीत निर्माण भएको पाइएको छ । बागलुङमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय छ । यस कार्यालयको काम भवनसंहिता हेर्ने, गुणस्तर मापन गर्ने र निर्माणको अनुगमन गर्नु हो । तर, कार्यालयकै भवन नगरपालिकाबाट नक्शा पास नगराई ४ तला ठड्याइसकेको छ । भवन बनाउँदा पालिकालाई जनाकारीसमेत दिइएको छैन । तर, कार्यालय प्रमुख सुनिता श्रेष्ठले भने राष्ट्रिय भवन मापदण्ड अनुसारनै भवन निर्माण गरिरहेको जिकिर गर्छिन् । ‘हाम्रै इञ्जिनीयरले नाप जाँच गरेर भवन बनाउन थालेका हौँ, भवनको सबै डकुमेन्ट बनेको छ, सबै ठाउँबाट स्वीकृत भएको छ, यही कार्यालयले पनि अनुगमन गर्ने, मापदण्ड पालना गराउने गर्छ, भवन निर्माणसंहिता र आफ्नै मापदण्ड अनुसार बनाएको हुँदा नक्शा पास गरिएन, यसलाई इस्यु बनाउनुपर्ने आवश्यक छैन,’ उनले भने । श्रेष्ठ नक्शा पासको काम निर्माण कम्पनीले नगरेको दोष लगाउँछिन् । आफै नियम पालना गराउने ठाउँमा भएको व्यक्तिले अरुलाई दोष लगाउनु उचित नभएको स्थानीयवासी बताउँछन् । बागलुङ नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले भवन बनाउँदा जुनसुकै कार्यालयले पनि नगरपालिकाबाट नक्शा पास गर्नुपर्ने बताए । इञ्जिनीयर गिरीले सघन सहरी तथा भवन निर्माण कार्यालयले भवन बनाउँदा नगरपालिकालाई एकपटक पनि जानकारी नगराएको बताउँछन् । ‘सबै निकायले भवन बनाउँदा नगरपालिकाको अनुमति लिनुपर्ने हुन्छ, नगरपालिकाको विधि, नियम र मापदण्ड अनुसार गर्नुपर्छ, उहाँहरुले अरुलाई निर्देशन दिने ठाउँमा हुनुहुन्छ तर आफ्नै भवन बनाउँदा नियम मिचेको पाइयो,’ उनले भने । गिरीले कुनै पनि घर भवन बनाउँदा नक्शा पास गरेर मात्रै जग खन्नुपर्ने बताए । जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले पनि नक्शा पास नगरेको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले केही महिनादेखि नयाँ भवन बनाउँदै छ भने जिल्ला प्रशासन कार्यालय चार वर्ष अगाडि निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाले ५ तलाभन्दा माथिको भवन बनाउन नपाइने नियम बनाएको छ । तर, पछिल्लो समय नियम विपरीत तला थप्ने बढ्दै गएको इञ्जिनीयर गिरी बताउँछन् । बजार क्षेत्रमा अहिले करिब १ सय घर भवन मापदण्ड विपरीत रहेका छन् । उनीहरुलाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ । बागलुङ बजारमा चार हजार घरले नक्शा पास गराएका छन् ।

टर्कीका भुकम्प पीडितलाई महासंघले पठायो राहत सामग्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टर्कीमा गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामाग्री हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त राहत सामाग्री गृह मन्त्रालय तथा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो । महासंघले ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट लगायतका राहत सामाग्री पठाएको जनाएको छ । उक्त राहत सामाग्रीहरुमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले पनि सहयोग गरेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको बताएको छ ।

सुरु भयो नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव 

काठमाडौं । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको भृकुटीमण्डपमा आज बाट सुरू भएको छ । स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले उक्त महोत्सव सुरू भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघकाे आयोजनामा हुने उक्त महोत्सव फागुन २ देखि ६ गतेसम्म सञ्चालनमा हुने छ । कोरोना महामारीले विगत ३ वर्षदेखि स्थगित भएको सो औद्योगिक प्रदर्शनी मेला यस पटक १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना शुरु भएको हाे । अर्गानिक उत्पादनहरूको बारेमा आम नागरिकमा जानकारी दिँदै त्यस्ता उत्पादनको प्रवर्द्धन गरी अर्गानिक अभियानलाई टेवा पुर्याउने उत्पादक, अर्गानिक उत्पादनको बजार प्रवर्द्धन गर्ने र शुद्ध भोजन स्वास्थ्य जीवनको भन्ने जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको आयोजकनेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश लाल सिंहले जानकारी दिए । मेला सञ्चालन भएको केही दिनपछि नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्याउने, उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याई मूल्य अन्तरलाई न्यूनीकरण गर्दै सुपथ मूल्यमा अर्गानिक उत्पादनहरू उपलब्ध गराउने, अर्गानिक विषयहरूमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरिने पनि बताइएको छ । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । यस प्रदर्शनीमा २ सय वटा स्टल रहने छन् । महोत्सव सञ्चालन अवधिभर २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ । चार दिन सञ्चालन हुने उक्त मेलामा ७ करोड भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । नेपाल १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् ।

जनउत्थान सामुदायिक लघुवित्तको हालसम्मकै न्यून लाभांश घोषणा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हालको चुक्ता पूँजी १४ करोड ७९ लाख रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २६.३१५७ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ५२ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७३/७४ मा २१.०५/२१.०५ प्रतिशत र आर्थिक वर्ष २०७२/७३ मा २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

सोलुका पेट्रोल पम्पमा विद्युत् ब्याकअप नहुँदा सेवाग्राहीलाई सास्ती

सोलुखुम्बु । सोलुखुम्बुमा सञ्चालित पेट्रोल पम्पहरूमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा हाल दुईवटा पम्प सञ्चालनमा छन् । ती दुबैमा विद्युत् ब्याकअपको व्यवस्था नहुँदा सेवाग्राहीलाई असर परेको हो । सल्लेरीमा रहेको दूधकोसी आयल स्टोर्समा ब्याकअप नहुँदा विद्युत् अवरुद्ध हुने बित्तिकै इन्धन वितरण पनि ठप्प हुने गरेको छ भने सोलुदूधकुण्ड नगरपालिका–७ गार्मास्थित नमुना दूधकुण्ड आयल पम्पस्टोर्समा पनि यस्तै समस्या छ । जिल्लाको विद्युत् बारम्बर अवरुद्ध भइरहने र पम्पले विद्युत्कै कारण देखाउँदै लामो समय कुराउँदा अति आवश्यक काम गर्न समेत समस्या हुँदै आएको चालक रमेश कार्कीले गुनासो गरे । जिल्लामा सञ्चालित पम्पहरुमा ब्याकअपको समेत व्यवस्था नहुनु लजास्पद विषय भएको अर्का चालक मिङमार शेर्पाको भनाइ थियो । सोमबार केही समय विद्युत् अवरुद्ध हुँदा धेरै चालकहरु इन्धन भर्नकै लागि लामो समय पम्पमा कुर्न बाध्य थिए । सोही समस्या बारम्बर दोहोरिरहने गरेको अर्का चालक शम्भु विश्वकर्माले बताए । कतिपय अवस्थामा बिरामी बोकेको एम्बुलेन्सले समेत इमरजेन्सीमा इन्धन भर्न जानुपर्ने भएकाले सो अवस्थामा समस्या हुने एम्बुलेन्स चालकहरुको गुनसो थियो । हाल ती पम्पहरूले विद्युत् हुँदा मात्रै सेवा दिइरहेका छन् । उनीहरुले विद्युत् नहुँदा सेवाग्राहीलाई कुराउने वा रित्तो हात फर्काउने गरेको गनासो बढेपछी आफ्नो ध्यानार्कषण भएको र यस विषयमा थप छलफल गरेर अघि बढ्ने प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले प्रतिक्रिया दिए । रासस