प्रधानमन्त्री दाहालले विजेता खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ। देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ, आगामी दिनमा समेत तपाईहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु।’ ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ’ प्रधानमन्त्रीले भने, ‘यसअघि पनि सरकारले तपाईहरूलाई जनही दुई लाख राशीले पुरस्कृत गरिसकिएको छ। आज म तपाईहरूलाई जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु।’ ‘कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लटलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषदलाई निर्देशित गर्दछु’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवन लगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’ रासस
१७ परिवार मिलेर सञ्चालनमा आएको सिन्धुलीको होमस्टे : जहाँ फर्कीफर्की जान्छन् पर्यटक
सिन्धुली । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका(२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ । विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड-१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए । जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । ‘होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ,’ अध्यक्ष थापामगरले भने, ‘एकपटक आएका पाहुना पटक-पटक आउनुहुन्छ ।’ होमस्टेमाथिको सेल्फी डाँडालाई व्यापारिक केन्द्र बनाइएको छ । होमस्टेअन्तर्गतको कार्यक्रम अनुरुप १७ परिवारले जिल्लामा पाइने स्थानीय कृषिजन्य उत्पादन बिक्री गर्छन् । जुनार, जुनारको जुस, सुन्तलतासहित मौसमी फलफूल, तरकारी, चिया, कफी, खाजाका विभिन्न परिकार यहाँ पाइन्छ । टाढाको यात्राबाट थाकेर आएका यात्रु होमस्टेमा बस्न पाएनन् भने यही स्थानमा एकछिन रोकिएर जुनार जुस पिउँछन्, खाजा खान्छन्, केहीबेर यात्राको थकान मेट्छन् र पोजपोजका तस्बिर खिचेर पुनः यात्रा तय गर्दछन् । पर्यटक होमस्टेमै आएर बस्छन् । एकपटकमा ५० जनासम्म अटाउने क्षमता छ । पर्यटककोे चाहनाअनुसार बेलुकाको खानापछि यहाँ विशेषगरी मगर जातिको मौलिक नाच हेर्न पाइन्छ । होमस्टेले पर्यटकलाई सस्तो, सुलभ र पारिवारिक वातावरणले सहजतामात्रै थपिदिएको छैन । स्थानीयलाई रोजगारी पनि दिएको छ । स्थानीय उत्तमकुमारी आलेमगर अरु व्यवसायभन्दा होमस्टेमा फाइदा देख्छिन् । होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम तथा अन्य जिल्लाका होमस्टेको अवलोकन भ्रमण गरेकी उनी ढुङ्ग्रेभज्याङवासीको भविष्य होमस्टे व्यवसायले राम्रो बनाउनेमा विश्वस्त छिन् । ढुङ्ग्रेभज्याङको विकासमा विपी राजमार्ग वरदान सावित भएको छ । तीस वर्षअघिसम्म नुनदेखि सुनसम्म किन्न सिन्धुलीमाढी बजार पुग्नुको विकल्प थिएन । ‘राजमार्ग निर्माण अगाडि बढेपछि अन्यत्र ठाउँबाट आएका व्यक्तिले यहाँ किराना पसल चलाएका थिए । लगानी गरेर व्यापार, व्यवसाय गर्ने क्षमता भइनसकेका केही पुरुष वैदेशिक रोजगारीमा हानिए, कोही निर्वाहमुखी खेतीमा खटिए । गृहस्थी महिला घर धानेर बसे,’ आलेमगरले भने । राजमार्गमा सवारीसाधनको चाप बढ्न थालेसँगै घर-घरमा पानी, बत्तीको सुविधा थपियो । ठाउँको विकास भएसँगै स्थानीयमा चेतनाको स्तर बढ्यो । आफूले खाएर बचेको स्थानीय कृषिजन्य उत्पादन राजमार्ग छेउमा बसेर बेच्न थालेका छन् । तीन वर्षअघि मात्रै पर्यटकीय सम्भावना बोकेको यस बस्तीमा सामूहिक होमस्टे सञ्चालन गरिएको हो । यसका लागि कमलामाई नगरपालिका, कन्दमूल विकास केन्द्र, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, सिड्स नेपाल, श्री सिन्धुलीलगायत सङ्घसंस्थाको साथ र सहयोग रहेको उनले बताए । “सबै परिवार मिलेर सामूहिक होमस्टे सञ्चालनमा ल्याएका हौं”, आलेमगरले भने, ‘लगानी गर्नु नपर्ने, आफ्नो गाउँठाउँमा उत्पादन भएको सागसब्जी, फलफूल, लोक कुखुरालगायतका अन्य परिकार, जो परिवारको लागि दैनिक बनाइन्छ । होमस्टेमा आउने अतिथि यसैमा रमाउँछन् । काम खोज्दै भौँतारिनु नपर्ने, अरु व्यापार, व्यवसायभन्दा सजिलो, हरेक दृष्टिकोणले फाइदा र सुरक्षित यसैमा भएकाले हामी उत्साहित छौँ ।’ होमस्टे सञ्चालन तथा व्यवस्थापनसम्बन्धी तालिम लिएको र विभिन्न जिल्लामा रहेका होमस्टे भ्रमण गरेको उनलाई आफ्नो ठाउँमा पनि होमस्टेले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुग्ने, स्थानीयको जीवनस्तर उकासिने र दैनिक जीवनयापनमा परिर्वतन देखिन थालेको देख्दा खुसी लाग्छ । विमला थापामगरले २७ अतिथिको सेवा गरेर ३३ हजार सात सय रुपैयाँ आम्दानी भएको सुनाए । चुलोचौकामै सीमित रहेकी उनी होमस्टेमा सक्रिय भएर लागेपछि घरपरिवारको खर्च आफ्नै कमाइले धान्नसक्ने भएकी छिन् । चन्द्रकुमारी जर्गामगरलाई पहिलोपटक अतिथि आउँदा अत्यास लागेको थियो । तर अहिले उनमा धेरै परिर्वतन आएको छ । तालिम र अभ्यासले उनलाई साहसी बनाएको छ । घरदेखि टोलसम्म सरसफाइदेखि अतिथि सत्कार, थरिथरिका परिकार बनाउन सिकाएको छ । छ कठ्ठा पाखो बारीमा कोदो, फापर, दलहनको खेती, बाख्रा, कुखुरापालनदेखि जुठेल्नोमा सागसब्जी लगाउन जर्गामगर आफैले भ्याइरहेकी छिन् । ‘यहाँको उत्पादन बिक्री गर्न कतै धाइरहनु पर्दैन । स्थानीयले सजिलै आम्दानी लिन सकिरहेका छन्,’ उनले भनिन् । होमस्टेमा चार दिन बसेर फर्किएकी भक्तपुरकी सुभेच्छा भट्टराई यहाँको वातावरण, गाउँलेको व्यवहार र प्राकृतिक सुन्दरताले लोभ्याइरहने बताउँछिन् । स्याङजाको सिरुबारीबाट २०५४ सालमा सुरु भएको होमस्टे व्यवसाय हाल देशभरी फैलिएको छ । होमस्टे महासङ्घ बागमती प्रदेशका अध्यक्ष गोविन्दप्रसाद हुमागाईँका अनुसार हालसम्म सिन्धुलीसहित ६८ जिल्लामा होमस्टे सञ्चालनमा छन् । एक हजार पाँच सय होमस्टे संस्थागतरुपमा दर्ता छन् । देशभर २२ हजार घरमा होमस्टे सञ्चालनमा रहेको उनी बताउँछिन् । बागमती प्रदेशमा मात्रै एक सय २५ होमस्टे संस्थागतरूपमा दर्ता छन् । यसमध्ये ७५ होमस्टे सामुदायिक र अन्य निजीरूपमा चलेको तथ्याङ्क छ । रासस
ग्याँस उद्योगमा मर्ज आरम्भ, मेट्रो काठमाडौं र एसटीसी ग्याँस मर्ज हुने
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरु धमाधम मर्जर भइरहँदा ग्याँस उद्योगहरु पनि मर्जरका लागि अग्रसर भएका छन् । ग्याँस उद्योगहरुको संख्या धेरै भएपछि मर्जरका बाटो अपनाएर संख्या कम गर्ने भएका हुन् । साथै पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचकहरु संकुचन भएका बेला व्यापार व्यवसाय ठप्प हुन थालेपछि ग्याँस उद्योगहरु पनि मर्ज हुन थालेका हुन् । ग्याँस उद्योगमा मेट्रो काठमाडौं ग्याँस इण्डष्ट्रिज लिमिटेड र एस.टी.सी. ग्याँस उद्योग लिमिटेडले मर्जरको थालनी गर्ने भएका हुन् । यी दुई ग्याँस उद्योग एक आपसमा मर्ज हुने भएका हुन् । एस.टी.सी. ग्याँस उद्योगसँगको मर्जर प्रस्ताव पारित गर्न काठमाडौं मेट्रो ग्याँस इण्डष्ट्रिजले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा चैत २४ गते बिहान ११ बजे साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको हलमा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले मर्जरसम्बन्धी सम्पूर्ण काम पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
नेप्सेमा एक लघुवित्तको २० प्रतिशत सहित ३ कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ । स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ५० रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बिहीबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार २६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, प्रडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ४००.६८ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४१४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ४०८.७६ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ४२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट, ८ हजार ९५ जनालाई १० कित्ता
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । लघुवित्तको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँट गरिने बिक्री प्रबन्धक मेगा क्यापिटलले जानकारी दिएको छ । लघुवित्तले फागुन १८ गते फागुन २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी, ४ हजार ८५० कित्ता सामूहिक लगानी कोष र ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३२ हजार ९७३ जना आवेदकले १ करोड ६७ लाख ६५ हजार कित्ताका लागि १ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा २ सय गुणा बढी आवेदन परेको हो । लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ८ हजार ९५ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुने देखिन्छ ।
रिपोको ब्याजदर फेरि न्यून विन्दुमा
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपछि नेपाल राष्ट्र बैंकले बजारमा पैसा पठाउने मौद्रिक औजार रिपोको ब्याजदर पनि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार जारी गरेको १४ दिन अवधिको १५ अर्ब रुपैयाँ बराबरको रिपोमा औसत ७.७९ प्रतिशत ब्याजदर कायम भएको छ । यो चालू आर्थिक वर्ष (आव) कै दोस्रो न्यून ब्याजदर हो । यो वर्ष राष्ट्र बैंकले १३ पटक रिपो जारी गरी २ खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ बजारमा पठाएको छ । यसमा सबैभन्दा बढी पुस १५ गतेको रिपोमा औसत ८.५७ प्रतिशत ब्याजदर कायम भएको थियो । उक्त रिपोमा बैंकहरूले अधिकतम १०.१० प्रतिशतसम्म ब्याज बोलकबोल गरेका थिए । माघ ५ गते रिपोको ब्याजदर ७.५८ प्रतिशतसम्म ओर्लिएको थियो । बिहीवारको रिपोका लागि बैंकहरूले गरेको बोलकबोलमा अधिकतम ब्याजदर पनि ८.५० प्रतिशत मात्र छ । बिहीवार १६ ओटा बैंक, वित्तीय संस्थाले ६४ ओटामात्र बोलकबोल पेश गरेका छन् । चालू आवको मौद्रिक नीतिमा अन्तरबैंक ब्याजदर बैंकदरभन्दा २ प्रतिशत विन्दुले तलमाथि हुँदा रिपोररिभर्स रिपो जारी गर्नुपर्ने उल्लेख छ । बुधवार बजारमा अन्तरबैंक ब्याजदर ७.०१ प्रतिशत रहे पनि केन्द्रीय बैंकले रिपो जारी गरेर बजारमा पैसा पठाएको हो । राष्ट्र बैंकले यसअघि फागुन १८ गते १४ दिनको रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गरेको थियो । उक्त रिपो परिपक्व भएकै दिन १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो । प्रणालीमा साधारण तरलता अभावको अवस्थामा पनि मौद्रिक व्यवस्थापन विभागले रिपोररिभर्स रिपो जारी गर्न सक्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
नेप्सेमा २ कम्पनीको बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर सूचिकृत नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत बोनस वापतको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद गरी कूल ८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सहकारीमा बेथिति, करोडौँ रकम जोखिममा
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सञ्चालित केही सहकारी संस्थाहरू बेथितिका कारण संकटमा परेका छन्। विशेषगरी काठमाडौं केन्द्रीय कार्यालय भई मुलुकका विभिन्न सहरमा शाखा खोलेर कारोबार गर्दै आएका सहकारीमा बेथिति बढी छ । बेथितिका कारण सहकारी आर्थिक संकटमा परेसँगै बचतकर्ताको रकम पनि जोखिममा परेको छ । रकम डुब्ने भयले बचतकर्ता चिन्तित बनेका छन् । काठमाडौँमा मुख्य कार्यालय भई बुटवलमा शाखा सञ्चालन खोलेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ । बुटवल उपमहानगरपालिका-१० योगीकुटीमा शिवशिखर सहकारीको शाखा कार्यालय छ । शिवशिखरले ग्राहक आकर्षित गर्न योगीकुटीमै सपिङ सेन्टरसमेत सञ्चालन गरेको थियो । तर उसले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालयसँगै गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स पनि बन्द गरेको हो । कार्यालय नै बन्द गरेर सञ्चालक, व्यवस्थापक सम्पर्कविहीन बनेपछि बचतकर्ता आत्तिएका छन् । बुटवलकी लक्ष्मी श्रेष्ठले शिवशिखरमा जम्मा गरेको १ लाख ३६ हजार रूपैयाँ डुब्ने चिन्ताले निदाउन नसकेको बताइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।