एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै
काठमाडौं । एभरेष्ट बैंकले गैह्र बैंकिङ्ग सम्पत्ति लिलामीमा बिक्री गर्ने भएको छ । बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र ४७८ को क्रमशः ०–०–७–० र ०–०–७–० (११८.५२ र ११८.५२ वर्गमिटर) क्षेत्रफल भएको जग्गा र सो जग्गामा निर्मित १४७४.६८ वर्गफिट क्षेत्रफल भएको २ तले घर कम्पाउण्ड सहित बिक्री गर्ने भएको हो । बैंकले उक्त सम्पत्ति जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्नेछ । बैंकको उक्त सम्पत्ति खरिद गर्न इच्छुकले १५ दिन अर्थात् चैत २० गतेभित्र धुलाबारी शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । शिलबन्दी बोलपत्र चैत २१ गते मंगलबारका दिन दिनको साढे ३ बजे बैंकको धुलाबारी शाखामा खोलिनेछ । बिक्री गरिन लागेको घरजग्गा सम्बन्धी कागजातहरु, घरजग्गा हेर्न र बुझ्न तथा अन्य जानकारी चाहिएमा बैंकको शाखा कार्यालय धुलाबारीमा कार्यालय समयभित्र सम्पर्क राख्न बैंकले आग्रह गरेको छ ।
आजको मौसम : मेघगर्जन, चट्याङसहित वर्षा
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू-भागका थोरै स्थानमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धनगढीमा ३१ मिलीमिटर वर्षा भएको छ । काठमाडौंमा १७, वीरेन्द्रनगरमा १७, ओखलढुङ्गामा ११, घोराहीमा १० र लुम्लेमा २२ मिलीमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ । रासस
सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने ऋणीको कानुनी दायित्व भएको बताएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै कर्जा लिँदाका बखत तोकिएका सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व रहेको बताएको हो । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिको कर्जा तोकिएको समयमा असुल नभएमा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरू गर्दा भाखा नाघेको कम्तीमा ६ महिना भई उक्त कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाबाट उपर्युक्त व्यवस्थाको पालना नभएमा ऋण लिएको संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । उक्त संस्थाबाट गुनासो सुनुवाइ नभएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिनेछ । ‘कर्जा लिँदाका बखत तोकिएका सर्तबमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो, बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एक वर्षभन्दा बढी अवधिको कर्जा तोकिएको समयमा असुल नभएमा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरू गर्दा भाखा नाघेको कम्तीमा ६ महिना भई उक्त कर्जा शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
काठमाडौंमा भाडावालले कोठाको भाडा नदिएरै भाग्न थाले
काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित आउने गरेको जनाएको छ । छिमेकीले खानेपानी ल्याउन असहयोग गरेको, सडक मिचेर घर निर्माण, फोहर व्यवस्थापन नगरेको जस्ता समस्या थोरैको सङ्ख्यामा आउने गरेको भए पनि ७५ प्रतिशत उजुरी घर बहालसँग सम्बन्धित अर्थात घर खाली गराइदिन अनुरोध गर्दै आउने गरेको कामपा उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार कामपामा आउने उजुरीमध्ये हरेक दिन कोठा खाली गरिदिनुपर्यो भन्दै आउने उजुरी बढी छ । पछिल्लो समय सहकारी सञ्चालकहरूले कार्यालय नै बन्द गरी घरभेटीसँग सम्पर्कविहीन भएका उजुरी पनि अत्यधिक बढिरहेको छ । यसरी आउने उजुरीमा व्यक्तिगत प्रयोजनका लागि भाडामा दिएका र संस्थागतरूपमा नै भाडामा दिएका दुवै किसिमका उजुरी उत्तिनै छन् । भाडामा बस्ने सम्पर्कमा नआउने अधिकरूपमा यस्ता किसिमका उजुरी पर्ने गरेका छन् । संस्थागत होस् या व्यक्तिगत दुवै किसिमले भाडामा लगाउनेहरूले लिखित सम्झौता नगर्ने हुँदा यस्ता किसिमको समस्या बढी आउने गरेको कामपाको ठहर छ । यस किसिमको समस्या समाधानका लागि कामपाले पछिल्लो समय निर्देशिका नै जारी गरेर घरधनी र भाडामा बस्नेबीच लिखितरूपमा नै सम्झौता गरी उक्त सम्झौता सम्बन्धित वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने जनाएको छ । त्यसका लागि यसअघि भाडामा लगाउँदै आएकाहरूले पनि लिखितरूपमा पुनः सम्झौता गरी वडा कार्यालयमा दिनुपर्ने छ र नयाँले पनि गर्नुपर्ने छ । कामपाले अत्यधिकरूपमा बहालसम्बन्धी उजुरी बढेको र कर असुल गर्नसमेत समस्या भएको भन्दै गत फागुन ३ गते ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार अबै घरधनीले घरभाडामा दिँदा अनिवार्यरूपमा सम्झौता गरी वडा कार्यालयमा लिखितरूपमा जानकारी दिनुपर्ने छ । सम्झौता गरेको पत्र वडा कार्यालयमा दिनका लागि कामपाले निर्देशिका जारीसँगै एक महिनाअघि ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ मा के छ ? कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कशप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । घरबहालमा लगाउँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र त्यसको एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा, एकप्रति घरघनीले र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने व्यवस्था छ । सम्झौतामा घरबहालमा दिँदा गरिने सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख गर्नुपर्नेछ । मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरेर बहाल रकम बुझाउने समय वडा कार्यालयमा बुझाउनुपर्ने छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी, बहालमा बस्नेले घर छोड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्नेछ भने त्यसको जानकारी वडा कार्यालयमा गराउनुपर्ने छ । भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि बहाल नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउनुपर्ने व्यवस्था छ । पछिल्लो समय कामपाले निर्देशिका जारी गर्दै सम्बन्धित वडामा घर भाडामा लगाउने घरधनीले भाडामा बस्नेको विवरणसहित आउनुपर्ने जनाए पनि सोअनुरूप आउनेको सङ्ख्या थोरै रहेको जनाएको छ । कामपाले बहाल करका लागि चालु आर्थिक वर्षमा २ अर्ब उठाउने लक्ष्य निर्धारण गरेकमा हालसम्मको अवधिमा १ अर्ब ४८ करोड १३ लाख असुल गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिए । न्यायिक समिति सम्मेलन तयारीमा कामपा न्यायिक समितिमा आउने गरेका विषय र त्यसको समाधानका उपायका विषयमा छलफल गर्ने उद्देश्यले कामपाले यही चैत १५ र १६ गते काठमाडौँमा राष्ट्रिय न्यायिक समिति सम्मेलन गर्ने तयारी गरेको छ । उक्त सम्मेलनमा सहभागिताका लागि कामपाले सात सय ५२ वटै स्थानीय तहलाई निमन्त्रणा पत्र पठाइसकेको छ । ‘सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा पत्र पठाएका छौँ, पत्रमा सबै पालिकाबाट संयोजक वा सदस्यमध्येबाट सहभागिता जनाउन अपिल गरिएको छ,’ उपप्रमुख डङ्गोलले भनिन् । स्थानीय सरकारमा अहिले प्रयोगमा आएको न्यायिक प्रणालीलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ, यसका चुनौतीहरु के–के छन् भन्ने विषयसहित मुख्यगरी चार विषयमा छलफल केन्द्रित रहने छ । सम्मेलनमा मुलुकभरिका पालिका र सम्बन्धित व्यक्तिहरूसहित एक हजारको हाराहारीको सहभागिता रहने अपेक्षा गरिएको डङ्गोलले जानकारी दिइन् । म्मेलनको तयारीका लागि महानगर उपप्रमुख डङ्गोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भइसकेको छ । सम्मेलनले काठमाडौँ विवाद निरुपण घोषणापत्र, २०७९ जारी गर्दै सम्मेलन समापन गर्ने तयारी छ । न्यायिक समितिसँगै सम्बन्धित भएर न्यायिक समितिका बारेमा जनचेतना फैलाउने उद्देश्यले कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहयोगमा डकुमेन्ट्रीसमेत तयार गर्दै गरेको पनि कामपाले जानकारी दिएको छ ।रासस
बैंकका शाखा प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन
काठमाडौं । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् । प्रबन्धक खतिवडाले सापटी भनेर १० लाख रुपैयाँ लिएकोमा ५ लाख रुपैयाँ फिर्ता गरेर बाँकी ५ लाख रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए । ‘प्रबन्धक खतिवडा मेरै स्कुले साथी हुनुहुन्छ, धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो, पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो, सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ,’ उनले भने । प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट १६ लाख रुपैयाँसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् । प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए । ‘प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्नुहुन्थ्यो । मेरो ओडी खाता हेरेर ३ लाख सापटी मागेपछि दिएँ, ४÷५ दिनपछि फेरि बैंकमा बोलाउनुभयो,’ उनले भने, ‘फेरि मेरै नाममा काटेको ३ लाखको चेक लैजानुभयो, नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु ? सबै लोनको काम गर्दिरहेको छ, त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ, अहिले आएर फसेँ ।’ प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताए । उनले चिनजानका व्यक्तिबाट १ करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् । प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठको २ लाख ८७ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताए । ‘प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो । बैंकका प्रबन्धकले भनेपछि दिनैपर्यो, उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ, बैंककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो, अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ,’ उनले भने । प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ । यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।
मन्त्रिपरिषद्को निर्णय : करिब ६ अर्ब ५७ करोड बराबरको अनुदान स्वीकार
काठमाडौं । सरकारले विद्यालय शिक्षा क्षेत्र कार्यक्रमका लागि युरोपियन युनियनबाट प्राप्त हुने ५० मिलियन युरो (करिब ६ अर्ब ५७ करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषकलाई उपलब्ध गराइँदै आएको रासायनिक मलमा अनुुदानको दरमा कटौती गर्ने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र बङ्गलादेशबीच ‘सियरिङ अफ सिरयल टाइम हाइड्रो मेट्रोपोलिटिकल डेटा एन्ड’को समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने र विद्युत् नियमन आयोगका सदस्य रामेश्वरप्रसाद कलवारले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । त्यसैगरी, सरकारले नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको बढुवा गर्ने र प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाई राहत उपलब्ध गराउने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई जयपृथ्वी नगरपालिका–१ को करिब दुई सय ८३ रोपनी सरकारी जग्गा लिजमा उपलब्ध गराउने र नेपाल वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनबहादुर खड्कालाई नियुक्त गर्ने सरकारको निर्णय छ । सरकारले दूरसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र स्वीकृत गर्ने र नेपाली सेनाको एफटिडिको चौथो बैठक नेपालमा सञ्चालन गर्न स्वीकृत दिने भएको छ ।
सेबोनका २० वटा टिप्स : लगानी गर्दा यी कुरामा ध्यान दिनुहोस्
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दोस्रो बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने टिप्सहरु सार्वजनिक गरेको छ । विश्व वित्तिय सप्ताहका अवसरमा सेबोनले लगानीकर्ताहरुका लागि विभिन्न २० वटा टिप्सहरु सार्वजनिक गरेको हो । सेबोनले नयाँ लगानीकर्तादेखि कारोबार गरिरहेका लगानीकर्ताहरुलाई बजारमा कारोबार गर्दा वा लगानी गर्दा अपनाउनु पर्ने सजगताका बारेमा जानकारी गराएको हो । पूँजी बजारमा आर्थिक तथा राजनीतिक प्रभाव, ब्याजदर, तरलता लगायतका सूचकहरुले प्रभाव पार्ने भएकाले लगानी गर्दा सजग हुन आग्रह गरेको हो । विश्व वित्तिय सप्ताह मार्र्च २० देखि मार्च २६ सम्म विभिन्न कार्यक्रमहरु गरि मनाइन्छ । विश्व वित्तीय सप्ताहको अवसरमा धितोपत्र बजारमा लगानी गर्ने युवा तथा सर्वसाधारण लगानीकर्ताका लागि बोर्डको मुख्य सन्देश जारी गरेको हो । लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु : धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् । धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् । धितोपत्र बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको दश प्रतिशत सेयर विदेशमा रोजगारी गरिरहेको नेपालीका लागि छुटयाई बाँडफाँट गर्नुपर्ने व्यवस्था २०७९ मंसिर १७ देखि लागू भई कार्यान्वयमा आईसकेको सन्र्दभमा श्रम स्वीकृति लिई विदेशमा काम गरिरहेका नेपालीहरूले आस्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण बचत खाता खोली सिआरएन नं लिई गरिएको व्यवस्थाको परिपालना गरी सेयरमा आवेदन गर्नुहोस । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यवस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रवृत्ति, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग र क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् । धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् । धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् । धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । दीर्घकालीन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस । धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा अपेक्षित प्रतिफल दर निर्धारण गरेर गर्नुहोस । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् । धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तै: फेसबुक, क्लब हाउस, युटयूब तथा टिकटक आदि) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस् । नयाँ नयाँ प्रविधि प्रयोग गरी हुने कारोबार सम्बन्धमा सचेत रहनुहोस् । धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको जानकारी लिनुहोस् । आफुले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर ९जस्तै संस्थापक सेयर साधारण सेयर अग्राधिकार सेयर र त्यसको विशेषता फाइदा वा वेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् । नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यवस्था भएको हुंदा सो बारे जानकारी राख्नुहोस् । धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् । धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् । धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी सिडिएससी, नेप्से या बोर्डमा सम्पर्क राख्नुहोस् । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।
सूर्याेदय वोमी लघुवित्तको सेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक सेयरधनी निलम कुमार जि.टी.को ३ हजार कित्ता र प्रकाश थापा मगरको नाममा रहेको ४ हजार गरी कूल ७ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको उक्त सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त समय अवधिमा आवेदन नपरेमा अन्य जोकाहीलाई बिक्री गरिने लघुवित्तले जनाएको छ । लघुवित्तको कर्पाेरेट कार्यालय महालक्ष्मी ४ ललितपुरमा पुग्नेगी आफूले खरिद गर्ने सेयर कित्ता संख्या उल्लेख गरी निवेदन दिनुपर्नेछ । लघुवित्तको संस्थापक सेयरको मूलय दोस्रो बजारमा प्रतिकित्ता ४४७.७० रुपैयाँ रहेको छ । तर, लघुवित्तले बिक्रीमा राखेको सेयरको मूल्य तोेकेको छैन ।