बैंकका शाखा प्रबन्धक ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन

<p>काठमाडौं । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् । प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन भएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ घर भएका प्रभु बैंकका प्रबन्धक खतिवडा चिनजानका साथीभाइसँग लाखौँ पैसा सापटी लिएर फागुन १ गतेदेखि सम्पर्कविहीन भएका हुन् ।

प्रबन्धक खतिवडाले दर्जनौँ व्यक्तिको पैसा सापटी लिएको खुलेको छ । खतिवडा सम्पर्कविहीन भएपछि उनलाई पैसा सापटी दिने व्यक्तिहरू फसेको भन्दै अत्तालिन थालेका छन् । गत माघ मसान्तसम्म बैंकको शाखा कार्यालय दिक्तेलको सम्पर्कमा रहेका खतिवडा अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

प्रबन्धक खतिवडाले सापटी भनेर १० लाख रुपैयाँ लिएकोमा ५ लाख रुपैयाँ फिर्ता गरेर बाँकी ५ लाख रुपैयाँ फिर्ता नगरी सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका काँशिराज बस्नेतले बताए ।

‘प्रबन्धक खतिवडा मेरै स्कुले साथी हुनुहुन्छ, धेरै पटक उहाँले हामीसँग व्यवहार गर्नुभएको थियो, पछिल्लो समय पैसा फिर्ता नगरी एकाएक उहाँ सम्पर्कविहीन हुनुभयो, सँगै पढेको साथीले यस्तो गरेपछि दुःख लागेको छ,’ उनले भने ।

प्रबन्धक खतिवडाले एउटै व्यक्तिबाट १६ लाख रुपैयाँसम्म सापटी पैसा लिएको खुलासा भएको छ । खतिवडाले कतिपयलाई चेक दिएर पैसा सापटी लिएको पाइएको छ । उनले खातामा पैसा भएको ग्राहकलाई छानेर बैंकमै बोलाएर तथा नजिक घर भएका व्यक्तिलाई घरमै गएर पैसा सापटी माग्ने गरेको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले केही दिनमा फिर्ता गर्ने गरी भतिजोलाई अष्ट्रेलिया पठाउन तयार पारेको पैसा सापटी लिएर सम्पर्कविहीन भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–सोल्माका गङ्गाबहादुर विश्वकर्माले बताए ।

‘प्रबन्धक खतिवडाले खातावालाकै नाममा चेक काट्न लगाएर बैंकबाट पैसा झिक्नुहुन्थ्यो । मेरो ओडी खाता हेरेर ३ लाख सापटी मागेपछि दिएँ, ४÷५ दिनपछि फेरि बैंकमा बोलाउनुभयो,’ उनले भने, ‘फेरि मेरै नाममा काटेको ३ लाखको चेक लैजानुभयो, नदिउँ भने बैंकको हाकिम, कसरी नदिनु ? सबै लोनको काम गर्दिरहेको छ, त्यो विश्वासले गर्दा आफ्नै नाममा चेक काटेर दिएँ, अहिले आएर फसेँ ।’

प्रबन्धक खतिवडा सम्पर्कविहीन भएपछि कोठा, घर र प्रभु बैंकको प्रदेश कार्यालय, विराटनगरसम्म पुगेर कुरा राखेको विश्वकर्मा बताए । उनले चिनजानका व्यक्तिबाट १ करोडभन्दा बढीको हाराहारीमा पैसा सापटी लिएको अनुमान गरिएको पीडितहरुले बताएका छन् ।

प्रबन्धक खतिवडाले सोही बैंकको कार्यालय रहेको घरका घरधनी इन्द्रकुमार श्रेष्ठ र उनका छोरा उद्धव श्रेष्ठको २ लाख ८७ हजार रुपैयाँ सापटी लिएर फिर्ता नगरेको इन्द्रकुमारका जेठा छोरा ध्रुव श्रेष्ठले बताए ।

‘प्रबन्धक खतिवडाले हाम्रो परिवारबाट त्यसअघि पनि पटक–पटक सापटी पैसा चलाउनुहुन्थ्यो । बैंकका प्रबन्धकले भनेपछि दिनैपर्यो, उहाँ आफ्नै जिल्लाका स्थानीय बासिन्दा पनि हुनुहुन्छ, बैंककै प्रबन्धकले यस्तो गर्नुहुन्छ भन्ने लाग्दैनथ्यो, अहिले धेरैको पैसा चलाएर फिर्ता नगरी सम्पर्कविहीन भएको सुन्नमा आएको छ,’ उनले भने ।

प्रबन्धक खतिवडाले व्यापारीदेखि आफ्नै सहकर्मी तथा आफन्तसँग पनि पैसा सापटी लिएको बताइएको छ । प्रबन्धक खतिवडालाई सम्पर्क गर्दा उनको मोबाइल नम्बर अफ छ । उनले बैंकको रकम भने छोएका छैनन् । शाखा प्रबन्धक खतिवडा सम्पर्कविहीन भएको केही समयपछि प्रभु बैंकले सो स्थानमा दीपक खत्रीलाई पठाएको छ ।

यद्यपि, खतिवडा सम्पर्कविहीन भएको विषयमा प्रभु बैंकको आधिकारिक धारणा आएको छैन । प्रबन्धक खतिवडाबाट पीडित भएका स्थानीय बासिन्दाहरु सापटी पैसा फिर्ताका लागि प्रहरीलाई गुहार्न लागि परेका छन् । पैसा सापटी लिएको विषयमा पीडितको उजुरी वा कुनै गुनासो नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताए ।

Share News