विकासन्युज

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

काठमाडौं । कुमारी बैंकले नेसनल प्याथ ल्याबसँग सम्झौता गरेको छ । बैंकले आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्थासहित ल्याबसँग सम्झौता गरेको हो। उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा इन(हाउस परीक्षणमा २० प्रतिशत र आउटसोर्स १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।  

लैनचौरदेखि त्रिभुवन विमानस्थलसम्मको सडक मर्मत मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं ।  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यकाभित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर सडकहरूको स्तरउन्नती गर्न निर्देशन दिएका हुन् । सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भने, ‘विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुप¥यो ।’ उनले काठमाडौं उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिएका हुन् । उनले भने, ‘जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन ।सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।’ सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनको जोड थियो । नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भने, ‘नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच सम्झादारी गर्नुहोस् ।’ उनले बनिसकेका ठाँउमा यथावत समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनपर्ने बताए । सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधँैजसो दोहोरीने समस्या हल गर्नका लागि ‘युटीलिटि करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए । उनले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिए । बैठकमा सडकसँग सम्बन्धित विभिन्न आठ निकायका प्रतिनिधिको सहभागिता थियो । बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो । सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरअवस्थाले सर्वसाधारणलाई सास्ती पु¥याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले भने, ‘समयमा सडक मर्मत नहुँदा राष्ट्रिय बेइज्जत भइसक्यो । सबै निकायले समन्वय बढाउन आवश्यक छ । दोषारोपण र दोहोरोपनमा समय खर्चनु हुँदैन ।’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै भूमिगत तार व्यवस्थापनको जटिलता बुझ्न आग्रह समेत गरे । उनले भने, ‘निर्माण व्यवसायीहरूले विभिन्न बहानामा काम गर्न नसकेको कारण देखाइरहेका छन् । प्राधिकरणले कतिपय ठाँउमा समयमा काम सम्पन्न गर्न सकेको छैन । तर भूमिगत तार व्यवस्थापनका प्राविधिक जटिलताहरू धेरै छन् ।’ उनले सडक निर्माणको कामलाई दु्रतगतिमा सम्पन्न गर्न प्राधिकरण सधैँ तयार रहेको बताए । आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले पनि समन्वय बढाएर काम सम्पन्न गर्न तयार रहेको बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपमहाप्रवन्धक डिपी चापागाईँले विद्यमान रणनीति परिवर्तन गरेर निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखे । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले काठमाडौं उपत्यकाभित्र मुख्य र अन्य सड्कमा काठमाडौं उपत्यका खोनेपानी लिमिटेडका कारण धेरै समस्या देखिएको जनाएको थियो । अनुगमन कार्यालयका अनुसार पानीको ‘लिकेज’का कारण समयमा सडक मर्मतसम्भार गर्न समस्या र मर्मत गरिएका सडकमा समेत बारम्बार समस्या दोहोरिने गरेको छ । अनुगमन कार्यालयका अनुसार आयोजना कार्यान्वयन निर्देशनालयले बिना स्वीकृति सडक खन्ने र पाइपलाइन सम्बन्धी काम समयमा सम्पन्न नगर्ने गरेको पाइएको हो । यस्तै विद्युत् प्राधिकरणले तार व्यवस्थापन नगर्दा सड्क क्षति र दुर्घटनाको जोखिम बढाएको समस्याबारे छलफल भएको थियो । बैठकमा सम्बन्धित सबै निकायले समयमा काम सम्पन्न गर्न नसक्नुका कारणबारे समेत छलफल भएको थियो । बैठकले सम्बन्धित निकायबीच समन्वय बढाउने र सम्झदारीमा नयाँ बनेका सडकका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ । लैनचौर–महाराजगञ्ज तथा लैनचौर–सोह्रखुट्टे –बालाजु चोक सडक आवधिक मर्मत गर्न कठिनाइबारे विश्व बैङ्क, मन्त्रालय र विभागसँग छलफल गर्ने निर्णय गरिएको छ । यस्तै, काठमाडौँ उपत्यकाका सबै सडकको एकीकृत तथ्याङ्क प्रणाली तयार गर्ने र बल्खु तरकारी बजारको सडक कालोपत्रे गर्नेसम्बन्धी बजार व्यवसायी समितिलाई पत्राचार गर्ने लगायतका निर्णय भएको छ । रासस

एभरेष्ट बैंकले साक्षरता कार्यक्रम गरी मनायो ग्लोबल मनी विक

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी विक मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनी विक मनाएको हो । किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेकाे बैंकले जनाएकाे छ । कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग फुर्याउने मदत गर्ने बैंकले जनाएकाे छ । पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकले देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे एमाले हुन सक्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’ समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उहाँले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मिसन ग्रासरुटमार्फत एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’ अध्यक्ष ओलीले हरेक वडा, हरेक पालिका हरेक प्रदेश र सङ्घका सबै निर्वाचनमा ५१ प्रतिशत बढी ल्याउने गरी एमाले सङ्गठन निर्माणमा लागेको जानकारी दिए । एमाले जस्तो पार्टीका कार्यकर्ताले पार्टीलाई भोट नदिने कुरा सोच्नै नसक्ने उनको भनाइ थिए । व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिलाउन अन्तरविरोध गरेर भोट नदिने कार्य नगर्न कार्यकर्तालाई उनले आग्रह गरे । रासस

१९ देशका केन्द्रीय बैंकका कर्मचारी काठमाडौंमा

काठमाडौं । नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरु तालिम लिन काठमाडौं आएका छन् । दक्षिण पूर्व एशियाली केन्द्रीय बैंक अनुसन्धान र प्रशिक्षण केन्द्र (सिसन)मा सदस्य राष्ट्रका केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरु तालिमका लागि काठमाडौंमा आएका हुन् । सिसनको आयोजनामा केन्द्रीय बैंकका कर्मचारीलाई सोमबारदेखि एक हप्तासम्म तालिम दिइने राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजलाई जानकारी दिए । सोमबारदेखि एक हप्ता आइतबारसम्म काठमाडौंको र्याडिसन होटलमा तालिम दिइने उनले बताए । सिसन मलेसियामा रहेको संस्था हो । यस संस्थामा दक्षिण पूर्वी एशियाका मुलुकका केन्द्रीय बैंकहरु सदस्य छन् । जसमा नेपाल राष्ट्र बैंकसहित १९ वटा केन्द्रिय बैंकहरु सदस्य रहेका छन् । सिसनको आयोजनामा सोमबारदेखि एक सातासम्म केन्द्रीय बैंकका कर्मचारी तालिममा सहभागी हुनेछन् । जसमा राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने अन्य सदस्य केन्द्रीय बैंकबाट एक/दई जना सहभागी हुनेछन् । ‘कर्मचारीको क्षमता अभिवृद्धिका लागि सिसनले एक साता तालिम दिने हो, अनुसन्धान विभागमा कार्यरत कर्मचारीलाई बढी जोड दिइएको छ, तालिम टेक्निकल विषयमा बढी केन्द्रित हुनेछ,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले विकासन्युजसँग भने । उनका अनुसार राष्ट्र बैंकबाट १० जना कर्मचारी सहभागी हुनेछन् भने २० जना विदेशका केन्द्रीय बैंकमा काम गर्ने कर्मचारी गरी ३० जना सहभागी हुनेछन् । तालिममा सदस्य राष्ट्रका केन्द्रीय बैंकमा कार्यरत कर्मचारी मात्रै सहभागी हुनेछन् । ३० जना सहभागी हुने तालिम सोमबार उद्घाटन गरिनेछ । सिसनमा ब्रुनाई, कम्बोडिया, चीन, हङ्कङ, भारत, इण्डोनेसिया, कोरिया, लाओस, मलेसिया, मंगोलिया, म्यानमार, नेपाल, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, पपुवान्यूगिनी, ताइवान, थाइल्याण्ड र भियतनामका केन्द्रिय बैंक सदस्य छन् ।

कडा बन्यो क्यान, धमाधम कारवाहीमा पाइलट

काठमाडौं । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकको हवाई सुरक्षा सुदृढिकरणका लागि आक्रामक रूपमा प्रस्तुत भएको छ । स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीको उडानमा लापरबाही, हवाई सुरक्षा पालनामा देखिएको हेलचेक्र्याइलाई मध्यनजर गर्दै प्राधिकरणले हवाई सुरक्षामा विशेष चासो देखाएको हो । मुलुकमा बढ्दो हवाई सुरक्षामा देखिएका जोखिमीलाई मध्यनजर गरी प्राधिकरणले विभिन्न तवरले सुक्ष्म निगरानी बढाएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । ‘हवाई सुरक्षाका विषयमा प्राधिकरणले सुक्ष्म निगरानी गरिरहेको छ । हवाई सुरक्षामा लापरबाही गर्ने वायुसेवा कम्पनी र संलग्नलाई आवश्यक कारबाही पनि भइरहेको छ,’ उनले भने । हवाई क्षेत्रको ‘सेफ्टी’ र ‘सेक्युरिटी’प्रति सचेत हुँदै प्राधिकरणले उडान सुरक्षा उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याइरहेको प्रवक्ता निरौलाले उल्लेख गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन पटक–पटक निर्देशन पनि दिँदै आएका छन् । शनिबार पत्रकारसँगको अन्तरक्रियामा पनि उहनले हवाई सुरक्षाप्रति कुनै किसिमको कमिकमजोरी हुन नदिन आफूले सम्बन्धित निकायका अधिकारीलाई बारम्बार ध्यानाकर्षण गराइरहेको बताएका थिए । यसैबीच प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँग आकासमै ठोकिनबाट जोगिएको एयर इण्डियाको जहाजको सम्बन्धमा छानबिन गर्ने भएको छ । प्राधिकरणले उक्त घटनामा संलग्न एयरलाइन्समाथि छानबिन गरिने प्राधिकरणका प्रवक्ता निरौलाले बताए । गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज मलेसियाको क्वालालम्पुरबाट काठमाडौंस्थित त्रिभुवन विमानस्थल आउँदै थियो । सोही समय दिल्लीबाट काठमाडौंका लागि उडेको एयर इण्डियाको जहाज १९ हजारको फिटको उचाइबाट उडिरहेको थियो । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना नै एयर इण्डियाको जहाज एक्कासि १५ हजार फिटमा झर्दा नजिकै रहेको नेपाल एयरलाइन्सको जहाजसँग झन्डै ठोक्किन पुगेको थियो । लगत्तै नेपाल एयरलाइन्सले उडान केही फिट डाउन गरेकाले दुर्घटना हुनबाट बचेको थियो । उनका अनुसार उक्त घटनाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको र घटनामा एयर इण्डियाका तर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न एक समिति गठन गरिएकोे छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई निर्देशन दिइएको छ । यसअघि फागुन १५ गते पनि कतारको दोहाबाट काठमाडौं आउँदै गरेको कतार एयरवेज र मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज आकाशमै ठोकिनबाट बचेका थिए । उक्त घटनामा आन्तरिक उडानमा रहेको बुद्ध एयरको जहाज पनि जोखिएको थियो । यही चैत ९ गते प्राधिकरणले काठमाडौं–लुक्ला उडानका क्रममा टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर ( एटीसी) सँग अपशब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई निलम्बन गरेको थियो । त्यसैगरी उडान सुरक्षा मापदण्ड उलङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनी क्रमशः एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटलाई पनि निलम्बन गरिएको थियो । यसअघि यही चैत ७ गते प्राधिकरणले वायुसेवा निगमको ट्वीनओटर जहाजका चालकदलसहित सात जनालाई निलम्बन गरेको थियो । ताप्लेजुङबाट काठमाडौंका लागि उडान भरेको निगमको नाइन एन एबीटी बिमानमा लोड सिट क्षमताभन्दा एक सय पाँच केजी बढी सामान बोकेको सूचना पाएपछि प्राधिकरणले जाँच गर्दा कागजमा देखाइएको भन्दा बढी तौल भेटिएकाले उडान अनुशासन पालना नगर्ने जहाजका चालकदलका सदस्यसहित बिमान ग्राउण्डेड गरिएको प्राधिकरणले उल्लेख गरेको छ । चालक दलका तीन सदस्य, निगमका मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई निलम्बन गर्नाका साथै घटनाबारे आवश्यक छानबिन गरिने प्राधिकरणले जनाएको छ । त्यसैगरी गत फागुन २५ गते काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इञ्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको थियो । श्री एयरलाइन्सको उडान नं. ८२१ को जहाजको इञ्जिनमा ‘फायर वर्निङ’ देखिएपछि बिचबाटै डाइभर्ट गरेर काठमाडौंमा आकस्मिक अवतरण गरिएको हो । घटनालगत्तै प्राधिकरणले उक्त एयरलाइन्सका उडानमा रहेका सबै जहाज एक दिन ग्राउण्डेड गरी जाँच गराएपछि भोलिपल्ट जहाज पुनः उडानका लागि अनुमति दिएको थियो । यसरी हवाई सुरक्षा पालनामा लापरबाही गर्ने र आचरण विपरीत काम गर्ने बिमान कम्पनी र संलग्न पाइलटलाई कानुनी दायरामा ल्याउन प्राधिकरण आक्रामकरूपमा प्रस्तुत भएको हो । मुलुकको हवाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै उडान सुरक्षालाई सुदृढ र प्रभावकारी तुल्याउन लागि परेको प्राधिकरणले जनाएको छ । रासस

शून्य समयमा आर्थिक मन्दिदेखी जनगणनासम्मका मुद्दा

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक मन्दी, विश्वविद्यालय शिक्षा, वैदेशिक रोजगारी, अव्यवस्थित बसोबास, सडक, पुल, सिँचाइ, मलखादलगायत विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको शून्य समयमा भाग लिने सांसदहरुले प्रसूति अस्पताल, एसइई परीक्षा, सुशासन, जनगणना तथा भारतले बनाएका बाँधबाट उत्पन्न समस्या समाधानका लागि पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । एमालेकी विद्या भट्टराईले मुलुकमा आर्थिक मन्दिका कारण नागरिकको दैनिक जीवन अत्यन्त सङ्कटमा परेको तथा प्रमुख सहरमासमेत आर्थिक कारोबार सुस्त रहेको बताए । उनले भने, ‘ठूलो सङ्ख्यामा युवा रोजगारीका लागि विदेशिएका छन, अध्ययन र भ्रमणका लागि विदेश जानेको सङ्ख्याले वैदेशिक मुद्रा सञ्चितिमा असहजता उत्पन्न भएको छ, महँगी उच्च छ, आम नागरिकलाई उत्साह प्रदान गर्ने कार्य कहिले हुन्छ ?’ राष्ट्रिय प्रजातन्त्र पार्टीकी बीना लामाले मिटर ब्याजमै भए पनि ऋण लिएर उच्च शिक्षा र रोजगारीका कारण ठूलो सङ्ख्यामा युवायुवती विदेश जान बाध्य भएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकारको ध्यान जाओस भने । जनमत पार्टीकी विनिताकुमारी सिंहले सिराहमा प्रसूति अस्पताल नभएकाले सुत्केरीले बाटोमै मृत्युवरण गर्नुपर्ने बाध्यता अन्त्यका लागि ध्यानाकर्षण गराए । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले दशकौँदेखि झापाका विभिन्न स्थानमा बसोबास गरेका सुकुम्वासी समस्यामा परेकाले उनीहरुका लागि लक्षित गरी नापी सुरु गर्न, चर्को रुपमा रहेको कर घटाउन, लालपुर्जा वितरण गर्न तथा अव्यवस्थित बसोबास हटाउन मिति तोकेर काम गर्न सुझाव दिए । राप्रपाकी मीना जैसवालले वीरगञ्जमा सरल र सहजरुपमा सार्वजनिक यातायातका साधानको व्यवस्था गर्न आवश्यक रहेको बताए । नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एसइई परीक्षा अर्को विद्यालयमा गएर दिनुपर्ने बाध्यतालाई अन्त्य गरी होम सेन्टरमै परीक्षा दिने व्यवस्था मिलाउन सुझाव दिए । एमालेकी शान्ति श्रेष्ठले आफूलाई निर्वाचनमा विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै आफ्नो क्षेत्रमा रहेको अव्यवस्थित र कच्ची बाटोलाई स्तरोन्नति गरी कालोपत्र गर्न माग गरे । रास्वपाका शिव नेपालीले जनताले सुशासन र विकासको कहिले अनुभूति गर्न पाउलान भनी प्रश्न गर्दैै सांसदलाई केवल सरकार गठन र ढाल्न मात्र प्रयोग नगरियोस् भने । नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले अघिल्लो वर्ष भएको जनगणनामा कालापानी र लिम्पियाधुराको जनगणना किन छुटाइयो भनी प्रश्न गरे । नेपाली कांग्रेसले सन्तोष चालिसले काठमाडौँ क्षेत्र नं ३ स्थित बागमती करिडोर बनाउने सिलसिलामा नेपाल ट्रष्टको जग्गा र वन क्षेत्र परेकाले त्यसलाई प्रयोग गर्न सक्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरे । रास्वपाका सन्तोष परियारले देशमा आर्थिक सङ्कटका कारण समस्या परेकाले त्यसलाई कसरी सहज र सरल तुल्याउने भन्नेतर्फ सबैको पहल हुन आवश्यक रहेको बताए । सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा ताला, नियुक्तिमा ढिलाइ, विश्वविद्यालयका कोर्स अघि बढ्न नसकेको अवस्थाले भर्ना र उत्तिर्ण दर कमजोर भएकाले सबैको त्यसतर्फ ध्यान जाओस भने । कांग्रेसका सुरेन्द्रराज आचार्यले सीमा क्षेत्रमा भारतले बाँधेको बाँधले वर्खामा नेपालका कयौं बस्ती र खेतीयोग्य जग्गा डुवानमा पर्ने भएकाले समयमै त्यो समस्या समाधानका लागि अर्थपूर्ण पहलका लागि ध्यानाकर्षण गराए । एमालेकी सूर्यकुमारी श्रेष्ठले दैलेखमा अव्यवस्थित बसोबास समस्या अन्त्यका लागि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्न माग गरे । जनमत पार्टीकी सोनु मुर्मुले कृषि प्रधान देश भएपनि किसानलाई मलखाद अभावले खेतीपाती गर्न नसक्ने परिस्थिति अन्त्यका लागि समयमै त्यसको सुनवाइ गर्न ध्यानाकर्षण गराए । रास्वपाकी सोविता गौतमले काठमाडौं क्षेत्र नं ३ मा जग्गा अधिग्रहण र मुआब्जासम्बन्धी समस्या समाधान गर्न माग गरे । नेपाली कांग्रेसकी सङ्गीता मण्डल धानुकले तराई–मधेसमा दाइजोलगायतका कुप्रथा अन्त्यका लागि चेतनामुलुक कार्यक्रम र शिक्षामा जोड दिन आवश्यक रहेको बताए । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले कम लागतमा धेरै सिँचाइ हुने राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई छिटो पूर्णता दिन आवश्यक बजेटको व्यवस्था होस भनी माग गरे । रास्वपाका हरि ढकालले शून्य समयमा उठाएका विषय शून्यतामै सीमित नगरियोस् भनी सदनको ध्यानाकर्षण गराउँदै सेयर कारोबार गर्नेले हालसम्म १४ खर्ब रुपैयाँ गुमाइसकेकाले उनीहरुलाई सान्त्वना दिने काम कहिले हुन्छ भनी प्रश्न गरे । नेकपा माओवादी केन्द्री का हितराज पाण्डे पछिल्लो समय क्यासन्सरका कारण धेरै व्यक्ति आक्रन्त भएकाले त्रिभुवन विश्वविद्यालय महाराजगञ्जमा रहेको सुरेश वाग्ले अस्पताललाई विस्तार गरी उपचारको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराए । नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले काठमाडौँ उपत्यकाभित्रका नदी किनार, उकास र बहाव क्षेत्रमा निर्माण गरेका संरचना सात दिनभित्र हटाइयोस् भनी सूचना प्रकाशित भएकामा सुकुम्वासी समस्यालाई हलुका तरिकाले नहेरियोस् भनी सदनको ध्यानाकर्षण गराए । राप्रपाका ज्ञानबहादुर शाहीले विश्वमा मुलुकलाई चिनाउने खेलकुद क्षेत्रमा छुट्याएको बजेट र खेलाडीको तलब बढाउन माग गरे । माओवादी केन्द्रकी ज्ञानु बस्नेतले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला अधुरै रहेकाले त्यसलाई पूर्णता दिने काममा तदारुकता देखाउन सरकारसँग माग गरे । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले रामधुनी ऐतिहासिक महत्वअनुरुप संस्कृति र सभ्यताको प्रचारप्रसार आवश्यक रहेको बताए । रासस

सेवा सुविधा सुनिश्चित गरेर मात्रै मर्जर गर्न दुई बीमा कम्पनीका कर्मचारी संघको माग

काठमाडौं । प्राइम, गराँस र युनियन लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको रोजगार सुनिश्चि गरेर मात्र मर्ज हुन पाउने कर्मचारीहरुले माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघ र गुराँस लाइफ इन्स्योरेन्स कर्मचारी संघले संयुक्त मर्जर समितिलाई चिठी लेख्दै यस्तो माग राखेका हुन् । कर्मचारीहरुको सम्मानजनक रुपमा समायोजन गरिनुपर्ने, कर्मचारीहरुले खाई(पाई आएको तलव भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुदै आएका सेवा सुविधा कटौती गर्न नहुने, मर्जर पश्चात कर्मचारीहरुले पाउने तलव भत्ता सुविधा र अन्य सेवा शर्तमा विभेद गर्न नहुने उनीहरुको माग छ । यस्तै, उनीहरुले कर्मचारीहरुका लागि सम्मानजनक र न्यायोचित स्वेच्छिक अवकास ९ भिआरएस० को योजना ल्याउनुपर्ने र मर्जर पश्चात कम्पनीको नयाँ बन्ने कर्मचारी विनियमावली बनाउंदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने माग राखेका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स बीच एक आपसमा गाभिने अन्तिम सहमति भइसकेको छ । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन् । तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन् । मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ ।