विकासन्युज

चैत १७ देखि फ्लोरा एक्स्पो हुँदै

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपालले चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो गर्ने भएको छ । सोमबार एशोसिएशनले पत्रकार सम्मेलन गर्दै चैत १७ गतेदेखि २० गतेसम्म २४ औं फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मेला संयोजक शिवबहादुर खड्काले पुष्प व्यवसायको विकास र बिस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यल २४ औं फ्लोरा एक्स्पोे गर्न लागिएको बताए । उनले पुष्प प्रदर्शनीले प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने उद्देश्य रहेको बताए । उनले एक्स्पोमा ६२ वटा व्यवसायिक स्टल, ल्याण्डस्केपिङ ३ वटा, अफिसियल स्टल १०, प्रतियोगिता प्रदर्शनी ३ र २ वटा फुड स्टलसहति ८० स्टल रहने बताए । उनले मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारीक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन लगायत बिक्री कक्षमा राखिने बताए । उनले प्रदर्शनीमा व्यवसायीहरुले उत्पादन गरेका बिरुवाबीच प्रतिष्पर्धा गराएर नगद पुस्कारले समेत पुरस्कृत गर्ने बताए । त्यस्तै, एशोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले अहिलेसम्म ४५ वटा स्टलहरु बुकिङ भएको बताए । उनले प्रदर्शनीमा सरकारको कुनैपनि सहयोग नभएकाले विगतको भन्दा स्टलमा ५ हजार रुपैयाँ वृद्धि गरिएको बताए । प्रदर्शनीमा प्रवेश गर्नको लागि विद्यार्थीहरुलाई एकसय र अन्यलाई १५० रुपैयाँ प्रवेश शुल्क तोकिएको बताए । प्रदर्शनीमा भारत, युरोप र चीनमा हेरक वर्ष उत्पादन भएका नयाँ प्रजातिका फूलका बिरुवाहरु आयात गरेर ल्याउने गरेको बताए ।

‘देश जहाँ छोयो त्यहीँ फाटेको छ, नेपालको शिक्षामा विष छ’

काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । ‘१० वर्ष सांसद भइसक्दा मैले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको छु,’ उनले भने । यस्तै, उनले नेपालको शिक्षामा विष भएको बताए । रोजगार नभएर मात्र कक्षा १२ पछि नेपाली विद्यार्थी विदेश नगएको उनको भनाइ छ । नेपालमा विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालिएको बताए । ‘१२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ, हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ, स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा, शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने ।

कोशी प्रदेश नामकरण : लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू पदम लिम्बूको परिवारलाई राहतस्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानविन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवार लागि राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहका महेन्द्र विष्टले जानकारी दिए । बैठकले कलबल्गुडी झापाको निर्देशकमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएको दुईवटा संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपुरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालय, प्रदेशसभामा उपस्थित सम्पूर्ण राजनीतिक दललाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । रासस

४ कम्पनीको सेयरमा लाग्यो सर्किट

काठमाडौं । सोमबार चार कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार नेप्सेको तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा क्रमशस् सुपर माइ हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । यस्तै, नकारात्मक सर्किट लाग्नेमा नेशनल माइक्रोफाइनान्सको रहेको छ । कम्पनीको लाभांश राष्ट्र बैंकले घटाएर पठाएपछि कम्पनीको सेयर मूल्यमा त्यसको प्रभाव परेको हो । आज नेप्से १७.७० अंकले बढेर १९०६ विन्दुमा पुगेको छ । यसरी बजार बढ्दा ४३ लाख कित्ता सेयर किनबेच भई एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गर्नेमा हिमालयन डिस्टिलरीका सेयरधनीहरु रहेका छन् । कम्पनीको आज ५ करोड ९० लाखको सेयर कारोबार भएको छ ।

आकर्षक बन्दै स्याङ्जाको ‘ऐतिहासिक सत्र पोखरी’

स्याङ्जा । स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो । पूर्वाधार बिना पनि यहाँ वनभोज खाने तथा घुम्न विशेष गरी आन्तरिक पर्यटक पुग्ने गरेका थिए । आन्तरिक पर्यटकको रोजाइको स्थल बन्दै गएपछि यसलाई थप व्यवस्थित गर्न पूर्वाधार निर्माणमा जोड दिइएको वडाध्यक्ष बोधराज कुँवर (राजु) ले बताए । ‘समथर भूभाग र ऐतिहासिक महत्वको स्थान सत्र पोखरीलाई व्यवस्थित गर्न पूर्वाधार निर्माण गरिरहेका छौंँ,’ उनले भने, ‘यस ठाउँको गुरुयोजना बनाएर काम अगाडि बढाएका छौंँ, पूर्वाधार निर्माण भएसँगै थप पर्यटक आउने विश्वास छ ।’ गतवर्ष वालिङ नगरपालिका कार्यालयबाट रु तीन लाख खर्च गरी दुई वटा पोखरी निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु दश लाख विनियोजन भएको छ । उक्त ठाउँमा पोखरी, धारा, शौचालय, वनभोज खानका लागि ट्रस, विद्युत्, पार्क निर्माणको काम भइरहेको छ । ‘यहाँ वनभोज आउनेहरु आफै पानी बोकेर आउनुपथ्र्यो, बिजुली थिएन, समस्या थियो’, उनले भने, ‘अहिले व्यवस्थित पार्कसहित वनभोज खान आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भएका छन्, क्रमशः अरु काम गर्छौ ।’ यस ठाउँमा स्याङ्जासहित छिमेकी जिल्ला पर्वतका विभिन्न ठाउँबाट घुम्न तथा वनभोजलाई मानिस आउने गरेका ऐतिहासिक सत्र पोखरी पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलबहादुर थापाले बताए । ‘यहाँ व्यवस्थित नहुँदा र आवश्यक पूर्वाधारको अभावकाबीच त वनभोज खान र घुम्न आउनेको भीड लाग्ने गथ्र्यो”, उनले भने, ‘अब त झनै सहज भएको छ, पक्कै पनि सङ्ख्या वृद्धि हुनेछ ।’ तीन वटा पोखरी निर्माण भएका छन् । अरु चौध वटा थप गरी यहाँको ऐतिहासिक महत्वलाई प्रचार र संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रकोरुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष थापाले बताए । रासस

चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडाैं । नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो । चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।

अवकाशपछि कालिजपालनमा रमाउँदै तुलसीपुरका विण्णुमणि आचार्य

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यले व्यावसायिकरूपले कालिज पालन गरेका छन् । सोही पेसामा रमाएका उनको दिनचर्या कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्ने गरेको छ । अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन् ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसेँ । दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे । तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधैँ कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ ।’ सुरुमा सामाजिक सञ्जाल युटुबमार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरेँ । त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ । घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको उनी उल्लेख गर्छन् । ‘दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ । अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन् ।’ आचार्य भन्छन् । उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ खोलेर २५ लाख रुपैयाँको लागतमा कालिजपालन सुरु गरेका हुन् । ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १८१ बचेरा पाँच सय ५० रुपैयाँकादरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ । उनले एक जनालाई रोजगारी दिएका छन् । आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ । दाङको तापक्रम लगभग त्यस्तै छ । ‘अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ । सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरेँ । अहिले भने दुई हजारसम्ममा दिने गरेको छु । अण्डा पनि राम्रोसँग बिक्री भएको छ । एउटा अण्डा बिक्रीबाट एक रुपैयाँसय आम्दानी हुने गरेको छ । सुरुआतमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ’, उनी भन्छन् । छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ । भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ । कालिजले घाँस, मकै खान्छ । अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ । कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने उनले गरेका छन् । ‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ । त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ । विदेशमा त्यही गरिन्छ । यहाँ भने त्यसो गरिएको छैन उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु’, आचार्य भन्छन् । भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । ‘बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु’, आचार्य भन्छन् । पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन् । रासस

सलिकोको सीईओ क्षेत्रीले पाए बीमा प्राधिकरणको स्वीकृति

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज (चैत १३ गते) सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो । मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो । जुन, करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ । यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्ने छन् । क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए । उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका थिए । साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।