काठमाडौंं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले देश जहाँ छोयो त्यहीँ नै फाटेको बताए । ‘१० वर्ष सांसद भइसक्दा मैले देशको बारेमा सबै कुरा बुझेको जस्तो अनुभव भएपनि मन्त्री बनेर काम गरिरहँदा सोचेभन्दा धेरै फरक पाएको छु,’ उनले भने ।
यस्तै, उनले नेपालको शिक्षामा विष भएको बताए । रोजगार नभएर मात्र कक्षा १२ पछि नेपाली विद्यार्थी विदेश नगएको उनको भनाइ छ । नेपालमा विद्यार्थीहरुलाई शिक्षा दिँदा नै स्वदेशी संस्कृति र शिक्षामा स्वदेशी सपनाको मृत्यु हुने विष हालिएको बताए ।
‘१२ कक्षा पढेपछि नेपाली विद्यार्थीहरु विदेश जान्छन्, किनभन्दा रोजगार छैन भनेर होला जस्तो लाग्थ्यो तर होइन रहेछ, हामी त बेरोजगार भएर मात्रै विदेश गएका होइन रहेछौँ, सुखपूर्ण जीवन छोडेर पनि विदेश जानुको कारण हाम्रो शिक्षामा विष परेको छ, स्वदेशको सपना मरिसकेछ हाम्रो शिक्षा र संस्कृतिमा, शिक्षा र संस्कृतिमा हामीले स्वदेशी सपनाको मृत्यु हुने विष हालिसकेका रहेछौँ,’ उनले भने ।