विकासन्युज

इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन संघले गर्यो ५ निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको छलफलमा संघले सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन विभिन्न निर्णयहरु गरेको हो । सेवा प्रदायहरुबीच भएको उक्त छलफलपछि विभिन्न ५ वटा निर्णय गरिएको छ । जसमा नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जानेदेखि इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने रहेको छ । त्यस्तै, यी निर्णय कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्ने/गराउने र यसका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपी निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने संघले जानकारी गराएको छ । त्यसैगरी, नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय भएको छ ।

विमानभित्रै झडपपछि आकस्मिक अवतरण

एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पु¥याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ । एयर इन्डियाका एक अधिकारीले एएनआईसँग भने,“कूल २५६ यात्रु लिएर दिल्लीबाट लण्डनका लागि उडेको एआई–१ विमानमा यात्रुको अमर्यादित व्यवहारका कारण दिल्ली विमानस्थलमा आकस्मिक तर सकुशल अवतरण गरिएको छ । सोमबार बिहान ६ः३० बजे हिथ्रो विमानस्थल (लण्डन) का लागि उडेको विमान चालक दलका सदस्यले विमान चालकलाई विमानको बीचमा भएको झगडाबारे जानकारी गराएपछि बिहान १० बजे तिर दिल्ली विमानस्थलमा फर्किएको थियो । यस सम्बनधमा एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अप्रिल १०, २०२३ मा दिल्ली–लण्डन हिथ्रो उडान गर्ने तय भएको एयर इन्डियाको विमान एआइ–१ विमानमा सवार एक यात्रुको गम्भीर अभद्र व्यवहारका कारण प्रस्थान गरेको केही समयपछि नै दिल्ली फर्किएको छ । मौखिक र लिखित चेतावनीलाई वास्ता नगरी यात्रीले अनियन्त्रित व्यवहार जारी राखे र चालक दलका दुई सदस्यलाई शारीरिक क्षति पु¥याएपछि कमान्डमा रहेका विमान चालकले आफु दिल्ली फर्कने निर्णय गरेको र अवतरणपछि यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको बताइएको छ । एयर इन्डियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रहरीमा एफआइआर पनि दर्ता गरिएको छ । एयर इन्डियामा हाम्रो लागि जहाजमा सवार सबैको सुरक्षा र सम्मान महत्वपूर्ण छ । हामी प्रभावित चालक दलका सदस्यहरूलाई सबै सम्भव सहयोग प्रदान गर्दैछौं ।” अन्य यात्रुहरुलाई परेको असुविधाप्रति कम्पनीले दुःख प्रकट गर्दै सोमबार दिउँसो लण्डनका लागि उडान तालिका परिवर्तन गरेको जनाएको छ । विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि एयर इन्डियाले यात्रुको ‘अभद्र व्यवहार’ बारे प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले भारतीय दण्ड संहिताको धारा ३५४, ५०९ र ५१० तथा भारतीय विमान ऐनको धारा २३ अन्तर्गत एफआईआर दर्ता गरेको छ । आरोपी र पिडित दुवै दिल्ली बाहिरका हुन् । रासस

लुम्बिनी विकास बैंकको नयाँ एटीएम ललितपुरको गोदावरीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरीमा नयाँ एटीएम खोलेको छ । देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विकास बैंकले चैत २७ गते उक्त एटीएमको उद्घाटन गरेको हो । बैंकले गोदावरीको लेले एक्सटेन्सन काउन्टरबाट एटीएमको सेवा शुरु गरेको हो । जसले स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गर्ने बैंकले बताएको छ । उक्त एटीएमको उद्घाटन विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले गरेका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष मलन सिलवालले गरे । नयाँ एटीएम सञ्चालनमा आएसँगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा २० वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।

लक्ष्मी केयर्सको अरेन्ज भाइब्समा सहभागिता

काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित उक्त कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथसाथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको हाे । कार्यक्रमको विशेष अतिथिस्वरुप प्रख्यात सेफ सन्तोष साहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १,२०० भन्दा बढी हितैषिको उपस्थिति कम्पनीले जनाएकाे छ । कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धन लगायतका विविध सामाजिक कार्यमा उपयोग हुनेछ । यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

‘व्यवसायी पलायन भए, ब्याजदर घटाएर जोगाइदिनु पर्याे’

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले पछिल्लो समय उच्च रुपमा वृद्धिभएको बैंकको ब्याजदर घटाउन अर्थमन्त्री डा.प्रकाशशरण महतसँग माग गरेको छ । सोमबार अर्थमन्त्री डा. महतलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै बैंकको ब्याजदर उच्च हुँदा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको भन्दै बैंकको ब्याजदर तत्काल घटाउन माग गरेको हो । साथै, सम्पूर्ण सम्पति बेचेर उद्योग व्यवसायी बन्ने अधिकांश व्यवसायीहरु बैकको ब्याजदरको कारण समस्यामा परेको जानकारी महासंघले अर्थमन्त्री महतलाई दिएको छ । ‘७ प्रतिशतमा रहेको लिएको कर्जाको लागत १६ प्रतिशत पुगेको छ, बैंक सिमित व्यवसायीको कब्जामा छन्, यसै पनि व्यवसायीकमैत्री वातावरण नहुँदा व्यवसाय दिनानुदिन घट्दो छ, व्यवसायी पलायन हुनुपर्ने विषम परिस्थितिमा बैँक तथा वित्तीय संस्थाको आतङ्कले उद्योगी व्यवसायी मर्माहत भएका छन्,’ महासंघले भन्यो, ‘विभिन्न शीर्षकमा राज्यलाई कर तिर्दै आएका व्यवसायीलाई पलायन हुनबाट बचाउन यथाशिघ्र बैंकको कर्जा व्याजदर एकल अंकमा झार्नुपर्छ ।’ महासंघले व्यवसायीको हरेक समस्यामा निरन्तर बुलन्द आवाज उठाउँदै आईरहेको छ । बैंक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को व्याज घटाएर एकल अंंकमा कायम गर्न महासङ्घले शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ । अर्थमन्त्री डा.महतले देशको अर्थतन्त्र जोगाउन आफूले काम गर्ने बताए । अर्थतन्त्र जोगाउन र उद्योगी व्यवसायीको पीडा समाधान गर्न गम्भिर रहेको उनको भनाइ छ । ‘व्यवसायीहरुको समस्या सरकारको समस्या हो, सरकारले माग सम्बोधन गर्छ, व्यवसायीहरुको समस्या समाधान गर्न सरकारले सकेको पहल गर्छ, महासंघका उचित मागलाई आगमाी बजेटमा समेट्छु,’ अर्थमन्त्री डा.महतले भने । यस्ता छन् अर्थमन्त्रीलाई महासंघले राखेका १५ माग १.कोरोनाले थलिएका उद्योगी व्यवसायीलाई बैँक तथा वित्तीय संस्थाले चर्को व्याजको कारणले व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । ७/८ प्रतिशतमा लिएको कर्जा व्याजदर हाल आएर १५/१६ प्रतिशत व्याज पुग्दा व्यवसायी थप मर्कामा परेका छन् । व्यवसायबाट पलायन हुन नदिन बैँक तथा वित्तिय संस्थाले लिएको चर्को व्याजदर घटाउन अनुरोध गर्दछौँ । २.सरकारले करका दरहरु पनि विस्तारै बढाउँदै लगेको छ । यो उद्योगी व्यवसायीको लागि समस्याको विषय बनेको छ । व्यक्तिगत फर्मलाई ३६ प्रतिशतसम्म कर लगाईएको छ तर, प्रालिलाई भने २५ प्रतिशत कर तिरे पुग्छ यो आँफैमा विवेदकारी छ । यसलाई तत्काल सम्बोधन गर्न सरकारसँग विशेष आग्रह गर्दछौँ । ३. भन्सार दरबन्दी बढी हुँदा व्यवसायीहरु मर्कामा परेका छन् । भन्सार दरबन्दी धेरै भएको कारणले गर्दा बजारमा सामान बेच्न समस्या हुने तथा त्यसबाट आयकर तथा मूल्य अभिवृद्धि करमा समेत असर पर्ने अवस्था छ । भन्सार बढी भएको कारण र नेपाल भित्रिने खुला सीमानाकाका कारणले चोरी पैठारी समेत बढ्दै गएको छ । ४. युवा जनशक्ति विदेश पलायन हुँदै गइरहेको अवस्थामा स्वदेशमा नै स्वरोजगार बनाउनका लागि प्रत्येक स्थानीय तहमा सीपमुलक तालिमको व्यवस्था गर्न माग गर्दछौँ । ५. देशको अर्थतन्त्रको ठूलो हिस्सा कृषिजन्य वस्तु आयातमा विदेश जाने हँुदा यसलाई न्यूनिकरण गर्दै शुन्य बनाउन युवा जनशक्तिलाई कृषिजन्य उत्पादनमा जोड्नको लागि आवश्यक नीति र तालिम दिएर उत्पादनमा लगाउन माग गर्दछौँ । ६. व्यवसायी तथा किसानले उत्पादित सामाग्रीलाई बजारसम्म लैजाने क्रममा ठाउँठाउँमा कर तिरेर अनावश्यक दुःख पाइरहेका छन् । व्यवसायी तथा किसानले यसरी तिर्दै आएको दोहोरो कर प्रणालीको अन्त्य गर्न माग गर्दछौँ । ७.व्यापारिक केन्द्र अव्यवस्थित हुँदा यसले व्यापार व्यवसायलगायत राजश्व संकलनमा समेत असर परिरहेको छ । देशको ठुलो व्यापारिक केन्द्र र बढी राजश्व संकलन हुने क्षेत्रलाई व्यवस्थित गर्न जरुरी छ । अव्यवस्थित पार्किङ्ग र फुटपाथ व्यवसायलाई व्यवस्थित गर्न माग गर्दछौँ । ८.उत्तरी नाकामा बारम्बार हुने समस्याले व्यवसायीको ठूलो लगानी रहेको सामानहरु नाकामा अनिश्चित कालसम्म रहँदा व्यवसायीले ठुलो क्षति व्यहोर्नुपरेको छ । ९.घरबहाल कर घरधनीबाट नै उठाउनुपर्ने व्यवस्था हुनुपर्ने हो । जसले आम्दानी गर्छ उसले कर बुझाउने हो तर व्यवसाय दर्ता गर्दाका बखत व्यवसायीबाट नै घरबहालकर पनि तिर्न लगाउने व्यवस्थाले एकातिर भाडा पनि तिनुपर्ने र अर्कोतर्फ घरबहाल कर पनि व्यवसायीले नै तिनुपर्ने अवस्थाले व्यवसायीहरु मर्कामा परेका छन् । १०. उद्योग व्यवसाय क्षेत्र फस्टाउने वातावण निर्माण गर्न साना तथा मझौला एवम् महिला तथा युवा उद्यमीलाई सहुलित कर्जा कम्तीमा २५ लाख हुनुपर्ने र सो कर्जा लक्षित वर्गमा पुर्याउन माग गर्दछौँ । ११. देशको अर्थतन्त्रलाई अगाडि बढाउनका लागि रुग्ण रहेको स्वदेशी उद्योगलाई स्वदेशी लगानी र जनशक्तिको प्रयोग गरी यथाशिघ्र संचालन गर्न माग गर्दछौँ । १२. निजी क्षेत्रको मुद्दाका विषयमा निति निर्माण तहमा रहेका सिमित संस्थाहरुको सिण्डिकेटको अन्त्य गरी सबै क्षेत्रका उद्योगी व्यवसायी समावेश गरी एक उच्चस्तरिय समिति गठन गर्न जोडदार माग गर्दछौँ । १३.आयकर तथा मूल्य अभिवृद्धिकर बढ्दै गइरहेको छ । यसबाट कर तिर्ने व्यवसायीमात्र मर्कामा पर्दै आइरहेको अवस्था छ । १४. बैँक तथा वित्तीय संस्थाले घरजग्गा लिलाम गर्दा ३५ दिने सूचना दिएर लिलाम गर्दै आएकोमा लिलाम अवधि कम्तिमा ६ महिना बनाउन माग गर्दछौँ । १५. बैँक तथा वित्तीयक्षेत्रले गर्ने लगानीको कम्तिमा ५० प्रतिशत साना तथा मझौला व्यवसायीमा गर्न माग गर्दछौँ ।

ग्यापु मार्केटमा सामान किन्दा ८० प्रतिशत छुट

काठमाडौं । नेपाली ईकमर्श ग्यापु मार्केटप्लेसले स्थापनाको चौथो वार्षिकोत्सव ग्यापुभर्सरीको अवसरमा ८० प्रतिशतसम्मको छुट अफर ल्याएको छ । कम्पनीले तेस्रो वर्ष पूरा गरि चौथो वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि नयाँ अफर ल्याएको हो । कम्पनीमार्फत सामान खरिद गरि माछापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा १०८० रुपैयाँसम्म क्यास ब्याक पाउन सकिने कम्पनीले जनाएको छ । इलेक्ट्रोनिक्स, होम अप्लायन्स, ब्युटी एण्ड हेल्थ, फेसन, मेड इन नेपाल लगायतका सामाग्रीहरूको खरिदमा छुट तथा क्यासब्याक योजना ल्याइएको कम्पनीका अपरेशन म्यानेजर अशोक कार्कीले जानकारी दिए । नगद छुट तथा फिर्ताका साथै कम्पनीले ग्राहकहरूलाई विभिन्न गिफ्ट ह्याम्पर्स दैनिक रूपमा जित्ने अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार, नेपालमा सञ्चालित मुख्य मुख्य वालेटहरूमार्फत कारोबार गर्दा वा बिल तिर्दा हरेक दिन १०० प्रतिशतसम्मको क्यासब्याक समेत पाउन सकिनेछ । यो अफर चैत २८ २०७९ देखि बैशाख २, २०८० सम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकले ५ हजारभन्दा बढी सामानमा छुट पाउने कम्पनीको भनाइ छ । ग्यापुमा २ लाख १५ हजारभन्दा बढी ग्राहक दर्ता भई सेवा लिइरहेका छन् ।

सानिमा रिलायन्सले एउटै सफ्टवेयरबाट शुरु गर्यो एकीकृत कारोबार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले एउटै सफ्टवेयरबाट एकीकृत कारोबार शुरु गरेको छ । साविकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिई बनेपछि कम्पनीले एउटै सफ्टवेयरबाट कारोबार शुरु गरेको हो । कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले एउटै सफ्टवेयर ‘सफ्टवेयर आई सोलुसन लाइफ’ प्रयोग गरेको हो । ‘गाभ्ने गाभिने दुबै कम्पनीको तथ्यांकलाई गाभिएको दिनदेखि नै एउटै सफ्टवेयरबाट कारोबार शुरु गर्नुपर्ने,’ निर्देशनमा भनिएको छ ।

टोखा–छहरे सुरुङ निर्माण अघि बढाउन माग

काठमाडौं । सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजनसमेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरे । ‘आर्थिक वर्ष २०७७/७८ मा छ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन । सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भने । सांसद उदय शम्शेर जबराले कान्ति लोकपथको निर्माण तत्काल सम्पन्न गर्न माग गरे । सांसद उर्मिला माझीले लमजुङको बेंसीसहर–१ मा पर्ने बेंसीसहर–चामे सडकखण्डमा गइरहेको सुक्खा पहिरोबाट यात्रुले सास्ती खेप्नुपरेको भन्दै तत्काल पहिलो नियन्त्रणमा कदम चाल्न र मस्र्याङ्दी पारिबाट वैकल्पिक बाटो खोल्न आग्रह गरे । सांसद चित्रबहादुर केसीले वर्तमान सत्तागठबन्धनले ल्याएको न्यूनतम् साझा कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाले स्वीकार नगरेको बताए । ‘राष्ट्रिय जनमोर्चाले न्यूनतम कार्यक्रममा रहेको सङ्घीयता, नागरिकता र सङ्क्रमणकालीन विषयमा विमती राख्दै आएको भए पनि बाहिर त्यो कार्यक्रमलाई समर्थन गरेको भन्ने विषय सार्वजनिक हुँदा जनतामा अलमल भयो । हामीले सङ्घीयतालाई स्वीकार गरेका छैनौँ’, उनले भने । सांसद अञ्जनी श्रेष्ठले चितवनमा स्ववियु निवार्चनका क्रममा भएको घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद अनिशा नेपालीले सल्यान र रुकुम जोडिएको सिमानामा सडक नभएको स्थानमा पुल कस्ले बनाएको भनी प्रश्न गरे । सांसद अनितादेवी अग्रहरीले नागरिकता समस्या समाधान गर्न माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकको परिवारले पाउने क्षतिपूर्ति दिलाइदिने भन्दै रकम असुल्नेलाई तत्काल कडा कारबाही गर्न माग गरे । सांसद गीता बस्नेतले यातायातसम्बन्धी सेवा लिन बाँके जानुपरेको भन्दै तत्काल बर्दियामा यातायात कार्यालय स्थापना गर्न सरकारसँग आग्रह गरे । सांसद जुलीकुमारी महतोले सुशासनको व्यवस्था, सदाचार कायम गर्न र सार्वजनिक सेवा प्रवाहलाई सुव्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए । रासस