महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग
काठमाडौं । स्वदेशमा रोजगारीको सुनिश्चिततासहित महँगी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग गरिएको छ । राष्ट्रवादी केन्द्र नेपालले यहाँ आज पत्रकार सम्मेलन गरी मुलुककै स्रोतरसाधन प्रयोग गरी रोजगारी सिर्जना गरी देशलाई आर्थिकरूपमा सम्पन्न बनाउनुपर्ने माग गरेको हो । सो संस्थाले ऋणीहरूलाई सहज बनाएर व्यवसाय सञ्चालनको वातावरण तयार गर्नुपर्ने, यातायात क्षेत्रमा भएका विकृति तथा विसङ्गति अन्त्य गर्नुपर्ने र आम जनताको आधारभूत आवश्यकता पूरा गर्न पनि सरकारलाई आग्रह गरेको छ । राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले पटकपटक उद्योगी व्यवसायी र आमजनताका समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदेखाएको भन्दै गुनासो गरे । सार्वजनिक यातायात व्यवसायी महासङ्घका संरक्षक होमप्रसाद अधिकारी र राष्ट्रवादी केन्द्र नेपालका सचिवालय सदस्य भुवन सङ्गमले राष्ट्रियताको सवालमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । ट्रक व्यवसायी महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँ र राष्ट्रवादी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष हिमलाल पौडेल राजनीतिमा युवा पुस्तालाई अवसर दिनुपर्ने धारणा राखे ।
मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताए । ‘अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ’ उनले भने । तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई र नमोबुद्ध नगरले कोटकालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई मालवाहक सवारीसाधनको अनिवार्य भारमापन गरी गर्न÷गराउन निर्देशन दिँदै आएका थिए । भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ ९संशोधनसहित०को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । ‘दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि पनि मालवाहक सवारीमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो,’ प्रजिअ पौडेलले भने । मालवहाक सवारीले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिका सरोज कुइँकेलले बताए । उनका अनुसार सबै मालवाहक सवारीले भारमापन गर्ने हो भने सडक सुरक्षामा निकै मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले १५० तिर्नुपर्ने नियम बनाइएको छ । जिल्लास्थित दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्ग तथा अरनिको र विपी राजमार्गमा दैनिक करिब २ हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारीसाधन चल्ने गर्दछन् । मालवाहक सवारीले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकसमेत बर्सेनि जीर्ण हुने गरेका छन् ।
नेपाल पारवहन कम्पनीले कार लिलाम गर्दै
काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले प्रयोग गरिरहेको एक थान सवारी लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्ने भएको हो । कम्पनीले बीएए ८२२४ नम्बरको टाटा इण्डिका एलएक्सआइ कम्पनीको सवारी साधन बिक्री गर्ने जनाएको छ । उक्त सवारी खरिद गर्न इच्छुक ब्यक्ति तथा संस्थाले १५ दिनभित्र कम्पनीको पधान कार्यालय बालुवाटारमा सम्पर्क गर्न आग्रह गरेको छ ।
ईङवा हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौं । ईङवा हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई बिक्री गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले बैशाख ४ गतेका दिन आईपीओ बाँडफाँट गरेको जनाएको छ । कम्पनीले जारी पूँजी ६० करोडको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका वडा नं. ३, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नं. २ र वडा नं. ३ का बासिन्दाहरुलाई बिक्री गरेको थियो । यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई १ लाख २० हजार कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग रहेको छ । कम्पनीको आईपीओ रिजल्ट नेपाल एसबिआई बैंकिङ्गको वेवसाइट nsmbl.com.np, कम्पनीको वेवसाइट https://www.ingwahydropowerltd.com.np/ र सिडिएस एण्ड क्लियरिङ्गले आईपीओको रिजल्ट हेर्न सञ्चालनमा ल्याएको वेवसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
अजोड र यूनाइटेडले डाके विशेष सभा, मर्जरपश्चात् अजोडको ८२.५ कित्ता सेयर
काठमाडौं । मर्जर प्रस्तावलाई अन्तिम रुप दिन अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारण सभा बोलाएका हुन् । अजोड इन्स्योन्सको सभा यूनाइटेड ट्रेड सेन्टर त्रिपुरेश्वर र यूनाइटेड इन्स्योरेन्सको अनमोल ब्याङ्क्वेट शंखमुल काठमाडौंमा बिहान ११ बजे बोलाएका हुन् । सभाले अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिए पश्चात् यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट निर्जीवन बीमा व्यवसाय सुरु गरिने प्रस्ताव पारित गर्नेछन् । दुई कम्पनीबीच सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) १०० बराबर ८२.५ मा मर्जरमा जाने सहमति भएको छ । अर्थात् अजोडको १०० कित्ता सेयर हुने सेयरधनीले युनाइटेडमा गाभिएपछि ८२.५ कित्ता सेयर पाउने छन् । गत पुस अन्तिममा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका दुई कम्पनीले चैत १६ गते अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । एकीकृत कारोबार पश्चात् अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजद श्रेष्ठ बन्ने छन् । विशेष साधारणसभा प्रयोजनार्थ अजोडले बैशाख १२ गते र यूनाइटेडले बैशाख १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
प्रभु बैंकका ५१ शाखा कार्यालय गाभिने, कुन-कुन हुन् ?
काठमाडौं । प्रभु बैंकका नजिकैका शाखा कार्यालयहरु गभिने भएका छन् । प्रभु बैंक र साविक सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । प्रभु बैंक र साविक सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका ५१ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ । बैंकले जारी गरेको सूचनामा दुवै बैंकका ५१ वटा शाखा कार्यालय एक आपसमा गाभिएर बैशाख १० गतेदखि गाभिएको शाखाबाट सेवा सञ्चालन हुने बताइएको छ । बैंकका अनुसार साविक सेञ्चुरी बैंकका ४१ वटा शाखा कार्यालय र प्रभु बैंकका १० वटा गरी ५१ वटा शाखा कार्यालय गाभिएका हुन् । प्रभु बैंक र साविक सेञ्चुरी बैंक बैंक एक आपसमा मर्ज भई प्रभु बैंकको नामबाट एकीकृत कारोबार भएको हो ।
मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने ( एण्ड एक्विजिशन) सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । फाइनान्सको साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
आरएसडिसी लघुवित्तको नाफा साढे ९ करोड, ८.६४ प्रतिशत प्रतिफल बाँड्न सक्ने
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९ प्रतिशत घटेर ९ करोड ६० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९ करोड ४३ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २९.२१ प्रतिशत बढेर २१ करोड ४० लाख ४४ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड ५६ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी सामान्य बढेर २ करोड १४ लाख ९४ हजार रुपैयाँ, सञ्चालन नाफा ८ प्रतिशत घटेर १२ करोड २८ लाख ९१ हजार रुपैयाँ र वितरणयोेग्य नाफा ५ करोड ६३ लाख ५९ हजार रुपैयाँ रहेको छ । लघुवित्तका अनुसार वार्षिक ८.६४ प्रतिशत नाफा वा प्रतिफल वितरण गर्ने क्षमता रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत बढेर ८६ करोड ९५ लाख ६८ हजार रुपैयाँ, जगेडा कोष ८.१३ प्रतिशत बढेर ९ करोड ३३ लाख १८ हजार रुपैयाँ, सापटी तथा निक्षेप ३२.४१ प्रतिशत बढेर ५ अर्ब ९३ करोड १३ लाख ५१ हजार रुपैयाँ र कर्जा २४.६० प्रतिशत बढेर ६ अर्ब ७१ करोड ९१ लख ४२ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १३.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३८.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८.६० रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.३७ प्रतिशत, आधार दर १३.६७ प्रतिशत र कस्ट अफ फण्ड १२.७८ प्रतिशत रहेको छ ।