विकासन्युज

४ करोडमा पाल्पाको रेचेघाटमा पक्की पुल निर्माण

पाल्पा । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल चार करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको छ । पैदलमार्गसहित दुईतर्फी पुल सञ्चालनमा आएसँगै पूर्वखोला तथा निस्दी क्षेत्रका बासिन्दालाई सहज भएको स्थानीय होम राई मगरले बताए । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास, खानेपानी तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले मङ्गलबार सो पुलको उद्घाटन गरे । उक्त खोलामा पक्की पुल नहुँदा यहाँका बासिन्दाले वर्षायाममा खोला वारपार गर्न समस्या भोग्दै आएका थिए । कृषकले उत्पादन गरेको सामग्री बजारमा पठाउन समस्या भएको थियो । पुल बनेपछि दैनिक जीवनयापनमा टेवा पुगेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउँछन् । निस्दी र पूर्वखोला गाउँपालिकालाई जोड्ने मोटरेबल पुल निर्माण भएपछि यहाँका बस्ती अन्य गाउँसित जोडिएका छन् । रासस

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिने भएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरमा नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पौडेलले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस एम्स लैजान लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

सिंहदरबारमा संवैधानिक परिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुन् । बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुने कार्यसूची छ । प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

काठमाडौं । सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिए । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई उनले आग्रह गरे । भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । प्रदेश र स्थानीय तहलाई राष्ट्रिय अभियान कार्यक्रम सफल बनाउन महाशाखाले परिपत्र जारी गरेको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने निर्देशक लालले बताए । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो । सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । रासस

कैलालीका स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकबिहीन

कैलाली । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ । चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’ सङ्घी सरकारले दुई किस्तामा रकम उपलब्ध गराएको चौधरीले बताउनुभयो । पहिलो किस्तामा एक करोड ९२ लाख रुपैयाँ र दोस्रो किस्तामा ४२ लाख रुपैयाँ पठाएको थियो । चालु आवमा एक करोड ४२ लाख रुपैयाँ बजेट उपलब्ध भएको उनले बताए । चौधरीले भने, ‘स्थानीय तहले बजेट अभाव भएको भन्दै हाम्रो समस्या सुनवाइ गरेको छैन ।’ तत्काल नगरपालिकाबाटै भए पनि दुई महिनाको तलब उपलब्ध गराउन स्वास्थ्यकर्मीले माग गरेका छन् । नगरपालिकाका प्रमुख केवल चौधरीले स्वास्थ्यकर्मीको समस्या नगरपालिकाले समाधान गर्न नसक्ने बताए । स्वास्थ्यकर्मीलाई तलव खुवाउने जिम्मा सङ्घीय सरकारको भएको उनको भनाइ छ । ‘कर्मचारी सङ्घीय सरकारबाट आएका हुन् । उनीहरूको सेवासुविधा सङ्घीय सरकारले नै बेहोर्नुपर्छ’, नगरप्रमुख चौधरीले भने, ‘हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’ रासस

हिमालयन बैंकले धितोमा रहेको कार बेच्दै

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको चाहबिल शाखा कार्यालयबाट ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिका सञ्चालक मनिराज अर्याल र सन्जिव दिवालीलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१-०२५ च ५५७८ नम्बरको टाटा नेक्सन एक्सजेठप्लस नीजि कार बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

सोचेको परिणाम नआए पनि लोकप्रियता कायमै छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि पार्टीको लोकप्रियता कायमै भएको बताएका छन् । मंगलबार आयोजित सङ्गठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियानअन्तर्गत बृहत् कार्यकर्ता भेलामा उनले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गरे । आफूलाई ठूला दल भन्नेले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उनले दाबी गरे । ‘हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौँ, यसले मुलुकमा उत्साह र उमङ्ग ल्याएको छ,’ उनले भने । एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रविन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताए । ‘हामी एमालेलाई पहिलो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दैछौँ । अहिले हामीलाई सरकारका जाने कुनै चासो छैन, हाम्रो लक्ष्य र उद्देश्य भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु नै हो,’ उनले भने । राजनीतिक स्थायित्व कायम गर्न मुलुकमा बलियो पार्टी बन्ने अभियानको यात्रामा एमाले लागेको उपाध्यक्ष नेम्वाङको भनाइ थियो । उक्त भेलामा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेसहित प्रदेश तथा जिल्लास्तरका नेताको सहभागिता रहेको थियो ।

होटल हायातलाई सरकारले सोध्यो स्पष्टीकरण, सम्झौता किन नतोड्ने ?

काठमाडौं । सरकारले तारागाउँ रेजेन्सी होटल लिमिटेडअन्तर्गतको ‘होटल हायात रेजेन्सी’लाई समिति र होटलबीच भएको सम्झौता किन नतोड्ने भनी प्रश्न सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पत्राचार गरी मातहतको होटल हायतलाई २७ र तारागाउँ विकास समितिलाई २२ प्रश्न सोध्दै तीन दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको हो । जग्गा लिजमा लिँदा होटलले पालना गर्न तय गरिएका शर्त र बन्देज कार्यान्वयन नभएकाले जग्गाको लिज सम्झौता रद्द गरेर सरकारले वैकल्पिक उपयोगमा ल्याउनु नपर्ने वा होटललाई लिजमा किन दिइरहनु पर्ने भनी मन्त्रालयले प्रश्न गरेको छ । पर्यटनमन्त्री सुदन किरातीका अनुसार सरकारी जमिन उपयोग गरेको होटलले सरकारको सेयर खुम्च्याउँदै सम्झौता शर्तहरु पनि उल्लङ्घन गर्दै गएकाले कारबाहीका लागि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । सर्राफ समूहको आइसीटीसी समूहसँग तरागाउँ विकास समितिले हायात होटलमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने समझदारी गरे पनि योजनाबद्ध तरिकाले बढाएर ३ अर्ब ४३ करोड रुपैयाँ पुर्याइएको भन्दै मन्त्रालयले कारण माग गरेको छ । घाटामा गएको बेलामा समेत कम्पनीले सञ्चालक र व्यवस्थापक ‘हायात’लाई ३८ करोड १२ लाख रुपैयाँ भुक्तानी गर्नुको कारण प्रमाणित नहुने बिल बीजक नराखी खर्च लेखाङ्कन गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको छ । आम्दानी र रकम असुलउपर नगरेको, तेस्रो पक्षले तिर्नुपर्ने ३ करोड २४ लाख रुपैयाँको करकट्टीवापत रकम के कति कारणले होटलको खर्चमा लेखाङ्कन गरेको भन्दै सरकारले प्रश्न गरेको छ । कानुनले निर्धारण गरेकोभन्दा कम ह्रासकट्टीदर राखेर गोलमाल गरिएको ५० करोड २१ लाख रुपैयाँ सम्बन्धितबाट नअसुलेको, कम्पनीलाई नोक्सानी हुने गरी भएको सम्पत्ति खरिद र थपघट समायोजन गर्नुको कारण पनि सरकारले सोधेको छ । नोक्सानी हुने गरी आसामी अपलेखन गरेको, सरकारी जग्गाको उचित संरक्षण नगरेको, अनधिकृतरुपमा सडक खोलेको, सम्झौताअनुसार सांस्कृतिक पर्यटन केन्द्र नबनाएको र आपसी सहमतिसम्म नगरी तारा गाउँ विकास समितिको सेयर स्वामित्व घटाएर ९.०१ प्रतिशत कायम गरिएको, होटलको सञ्चालक समितिमा तारागाउँ विकास समितिबाट ३ जना प्रतिनिधि हुनुपर्नेमा एकमा झारिएको र सरकारले अहिलेसम्म ७ करोड २३ लाख मात्रै लाभांश पाएको, आफूखुसी जग्गाको लिखत पारित गराएको लगायतका विषयमा प्रश्न गर्दै जवाफ मागिएको छ । होटलमा विदेशी लगानी भएको भनिएको ९५ करोड ८ लाख रुपैयाँ कुन बैंकमा कुन मितिमा जम्मा भएको हो भन्ने विवरण पनि मन्त्रालयलाई पठाउन भनिएको छ ।