नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार फरवार्ड लघुवित्त र र नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फरवार्ड लघुवित्तको २५ प्रतिशत बोनस वापतको २१ लाख ११ हजार १२७.४६९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, नेपाल बैंकको २ प्रतिशत बोनस वापतको २८ लाख ८१ हजार १८०.९६६३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
गाँजा र घरेलु रक्सलाई आम्दानीको स्रोत बनाउनु पर्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतको रुपमा जोड्न सकिने बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले गाँजा खेतीलाई खुला गरेर जनताको आयआर्जन र गण्डकी प्रदेश सरकारको आर्थिक वृद्धिसँग जोड्न सकिने बताए । मुख्यमन्त्री पाण्डेले गाँजा औषधि हो वा लागुऔषध हो भन्ने विषयमा बहस गरी एउटा निष्कर्षमा पुग्नुपर्ने बेला आएकोसमेत बताए । ‘गाँजा लागुऔषध हो कि औषधि हो यसबारेमा बहस हुनुपर्छ, यदि यो औषधि पनि हो भने नियमनकारी निकाय निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो,’ उनले भने । गाउँबाट ठूलो जनशक्ति बाहिर गइरहेको भन्दै मुख्यमन्त्री पाण्डेले जनताको आयआर्जन र प्रदेश सरकारको आम्दानीको स्रोतको रुपमा पनि गाँजा खेती र घरेलु रक्सीलाई उद्योगको रुपमा जोड्न सकिने बताए । गाँजा खेतीलाई उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री पाण्डेको भनाइ छ । ‘यसलाई सङ्घीय कानुनले पनि बन्देज गरेको छ, अब बहस चलाउनु आवश्यक छ, यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ भने यसको खेतीको बारेमा नयाँ सोचाइबाट अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा हो, मुख्यमन्त्री पाण्डेले स्थानीयस्तरमा उत्पादन हुने घरेलु रक्सी र गाँजालाई कानुनी दायरमा ल्याउनुपर्ने समेत बताए । ‘लोकल रक्सीलाई रिफाइन गरेर ब्राण्डिङ गर्न सकियो भने गाउँघरमा समेत रक्सीको सानातिना उद्योग पनि सञ्चालन हुन्छ, यसबाट स्वरोजगार सिर्जना हुन्छ र आर्थिक स्थितिमा सुधार पनि गर्न सकिन्छ,’ उनले भने । मुख्यमन्त्री पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याउने सन्र्दभमा केन्द्र सरकारसँग पनि छलफल गर्ने योजना रहेको बताए । उनले गाँजालाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले मात्र कानुन बनाएर नहुने भन्दै सङ्घ सरकारले कानुन बनाउनका लागि पहल गरोस् भन्ने प्रदेश सरकारको चाहना रहेको बताए ।
माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै
काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे ३ वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा ४० करोड रुपैयाँ लगानी भइसकेको बताए । ‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ, धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ,’ उनले भने । झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक (साविकको सिभिल बैंक)ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी गरिएको बताए । सो परियोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहने उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए । परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार ८४० थान प्यानल स्टेन जडान भइसकेको बताए । हाल स्थापना गरिएका प्यानल स्टेनमा ८१९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ । ‘कुनै ठूला टेबल हुन्छन् कुनै साना, कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ,’ उनले भने । बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताए । उनले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उनले बताए । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी २ वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादित विद्युत् प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए । झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । रासस
८ जना पर्वतारोही धौलागिरिको चुचुरोमा
काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने ८ हजार १६७ मिटर अग्लो सो हिमाल बुधबार उनीहरुले आरोहण गरेका हुन् । यो हिमालमा सेभेन समिट टे«क्सका ५ जना र पाइएर एडभेन्चरमार्फत ३ जनाले आरोहण गरेका हुन् । पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए । सेभेन समिट टे«क्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ । धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए । आरोहणबाट फर्केपछि वार्टेकले ४ हजार ७ सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो । दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ ।
मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले स्याङ्जाद्वारा बालगृहलाई खाद्यान्न सहयोग
स्याङ्जा । ३०औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) स्याङ्जाले बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी स्याङ्जा फेदीखोलमा रहेको एकमात्र बालगृह अमोर नेपाललाई सहयोग गरेको हो । अमोर नेपाल विदेशी दातृसँस्थाहरुबाट सहयोग नभई गण्डकी प्रदेशभित्रकै एकमात्र नमूना बालगृहको रुपमा परिचित रहेको छ । मदन-आश्रित स्मृति दिवसको अवसरमा नमूना बालगृहलाई छनोट गरेर सहयोग गरिएको एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’ले बताए । एमालेले बालगृहलाई चामल, दाल, तेल लगायतका सामग्री प्रदान गरेको छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सिता सुन्दास, अर्की केन्द्रीय सदस्य सिमा क्षेत्री, प्रदेश सभा सदस्य सुधिर पौडेल, एमाले प्रदेश कमिटि सचिवालय सदस्य रामबहादुर थापा र देवेन्द्र लम्साल, आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ लगायत उपस्थित रहेका थिए । एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’को अध्यक्षमा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गरेका थिए ।
ज्योति क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त
काठमाडाैं । ज्योति क्यापिटलकाे अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) कपिल ढकाल चयन भएका छन् । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्षभन्दा बढीको अनुभव बोकेका ढकाल जेठ ३ गतेदेखि लागु हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका श्री कपिल ढकालसंग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्षको रुपमा कार्यरत थिए । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । यस क्यापिटलले चालु आ.व.२०७९/८० को तेस्रो त्रैमाससम्म एक करोड २४ लाख ७१ हजार ३ सय ९ रुपैया मुनाफा गरेको छ । क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।
गुराँस लघुवित्तको सीइओमा विष्णु प्रसाद उपाध्याय नियुक्त
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा विष्णु प्रसाद उपाध्याय नियुक्त भएका छन् । संचालक समितिको जेठ २ गते बसेको बैठकले जेठ ३ गतेदेखि लागू हुने गरि आगामी ४ वर्ष अवधिको लागि उपाध्यायलाई सीइओमा नियुक्त गरेको हो । सिराहा जिल्ला, सिराहा नगरपालिका वार्ड नं १ स्थायी घर भई हाल नयाबानेश्वर, काठमाण्डौं बसोवास गर्दे आएका उपाध्यायले नेपाल इन्स्योरेन्स कम्पनीमा उप प्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक हुर्दै प्रमुख कार्यकारी अधिकृतसम्म गरी २१ वर्ष तथा नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा विज्ञ र कम्पनी सचिवको जिम्मेवारीमा रही ४ वर्षको कार्यअनुभव हासिल गरेका छन् । व्यवस्थापन संकायबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उपाध्यायको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले गुराँस लघुवित्तको प्रगतिले नयाँ उचाई लिने अपेक्षा गरिएको लघुवित्त ले जनाएको छ । धनकुटा जिल्ला धनकुटा नगरपालिका वडा नं। ७ धनकुटा बजारमा केन्द्रीय कार्यालय र बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलालचौक विराटनगर, मोरङ्गमा कर्पोरेट कार्यालय रहेको यस वित्तीय संस्थाले कोशी प्रदेशका १२ वटा जिल्लाहरुमा ३३ वटा शाखा कार्यालय मार्फत २० हजारभन्दा बढी परिवारलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।
सिद्धार्थ बैंकले ११.७५ प्रतिशतमै घर कर्जा दिने
काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका छन् । साथै, नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा कडाई गरेपछि कारोबार सुस्ताएको उनीहरुको तर्क छ । मन्दीकै बीच बैंकहरुले फागुन मसान्तसम्म २ खर्ब रुपैयाँभन्दा बढी घर कर्जा प्रवाह गरेका छन् । तरलता क्रमशः सहज हुने अपेक्षासहित बैंकहरु घरकर्जा प्रवाह गर्ने योजनाहरु सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जालाई उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ब्याजदरका कर्जा योजना अगाडि सारेका छन् । केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जाप्रवाह गर्दा १५ प्रतिशतसम्म ब्याज लिइरहेका थिए । तर, सिद्धार्थ बैंकले भने आधार दर सरह नै ब्याजमा घर कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले ‘सिद्धार्थ हाम्रो घर कर्जा’ नामक योजना मार्फत ११.७५ प्रतिशतमै कर्जा प्रवाह गरिरहेको बताएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । आवासीय घर किन्न, भइरहेको घरमा तला थप्न वा रिनोभेट गर्न, हाल भइरहेको जग्गामा घर बनाउन, अपार्टमेन्ट किन्नका लागि बैंकले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिने भएको छ । बैंकहरुले हाल कर्जामा अधिकतम १५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । तथ्याङ्क अनुसार अधिकांश बैंकहरुको घरकर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि रहेको छ । तर, सिद्धार्थ बैंकले भने ११.७५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ । बैंकका अनुसार सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनुरुप फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल ब्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । यस्तो कर्जामा ८४ महिनासम्म बैंकलाई बुझाउनु पर्ने किस्ता रकम समान हुनेछ । फ्लोटिङ रेटमा भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुन सक्नेछ । यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिने बैंकले जनाएको छ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिने बैंकले जनाएको छ । बैंकहरुले धितोको आधारमा कर्जा प्रवाह गर्छन् । सिद्धार्थ बैंकले बजार मूल्यका आधारमा धितोको मूल्याङ्कन गरी कर्जा उपलब्ध गराउनेछ । कर्जा सुरक्षणका रुपमा राखिएको धितोको मुल्याङकनकोे ६० प्रतिशत सम्म कर्जा उपलब्ध गराइने बैंकले बताएको छ । यदि कुनै ग्राहकले १ करोडको धितो बैंकमा राख्यो भने ६० लाख रुपैयाँ कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । बैंकले १८ वर्ष पूरा भएका र कर्जा अवधि पूरा हुँदा ८० वर्ष ननाघ्ने गरी सबैलाई कर्जा दिनेछ । निश्चित ब्याजदर योजना अन्र्तगत कर्जा लिने ग्राहकले ७ वर्षपछि परिवर्तित ब्याजदरमा किस्ता भुक्तानी गर्न सक्नेछन् । बैंकले कर्जा प्रवाह गर्दा सेवा शुल्क भनेर कर्जा रकमको ०.७५ प्रतिशत लिन्छ । त्यसका अतिरिक्त कर्जा सूचना केन्द्रले २५० देखि ५०० रुपैयाँसम्म शुल्क लिन्छ । धितो मूल्याङ्कन गर्ने इन्जिनियरिङ कन्सलटेन्सी, कर्जा तथा सम्पत्तिको बीमा शुल्क, सरकारको नियम अनुसार लाग्ने मालपोत कार्यालयको शुल्क अलग्गै लाग्छ । के के डकुमेन्ट चाहिन्छ ? ग्राहकले उपलब्ध गराएको कागजपत्रहरुको आधारमा बैंकले कर्जा स्वीकृत गर्नेछ । यदि सबै प्रक्रिया पुर्याएको छ भने बैंकले कर्जा स्वीकृत गर्ने बताएको छ । कर्जा प्राप्त गर्न ग्राहकको बैंकले उपलब्ध गराउने आवेदन फारम भर्नुपर्नेछ । साथै, ग्राहकको नागरिकता, पासपोर्ट साइज फोटो, नाता जनाउने वा सम्बन्धन प्रमाणपत्रहरु, आम्दानीको स्रोतका कागजातहरू (बैंक स्टेटमेन्ट र कर क्लियरेन्स) उपलब्ध गर्नुपर्नेछ । साथै, धितो सुरक्षणका लागि कम्तिमा ८ फिट चौडाको सडक, जग्गाको तिरो तिरेका रसिद, सम्बन्धीत निकायबाट स्वीकृत भवनको नक्साको प्रमाणपत्र रहेको लालपुरर्जा उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । साथै, कर्जा लिन आएका जमानीकर्ताको रुपमा ब्यक्तिगत जमानीकर्ताका साक्षि पनि हुनु पर्नेछ । सिद्धार्थ बैंकको यस ‘सिद्धार्थ हाम्रो घर कर्जा’ को विस्तृत विवरण बैंकको वेबसाइट वा नजिकैको शाखाकार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्राहकहरुले यस कर्जा लिन यस पेजमा https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan भएको “I am interested”भएको बटन क्लीक गरीे फर्म भर्न सक्नुहुनेछ ।