विकासन्युज

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ

म्याग्दी । लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ  खेतमा नै सुक्न थालेको छ ।  लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् । पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए। ‘यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन’, उनले भने । जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताए । ‘यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन । गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ’, उनले भने ‘यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ । बीउ सुकेर खेर जान लागिसक्यो ।’ सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ । जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ । करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ । जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् । रासस

कान्ति राजमार्गमा पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

काठमाडौं । कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए । पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि नै ती काम अघि बढाइने उनको भनाइ छ । अहिले विभागको भू–वातावरण शाखाले पहिरोको अध्ययन गरिरहेको छ । उनले भने, ‘भित्तामा पहिले पहिरो रोकथाम र सडकमा पनि ढलान गर्नुपर्ने भएमा लगानी बढी हुनसक्छ ।’ आगामी वर्षको लक्ष्य बाँकी रहेका क्षेत्रमा काम अघि बढाउनु रहेको योजनाले जनाएको छ । ती क्षेत्रमा विस्तृत पहिरो रोकथाम गरेर सडक बनाउने गरी अघि बढाउन लागिएको उनको भनाइ थियो । यस्तो सडकमा मकवानपुर जिल्लातर्फ साढे दुई किमी र ललितपुरमा साढे दुई किमी रहेको छ । ललितपुरतर्फ अझै पनि कतिपय खण्डमा कालोपत्र गर्न सकिने ठाउँमा गर्दा त्यो लम्बाइ अझै घट्नसक्ने जनाइएकोे । अब स्तरोन्नतिमा जान बाँकी खण्डमा पहिरो क्षेत्र र ‘ब्लाष्टिङ’ गर्नुपर्ने चट्टानी क्षेत्र रहेको छ । ललितपुरमा छपेली र कार्कीवास क्षेत्रमा त्यस आसपास ठाउँ–ठाउँमा यो समस्या बढी रहेको योजनाले जनाएको छ । मकवानपुरको ठिङ्गन चार सय मिटरमा र बगुवालगायत क्षेत्रमा रहेको छ । विशेषगरी छपेली पर कार्कीवास क्षेत्रमा बढी रहेको छ । त्यो क्षेत्रमा स्तरोन्नतिका लागि अनुमान गरेर अर्थ मन्त्रालयमा सहमतिका लागि पठाइएको उनले बताए । योजना प्रमुख न्यौपाने भने, ‘अहिले बहुवर्षीय सहमति नआएर रोकिएको छ ।’ झन्डै छ दशक पहिले ट्रयाक खुलिसकेको कान्ति राजमार्ग अझै सम्पन्न भइसकेको छैन । अहिलेसम्म समस्या नभएका स्थानमा कालोपत्र भइसकेकामा पहिरो आउने सम्भावित क्षेत्रमा मात्रै काम गर्न बाँकी रहेको छ । केही वर्षयता भीमफेदीबाट फर्पिङ आउने बाटोसँगै कान्ति राजमार्गको प्रयोग बढिरहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका १२ वटा मोटरसाइकल बिक्रीमा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले १२ वटा सवारी साधन बिक्री गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले विभिन्न कम्पनीका १२ वटा मोटरसाइकल बिक्रीमा राखेको हो । इन्स्योरेन्स कम्पनीको नाममा रहेका २२० सीसीको बा ६० प ३१७९, २ सय सीसीका बागमति प्रदेश ०२०२९ प ९८६२, बागमति प्रदेश ०२४० प ०५०८, बागमति प्रदेश ०२००८ प ७६०३ नम्बर, बा ९९ प २२९२ र १५० सीसीको बागमति प्रदेश ०२०३६ प ९७७१ पल्सर बाइक बिक्रीमा राखेको हो । यस्तै, बा ९३ प ५९७३ नम्बरको डियो स्कुटर, ना ५८ प ७७२८ नम्बरको होण्डा साइन, ना ४७ प १९०९ नम्बरको हेरो होण्डा, क ३० प ९६६२ नम्बरको सीबि युनिकन मोटरसाइकल बिक्रीमा राखेको हो । यस्तै, स्पेलेण्डर प्लस कम्पनीका बा २६ प ५४९५ र बा २६ प १७१७ नम्बरको बाइक बिक्रीमा राखेको हो । सवारी साधन जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा लिलाम विक्री गरिने कम्पनीले बताएको छ । सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति तथा फर्मले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाउँमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फारम प्रतिकोटा पत्र १ हजार रुपैयाँ बुझाई कम्पनीको व्यवस्थापन विभागबाट खरीद गर्न सकिनेछ ।

गरिमा विकास बैंकको पौने ४ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको पौने ४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूह ‘क’ का केही सेयरधनीहरुले ३ लाख ८२ हजार ७९२.७७ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ । बैंकको अनुसार तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले जोकोही सर्वसाधारण लगानीकर्तलाई बिक्री गरिनेछ ।

डिप्रोक्स र आदर्श लघुवित्तको कारोबार बन्द हुने

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तको कारोबार बन्द हुने भएको छ । दुवै लघुवित्तबीच मर्ज हुने भएकाले एकीकृत कारोबार प्रयोजनका लागि जेठ ३२ गते दुवै लघुवित्तको कारोबार बन्द हुने जनाएको छ । आदर्श लघुवित्तलाई गाभेर डिप्रोक्स लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जरपश्चात् डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार हुने जनाएको छ । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्न चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको थिए । दुवै लघुवित्तबीच सेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता सेयर बराबर आदर्श लघुवित्तको १ कित्ता सेयर कायम हुनेछ । दुवै लघुवित्तबीच गत असोज १४ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

साढे ३ सय रुपैयाँमा सेयर बेच्दै उन्नति सहकार्य लघुवित्त

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समहूको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो सेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ । बोलपत्र पेश गर्दा सो मूल्य वा सोभन्दा बढि मूल्य अंकित गरी आवेदन पेश गर्नु पर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले आज जेठ २८ गतेदेखि असार ३ गतेसम्म सो सेयर बिक्रीमा राखेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा आवेदन दिनु पर्नेछ ।

नेप्सेमा ४ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत जेठ २१ गते आइतबारदेखि जेठ २६ गते शुक्रबारसम्म आरएमडीसी लघुवित्त, हिमालयन एभरेष्ट इन्स्योरेन्स, कालिका पावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । आरएमडीसी लघुवित्तको २६ प्रतिशत बोनस बापत ३२ लाख २६ हजार ७७२.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हिमालयन एभरेष्ट इन्स्योरेन्सको २.७५ प्रतिशत बोनस बापत ६ लाख १५ हजार ९८३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.७५ प्रतिशत बोनस सेयर र ०.१४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कालिका पावर कम्पनीको १५ प्रतिशत बोनस बापत १० लाख ३५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । नेशनल माइक्रोफाइनान्स लघुवित्तको १५ प्रतिशत बोनस बापत ८ लाख ८० हजार १२.४६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

कालीकोटको गविराममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । ‘घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन, जिपमा सवार ३ जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन,’ प्रहरी प्रमुख रिमालले भने ।