विकासन्युज

‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग

काठमाडौं । सोसाइटी इन्टरनेशनलले अटिजम भएका बालबालिकाका अभिभावकहरूको संस्था (एफपीसीए)लाई आर्थिक सहयोग गरेको छ ।  सोमबार एक कार्यक्रमका बीच सोसाइटी इन्टरनेशनलले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत एफपीसीएलाई आर्थिक सहयोग गरेको हो ।  वार्षिकरूपमा सहयोग गर्ने प्रतिबद्धताअन्तर्गत सोसाइटी इन्टरनेशनलका जिएसए अफेयर हेड सन्तोषविक्रम राणाले एफपीसीएकी अध्यक्ष एलिना बज्राचार्य तुलाधरलाई पहिलो चेक हस्तान्तरण गरे ।  एक वर्षसम्म हरेक महिना आर्थिक सहयोग गर्दै जाने कम्पनीले जनाएको छ ।  उनले अटिजम पीडित बालबालिका र व्यक्तिहरूलाई सामाजिक र आर्थिक रुपमा सहयोगको आवश्यकता रहेको बताए ।  चेक बुझ्दै एफपीसीएकी अध्यक्ष तुलाधरले अटिजम पीडित व्यक्ति र बालबालिका पनि यही देशका नागरिक भएकाले सरकारले पनि सुरक्षाको दायित्व निर्वाह गर्नुपर्ने बताइन्। विगत १० वर्षदेखि अटिजम भएका व्यक्ति र बालबालिकाका लागि एफपीसीएले डे-केयर र सिकाइ केन्द्र सञ्चालन गर्दै आएको छ ।  संस्थाले बालबालिकालाई व्यक्तिगत शिक्षा योजनाअनुसारको पठनपाठन र विशिष्ट थेरापीको सेवा पनि दिने गर्दछ । सोसाइटी इन्टरनेशनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जीएसए  प्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट (जीएसए) को रूपमा कार्यरत छ । 

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र स्काइ ब्रोडब्याण्ड प्रालिबीच सम्झौता भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा १ हजार ५०० छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्ने जनाइएको छ । यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।  स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले ग्राहकलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।   

शिखर इन्स्योरेन्सले नेपालमै पहिलो पटक २० लाखसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराउने

काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात गरेको छ । सोमबार मेडिसिटी अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक सुभारम्भ गरिएको हो ।  कम्पनीका अनुसार व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा २० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ ।  हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रूपमा रहन जाने विश्वास कम्पनीको रहेको छ ।  यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससँग आवद्ध रहेका नेपालका अस्पतालमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमांक रकमको १० प्रतिशत रकम (अधिकतम १ लाखसम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ ।  नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमाको रकम बराबरसम्मको उपचारको लागि बीमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ ।  नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बीमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न कम्पनीले जनाएको छ ।  शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ ।  अस्पताल भर्ना नभई गर्न सकिने उपचारअन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । साथै भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।   यो बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरिकले समेत प्राप्त गर्न सक्नेछन् । 

विवादित छविका दुर्गा प्रसाईंले पार्टी खोल्ने, नेपालीले मात्रै नेपालमा लगानी गर्न पाउनुपर्ने एजेण्डा

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने भएका छन् । सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले राजनीतिक दल खोल्न लागेको घोषणा गरेका हुन् । प्रसाईंले परिस्थितिले राजनीतिमा आउनुपरेको बताए । ‘यो राजनीतिमा मलाई जबर्जस्ती ल्याइएको हो । म राजनीति गर्ने मान्छे होइन । हामीले दल खोलेर केही समयभित्र दल घोषणा गर्नेछौं,’उनले भने । प्रसाईंले राजनीतिक दलहरूले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताए।  देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमानसहितको पार्टी छिट्टै घोषणा हुने उनले जानकारी दिए ।  यस्ता छन् उनका एजेन्डा : नेपाल नेपालीले नै बनाउने हो, नेपालमा व्यापार नेपालीले नै गर्ने हो बौद्ध किरातसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना गर्ने हो प्रदेश संरचना खारेजी, ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नेपालमै युवालाई सीपअनुसार कामको व्यवस्था खाडीका जेलमा रहेका युवालाई नेपालमा फर्काउने भुइँ मानिसले लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा २० लाखमाथि मध्यमवर्गीय व्यापारीको ऋण २५ वर्ष समयावधि राखेर ५ प्रतिशत व्याजमा तिर्न पाउने व्यवस्था सहकारी बचतकर्ताको रकम राज्यले तिर्ने व्यवस्था ६५ वर्ष पुगेका नागरिकलाई निस्शुल्क उपचार र मासिक १० हजार भत्ता २०४६ पछिका नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी सरकारीकरण गर्ने निजामती कर्मचारी, प्रहरी, सेना र शिक्षकको तलब मासिक १ लाख

रवि लामिछानेको स्वास्थ्यमा समस्या, जेलमै पुगे डाक्टर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ । लामिछानेको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरूको टोली कारागार लगिएको थियो । सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका थिए। ‍त्यही क्रममा सभापति लामिछानेकाे स्वास्थ्यमा समस्या देखिएको आशंकामा रगत परीक्षण गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनअघि मात्रै लामिछानेलाई भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो । उनलाई करिब ४ सय कैदीबन्दी राखिएको एक ब्लकमा राखिएको छ ।

सीआईटीको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।  घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो ।  त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।

१० करोडको चेक बाउन्स प्रकरण : राजु गोर्खालीविरुद्ध ५ दिन म्याद थप

काठमाडौं । १० करोड रुपैयाँ बराबरको चेक बाउन्स प्रकरणमा पक्राउ परेका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) विरुद्ध अदालतले थप ५ दिनको म्याद दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले सोमबार चन्द्रागिरीबाट पक्राउ गरेको गोर्खालीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद अनुमति दिएको हो । प्रहरीका अनुसार गोर्खालीले १० करोड रुपैयाँको लेनदेन कुन प्रयोजनका लागि गरेका हुन् भन्ने विषयसमेत हाल अनुसन्धानको दायरामा छ ।

नाडा अटो शो २०२५ मा फोटोन र सोकोनका विद्युतीय गाडीमा छुट र अफर पाइने

काठमाडौं । नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले ६ दिनसम्म चल्ने प्रदर्शनीका अवसरमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् । टीएमवानको मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ गरिएको छ भने माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुट लागू गरिएको छ । फोटोन टुनल्यान्ड पिकअपले भने आफ्नो छुटबारे प्रदर्शनीमै सार्वजनिक गर्ने भएको छ । प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले बुकिङ ग्याजेट, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी प्राप्त गर्नेछन् । साथै, सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ । अफर अन्तर्गत, टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँ बराबरको शपिङ कुपन, ३ वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा पाउनेछन् । त्यसैगरी, माउन्टेन ईभी भ्यान खरिद गर्नेले छुटसहित ५५ इन्चको स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ र ब्रेक सुज प्राप्त गर्नेछन् भने सोकोन ईभी भ्यान खरिदमा पनि आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गरिनेछ । यी सबै अफर र उपहारहरूले गाडी खरिद अनुभवलाई अझ आकर्षक, किफायती र सुविधाजनक बनाउने आयोजक कम्पनीले विश्वास व्यक्त गरेको छ ।