विकासन्युज

युक्रेन आक्रमणपछि रूसी तेलको चीनतर्फको आयातमा अत्यधिक वृद्धि

काठमाडौं । मस्कोले फेब्रअरी २०२२ मा युक्रेनमा गरेको आक्रमणपछि गत महिना रूसी तेलको चिनियाँ आयात उच्च स्तरमा पुगेको भन्सारको तथ्याङ्कले देखाएको छ । चीन रूसको सबैभन्दा ठूलो आर्थिक साझेदार हो र गत वर्ष २ देशबीचको व्यापार १९० अर्ब अमेरिकी डलर पुगेको थियो । मे महिनामा चीनले रूसबाट ९७ लाख १० हजार टन तेल आयात गरेको थियो । जुन फेब्रुअरी २०२२ को तुलनामा दोब्बरभन्दा बढी हो । यो आँकडाले दुई देशबीचको आर्थिक सम्बन्धको व्यापक प्रगाढतालाई प्रतिबिम्बित गरेको छ । युक्रेनमा मस्कोको आक्रमणपछि मे महिनामा रूसको चीनसँगको समग्र व्यापार अहिलेसम्मको उच्च स्तरमा पुगेको छ । गत वर्षको अन्त्यमा ऊर्जाको मागमा कटौती गरेको कडा शून्य–कोभिड उपायहरूको अन्त्यपछि चीनको पुन: उत्थान अर्थव्यवस्थाको सन्दर्भमा पनि यी घटनाहरू देखा परेको हुनसक्ने अनुमानहरू पनि गरिएका छन् । गत मार्चमा भएको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२३ मा व्यापारलाई २०० अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । रूसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले गत महिना भनेका थिए, ‘यो वर्ष चीनमा रूसी ऊर्जा आपूर्ति ४० प्रतिशतले वृद्धि हुनेछ ।’ सन् २०२२ मा युक्रेनमा मस्कोले गरेको आक्रमणलाई लिएर पश्चिमा मुलुकले गरेको कारबाहीका कारण रूसको ग्यास निर्यातमा गिरावट आएको थियो । यसै महिना रूसको अर्थतन्त्रका बारेमा बोल्दै पुटिनले गत वर्षको दोस्रो त्रैमासिक अकल्पनीय प्रतिबन्धपछि ‘सबैभन्दा कठिन’ भएको बताएका थिए ।युरोपले अन्य ऊर्जा आपूर्तिकर्ताहरूको खोजी गर्दा मस्कोले चीनसहित वैकल्पिक बजारको खोजी गर्दै एशियाली मुलुकसँगको ब्यापारलाई महत्व दिएको छ । चीन यस पहिले नै साइबेरिया पाइपलाइनद्वारा जोडिएको छ । राष्ट्रपति सीसँगको वार्तापछि पुटिनले नयाँ ‘पावर अफ साइबेरिया–२’ परियोजनाका लागि ‘सबै सम्झौता भएको’ बताएका थिए । त्यो पाइपलाइनले वार्षिक रूपमा चीनमा ५० अर्ब क्युबिक मिटर अर्थात् लगभग रूस देखि जर्मनी सम्म परित्यक्त ‘नोर्ड स्ट्रीम–२’ परियोजनाको कूल क्षमताको बराबर प्राकृतिक ग्याँसको परिवहनको सुविधा प्रदान गर्न सक्छ । मस्को नयाँ पाइपलाइन अगाडि बढ्नेमा विश्वस्त छ, तर बेइजिङले अहिलेसम्म स्पष्ट प्रतिबद्धतालाई बेवास्ता गरेको छ । चीन र रूसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथिको आक्रमणपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ हुँदै गएको छ । बेइजिङले युद्धमा आफू तटस्थ पार्टी भएको दाबी गरे पनि मस्कोको निन्दा गर्न अस्वीकार गरेको र रूससँगको सम्बन्धका कारण पश्चिमा देशहरूले चीनको आलोचना गर्दै आएका छन् । विश्लेषकहरूका अनुसार रूससँगको सम्बन्धमा चीनको प्रभाव उच्च छ । मस्कोको अन्तर्राष्ट्रिय अलगाव गहिरिँदै जाँदा चीनको सम्बन्ध बढ्दै गएको छ । गत फेब्रुअरीमा बेइजिङले एक पत्र जारी गर्दै द्वन्द्वको ‘राजनीतिक समाधान’ का लागि आह्वान गरेको थियो, जसले गर्दा पश्चिमा देशहरूले रूसले कब्जा गरेको अधिकांश भूभाग आफ्नो कब्जामा राख्न सक्ने बताएका थिए । मार्चमा मस्कोमा भएको शिखर सम्मेलनमा सीले पुटिनलाई बेइजिङ भ्रमणको निम्तो दिनुभएको थियो र दुई नेताले सम्बन्ध ‘नयाँ युगमा प्रवेश गरेको’ घोषणा गरेका थिए । गत महिना युक्रेन आक्रमणपछि रूसी अधिकारीको चीन भ्रमणका क्रममा प्रधानमन्त्री मिखाइल मिशुस्तिनसँगको भेटमा चिनियाँ नेताले मस्कोको ‘प्रमुख स्वार्थ’मा आफ्नो ‘दृढ समर्थन’ व्यक्त गरेका थिए ।रासस

रूसमा बारुद कारखानामा आतङ्ककारी विस्फोट

काठमाडौं । रूसको एक बारुद कारखानामा मङ्गलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । मस्कोको दक्षिणपूर्वमा रहेको टाम्बोभ क्षेत्रमा रहेको बारुद कारखानाले एक विज्ञप्ति जारी गर्दै एक ठेकेदारसहित समान जोड्ने काम भइरहेका समय विस्फोट भएको जनाएको छ । ‘कारखानामा भएको अप्रत्यासित विस्फोटमा परी कम्तीमा १२ जना घाइते भएका छन् र तीमध्ये चारजनाको मृत्यु भएको छ,’ रूसी सञ्चारमाध्यमबाट सार्वजनिक भएको कारखानाको विज्ञप्तिमा भनिएको छ । मृत्यु हुनेमा अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन् । बारूद कारखानाले विस्फोटको कारणबारे अनुसन्धान गरिरहेको र घटनामा मानवीय सम्लग्नता रहेको हुनसक्ने बताएको छ । ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले घटनामा ‘आतङ्ककारी’ को सम्लग्नता हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन् । ठूला अपराधको छानबिन गर्ने रूसी सरकारी छानबिन समितिले सुरक्षा नियम उल्लङ्घनको अनुसन्धान सुरु गरेको जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि मस्को उच्च सतर्कतामा रहेको छ । यद्यपि, यो अवधिमा रूसी भूभाग भित्ररहेका प्रतिष्ठानहरूमा थुप्रै ड्रोन आक्रमण भएका छन् । युक्रेनमा आक्रमण सुरु भएदेखि नै रूसमा सैन्य कारखानाहरू पनि पूर्ण रूपमा सञ्चालन भइरहेका छन् ।

जो बाइडनका छोरा हन्टरद्वारा आयकर नतिरेको स्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरले सङ्घीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको स्वीकार गरेका छन् । हन्टर बाइडेनले आफ्नो गृह राज्य डेलावेयरस्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयसँगको निवेदनमा आफू लागुऔषध प्रयोगकर्ता भएको र बन्दुक राखेको स्वीकार गरेका हुन् । हन्टर बाइडेन र अमेरिकी अभियोजकहरूबीच भएको सम्झौतालाई संघीय न्यायाधीशले अनुमोदन गर्नुपर्ने छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले मङ्गलबार आफ्ना छोरा हन्टरलाई अभियोग स्वीकार गरेकोमा स्यावासी दिएका छन् । ‘राष्ट्रपति र प्रथम महिलाले आफ्नो छोरालाई माया गर्छन् र उसलाई सहयोग गर्छन् किनकि उसले आफ्नो जीवनको पुन ः र्निर्माण जारी राख्छ, हामीले थप कुनै टिप्पणी गर्ने छैनौं,’ ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विवरण नबुझाउने विद्यालयलाई एक लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालसम्म पनि छात्रवृत्तिको विवरण उपलब्ध नगराउने निजी विद्यालयलाई कारबाही स्वरुप १ लाख रुपैयाँ जरिवाना तिराउने बताएका छन् । कामपाले यसअघि नै सार्वजनिक सूचना जारी गरी गत जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेश गर्न आग्रह गरेको थियो । तोकिएको समय सीना पार गरिसक्दासम्म अझै केही विद्यालयले विवरण नबुझाएकाले उक्त विद्यालयलाई १ लाख रुपैयाँ जरिवानासहित विवरण ल्याउन अन्तिम पटक प्रमुख साहले आग्रह गरेका हुन् । अझै कामपाको आग्रहमाथि आनाकानी गरे कामपाको शिक्षा ऐन २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम सम्बन्धित विद्यालयलाई प्रदान गरिएको अनुमसति वा स्वीकृति रद्द गर्नेसम्मको चेतावनी प्रमुख साहले दिए । हाल कामपा क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ वटाले छात्रवृत्ति बुझाएको विवरण पठाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थी छात्रवृत्ति प्राप्त लाभ लिएका कामपाका प्रमुख साहले जानकारी गराए । प्रमुख साहका अनुसार प्राप्त भएका विवरणमाथि पनि पुनः एक पटक कामपाले छानबिन गरी सूचना सार्वजनिक गर्नेछ । नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । पटकपटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको ठहर छ । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन निर्देशन दिएका बताए । भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचना नै जारी गरेर कडाइ गरेको थियो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगो शुल्क लिने विद्यालय रहेका थिए । कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको ५ प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरी विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।

बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव

काठमाडौं । बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ । नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताए । ‘मदन भण्डारी राजमार्गअन्र्तगतको माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ, वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ, गाउँघरमा खाद्यान्न लगायतका वस्तुको अभाव देखिन सुरु भयो, आकस्मिकरूपमा कोही बिरामी परेर कतै लैजानुपरेमा कुनै उपाय छैन,’ अध्यक्ष वनेमले भने । उनका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन् । मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ । विभिन्न गाउँलाई जोड्ने चार झोलुङ्गे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको छ । अहिले गाउँपालिकाको केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा कठिनाइ छ । शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन् । ‘भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ, दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म तत्काल पुग्न सकिएको छैन, बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्,’ अध्यक्ष वनेमले भने । उनका अनुसार ओदक टोलका १० घर उच्च जोखिममा छन् भने ओदकसहितका विभिन्न क्षेत्रका २६ घर जोखिममा छन् । चारैतिरको बाटोघाटो र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ । यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन् । सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताए । अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले सुरु गरेको छ । तर यसमा समय लाग्ने वनेमले बताए । ‘वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मायालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म नजिकको बजार दोभान पुग्न कुनै विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ, आधा दर्जन झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनेपछि गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या छ,’ उनले भने । बाढीले मैवाखोला–४ को भालढुङ्गा, माङ्माया खोलाको, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते खोलाको, माङ्माया खोला सत्तल छेउको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । ती पुलबाट वारिपारि गर्ने उपाय छैन । नेरुवा खोलाको काठे पुल बाढीले बगाएको छ । उक्त पुल निर्माण नहुँदासम्म गाउँघरमा आवतजावत ठप्प जस्तै हुने अध्यक्ष वनेमको भनाइ छ । सानातिना खोला खोल्सामा काठेपुल निर्माण गरे पनि ठूला खोला खोल्सामा झोलुङ्गे पुलको विकल्प छैन । मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन् । बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन् । केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकारमय बनेको छ । बिजुली नहुँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् भने सञ्चारविहीन बनेका छन् । ‘मोबाइल चार्ज गर्ने ठाउँ छैन, भए पनि टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्, बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्,’ अध्यक्ष वनेमले भने । मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो । यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ । जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ । शनिबार राति मुसलधारे वर्षासँगै आएको बाढीपहिराले गाई भैँसीसहित दर्जनाँै पशुचौपाया बगाएको गाउँपालिकाले जनाएको छ । बाढीपहिराले सर्वसाधारण विस्थापित हुँदा र भएका दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा पुनःस्थापना गर्न निक्कै कठिन हुने देखिएकाले समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले बजेटसहितका आवश्यक सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पहिराले घर बगाउँदा बेपत्ता बनेका मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन् । रासस

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै, मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति

काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । यस अघि वि.सं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । माघ १गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

वडाध्यक्ष ढकालले २ अर्ब मूल्य पर्ने धोबी खोलाको सरकारी जग्गा हिनामिना गरेको आरोप

काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकालले धोवी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नलाई सिफारिस गरेको भन्दै सामाजिक विकास समाजले छानबिन गर्नुपर्ने माग गरेको छ । समाजले पत्रकार सम्मेलन गरी सार्वजनिक सरकारी जग्गा संरक्षण गर्ने दायित्व बोकेका वडाध्यक्षले नै सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्नु गम्भीर आपत्तिजनक भएको भन्दै अध्यक्ष ढकाललाई निलम्बन गरी छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेको हो । ‘निज वडाध्यक्ष ढकालले साविक बानेश्वर महादेवस्थान वडा नं ५ कित्ता नं १४३ को जग्गामध्ये कै स्थानीय समुदायको हितमा प्रयोग हुँदै आएको साविक धोबी खोलाको सरकारी जग्गालाई नै वडाध्यक्ष ढकालले नक्कली गुठियार र मोही खडा गरी गुठीको नाममा दर्ता गरी झण्डै २ अर्ब मूल्य पर्ने धोबी खोलाको १२ रोपनीभन्दा बढी सरकारी जग्गा बिक्री गरी खाने योजनाका साथ भ्रष्टाचारजन्य कार्य गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ । वडाध्यक्ष ढकालले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेको भनी स–प्रमाण विभिन्न मिडियामा आएको समाजको भनाइ छ ।

स्रोत नखुलेको साढे ३३ लाखसहित एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई आज पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार रुपैयाँ हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।