विकासन्युज

एकल पुरुषलाई विदुर भत्ता दिने

जुम्ला । जुम्लाको  हिमा गाउँपालिकाले पालिकाभित्रका ५० वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिइन् । आगामी आवमा कार्यान्वयन हुने गरी एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ । सो कार्यक्रमले हिमाका एकल पुरुषलाई राहत मिल्ने स्थानीयवासी बताउँछन् । कृषि क्षेत्रमा थप आकर्षण बढाउन गाउँपालिकाभित्रका विभिन्न वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने नीति तथा कार्यक्रम ल्याइएको उपाध्यक्ष सुपर्ना शाहीले बताइन्। वडा नं १ लाई धान पकेट क्षेत्र, आाचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, वडा नं २ को ओदीलाई आलु र लसुन पकेट क्षेत्र, वडा नं ३ लाई स्याउ, ओखर र फलफूल पकेट क्षेत्र, वडा नं ४ र ७ लाई गहुँ पकेट क्षेत्र, वडा नं ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र तथा वडा नं ५ को बुअ र वाजागाडालाई भेडा, सिमी तथा स्याउ पकेट क्षेत्र विकास गरी गरिबीको रेखामुनि रहेका बेरोजगार युवालाई उत्पादनशील कार्यक्रममा आबद्ध गर्न आवश्यक बजेटसहितको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले निःशुल्क स्वास्थ्य बीमा, गाउँपालिकाबाट लोक सेवा आयोगमार्फत अधिकृत वा सोभन्दा माथिका पदधारण गर्ने विशिष्ट व्यक्तिलाई सम्मान कार्यक्रम, पालिकाभित्र सार्वजनिक बस सेवा, विद्यार्थीसँग अध्यक्ष कार्यक्रममार्फत विभिन्न शैक्षिक सुधारका रणनीति गाउँपालिकाको १४औँ गाउँसभाबाट नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

प्राधिकरणले भन्यो: सिम्रिकलाई हेलिपोर्ट निर्माणको अनुमति दिनु राष्ट्रिय हवाई नीति विपरित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने निर्णय राष्ट्रिय हवाई नीति विपरित हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । बुधबार प्राधिकरणले मन्त्रालयलाई पत्रमा पठाउँदै बनेपा नगरपालिका वडा नं १४ राउत गाउको माथिल्ले इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्नका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि प्राधिकणले कार्यान्वयन गर्न सम्भव नरहेको जनाएकाे हाे । ‘राष्ट्रिय हवाई नीति २०६३ को दफा ५.७ मा देशको आवश्यकता, भौगैलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रिय सन्तुलन, पर्यटन प्रवद्र्धन, अन्य विमानस्थलको निकटता लगायत प्रतिफल सम्भावना समेतको मूल्यांकन गरी जनसहभागिता वा स्थानीय निकायको वा संयुक्त लगानीमा मात्र साना विमानस्थल/हेलिपोर्ट निर्माण गर्न सकिने व्यवस्था रहेको भन्दै हवाई नीति विपरित सिम्रिक एयरलाइ एकल लगानीमा निर्माण तथा सञ्चालन गर्न दिदाँ हवाई नीति विपरित हुने देखिन्छ’, प्राधिकरणले मन्त्रालयमा पठाएकाे पत्रमा भनिएकाे छ । मन्त्रालयबाट लेखि आएको पत्रसँग सम्बन्धित कागजात अध्ययन गर्दा अन्तर्राष्ट्रिय मापदण्डको हेलिपोर्ट निर्माण तथा संचालनका लागि सैद्धांतिक सहमति दिइएको देखिन्छ पत्रमा भनिएको छ, ‘जुन नेपालको परिप्रेक्ष्यमा आइकाओ एनएक्स १४ सम्बन्धि कुनै राष्ट्रिय मापदन्ड भित्र छैन ।’ नेपाल सरकार मन्त्रीपरिषद्बाट संविधान र कानून बमोजिम निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण गर्न दिने गरी कुनै निर्णय नभएको भन्दै प्राधिकरणले हेलिपोर्ट निर्माण सम्बन्धमा भएको सैद्धान्तिक सहमति कार्यान्वयन गर्न संभव नरहेको स्पष्ट पारेको छ ।

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

मनहरी । आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरद्वारा आयोजित अङ्गदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले छ महिना भित्र अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार मिर्गौला प्रत्यारोपणको तयारीस्वरुप हेटौँडा अस्पतालमा पूर्वाधार निर्माणसँगै आवश्यक उपकरण खरिदको कार्य भइरहेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले हेटौँडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदानस्वरुप रू नौ करोड उपलब्ध गराएको छ । उक्त रकम उपकरण खरिद र पूर्वाधार निर्माणमा खर्च हुनेछ । प्रदेश सरकारले आगामी वर्ष २०८०/८१ को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा रू चार करोड विनियोजन गरेको छ । डा. सापकोटाका अनुसार हेटौँडा अस्पतालले तीन वर्षदेखि डाइलाइसिस सेवा दिँदै आएको छ । महिनामा ५० जनासम्म मिर्गौलाका बिरामीले डाइलाइसिसका लागि पालो कुर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको उनले जानकारी दिए । डाइलाइसिस गर्न आउने बिरामीका लागि थप १५ डाइलाइसिस मेशिन थप्नुपर्ने आवश्यक रहेको डा. सापकोटाले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीले हेटौँडामा प्रत्यारोपण सेवा सुरु गरेपछि यस कार्यले निरन्तरता पाउनुपर्नेमा जोड दिए । रासस

नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्याे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ७६ अङ्कले ओरालो लागेर चार सय दुई दशमलबव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा बृद्धि भएको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ मूल्यमा खरिद बिक्री भएका छन् ।  कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको रु ८३ करोड ७० लाख ३६ हजार सात सय ९१ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट रु २८ करोड २२ लाख ६७ हजार पाँच सय ५९, सोल्टी होटल रु २३ करोड ५६ लाख ३८ हजार नौ सय ९९, एशियन लाइफ इन्स्योरेन्स रु १९ करोड ५० लाख ७२ हजार र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १७ करोड २७ लाख ७६ हजार दुई सय ७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सामुदायिक लघुवित्त आठ दशमलब १६ र शुभम् पावर कम्पनीको शेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ । साथै इन्ग्वा हाइड्रोपावर छ दशमलब ६४, खप्तड लघुवित्त छ दशमलब १५, तारागाउँ रिजेन्सी होटल छ दशमलब ११, मकर जीतमाया सुरी हाइड्रोपावर पाँच दशमलब ८६ र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

४३ कम्पनीमा केदार शर्माको २ करोड कित्ता सेयर, यी हुन् २४ जना व्यवसायिक पार्टनर

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका केदारनाथ शर्माले विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेका हुन् । बचतकर्ताको रकम हिनामिनाकै आरोपमा फरार रहेका उनलाई प्रहरीले सोमबार बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेको थियो । उनलाई नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको बुझिएको छ । अहिले उनीसहित उनकी श्रीमती गिता शर्मा र सहकारीका सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारी प्रहरीको नियन्त्रणमा छन् । शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको हो । सीआईबीका अनुसार शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५२६ रुपैयाँ र श्री तुलसी बहुमुखी सहकारीबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ हिनामिना गरेका छन् । प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको हो । शिखर अर्गनाईजेशनका सञ्चालक समेत रहेका उनले विभिन्न क्षेत्रका ४३ कम्पनीमा ठूलो रकम लगानी गरेको भेटिएको हो । ती कम्पनीहरुमा अन्य २४ जनाले पनि लगानी गरेका छन् । उनको मुख्य लगानी रहेको कम्पनीहरुमा उनकी श्रीमती गिता शर्मा, शुसिला बानियाँ, तेज बहादुर तामाङ, लिलानाथ गौतम, कमल शाह, अमृता श्रेष्ठ, सुदर्शन कपाली, पुस्कर मल्ल, अनिल आचार्य, सुमन कुमार लुइँटेल, राजु शाखकर्मी, बिक्रम कुवँर र छविलाल बिकको पनि लगानी छ । यस्तै, ती कम्पनीहरुमा दिकेन्द्र कुमारी गिरी, सरिता गिरी, जुठे राउत क्षेत्री, अमृत गिरी, सुनिता खड्का, प्रदिप भट्टराई, बालकृष्ण ढकाल, राजकुमार शर्मा, डम्बर बहादुर तामाङ, धन बहादुर तामाङ र दिपक लामाको लगानी देखिएको छ । अधिकांश कम्पनीहरुमा उनको एकल लगानी देखिएको छ भने केहीमा उनले साझेदारहरुसँग मिलेर काम गरेको देखिन्छ । उनको १९ वटा कम्पनीमा एकल लगानी देखिएको छ भने ९ वटा कम्पनीमा उनकी श्रीमती गिता शर्माको एकल लगानी छ । अन्य कम्पनीमा भने शर्मा र गितासहित अन्य लगानीकर्ताको संयुक्त स्वामित्व भेटिएको छ । उनी र उनको श्रीमती शर्माको ती कम्पनीहरुमा १ करोड ९१ लाख ३६ हजार कित्ता सेयर स्वामित्व देखिएको छ । सिआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार उनले ती सबै कम्पनीहरुमा सहकारीका बचतकर्ताको बचत प्रयोग गरेको देखिएको छ । सो सहकारीमा एकैजनाको २ करोड रुपैयाँसम्मको बचत छ । ती कम्पनीमा उनले ८ अर्ब रुपैयाँ बढी लगानी गरेको देखिएको छ । उनले आफू र आफ्ना परिवारका सदस्यका नाममा घरजग्गा, सवारी साधनलगायत खरिद गरेर समेत सर्वसाधारणको निक्षेपको दुरुपयोग गरेको सीआईबीले जनाएको छ । उनको ती कम्पनीमा साढे डेढ करोड कित्ता सेयर स्वामित्व छ । ती कम्पनीमा ८ अर्ब बढी लगानी गरेको देखिएको सिआईबीको भनाइ छ । अझै पनि उनको सम्पत्तिको विषयमा अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए । उनले गोर्खा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, शिखर मेसेनरी एण्ड अटोमोबाइल्स, नटराज एग्रो, तुलसी मोटर पम्प इण्डष्ट्रि, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिवशिखर इन्भेष्टमेन्ट, उपकार मडिया, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल, हिमालयन लायन कन्ष्ट्रक्सन, तुलसी फुड, नटराज फुड, उपकार फाउण्डेसन लगायत कम्पनीमा लगानी गरेका छन् । सीआईबीका अनुसार सहकारीको बचत हिनामिना गरेका ६/७ जनालाई प्रहरीले खोजिरहेको छ । यो हालसम्मकै ठूलो सहकारी ठगी हो ।

प्रेम गीत ३ डिशहोममा प्रदर्शन हुँदै

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ । विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने जनाएको छ । ‘प्रेम गीत ३’ यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलव्ध हुनेछ । यो चलचित्र उपलव्ध भए पछि आफुले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफुले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

ललिता निवास जग्गा प्रकरणका पक्राउ सरकारी वकील कार्यालय पुगे

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ । बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगेको हो । व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्याएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । सरकारी लिखित कीर्तेको विषय भएकाले कानूनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकील कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उनले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताए । ‘सरकारी सम्पती किर्तेको विषयमा अनुसन्धानको कुरा हो । कानूनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ । अनुसन्धानको क्रममा कसुरदार वा संकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ ।’ सहन्यायाधिवक्ता न्यौपानेले भने । अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन् ।

डा. शिवजी सिलवालले नर्भिकमा फ्रि ओपिडी सेवा दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । गत शनिबार (असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो । सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिवार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ । निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ । नेपालीहरुमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो । नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व(सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।