गोरखा ब्रुअरीलाई ‘व्यावसायिक सुरक्षा पुरस्कार सम्मान’
काठमाडौं । गोरखा ब्रुअरीले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताको कदर स्वरूप नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाट ‘प्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कार’ प्राप्त गरेको छ । उक्त सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले एक विशेष कार्यक्रममा प्रदान गरेका थिए । पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको हो । गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै भने, 'यो सम्मान हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमको प्रतिफल हो, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। शून्य–दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो ।' गोरखा ब्रुअरीले विगतदेखि नै कार्यस्थल सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू तथा राष्ट्रिय श्रम सुरक्षा नियमावलीको दृढ पालना गर्दै आएको छ । यस सम्मानले नेपालकै ब्रुअरी उद्योगमा नयाँ सुरक्षा मानक स्थापित भएको कम्पनीको भनाइ छ ।
एनआईसी एशिया लघुवित्तको समिक्षा बैठक तथा कर्मचारी तालिम सम्पन्न
काठमाडौं । एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा तथा रणनीतिक योजना बैठक सम्पन्न गरेको छ । सोमबार र मंगलबार गरी दुई दिन चलेको उक्त कार्यक्रममा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतहरूको सीप तथा क्षमता अभिवृद्धिका लागि विशेष तालिम समेत प्रदान गरिएको थियो । संस्थाको वार्षिक कार्यक्रमअनुसार आयोजित कार्यक्रममा सातै प्रदेशका प्रमुखसहित ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृतलगायत ४७ जना कर्मचारीले सहभागिता जनाएका थिए । रोयल बुटिक होटेल, काठमाडौंमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले देश–विदेशका लघुवित्त संस्थाहरूका उत्कृष्ट अभ्यास, क्षेत्रीय चुनौतीहरू र कर्जा गुणस्तर कायम राख्न आवश्यक असुली रणनीतिबारे जानकारी प्रस्तुत गरे । त्यसैगरी सञ्चालक सदस्य बलराम पौडेलले प्रभावकारी अनुगमनका लागि अपनाउनुपर्ने कदम तथा व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै कर्मचारीलाई उत्प्रेरित गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायत विभागीय प्रमुखहरूले दैनिक कार्यान्वयनका क्रममा देखिएका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए । बैठक गत आर्थिक वर्षको प्रगति समीक्षासहित चालु आवका लागि तय गरिएका लक्ष्यहरू हासिल गर्न आवश्यक रणनीति तर्जुमा गर्दै सम्पन्न भएको संस्थाले जनाएको छ ।
राजगढ गाउँपालिकाका वडा अध्यक्ष साहको निधन
राजविराज । राजगढ गाउँपालिका- ५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए। उजका दुई छोरा र तीन छोरी छन् ।
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
कर्णाली । कर्णाली प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उनले बताए ।
बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
अदानचुली । सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती भएको छ । पुल नहुँदा सबैभन्दा बढी देवल आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन् । सर्केगाड गाउँपालिका र अदानचुली गाउँपालिकाले पुल निर्माणका निम्ति सम्बन्धित निकायमा बारम्बार अनुरोध गरे पनि त्यसको सनुवाइ नभएको गुनासो गरेका छन् । यसैबीच, जग्गा वर्गीकरण नहुँदा यहाँका सातवटै गाउँपालिकामा कित्ताकाट रोकिएको छ । भूउपयोग नियमावली जारी भएको तीन वर्ष बितिसक्दा पनि कित्ताकाट नहुँदा आफूहरूलाई मर्का परेको गाउँलेले बताएका छन् । 'कित्ताकाटलाई व्यावहारिक रूपमा व्यवस्थित गर्न सबै पालिकालाई स्रोतसाधन सम्पन्न बनाई नापी विभागबाट हस्तान्तरण भएको भूउपयोग नक्साका आधारमा जग्गाको वर्गीकरण गर्न समन्वय गरिएको छ,' भूउपयोग ऐन, २०७६ मा सरकारमा भनिएको छ तर त्यो यहाँ कार्यान्वयन भएको छैन ।
जोशी हाइड्रोको हकप्रद सेयर खरिद गर्ने समय लम्बियो, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । साउन १५ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा अब लगानीकर्ताकहरुले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
क्रेस्ट माइक्रो लाइफको सेयर लकइन असोज ५ गते सकिने
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्याएको सेयरको लकइन सकिने भएको हो । कम्पनीले ७५ करोड रुपैयाँमध्ये ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो । सामूहिक लगानी कोषलाई छुट्याएको सेयरको लकइन असोज ५ गते सकिने कम्पनीले जनाएको छ । त्यसपश्चात् उक्त सेयर साधारण सेयर सरह कारोबारमा आउनेछ ।
राष्ट्रिय सहकारी बैंकले घटायो नोक्सानी, जगेडा कोष साढे ४ अर्ब रुपैयाँ
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ८१ लाख ६१ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नोक्सानी घटाएको हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । बैंकको खराब कर्जा बढेसँगै नाफामा प्रभाव परेको देखिन्छ । अघिल्लो वर्ष २२.११ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ३९.३७ प्रतिशत पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड १९ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब १५ करोड ९१ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ३ करोड ७० लाख ३३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १ अर्ब ६० करोड ८९ लाख ३६ हजार रुपैयाँ गरेको छ । बैंकको सञ्चालन नाफा ९ करोड २ लाख रुपैयाँ ऋणात्मक छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३९ करोड ६५ लाख २४ हजार रुपैयाँ ऋणात्मक थियो । २ अर्ब ८९ करोड १५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५४ करोड१४ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ४७ अर्ब ५ करोड ६२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड ८१ लाख ७६ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ६१ अर्ब ७ करोड ७८ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड ८३ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी १.६७ रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ५९.७६ रुपैयाँ ऋणात्मक थियो ।