विकासन्युज

पाठकलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । उच्चपदस्थ व्यक्तिलाई धम्क्याउने प्रकाश पाठकमाथि अनुसन्धान गर्न  काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जनालाई धम्क्याएको आरोपमा उनी फिलिपिन्सबाट पक्राउ परेका थिए । इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई)अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले डिसेम्बर ३१ मा मालोलोस सहरबाट पक्राउ गरेको थियो । काभ्रेपलान्चोक, तेमाल गाउँपालिका १ का पाठक फिलिपिन्समा बस्दै आएका थिए । यसअघि ३४ वर्षीय पाठकविरुद्ध आपराधिक लाभ लिन नहुने र आपराधिक षडयन्त्र गर्न नहुने लगायतका कसूरमा ६ वटा मुद्दा दर्ता भइसकेको छ ।

सिद्धार्थ फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाडौं । सिद्धार्थ फर्मास्युटिकल्स लिमिटेडले आईपीओ गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासका लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा। ऋषिराम शर्माले तथा सिद्धार्थ क्यापिटल लिमिटेडका तर्फबाट चिफ बिजनेस अफिसर रिकेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । विसं २०४३ माघ ११ गते स्थापना भएको सिद्धार्थ फर्मास्युटिकल्सले २०४६ सालदेखि औपचारिक उत्पादन सुरु गरेको थियो । कम्पनीले गुणस्तरीय, सुरक्षित तथा किफायती औषधि उत्पादनमार्फत नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको छ । कम्पनीले डब्ल्यूएचओ-जीएमपी प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । कम्पनीको मूल लक्ष्य ‘कुनै पनि बिरामी उच्च गुणस्तरीय र किफायती औषधीबाट वञ्चित नहोस्’ भन्ने रहेको छ। सिद्धार्थ फर्मास्युटिकल्सको अत्याधुनिक उत्पादन प्लान्ट रूपन्देही जिल्लाको तिलोत्तमा–१५ मा अवस्थित छ ।  प्लान्टको भौतिक संरचना तथा उत्पादन प्रक्रिया डब्ल्यूएचओ-जीएमपी मापदण्ड अनुरूप रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार उत्पादन इकाइहरूमा अत्याधुनिक तथा विश्वस्तरीय उपकरण प्रयोग गरिँदै आएको छ ।

अमेरिकी दूतावासले भन्यो– भिसा आवेदन दिँदा सत्य बोल्नू र नक्कली कागजात पेश नगर्नू

काठमाडौं । अमेरिकी दूतावासले भिसा आवेदनका लागि सत्य बोल्न र नक्कली कागजात पेश नगर्न अनुरोध गरेको छ । बुधबार दूतावासले सूचना जारी गर्दै भविष्यमा अमेरिका यात्राका अवसरहरू सुरक्षित बनाउनुपर्ने बताएको छ । ‘भिसा आवेदनसँग नक्कली कागजातहरू पेश गर्नुभयो भने तपाईं ठगी गर्दै हुनुहुन्छ र आफ्नो भविष्य जोखिममा पार्दै हुनुहुन्छ,’ दूतावासले भनेको छ, ‘हामी नक्कली कागजात विक्रेताहरूभन्दा एक कदम अगाडि रहेका छौं । नयाँनयाँ देखा परेका खतराहरू अनुसार आफूलाई तयार गरिरहेका छौं ।’ केही साताअघि प्रहरीले नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ वर्षीय लक्ष्मण बस्नेत, नुवाकोटका ४२ वर्षीय केशव फुँयाल, नुवाकोटका ४७ वर्षीय विष्णु पाण्डे, काठमाडौँका ४३ वर्षीया दीपा लावती र गुल्मीका ५२ वर्षीय शोभाखर खनाल पक्राउ परेका थिए । प्रहरीले कक्षा १२ को शैक्षिक प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डबाट नक्कली भएको पुष्टि भएकाले उक्त नक्कली प्रमाणपत्र बनाउने गिरोहलाई पक्राउ गरेको थियो ।

आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको हो : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विकास निर्माण आयोजना स्थगन गरिएको विषयमा स्पष्ट पार्दै तयारी नै नभएका तथा समष्टिगत रूपमा तत्काल आर्थिक लाभ नदिने ‘खुद्रे तथा टुक्रे’ आयोजनामात्र रोकिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका सांसद भुवनबहादुर सुनुवारको प्रश्नको जवाफ दिँदै उनले बजेटीय दबाब र प्राथमिकता पुनसंरचनाका कारण यस्तो निर्णय गर्नुपरेको स्पष्ट पारे। उनले आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सार्वजनिक सेवा पुनःसञ्चालन, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक स्रोतको व्यवस्थापन, चालु तथा महत्वपूर्ण आयोजनामा कम विनियोजनका कारण सिर्जित दायित्व भुक्तानी, आर्थिक पुनरुत्थान तथा घाइते र सहिद परिवारलाई राहत उपलब्ध गराउने दायित्वले बजेटमा चाप परेको सभालाई जानकारी दिए। मन्त्री खनालले डिजाइन, स्टिमेट तथा टेन्डर प्रक्रियामा गइसकेका वा उपभोक्ता समितिसँग सम्झौता भई क्रमागत रूपमा अघि बढिरहेका आयोजना सम्बन्धित मन्त्रालयबाट पुष्टि गरी क्रमश फुकुवा गर्दै लगिएको र धेरै आयोजनाको रकम फुकुवा भइसकेको जानकारी समेत दिए । मन्त्रिपरिषद्को २०८२ असोज ५ को निर्णयअनुसार तयारी नभएका, खरिद प्रक्रियामा नपुगेका र तत्काल प्रतिफल नदिने आयोजना मात्र स्थगन गर्ने निर्णय गरेको थियो । दलित अधिकारसम्बन्धी विधेयक एक महिनाभित्र मन्त्रिपरिषद्मा लैजाने तयारी संविधानको धारा ४० बमोजिम दलित समुदायको हक कार्यान्वयन गर्न दलितको हक, अधिकार तथा विकाससम्बन्धी विधेयकको मस्यौदा निर्माण प्रक्रिया तीव्र पारिएको मन्त्री खनालले बताए । २०८२ पुस २८ गते मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको उक्त विधेयक आगामी अधिवेशनमा सङ्घीय संसद्मा पेस गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । नेपाल कानुन आयोगसँग प्रारम्भिक मौखिक परामर्शपछि आज औपचारिक पत्राचार गरिएको उनले जानकारी दिए । मन्त्री खनालले आगामी २१ दिनभित्र मस्यौदा तयारी, सार्वजनिक परामर्श (करिब सात दिन) तथा आवश्यक प्रक्रिया पूरा गरी एक महिनाभित्र मन्त्रिपरिषद्सम्म पुर्याउने तयारी रहेको बताए । उनले यो अत्यन्त महत्वपूर्ण विधेयक भएको उल्लेख गर्दै सरकारको कार्यअवधि रहँदै यसलाई निष्कर्षमा पु¥याउने लक्ष्य लिएको भनाइ राखे। रासस

वित्तीय पहुँच विस्तारका लागि रिभल्भिङ फन्ड सञ्चालनमा राष्ट्र बैंक र वाणिज्य बैंकबीच समझदारी

काठमाडौं । ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको रिभल्भिङ फन्ड सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ । उक्त समझदारी माघ २७ गते सम्पन्न भएको हो । यो फन्ड ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुलर एन्ड सेभि अर्बन एरियाज (SEED-RA)’ परियोजना अन्तर्गत जर्मन डेभलपमेन्ट बैंक (KfW) को वित्तीय सहयोगमा स्थापना गरिएको हो । परियोजनाको उद्देश्य ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्नु रहेको छ । समझदारीपत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट का.मु. निर्देशक शिखा अधिकारी रेग्मी र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका थिए । हस्ताक्षर कार्यक्रममा संघीय गणतन्त्र जर्मनीका राजदूत, नेपाल राष्ट्र बैंकका गभर्नर तथा परियोजना र बैंकका सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म आफ्नो सेवा विस्तार गरेको छ । बैंकले ३१३ वटा शाखा कार्यालय, ७१ वटा एक्सटेन्सन काउन्टर, ३२२ वटा एटिएम तथा ९९ वटा शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार उक्त समझदारीसँगै रिभल्भिङ फन्डमार्फत साना तथा मझौला उद्यमीलाई सहुलियतपूर्ण वित्तीय सेवा उपलब्ध गराई आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाउने नेकपाको वाचा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले स्वास्थ्य बीमालाई स्वास्थ्य सुरक्षा प्रणालीको मुख्य आधार बनाउने वाचा गरेको छ ।  पछिल्लो समय स्वास्थ्य बीमा संकटमा पर्न लागेको अवस्थामा नेकपाले आगामी निर्वाचनलाई लक्षित गर्दै जारी गरेको प्रतिवद्धतापत्रमा आगामी २०८८ सालसम्म सतप्रतिशत नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गराइने वाचा गरेको हो ।  जुन वाचा २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि गरेका थिए ।  प्रतिबद्धतापत्रमा भनिएको छ, ‘हाल ३० प्रतिशतमा सीमित स्वास्थ्य बीमाको आवद्धतालाई अनिवार्य गरी आगामी २०८८ सम्म सय पुर्‍याइने छ, यसमा गरिबीको रेखामुनि रहेका नागरिकलाई पनि समावेश गराइनेछ ।’ त्यस्तै नेकपाले स्वास्थ्य बीमामा आवद्ध गराउन गरिब, अशक्त, दीर्घरोगी र जेष्ठ नागरिकको बीमा प्रिमियम राज्यले बेहोर्ने व्यवस्थालाई परिणममुखी र पारदर्शी बनाइने जनाइएको छ ।  नागरिकले हाल आफ्नो खल्तीबाट तिर्नुपर्ने स्वास्थ्य खर्च करिब ५४ प्रतिशत रहेकोमा आगामी ६ वर्षभित्र ३५ प्रतिशत भन्दा कममा झारिने संविधान प्रदत्त स्वास्थ्यको मौलिक हक पूर्ण कार्यान्वयन गरिने, प्रजनन स्वास्थ्यसँग सम्बन्धित कानुनमा समायानुकूल परिमार्जन गरिने, समुदायमा स्वास्थ्य सेवा विस्तार गर्ने वाचा गरेको छ । यस्तै, सरकारी स्वास्थ्य संस्थामा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन गरिने र स्वास्थ्य चौकीहरूमा पनि ३ सय ६५ दिन सेवा बिस्तार गरिने उल्लेख गरेको छ । निःशुल्क स्वास्थ्य परीक्षण नेकपाले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण निःशुल्क गरिने घोषणा गरेको छ । जबकि भर्खरै सरकारले परीक्षण शुल्क बढाएको छ । गत मंसिर १० गतेदेखि लागूहुने गरी एकैपटक मूल्य दोब्बर पुर्‍याएको छ । जसमा युएई मुलुकमा पाँच हजारबाट बढाएर ९ हजार पाँच सय र अन्य मुलुकको हकमा ६ हजार पाँच सयबाट ९ हजार पाँच सय पुर्‍याएको छ ।  यस्तै, खाडी तथा मलेसियाको जाने कामदारका लागि  १० हजार रुपैयाँ शुल्क बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेल हुँदाको बखत नै शुल्क बढाउने निर्णय गरेको भन्दै सुशीला कार्की नेतृत्वको सरकारले शुल्क बढाएको हो ।  यस्तै, नेकपाले मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाममा पनि विशेष योजना सार्वजनिक गरेको छ । यसका लागि   मानसिक स्वास्थ्य समस्यालाई आधारभूत स्वास्थ्यसँग एकीकृत गरी गाउँतहसम्म विस्तार गरेर मनोसामाजिक परामर्श हेल्पलाईन सञ्चालन गरिने, हाल  प्रति एकलाख २३.४ प्रतिशत मृत्युदर रहेकोमा विसं २०८८ मा प्रति एकलाख ४.७ प्रतिशत मृत्युदरमा झारिने वाचा गरेको छ । स्वास्थ्य क्षेत्रमा ८ प्रतिशत बजेट छुट्याइने    नेकपाले आफ्नो प्रतिवद्धता पत्रमा स्वास्थ्य क्षेत्रमा बजेट बढाएर ८ प्रतिशत पुर्‍याउने वाचा गरेको छ । हाल कुल बजेटको करिब ५ प्रतिशत रकम विनियोजन गरिँदै आएकोमा नेकपाले यसलाई बढाएर ८ प्रतिशत पुर्‍याइने बताएको छ ।   स्वास्थ्य विज्ञहरू भने स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत आवश्यक रहेको बताउँदै आएका छन् । दलहरूले प्रतिवद्धतापत्र सार्वजनिक गर्नु अगाडि नै स्वास्थ्य क्षेत्रका विज्ञहरूले स्वास्थ्यमा लगानी बढाउन आग्रह गरेका थिए ।   

हिमालयन हाइटवाटर च्यालेन्ज फागुन १४ देखि सुरु

काठमाडौं । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा २४ औं हिमालयन हाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव आयोजना गर्न लागेको  छ । नाराका अनुसार महोत्सव यही फागुन १४ गतेदेखि १६ गतेसम्म आयोजना हुँदैछ । कार्यक्रम विगतका वर्षभन्दा पृथक गर्न खोजेको आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा नेपालमा र्याफ्टिङको जग बसाल्ने संस्थापकहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।  त्यस्तै, कायाकिङतर्फ २ र र्याफ्टिङतर्फ १ गरी जम्मा ३ विधामा खेल हुँदैछ । खेलकुदमा ३० जनाभन्दा बढी ३० जना अन्तर्राष्ट्रिय खेलाडी र १४० जनाभन्दा बढी राष्ट्रिय खेलाडी (कायाकिङ र राफ्टिङ) गरी कुल १७० खेलाडीको सहभागिता रहने आयोजका भनाइ छ । आयोजकका अनुसार छिमेकी मुलुक भारतलगायत मलेसिया, भुटानलगायत देशका खेलाडीको उपस्थित रहनेछन् । कार्यक्रममा खेलाडी, स्वयंसेवक, निर्णायक र दर्शक गरी करिब ४०० देखि ६०० जनाको सहभागिता रहने लक्ष्य राखिएको छ । अन्तिम दिन प्रमुख अतिथिद्वारा विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । यस कार्यक्रमको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गरी बढी सहभागिता बढाई यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको रूपमा लैजाने र त्यही किसिमको प्राविधिक टोली बनाई नेपालकै महत्त्वपूर्ण राष्ट्रिय स्तरको महोत्सवको रूपमा लैजाने तयारी आयोजकको छ । नाराका अध्यक्ष कमलबहादुर ठकुरीले ‘२४औं हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औं अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ र कायाकिङ महोत्सव’ केवल एक प्रतियोगिता मात्र नभएर नेपालको ५० औं जलयात्रा इतिहासको उत्सव भएको बताए । र्याफ्टिङ त्रिशुली नदीमा हुने आयोजकले जनाएको छ । र्याफ्टिङ बेनीघाटदेखि खटौतीसम्म ९ किलोमिटरको रेस हुनेछ, जसमा १५ भन्दाबढी टिम सहभागी हुने अपेक्षा  गरिएको छ । कायकिङमाकरिब ४०० मिटरको छोटो दुरीको प्रतिस्पर्धा रहेको छ । आयोजका अनुसार र्याफ्टिङमा पहिलो हुनेलाई ५० हजार दोस्रो हुनेलाई ३५ हजार  र तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको छ । कायक स्प्रिन्टअन्तर्गत पहिलो हुनेले १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रोलाई ५ हजार रुपैयाँ पाउनेछन् । कायक क्रसअन्तर्गत पहिलो विजेतालाई ३५ हजार दोस्रोलाई २० हजार रुपैयाँ र तेस्रो हुनेलाई १० हजार पाउनेछन् । दुवै विधामा उत्कृष्ट हुने विजेताले भने १ लाख २५ हजार पुरस्कार पाउने नाराका उपाध्यक्ष शुक्रबहादुर लामाले बताए । उनका अनुसार दोस्रोलाई एक लाख रुपैयाँ तेस्रोले ५ हजार रुपैयाँ पाउनेछन् । खेलमा निःशुल्क रूपमा सहभागी हुन सक्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार इच्छुक सहभागीहरूले अनलाइन गुगल फर्ममार्फत दर्ता गर्न सक्नेछन् । दर्ता नाराको वेबसाइट, सामाजिक सञ्जालमा पनि उपलब्ध हुने उपाध्यक्ष लामाले बताए।  पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका श्रृंखलाहरूमा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए।  ‘सगरमाथा र हिमाललाई मात्र होइन, र्याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने छ,’ ऐरले भने, ‘यसका लागि हाम्रा नदीहरूको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।’  बोर्डले यसलाई छुट्टै पर्यटन उत्पादनका रूपमा विकास गर्दै सातवटै प्रदेशमा विस्तारका लागि सहजीकरण गर्ने प्रतिबद्धतासमेत वरिष्ठ निर्देशक ऐरले जनाएका छन् । त्यसैगरी, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताएका छन् । उनले भने, ‘नदीमा हुने साहसिक खेल गतिविधिका लागि सरकारले जलविद्युत आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्न नदी छुट्याउनु पर्छ । यसका लागि नाराले पहल गर्नेछ भन्ने विश्वास लिएको छु ।’ नेपालमा राफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोशीमा गरेको जलयात्रा महत्त्वपूर्ण कोशेढुङ्गा बनेका थिए ।  सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक राफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो भने नारा वि.सं. २०४६ मा स्थापना भएको हो ।

बलात्कार गरेको आरोपमा इन्सपेक्टर महत पक्राउ

काठमाडौँ । बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर पक्राउ परेका छन् ।  सोमबार प्रहरीले इन्स्पेक्टर प्रदीप महतलाई पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । एक महिलाले उनी विरुद्ध जबर्जस्ती करणी गरेको उजुरी दिएकाले प्रहरीले पक्राउ गरेको हो ।