विकासन्युज

नयाँ राहदानी लिनेको सङ्ख्या हालसम्मकै उच्च

काठमडौं । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए । उनका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ । प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । पछिल्लो समय राहदानी बनाउनेको सङ्ख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको सङ्ख्या कम भएको विभागले जनाएको छ । सैसठ्ठी पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा पाँच हजारमात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ ।

असार १५ को रौनक (फोटो फिचर)

२०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान राेपेपछि नाचगान गर्दै स्थनाीय । २०औँ धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुक्रबार सुनसरीको इनरुवामा धान रोप्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नगरप्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहतालगायत । २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा घोराही १७ डवरीस्थित गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेशसभा सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा डिसी तथा दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यलगायत । लमही नगरपालिका–६ मध्यनगरस्थित खेतमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् । नुवाकोटको विदुर नगरपालिका–४ विदुरका किसान धान रोपाइँको तयारीका लागि ट्रयाक्टरले खेत जोत्दै । तस्बिर : रासस

आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता

पाकिस्तान । पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड–बाइ  सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ ।  चुलिदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ।  अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट प्रभावित  भएको पाकिस्तानमा महिनौं देखिको राजनीतिक अराजकताले सम्भावित विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ । हाल मुद्रास्फीति ह्वात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखिम बढ्दो छ । आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन्– ‘म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तरराष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।’ यो सङ्ख्याले पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कोटाको १११ प्रतिशत प्रतिनिधित्व गर्दछ। यो सम्झौता जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पनि पोर्टरले उल्लेख गरेका छन् । सन् २०१९ मा सहमत भएको ६.५ अर्ब बेलआउट प्याकेजको अन्तिम किस्ताको लागि कोषसँग पाकिस्तानको वार्ता नोभेम्बरदेखि रोकिएको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने  उद्देश्यले राष्ट्रिय बजेटमा अन्तिम मिनेटमा परिवर्तन गरेको छ। रासस

उपत्यकामा सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ । चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो । उनले भने, ‘यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन् ।’ चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । दुईदेखि साढे दुई वर्ष अवधिका पुलहरू रहेको सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘यो आवको ठेक्का भएर अहिले डिजाइन भइरहेको छ । अर्काे वर्षमा पुल निर्माण हुनेछ ।’ पहिले दुई लेनको पुल रहेकामा अहिले कम्तीमा चार लेन हुने आयोजनाले जनाएको छ । सडक नै कम चौडाइमा विस्तार भएका ठाउँमा पनि कम्तीमा सडकको चौडाइ बराबरको पुल बनाइने आयोजनाले जनाएको छ । निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी डिजाइन एन्ड बिल्ड ठेक्कामार्फत निर्माण गर्न लागिएको हो । चावहिल–साँखु पुल निर्माण गर्न लागिएका तीन स्थानमध्ये सबैभन्दा बढी सवारी चाप नारायणटारको बागमती पुलमा रहेको छ । उपत्यकाका यी सडकमा रहेको सवारी चाप व्यवस्थापनका लागि सडक विस्तार भए पनि पुल साँघुरो नै भएकाले तीनलाई समेत विस्तारको योजना बनाइएको हो । उपत्यकामा थप ठाउँमा सडक विस्तारको योजना नरहेकाले अहिले पुलको नै काम हुने उनले बताए । विगतमा निर्माणस्थल खाली नहुँदा सात–आठ वर्षसम्म पनि सडक सम्पन्न नभएकाले सरकारले तत्काल नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । पुल बन्दै भए पनि सडक सम्पन्न भएपछि बुझाइने आयोजनाले जनाएको छ । कुनै पनि सडक सम्पन्न भएपछि एक वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने र यसपछि सम्बन्धित डिभिजन सडक कार्यालयमा बुझाउने गरिएको छ । अहिले विस्तारका धेरै सडकमा निर्माण सकिएर मर्मत अवधि जारी रहेको छ । रासस

एनसेलको नयाँ एनसेल सेन्टर लहानमा

काठमाडौं । एनसेल आजियाटाले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रम माझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए । आजदेखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा संचालनमा आएको छ । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् । यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको आफ्ना ग्राहकहरुलाई सेवाहरु मार्फत धेरै भन्दा धेरै लाभ सिर्जना गर्नु हो,’ जाब्बोरले भने, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानिय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम संचालनमा ल्याइएको हो ।’ आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५:३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ । यस अघि एनसेलले विगत १० वर्ष देखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दैै आएको थियो । आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

काठमाडौं । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान आठ हजार पाँच सय रुपैयाँ शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउँछन् । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताए । अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको छ हजार रुपैयाँ हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए । उनले भने, ‘पहिला रु तीन हजार नौ सय पाउँथे ।’ नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् । तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । सबै कम्पनीमा गरी तीन सय ७५ लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट छन् । हाल दुई सय ५० पाइलट सेवामा रहेको उनले बताए ।

जसको लहलहैमा लागेर फसे यी २३ जना व्यवसायी

काठमाडौं । तपाईं कुनै व्यक्तिसँग कुनै प्रकारको सम्बन्ध अगाडि बढाउँदै हुनुहुन्छ भने कति सोच्नुहुन्छ ? त्यो साथीको सम्बन्ध होस्, व्यवसायिक सम्बन्ध होस् वा प्रेम सम्बन्ध नै किन नहोस् । तपाईंले पटक-पटक सोच्नु पर्ने हुन्छ, बुझ्नु पर्ने हुन्छ र म त्यो व्यक्तिसँग सम्बन्ध स्थापित गर्न योग्य हो या होइन भनेर निर्धारण गर्नुहुन्छ र अगाडि बढ्नुहुन्छ । हतारको निर्णयले व्यक्तिलाई एकदिन अवश्य लडाउँछ । सुरुमा राम्रो, कुशल र व्यवहारिक लागेको तपाईंको मित्र कुन मोडमा गएर तपाईंलाई लडाइ दिन्छ त्यो न तपाईंलाई थाहा हुन्छ न त त्यो तपाईंको मित्रलाई । त्यसभित्र नियत र नियती लुकेको हुन्छ । भनिन्छ नी, ‘हुने हार दैव नटार ।’ हो, अहिले नेपाली व्यवसायको एउटा घटनाले यस्तै बाटो देखाएको छ । कुनै दिन कुनै चिजको कमि थिएन व्यवसायी केदार शर्मासँग । तीन दर्जन बढी कम्पनीका मालिक । दुई सहकारीका अध्यक्ष/सञ्चालक । ती दुवै सहकारी र तीन दर्जन कम्पनीको साँचो आफ्नै हातमा । चिल्लो गाडी, ठाउँ-ठाउँमा घडेरी । ऋण लिइदिनु पर्यो भनेर समय माग्ने बैंकका कर्मचारीहरुको लाइन । ठूला-ठूला राजनीतिक दलहरुका नेताहरुसँगको उठबस् । क्या मस्त थियो केदार शर्माको जीवनशैली । त्यो समयमा उनीसँग सम्बन्ध स्थापित गर्न कसले चाहँदैन र । रातारात अर्बपति बन्ने लाइनमा हिँडिरहेका शर्मासँग सम्बन्ध स्थापित गर्न जोकोही पछि पर्थेनन् । त्यही शिलशिलामा तल उल्लेखित व्यवसायीहरु पनि जोडिए । आफुसँग भएको रकमलाई ‘दिन दुई गुणा र रात चार गुणा’ गर्ने लोभका साथ शर्मासँगको उठबस् ब्यापक नै बनाए । तर, विडम्बना, त्यो सम्बन्ध सुमधुर हुन सकेन । शर्मा जस्तै अर्बपतिको लाइनमा हिड्छु भनेर महत्वकांक्षा बोकेका व्यवसायीहरु पुर्पुरोमा हात लगाउनु बाहेकको विकल्पमा परेनन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका केदारनाथ अहिले प्रहरीको नियन्त्रणमा छन् । उनी मात्रै होइन २ करोड रुपैयाँको चिल्लो गाडीको एसी खाएर काठमाडौंमा हुइँकिने उनको श्रीमती पनि अहिले प्रहरी खोरको हावा खाँदैछिन् । शर्माले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को अनुसन्धानले देखाएको छ । शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जमिन र सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गर्यो । प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको भेटिएको छ । अहिले उनले लगानी गरेका सबै कम्पनीहरुको खाता तथा कारोबार रोक्का छ । उनले आफुसँगै आफ्ना व्यवसायिक साझेदारहरुलाई पनि समस्या सिर्जना गरेका छन् । उनीसँग २३ जना व्यवसायीहरुले मिलेर काम गरेको सीआईबीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ती सबै व्यवसायीहरु व्यवसाय अगाडि बढाउन नसक्ने अवस्थामा छन् । किनकी ती सबै कम्पनीहरुको बैंक खाता र कारोबार अहिले बन्द छ । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने । शर्माका मुख्य सहकर्मी शुसिल बानियाँ हुन् । शिवशिखर सहकारीका डमी अध्यक्ष समेत रहेका बानियाँले पनि शर्मासँग मिलेर लगानी गरेका छन् । उनीहरु दुई जनाको साझेदारीमा उपकार मिडिया ग्रुप सञ्चालनमा आएको थियो । सो मिडियामा लिलानाथ गौतम र कमल शाहको पनि लगानी छ । सो मिडियामा शर्माको सबैभन्दा बढी ७० लाख, बानियाँको १० लाख, गौतमको ५ लाख र शाहको १५ लाख रुपैयाँ लगानी रहेको बुझिएको छ । तर, अहिले उपकार मिडियाले सञ्चालन गरेको टेलिभिजन बन्द भइसकेको छ । शर्मासँग सहकार्य गरेर गौतम र शाह पनि फसेका छन् । व्यवसायी तेज बहादुर तामाङले शर्मासँग मिलेर गोरखा टि एण्ड कफी इण्डष्ट्रिज, गोर्खा वेभरेज, गोरखा सप एण्ड केमिकल इण्डष्ट्रिज र ब्रिटिस गोर्खा ट्रेड खोलेका थिए । ब्रिटिस गोर्खामा डम्बर बहादुर तामाङ्ग, धन बहादुर तामाङ्ग र दिपक लामाले पनि लगानी गरेका छन् । तीनै जनाले बराबर लगानी गरेर कुल ३ करोड रुपैयाँमा कम्पनी खोलेका थिए । तर, उनको हिरासतको यात्राले ती कम्पनीहरुमा समस्या सिर्जना गरेको छ । शर्मासँग मिलेर अमृता श्रेष्ठले पनि धोका पाएकी छन् । उनले शर्माकै आग्रहमा तुलसी फुड इण्डष्ट्रिमा साढे दुई करोड लगानी गरेकी थिइन् । उनीहरु दुवै जनाले मिलेर सो उद्योगमा ५ करोड लगानी गरेका थिए । तर, अहिले शर्माको हिरासत बसाईंपछि सो कम्पनी पनि समस्यामा परेको हो । यस्तै, सुदर्शन कपाली, पुष्कर मल्ल र अनिल आचार्यले केदार शर्मासँग मिलेर उपकार फाउण्डेशन सञ्चालन गरेका थिए । मल्ल्ल र आचार्यले शर्मासँग नै मिलेर भेहिकल सोलुसन एण्ड सर्भिसमा पनि लगानी गरेका थिए भने यो कम्पनीमा छविलाल बिक पनि जोडिएका थिए । केदार शर्माकै मुख्य लगानीमा न्यूज अखबार डटकम सञ्चालनमा आएको थियो । सो कम्पनीमा शर्माले ८५ लाख रुपयाँ र सुमन कुमार लुइँटेलले १५ लाख रुपैयाँ लगानी गरेका थिए । तर, शर्माको घटनापछि सो अनलाइन पनि बन्द भएको छ । उनीसँग मिलेर नेपा टेकनोलोजीमा राजु शाखकर्मीले पनि लगानी गरेको देखिएको छ । बिक्रम कुवँर र पुस्कर मल्लले पनि उनीसँगको सहकार्यमा वेजन इन्टरनेस्नल प्रालि खोलेका छन् । शर्मासँगै मिलेर डिकेन्द्र कुमार गिरी, सरीता गिरी, जुठे राउत क्षेत्री, अमृत गिरी र सुनिता खड्काको शिखर अर्गनाइजेसनमा दश/दश लाख रुपैयाँ लगानी गरेका थिए । सो कम्पनीमा शर्माको १० करोड र उनकी श्रीमती गिता शर्माको साढे ५ करोड लगानी थियो । अब उनीहरु तीन जनाको सो लगानी पनि फसिने सम्भावना देखिएको हो । शर्माकै नेतृत्वमा फोर स्टार ग्रुप सञ्चालनमा आएको थियो । सो कम्पनीमा प्रदिप भटराई, वालकृष्ण ढकाल र राजकुमार शर्माले पनि लगानी गरेका छन् । उनीहरु सबैले २५/२५ लाख रुपैयाँ लगानी गरेको देखिएको छ । उनले सहकार्य गरेर व्यवसायका गरेका व्यवसायिक साझेदारहरु अहिले समस्यामा परेका हुन् । शर्मासँगको संगतले उनी जस्तै जीवनशैली जिउने सपना बोकेका व्यवसायीहरु अहिले सरमाएका छन् ।

सनी सेक्यूरिटिजले त्रिवेणी इन्टरनेशनल कलेजमा दियो सेयर तालिम

काठमाडौं । पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले  बुधवार लेखनाथ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आधारभूत सेयर तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीहरू लगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् । साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे । तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो । शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।