विकासन्युज

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताएका छन् । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा नेपाल र चीनबीच सम्बन्ध सुदृढीकरण, व्यापार र लगानी प्रवद्र्धन तथा आर्थिक विकासमा वृहत छलफल भएको बताए। ‘आर्थिक विकास र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर नेपाल सरकार अगाडि बढिराखेको सन्दर्भमा चीनले गरिरहेको आर्थिक सहयोगलाई अझ वृद्धि गर्नका लागि अनुरोध गरेका छौँ’, उनले भने, ‘चीनका उपप्रधानमन्त्री ह लि फङ तथा पार्टीका सिचुवान सचिव वाङ सिवहुइले पनि सकारात्मक ढङ्गले सोचिने विश्वास दिलाउनुभएको छ ।’ भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । वार्तामा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । चिनियाँ अधिकारीसँगको भेटका सन्दर्भमा उनले भने, “चीनले नेपालको विकास प्रक्रियामा महत्वपूर्ण साझेदारको भूमिका खेल्दै आएको छ ।’ ‘भूकम्प, कोरोना महामारीलगागत नेपाललाई अप्ठयारो परेको समयमा चीनले महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ, त्यसका लागि हार्दिक आभार प्रकट गरेको छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने। व्यापार र पर्यटन प्रवद्र्धन गर्न चिनियाँ पक्षसँग विशेष अनुरोध गरिएको जानकारी दिँदै उनले बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनका सम्बन्धमा पनि छलफल भएको बताए। ‘चिनियाँ पक्षबाट बिआरआईअन्तर्गतका परियोजनाबाट नेपालले लाभ लिनका लागि के कस्तो तयारी गरेको छ भनी जिज्ञासा राखेको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘हामीले सो परियोजनाको सन्दर्भमा नेपालको योजना र ‘स्टेप’का बारेमा प्रष्ट पारेका छौँ ।’ नेपालले बिआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा लैजान सन् २०१७ मा हस्ताक्षर गरेको थियो । कार्यान्वयन योजनालाई अन्तिम रुप दिन दुई पक्षकाबीचमा मस्यौदा आदानप्रदान भएको छ । ‘मस्यौदालाई अन्तिम रुप दिइसकेपछि ठोस् परियोजना र ढाँचाका बारेमा छलफल गरेर टुङ्गो लगाउँछौँ र बिआरआइबाट पनि हामी लाभान्वित हुने आशा राखेको कुरा हामीले भनेका छौँ’, उनले भने । छेन्दु–पोखरा उडान गर्न सिचुवान एयरलाइन्स सकारात्मक भ्रमणका क्रममा सिचुवान एयरलाइन्सका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुबाट नेपालका नयाँ विमानस्थलमा उडान गर्न एयरलाइन्सले सकारात्मक जवाफ दिएको बताए। उनले छेन्दु–काठमाडौँ रुटमा दैनिक उडान सङ्ख्या थप गर्न र पोखरा तथा भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न आग्रह गरिएको जानकारी दिए। ‘छेन्दु–काठमाडौँ दैनिक उडान गर्न अनुरोध गरेको छौँ । त्यसमा उहाँहरुले सकारात्मक वचन दिनुभएको छ । छेन्दु–पोखरा र छेन्दु–भैरहवा व्यावसायिक उडानका निम्ति आग्रह गरेको छौँ । त्यसमा उहाँहरुले पोखरामा अलिबढी सकारात्मक ढङ्गले सोचेको जानकारी गराउनुभएको छ । हामीले छेन्दुबाट भैरहवामा पनि सिधा उडानका लागि जोड दिएका छौँ’, उपप्रधानमन्त्री श्रेष्ठले भने । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए । छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान विश्वविद्यालयमा नेपाल–चीन सम्बन्धबारे मन्तव्य दिनुभएको थियो । उनले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए। उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा चीनकै पुरानो र बिनाबाँध छेन्दुलाई सिञ्चित गर्ने गरी निर्माण गरिएको दुजियाङ सिँचाइ प्रणालीको अवलोकनसमेत गरेको थियो । उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मङ्गलबार चीन प्रस्थान गरेका थिए । उनलाई विमानस्थलमा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले स्वागत गरे ।

७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै, यी ६ कम्पनी कालोसूचीमा

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनीसहित उनकी श्रीमती गिता शर्मा पनि अहिले प्रहरीको नियन्त्रणमा भएपछि उनले लगानी गरेका कम्पनीहरु बन्द हुन थालेका हुन् । शर्माको लगानी रहेका विभिन्न कम्पनीहरुमा सहकारीको रकम प्रयोग भएको सीआईबीको अनुसन्धानले देखाएको छ । त्योसँगै उनले ती कम्पनीहरुमा लगानीका लागि विभिन्न बैंकबाट ऋण लिएका छन् । उनी पक्राउ परेसँगै ती बैंकहरु पनि अहिले तनावमा छन् । ऋणी नै प्रहरीको हिरासतमा भएपछि लगानी डुब्ने चिन्तामा बैंकर छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको स्रोतको दाबी छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयन बैंकबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रे बैंकबाट ६८ करोड, प्रभु बैंकबाट ४० करोड, नबिल बैंकबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको छ । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । उनले लिएको ऋण नतिरेकै कारण उनका कम्पनीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार केदार शर्माको एकल स्वामित्वमा रहेका ६ वटा कम्पनीहरु अहिले कालोसूचीमा छन् । ती कम्पनी कालोसूचीमा परेर बन्द पनि हुन थालेका छन् । उनले १० करोड लगानी गरेर खोलेको शिखर दीप एग्रो अहिले कालोसूचीमा छ । जसमा पनि शर्माको एकल लगानी छ । यस्तै, उनले १० करोड रुपैयाँ पुँजीमा स्थापना गरेको नटराज एग्रो पनि कालोसूचीम छ । १० करोड लगानीमै खुलेको नटराज फुड इन्डष्ट्रि, १५ करोड लगानीको गार्डेन मार्ट, ५ करोड लगानीको तुलसी मोटर पम्प र ८ करोड लगानीको शिवशिखर एग्रो पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ । यी सबै कम्पनीमा शर्माको एकल लगानी छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले लगानी गरेको एउटा टेलिभिजन बन्द नै भइसकेको छ । सो कम्पनीमा काम गर्ने कर्मचारीले लामो समयदेखि तलब नै नपाएको गुनासो गरिरहेका छन् । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । उनले अनुसन्धानका लागि कम्पनी बन्द गर्नु परेको बताए । उनको लगानी रहेका सबै कम्पनीको खाता तथा कारोबार पनि अहिले बन्द छ । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।

इसेवाबाट लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजारसम्म जित्न सकिने

काठमाडौं । इसेवा मार्फत लाइफ इन्स्योरेन्स नविकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ । अनलाइन मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उदेश्यले इसेवाले यस किसिमको अफर सार्वजनिक गरेको हो । यस अफरमा बैंक लिंक एकाउन्ट मार्फत भुक्तानी गर्दा हरेक दिन एक जनाले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै योजनाको अन्त्यमा भाग्यशाली एक जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्नेछन् । यो योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्त्ताको अन्त्यमा इसेवाको फेशबुक पेज तथा ब्लग मार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेशबुक पेज मार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाइसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनैपनि जीवन बीमा कम्पनीको इसेवा मार्फत नविकरण गर्न सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

एसईई नतिजा यसै साताभित्र आउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसईई परीक्षाको नतिजा असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यसै साता अर्थात् असार २३ गते शनिबारसम्म सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले बताए । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए । लेटर ग्रेडिङ निर्देशिका– २०७२ वा २०७८ अनुसार कुनमा नतिजा सार्वजनिक गर्ने समेत टुंगो लागिसकेको छैन । बोर्डको बैठकले मात्र त्यस विषयमा निर्णय गर्ने व्यवस्था छ ।

सेयर बजार राताम्मे, घटेर न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ । कारोबार खुल्दा २१५५.८२ बिन्दुमा रहेको परिसूचक दिनभर ओरालो लागेर २०९७.२९ बिन्दुमा अडिएको छ । जुन दिनभरकै न्यूनतम बिन्दु हो र प्रतिशतको आधारमा भने २.५० प्रतिशतले घटी हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दिन अर्थात बुधबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार भने ५ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । २८६ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । दिनभरमा इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको र सिटी होटलको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ । आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

दूध र मासुमा आत्मनिर्भर बनाउन भैँसी र बाख्रा वितरण

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ । किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै एक–एक लाखका दरले नगद उपलब्ध गराइएको हो । नगरपालिकाको सर्शत अनुदानअन्तर्गत ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न एक–एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०–२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ । किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । सोही ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकतानुसार किसानलाई हिलट्याङ्क वितरण गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएका कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मिटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँचवटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ । रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख विमला राईले बताए। ‘रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ’, उनले भने, ‘हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ । हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।’ नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निकै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ । किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिए। संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भैँसी किन्न किसानलाई नै एक–एक लाखका दरले नगद उपलब्ध गराइएको हो । नगरपालिकाको सर्शत अनुदानअन्तर्गत ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न रु एक–एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान २०–२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ । किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ । सोही ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकतानुसार किसानलाई हिलट्याङ्क वितरण गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएका कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मिटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँचवटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ । रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख विमला राईले बताइन् । ‘रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छु, उनले भनिन्, ‘हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ । हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।’ नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निकै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ । रासस

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम पाँच हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार निजामती कर्मचारीका तीन हजार चार सय ५३, नेपाल प्रहरीका एक सय १३, शिक्षक एक हजार एक सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका एक हजार नौँ सय २२ रहेका छन् । यसैगरी प्रदेशतर्फका एक हजार २७ तथा स्थानीय तहका एक हजार नौँ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

ए लेभल पढ्न कति लाग्छ खर्च, कसले पाउँछन् पढ्न ?

काठमाडौं । ‘ए लेवल’ भनेको क्याम्ब्रिज विश्वविद्यालयको कक्षा ११/१२ सरहको अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम हो । नेपाल लगायत विश्वका धेरै देशहरुमा ए लेभलको पढाइ हुन्छ । अन्तर्राष्ट्रिय रुपमा पढाइ हुने जस्तै युरोपमा पढाई हुने तरिकाले क्याम्ब्रिज युनिभर्सिटी युकेमा नै डिजाइन भएर त्यहीँ  नै अप्लाई हुने कोर्षहरु हामीले पनि नेपालमा पढाउने गरेका छौं । ए लेवल पढाइ गर्नको लागि क्याम्ब्रिज युनिभर्सिटीबाट नै प्रतिनिधिहरु आएर यो मोडेलबाट पढाउनुस् भनेर हामीलाई तालिम दिने गर्छन् । क्याम्ब्रिज युनिभर्सिटीले हरेक २/२ वर्षमा कोर्षको अद्यावधिक गर्ने गर्छ । त्यसरी अद्यावधिक भएको कोर्षलाई कसरी पढाउने भन्ने विषयमा पनि ब्रिटिस काउन्सिलले समन्वय गरेर तालिम दिने काम गर्छ । त्यही तालिम लिएका शिक्षकहरुले नै स्कुल तथा कलेजमा पढाउने गर्छन् । कुन विषयमा विद्यार्थीले के पढ्नुपर्छ, कसरी पढ्नुपर्छ र कतिसम्म पढ्नुपर्छ भन्ने विषय अन्तर्राष्ट्रिय अनुसन्धानबाट विकास गरेर कोर्षमा समावेश गरिएको हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयले नै १६/१८ वर्ष उमेरका विद्यार्थीलाई यस्तो खालको विषय दिनुपर्छ भनेर बनाएपछि मात्रै त्यो प्रकाशन भएको हुन्छ । विश्वविद्यालयले प्रकाशन गरिसकेपछि त्यो यो मोडालिटीमा पढाउनु पर्छ भनेर भनेर कोर्ष नै त्यहीँबाट आउने गर्छ । विश्वविद्यालयले ए लेवलका लागि सयौं विषयहरुको विकास गरेको छ । तर, नेपालमा भने सामान्यतया १५ विषय भित्र रहेर सो लेवलकाे पढाइ गर्ने गरेको पाइन्छ । जसमध्ये तीनवटा विशेष क्षेत्र रहेका छन् । एउटा विज्ञान विषय र अर्को गैर विज्ञान विषय । गैर विज्ञान विषयमा फेरि दुईवटा क्षेत्र रहेका छन्, एउटा मानविकी र अर्को व्यवस्थापन । विषयहरुमध्ये विश्वविद्यालयले सम्बन्धित देशको परिचय अध्ययनसँग जोडिने छुट्टै विषयको विकास गरेको छ । जसमध्ये नेपालमा नेपाल स्टडी भन्ने विषय रहेको छ । नेपालमा ए लेभलको शुरुवात ब्रिटिसहरुकै सहयोगमा बुढानिलकण्ठ स्कुलबाट भएको हो । त्यसपछि विस्तारै अरु निजी क्षेत्रका स्कुल तथा कलेजहरुले पनि यो विषयलाई पढाउन शुरु गरेको देखिन्छ । नेपालको कक्षा ११/१२ को शिक्षा र ए लेभलको शिक्षामा विषयवस्तु भन्दापनि खासगरी प्रस्तुतीको तरिकामा केही फरक छ । नेपालको कक्षा ११/१२ को अध्ययनमा हामी अलि बढी विषयको आधारमा जाने गर्छौं, जसले गर्दा सम्झेर पढ्ने विषयमा बढी केन्द्रित हुने गर्छौं । हामीले विषय बुझेपनि नबुझेपनि त्यसको प्रयोग भएपनि नभएपनि यति कोर्ष पढ्नैपर्छ भन्ने हुन्छ । तर, ए लेभलमा  विद्यार्थीले अन्तक्रिया माध्यमबाट बुझेर फ्लो गर्दै किन र कसरी जस्ता प्रश्नहरुको माध्यमबाट अध्ययन गर्ने गर्छ । अध्ययनको प्रकृयामा विद्यार्थीलाई नै बढी सहभागी गराएको उनीहरुको बुझाइलाई बुझेर पढाउने खालको कोर्ष ए लेवलमा हुन्छ । विषयहरुको हिसाबले नेपाली ११/१२ को जस्तै भएपनि यसको अध्ययन गर्ने तरिकामा चाहिँ फरक हुन्छ । ए लेभलमा क्याम्ब्रिज विश्वविद्यालयले एक वर्ष पढीसकेपछि वार्षिक परीक्षाको व्यवस्था गरेको छ । सामान्यतया जुन महिनाबाट पढाई शुरु भएपछि अर्को वर्षको मे र जुन महिनामा परीक्षा हुन्छ र अगस्ट महिनामा नतिजा सार्वजनिक हुन्छ । ए लेभलको नतिजा ग्रेडिङ सिस्टममा आउँछ । स्टार ए, बी, सी, डी, ई र यु भन्ने हुन्छ । औसतमा ४० प्रतिशत भन्दा धेरै आएमा यु पाउँछ । ५० प्रतिशत भन्दा धेरै आएमा डी, ६० प्रतिशत भन्दा धेरै भएमा सी, ७० प्रतिशत भन्दा धेरै आएमा बी र ८० प्रतिशत भन्दा धेरै नम्बर आएमा ए हुन्छ । विद्यार्थीको पढाइ र उत्तिर्ण अवस्था अनुसार पनि उसले ग्रेडको प्रकृति हासिल गर्छ । यदि विद्यार्थीले कक्षा ११ मात्रै पढेर उत्तिर्ण गरेको छ भने उसले सानो अक्षर ‘ए’ भएको मार्कसिट प्राप्त गर्छ । यदि विद्यार्थीले कक्षा ११ र १२ दुबै पास गरेको छन् भने त्यसको मार्कसिट समायोजित भएर क्यापिटल लेटर ‘ए’ लेखेको मार्कसिट प्राप्त गर्छन् । विद्यार्थीहरुको परीक्षा ब्रिटिस काउन्सिलले समन्वय गरेर विश्वविद्यालयले लिने गर्छ । परीक्षा पश्चात विश्वविद्यालयले पहिला ग्रेडिङ नम्बर पठाउने काम गर्छ र पछि मार्कसिट पठाउँछ । त्यसपछि फेरि होलोग्राम टाँसिएको सर्टिफिकेट पठाउँछ, जुन सर्टिफिकेट विश्वभरी नै स्वीकार्य हुन्छ । ए लेभल र नेपालको कक्षा ११/१२ अध्ययन गर्दाको उपलब्धिमा के फरक हुन्छ भनेर कहिलेकाहिँ जिज्ञासा उठ्ने गर्छ । सामान्यतया सरकारी तथा सामुदायिक विद्यालय र निजी विद्यालयको पढाइको अन्तर हेर्ने हो भने सरकारी तथा सामुदायिक विद्यालयको तुलनामा निजी स्कुलमा अलिक बढी अभ्यास र अन्तक्रिया हुने गर्छ । अंग्रेजी र गणितलाई बढी प्राथमिकता दिने काम गरिन्छ । विज्ञानको अभ्यास बढी गराउने काम गरिन्छ र शिक्षकहरुको गुणस्तरमा पनि केही भिन्नता देख्न सकिन्छ । त्यस्तै, ए लेभलमा कोर्षको आवश्यकताअनुसार शिक्षकहरुले अलिक बढी तयारी गरेर पढाइमा विद्यार्थीलाई नै सहभागी गराएर पढ्न सिकाउने, अनुसन्धान गरेर कुनै कुराहरुमा कनेक्सन हुन सिकाउने, विभिन्न विषय तथा क्षेत्रहरुसँग जोडिन सिकाउने लगायतका विशेषता हुने हुनाले उनीहरु तुलनात्मक रुपमा अलिक बढी निडर हुने, कुनै समस्या पैदा भयो त्यसलाई अनुसन्धान गरेर हल गर्न तयार हुन्छन् । जसले गर्दा विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेर थप अध्ययन वा कामको क्षेत्रमा अगाडि बढ्न खोज्दा उनीहरुमा आत्मविश्वास र व्यक्तित्व विकासको विषय जोडिएको हुन्छ । यसको नतिजा कहाँ देख्न सकिन्छ भने विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जानको लागि राजदूतावासमा अन्र्तवार्ता दिन जाँदा वा अन्य कुनै क्षेत्र वा कार्यक्रममा सहभागी हुँदा उनीहरु आत्मविश्वासका साथ सहभागी हुन्छन् । ए लेभल अध्ययन गरिसकेपछि विद्यार्थीले कुन–कुन विषय पढ्न सक्छन् भन्ने जिज्ञासा पनि एसईई दिएका विद्यार्थी तथा उनका अभिभावकहरुमा हुने गरेको पाइन्छ । विद्यार्थीले ए लेवलमा अध्ययनका लागि धेरै संख्यामा विषय उपलब्ध हुने र विद्यार्थीले आफ्नो इच्छा र क्षमताअनुसार जुन विषय रोज्यो सोही विषयकै आधारमा उसले अघिल्लो तहको विषय पढ्न सक्छन् । यो तह अध्ययन गरेको विद्यार्थीले अन्तर्राष्ट्रिय जगतमा जोडिएर पनि आफ्नो अध्ययनलाई सहज रुपमा अगाडि बढाउन सक्छ । ए लेभल सामान्यतया एसईई उत्तिर्ण गरेको मैले पढ्न सक्छु भन्ने विद्यार्थीले पढ्न सक्छ । यो तहको अध्ययनमा अंग्रेजी भाषाको अनिवार्य भएको कारणले गर्दा अंग्रजी भाषामा राम्रो भएको विद्यार्थीलाई सजिलो पनि हुन्छ । सामान्यतया नेपालको कक्षा ११/१२ को तुलनामा ए लेभलको पढाइ खर्चिलो पनि छ । परीक्षा शुल्क अरुभन्दा अलिकति महँगो पर्छ । नेपालमा ३/४ हजारमा एउटा विषयको परीक्षा दिन सकिन्छ भने ए लेभलमा एउटै विषयको परीक्षा शुल्क १७/१८ हजार जति पर्न जान्छ । पढ्ने क्रममा पनि विद्यार्थीलाई बढी अभ्यासमा केन्द्रित गर्नु पर्ने हुनाले तुलनात्मक रुपमा अध्ययन गर्दा शुल्क पनि बढी लाग्ने गर्छ । नेपालका स्कुल तथा कलेजहरुमा ए लेभलको अध्ययन गर्दा न्यूनतम आठ लाख जति खर्च हुन्छ । विद्यार्थी भाईबहिनी तथा अभिभावकहरुमा ए लेभलमा कहिले भर्ना भएर पढ्न पाइन्छ भन्ने जिज्ञासा पनि हुन्छ । सामान्यतया ए लेभल पढ्नको लागि एसईई दिएको भोलिपल्टबाट क्याम्पेन शुरु हुने गर्छ । सामान्यतया मे/जुन महिनामा विद्यार्थी भर्ना गरिसक्नुपर्ने हुन्छ । तर, हामीकहाँ एसईईको जाँच ढिला आएको बेलामा अलिक ढिलासम्म पनि हुन्छ, एसईईको जाँच अलिक ढिला भएको बेलामा अलिक ढिला पनि हुन्छ । कतिपय विद्यार्थीहरुले भर्ना हुने विषयमा जानकारीको कारणले गर्दापनि ढिला भइराखेको हुनसक्छ । त्यसैले नेपालका कलेजहरुले एसईईको नतिजा भएको एकहप्तासम्म पनि भर्ना लिने गरेका छन् । तर, अहिले प्रि–लर्निङ, मेकअप लगायतका विषयहरुको पढाइ भइरहेको छ । (खनाल ग्लोबल कलेजका ए लेवल को–अर्डिनेटर हुन् । उनीसँग कुराकानीमा आधारित)