काठ क्षेत्रका सडकको दुरावस्था : स्थानीय र पर्यटकलाई सास्ती
काठमाडौं । राजधानी वरिपरिका नगरपालिका क्षेत्रकै सडकमा पानी जमेर पोखरी बनी सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या हुँदा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाडौंमा सबै स्थानीय तहलाई नगरपालिका घोषणा गरिएको करिब एक दशक भए पनि सडकको अवस्था भने गाउँ विकास समिति हुँदा र अहिले पनि केही फरक नभएको स्थानीयवासीको गुनासो छ । राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको पनि छ वर्ष पूरा भएको छ । स्थानीय तहका जनप्रतिनिधिले एक अवधिको कार्यकाल पनि पूरा गरेका छन् । ग्रामीण सडकका समस्या समाधान नहुँदा नगरपालिका बनेका काठ क्षेत्रमा हिँड्दा समस्यामा पर्ने गरेको बूढानीलकण्ठ नगरपालिका–११ का सन्तोष भण्डारी बताउँछन् । उक्त क्षेत्रको सडकको दुरावस्था रहेको उल्लेख गर्दै उनी समस्या समाधानमा स्थानीय सरकारको पनि ध्यान जान नसकेको गुनासो गर्छन् । सडकका नाममा स्थानीय सरकारबाट बजेट उपभोक्ता समितिमार्फत् खर्च गर्ने गरिए पनि गुणस्तरीय काम गर्नेभन्दा कागज मिलाएर भुक्तानी लिने क्रम बढेको स्थानीयवासीको दुःखेसो छ । नगरपालिकाको वडा नं १२ स्थित खरिबोटबाट त्रिवेणीचोक हुँदै आरुबारी जाने सडक जीर्ण भए पनि मर्मत हुनसकेको छैन । उक्त सडकको केही भागमा असारको अन्त्यतिर पर्खाल लगाउन लागेको देखिए पनि सडकमा जमेको पोखरीको समस्या उस्तै रहेको स्थानीयवासी नमिता राई बताउँछिन् । जनप्रतिनिधि बन्न मत माग्न आउने दलका नेता तथा कार्यकर्ता सडकको अवस्था नाजुक हुँदा भने कानमा तेल हालेर बस्ने गरेको उनको भनाइ छ। सडकका ठाउँ ठाउँमा पोखरी जमेका कारण पैदल यात्रु सवारी साधनले छ्याप्ने हिलो पानीले भिज्ने गरेका छन् । वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले सडक निर्माणको कार्यक्षेत्र नगरपालिकाको मात्र नभएकाले सबै सडकमा काम गर्न नसकिएको स्वीकार्दै समस्या समाधानका पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नगरपालिकाको अन्य क्षेत्रका सडकको अवस्था पनि दयनीय छ । नगरपालिकाले बनाएको सडक एक वर्ष पनि नटिक्ने गरेको उपभोक्ताको भनाइ छ । गुणस्तरीय काम नभएकाले छिटो सडक बिग्रने गरेको छ । नगरपालिकाले बनाएका अधिकांश सडक छिटो बिग्रनुको कारणबारे अध्ययन गरिनुपर्ने स्थानीयवासी राजेन्द्र कोइराला जोड दिन्छन् । रासस
प्रधानमन्त्री सचिवालयको दावी– सिंहबारे भावनात्मक अभिव्यक्तिलाई राजनीतिकरण गरियो [विज्ञप्तिसहित]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस्तक विमोचनको क्रममा व्यक्त गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर एमालेले अतिसयोक्तिपूर्ण राजनीतिकरण गरेको बताएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीबार विज्ञप्ति प्रकाशन गरेर सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको भनेका छन् । प्रधानमन्त्री दाहालले मंगलबार आयोजित सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर बुधबार संसद अवरुद्ध गरेको थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको र दाहालकी जेठी छोरी ज्ञानु दाहालको उपचारको क्रममा सिंहसँगको सम्बन्ध घनिष्ठ बनेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’ यस्तो छ प्रधानमन्त्रीका प्रेस संयोजकले बिहीबार जारी गरेको विज्ञप्ति– सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ । जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेशलगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको थियो । प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि ०६७/०६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो । नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदासयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रष्ट नै छ । यसै क्रममा सिंह दिल्लीस्थित आफ्नै घरमा पटकपटक आउजाउ गर्दा भएका पारिवारिक सम्वादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावानात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद् छ । सम्मानित संसदवाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जवाफदेही हुनुहुन्छ । संसदमा प्रष्टिकरणको मौकासमेत नदिई उहाँको भनाईको आसय विपरित एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ । पुस्तक बिमोचनको प्रसंगलाई लिएर प्रमुख प्रतिपक्षी दलले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कार्वाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ, जसबाट मिटरब्याज पीडित लाखौँ नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको छ, यसप्रति हामी गहिरो दुःख व्यक्त गर्दै पीडित किसानहरूको न्यायको पक्षमा आवश्यक पहल लिने प्रतिवद्धता व्यक्त गर्दछौँ । स्मरणयोग्य कुरा के छ भने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड गत पुस १० गते प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको र सम्मानित सदनबाट झण्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको थियो । संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ । तसर्थ, यस्ता कुनै पनि प्रकारका भ्रमबाट मुक्त रहन तथा सरकारको सुशासन अभियानमा ऐक्यबद्धता व्यक्त गर्न हामी सम्पूर्णमा हार्दिक अपील गर्दछौँ । मितिः २०८०।०३।२१ ………………. गोविन्द आचार्य प्रेस सल्लाहकार
अनुमतिबिना अरूको नागरिकता प्रयोग गरी वान एक्स बेटबाट ३१ करोडको कारोबार
काठमाडौं । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीबिना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ । उक्त खेलमार्फत उनले ३१ रुपैयाँ करोडभन्दा बढी रकमको कारोबार गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिको नागरिकता प्रयोग गरी उनीहरुको मन्जुरीबिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यम दुरुपयोग गरी अनाधिकृतरुपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार दुई सय ५२ रुपैयाँ जम्मा गरेर सो रकम अन्य खातामा पठाएको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार निज अभियुक्तबिरुद्ध दुई पीडितले बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (क) र (ख), दफा ५ को (क) र (ग) र दफा ६ बमोजिम कसुर गरेको किटानी जाहेरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएकामा आवश्यक कारबाहीको लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको छ । रासस
प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले आज पनि गर्यो राष्ट्रियसभा अवरुद्ध
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद भैरवसुन्दर श्रेष्ठलाई बौल्नका लागि अनुमति दिए । सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भनाई गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए । सभाध्यक्ष तिमिल्सिनाले पटक–पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरे । तर, उनीहरुले उभिएर विरोध जारी राखेका थिए ।सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि सहयाेग गर्न आग्रह गरेका थिए । राष्ट्रियसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमाथि छलफल हुने कार्यसूची तय गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२.२९ बजे बस्नेछ ।
भारतको सहयोगमा निर्मित ३ विद्यालय र क्याम्पस उद्घाटन
काठमाडौं । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । भारतीय राजदूतावास विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् । नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको १० करोड ८६ लाख रुपैयाँआर्थिक सहयोगमा दैलेखको लालिकाँडास्थित मालिका उच्च माध्यमिक विद्यालय, बडाभैरवस्थित भैरव माध्यमिक विद्यालय, बडाखोलास्थित जगदिश माध्यमिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसका भवन निर्माण गरिएको हो । भवन हस्तान्तरणको अवसरमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसी, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा (पाण्डे), नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माका साथै समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पदाधिकारीलगायतको उपस्थिति थियो । विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्थीलाई शैक्षिक पूर्वाधारमार्फत गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्नेछ । सन् २००३ देखि भारतले नेपालमा पाँच सय ४४ भन्दाबढी उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । यसमध्ये चार सय ८० वटा परियोजना सम्पन्न भइसकेका छन् । उक्त परियोजनामध्ये कर्णाली प्रदेशमा १४ वटा परियोजना छन् । यसका अतिरिक्त भारत सरकारले भारतको स्वतन्त्रता र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई नौ सय ४० वटा एम्बुलेन्स र एक सय ८४ वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ । यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल प्रदान गरेको दूताबासको भनाइ छ । रासस
बजारमा नेपाली आँपकै एकछत्र राज, ३० करोडको आँप बिक्री
काठमाडौं । फलफूलको राजा मानिने आँपको उत्पादन राम्रो हुँदा यसपालि बजार पनि सस्तिएको छ । फलफूल व्यवसायीका अनुसार पछिल्लो दशककै सबैभन्दा सस्तोमा अहिले नेपाली आँप बिक्री भइरहेको छ । अहिलेसम्म आँप राम्रो रहेको र अब विस्तारै उत्पादन सकिँदै गएकाले महँगाईमा उकालो लाग्न थालेको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार यसपालि सिजनको मुख्य समयमा ४० देखि ५० प्रतिकिलोसम्म थोक मूल्यमा आँप बिक्री भएको छ । गत साल यही समयमा आँपको थोक मूल्य ८० देखि ९० रहेको थियो । आजको मितिमा भने आँपको मूल्य थोकमै ६० माथि पुगिसकेकोछ । जातअनुसार केही आँप अलि महँगो र केही आँप अली सस्तोमा बिक्री हुन्छ । सबैभन्दा बढी माग र बिक्री हुने आँप मालदह हो । यो आँप खुद्रा भने प्रतिकिलो १०० को हाराहारीमा बिक्री भइरहेको छ । दशहरी केही महँगो छ भने अन्य आँप डेढ किलोको १०० मा समेत बिक्री भइरहेको छ । उत्पादनको मुख्य समयमा त्यसबेला कुलेश्वरबाट दैनिक १०० टन र अझै त्यो भन्दा माथि पनि आँप गएको थियो । अहिले ५० टनको हाराहारीमा आँप काठमाडौँ उपत्यकामा गइरहेको छ । विस्तारै यो घट्दो क्रममा छ भने मूल्य बढ्न थालेको छ । ’यसपालि बजारमा धेरै आँप आयो, त्यसैले आँप सस्तिएको हो’, बाँनियाले भने, ’पछिल्लो दशक होइन २०÷२५ वर्षको मेरो यो व्यापारकै अनुभवमा यसपालि आँप सबैभन्दा सस्तो भएको छ, नेपाली आँप उत्पादन पनि राम्रो भयो ।’ उनले मण्डीबाट ३० करोड रुपैयाँ बराबरको आँप बिक्री हुने अनुमान गरे । नेपालमा व्यापारीहरुले फरकफरक ठाउँमा आँप पठाउने भएकाले एकीकृत कारोबार र वार्षिक कारोबार कति भनेर यकिन गर्न नसकिने बाँनिया बताउँछन् । कृषि विभागका अनुसार पनि यसपालि आँपको उत्पादन बढेको छ । विभागका सूचना अधिकारी, वरिष्ठ कृषि अर्थविज्ञ सुनिलकुमार सिंह यसपटक आँप उत्पादनको सिजन पनि भएकाले उत्पादन बढेको बताए । उनका अनुसार उत्पादन क्रमश बढ्दो क्रममा रहेको देखिन्छ । आव २०७७÷७८ मा ४३ हजार ६८९ हेक्टरमा आँप उत्पादन भएको थियो । त्यहाँबाट चार लाख ६६ हजार २६७ मेट्रिक टन उत्पादन भएको थियो । आव २०७८÷७९ मा भने ३९ हजार ५७९ हेक्टर क्षेत्रफलमा चार लाख ९८ हजार ८५९ टन आँप उत्पादन भएको तथ्यांक छ । यो वर्ष झन् राम्रो उत्पादन भएको छ । उत्पादकत्व पनि प्रतिहेक्टर १०।६७ बाट बढेर १२।६१ मेट्रिक टनले बढेको छ । नेपालको कुनै पनि फलफूल अन्य देशको तुलनामा गुणस्तरको रहेको बताए । नेपाल फलफूल थोक व्यवसायी सङ्घ कुलेश्वरका अध्यक्ष अमर बाँनियाका अनुसार आँप कै कुरा गर्ने हो भने नेपाली आँप हेर्दा पनि राम्रो, र स्वादिलो भएकाले यो समयमा अरु कुनै फलफूलले स्थान नै पाउँदैन । माग पनि नेपाली आँपकै हुन्छ । नेपाली आँप भएसम्म विदेशी आँपले बजार पाउँदैन, त्यसैले नेपालमा उत्पादन सकिएपछि मात्रै बाह्य आँप आउँछ । बेमौसममा पनि यसैगरी आँप निकाल्न सकियो भने र व्यावसायिक रुपमा अघि बढाउन सकियो भने नेपाली उत्पादनले बजार लिनेमा उनी ढुक्क छन् । तर बिडम्बना बाहिरबाट अन्य फुलफूल आइसक्दा पनि नेपालका जिल्लाहरुमा उत्पादन भएका फलुफूल काठमाडौँ आउनै सक्दैन । आएको पनि बिग्रिसकेको, पाकिसकेको अवस्थामा आइपुग्छ, जसले बजार पाउँदैन । त्यसकारण सरकारले बजार, प्याकेजिङ, ग्रेडिङमा ध्यान दिनुपर्ने व्यवसायीहरुको सुझाव छ । उनले भने, ’महाराष्ट्रको केरा पाँच दिनमा ल्याउँदा पनि यहाँ केही नहुने र हाम्रो कैलालीको केरा ल्याउँदा ग्यास भरिसक्ने किन त भनेको प्याकेजिङ र ग्रेडिङको समस्या हो ।’ आँपको मुख्यमा भने खास एक रुपता हुँदैन । बढी पाकेको आँप सस्तोमा बिक्री हुन्छ भने कम पाकेको आँप राम्रो देखिने महँगोमा बिक्री हुँदै आएको छ । व्यापारीहरुल ले बगान नै किन्ने गरेकाले पनि किसानले घाटा नाफा के पायो भनेर आँकलन गर्न पनि मुस्किहुने बताइएको छ । चैततिरै किसानको बगानमै पुगेर व्यापारीहरुले अग्रिम पैसा दिएर बगान नै किनेको हुन्छ । नाफा घाटा सबै व्यापारीको नै हुन्छ । किसानले उत्पादन गरेको मूल्य कति हो र यहाँ व्यापारिक मूल्य कति हो भनेर छुट्याउन गहे हुने व्यवसायीहरु बताउँछन् । किसानको बगानमा जति तिरे पनि बजारले मूल्य निर्धारण गर्ने भएकाले घाटा नाफा व्यापारीकै हुने गरेको छ । उनीहरुले कुनैबेला ठूलै नाफा पनि लिन सक्छन् । कुनै बेला घाटा पनि हुनसक्छ । यसपाली आँपको मूल्य सस्तो भएकाले नाफा कमाउन मुस्किल रहेको एक व्यापारीले बताए । कालीमाटीको अवस्था काठमाडौँ उपत्यकामा अधिकांश फलफूल कुलेश्वर मण्डीबाट बिक्री हुन्छ । कालीमाटीबाट नगन्य मात्रामा फलफूल बिक्री हुन्छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार पनि काठमाडौंमा यहाँबाट १० प्रतिशत पनि फलफूल बिक्री हुन्न । उनका अनुसार वैशाखदेखि असार १७ गतेसम्म एक हजार ३८२ टन मात्रै फलफूल बिक्री भएको छ । त्यसमा ७९३ अर्थात ५० प्रतिशतभन्दा बढी सिरहाको आँप आएको छ । सप्तरीको ११९ टन, सर्लाहीको १३० टन आएको छ । कूल भित्रिएकोमध्ये १६३ टन अर्थात १२ प्रतिशतको हाराहारीमा भने भारतबाट भित्रिएको छ । सिजनको सुरुआती चरण र अन्तिम तथा बेमौसममा भारतीय आँप आउने गरे पनि मौसममा भने नेपालकै आँप प्रसस्त हुने उनले बताए । सुरुमा आँप अलि महँगो भएर आउँछ । आँपको सिजन जेठ र असार हो । यो समयमा नेपाली आँपले नै भरिन्छ । आएका आँपमध्ये ९० प्रतिशत आँप मालदह हुने गरेको पनि उनले बताए । उनको अनुसार यहाँबाट जेठको पहिलो साता प्रतिकिलो २२८ रुपैयाँले थोकमा आँप बिक्री भएको थियो । दोस्रो साता १९१, तेस्रो साता १११ चौथो साता ८६ ले बिक्री भएको थियो । असारको पहिलो साता ६२, दोस्रो साता ७३, तेस्रो साता ७५ हाराहारीमा बिक्री भइरहेको छ । यही १७ गते कालिमाटीमा ६० देखि ७० रुपैयाँ किलोमा थोकमा बिक्री भइरहेको छ । आजको मूल्य भने मालदह ७० देखि ८० प्रतिकिलोमा थोक बिक्री भइरहेको छ । कुलेश्वर फलफूल मण्डीमा भन्दा यहाँबाट अली महँगोमा फलफूल बिक्री भइरहेको छ । दुई चार दिन राख्न मिल्ने आँप अलि महँगोमा जान्छ, पाकिसकेको आँप सस्तोमा जान्छ त्यसैले आँप यति नै कारोबारमा हुन्छ भनेर भन्न नसकिने श्रेष्ठले भने । नेपालमा २४ जिल्लामा हुन्छ आँपको खेती नेपालमा कूल फलफूल उत्पादनको क्षेत्रमध्ये आँपले ३० देखि ३५ प्रतिशत ओगटेको छ । नेपालमा सबैभन्दा बढी मधेश प्रदेशमा आँप उत्पादन हुन्छ । व्यावसायिक रुपमा आँप खेती हुने २४ जिल्ला छन् । हाल झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा, रौतहट, धादिङ्ग, नवलपरासी पश्चिम, कपिलवस्तु, रुपन्देही, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुरलगायतका जिल्लामा व्यावसायिक रुपमा आँपको खेती भइरहेको छ । फलफूल खेतीमा प्रचुर सम्भावना र अवसर हुँदाहुंँदै पनि फलफूल खेतीको आशातीत विस्तार हुन सकेको छैन । बढ्दो जनसङ्ख्या, मानिसमा स्वास्थ्यप्रतिको सचेतना आदि कारण फलफूलको माग वर्षैपिच्छे बढ्दै गएको पाइन्छ । नेपाल सरकारले फलफूल उत्पादनका कार्यक्रम लागू गरे पनि पर्याप्त भएको छैन । फरकफरक समयमा फरकफरक जानका आँप उत्पादन हुन्छ । अगौटे जातहरुमा बम्बई ग्रिन, गोपाल भोग, सुकतारा, गुलाबखास आदि छन् । मध्येजातहरुमा दशहरी, मालदह, मल्लिका, आम्रपाली पर्छन् । पछौटे जातहरुमा चौसा, कलमतिया, सिपिया, अबेहायात आदि रहेका छन् । फलफूल व्यवसायको व्यापक विस्तार गरी १० वर्षभित्र प्रमुख फलफूलहरूमा देशलाई आत्मनिर्भर बनाएर निर्यात प्रवद्र्धन गर्ने उद्देश्यका लागि आव २०७३÷७४ देखि २०८२÷८३ सम्मलाई फलफूल दशकको रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छन् । हावापानीको दृष्टिकोणले तराईदेखिमध्ये पहाडको बेसीसम्म खेती गर्न सकिने आँपलाई फलफूलको राजा पनि भनिन्छ । आँपमा वर्ष बिराएर फल्ने प्रवृति भएकाले कहिलेकाहीँ तीनरचार वर्षमा एक वर्ष मात्र राम्रो बाली प्राप्त हुने गर्दछ । पहाडी भेगका गर्मी ठाउँहरुमा लगाइएका आँपको बोटको वृद्धि तराई क्षेत्रमा गरिएको खेतीभन्दा कम हुनुको साथै उत्पादन तथा फलको गुणस्तर पनि कम हुन्छ । उष्णप्रदेशीय फलफूलहरुमध्ये आँपलाई प्रमुख फलको रुपमा मानिन्छ । पाकेको आँपमा भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । पाकेको फलमा अम्ल र प्रोटिनको मात्रा थोरै भएता पनि चिनीको मात्रा भने धेरै हुन्छ । दशहरी, मालदह, लङ्ग्रा, जर्दा, अल्फान्सा, अम्रपाली, मल्लिका, रत्ना, चौसा, कलकत्तीया, निलम, फजलीलगायतका आँपका जात छन् । आँप उष्णप्रदेशीय सदाबहार बहुवर्षीय फलफूल बाली हो । भौगोलिक अवस्था अनुसार समुन्द्र सतहदेखि २००–६०० मिटरसम्मको उचाईमा व्यवसायिक रुपमा आँप खेती गर्न सकिन्छ । यसले तुषारो र सुख्खा सहन सक्दैन । जाडो र बसन्त ऋतुमा तुषारो पर्ने ठाउँ आँप बगैंचा बनाउन उपयुक्त हुँदैन । एउटै बिरुवाले कयौं दशकसम्म ९३०–४० वर्ष० फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु जरुरी हुने फलफूल विज्ञको भनाइ छ । रासस
राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा शुभारम्भ गरिएको छ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैंकको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहकाबीच शुभारम्भ गरिएको हो । एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा समुद्घाटन गरे । शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिईने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ । उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पाँच महिनामै राजनीतिबाट बाहिरिइन् एलिजा गाैतम
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी नेता एलिजा गौतमले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेकी छन् । अभिनेत्री तथा मोडल समेत रहेकी एलिजाले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् । उन्मुक्ति पार्टीसँग जोडिएको करिब पाँच महिनामै राजनीति त्यागेको घोषणा उनले गरेकी हुन् । आगामी दिन समाजसेवामा विताउने गाैतमले बताएकी छिन् । उनी नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भए पनि पार्टीले भने कुनै जिम्मेवारी दिएकाे थिएन । धरानका मेयर हर्क साम्पाङलाई भेटेर उनले वृक्षारोपण गरेको र १० वटा सावेल उपहारस्वरूप प्रदान गरेको पनि गाैतमले बताएकी छिन् । ‘म धरानका मेयर हर्कराज राईको कामबाट प्रभावित छु, उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ, देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ,’ उनले भनिन् ।