सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प
काठमाडौं । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन । विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।
अकबरे खुर्सानीमा रोग फैलिँदा व्यावसायिक खेती प्रभावित, किसान चिन्तित
भोजपुर । अकबरे खुर्सानीमा रोगको जोखिम बढेसँगै यहाँका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्नेलगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो । लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । करिब दुई रोपनीमा लगाएको खुर्सानी रोगले नष्ट गरेपछि अन्य बाली लगाउनु परेको भोजपुर नगरपालिका–५ का किसान धनबहादुर थापाले बताए । 'यस वर्ष खुर्सानीमा रोगको जोखिम बढेको छ' उनले भने, 'एउटै बोटमा एकैसाथ धेरै खालका रोग देखिएपछि हामी किसान चिन्तामा परेका छौँ । फल लागेको खुर्सानी डाँठ कुहिएर मरेपछि बगान सखाप भयो, अब अन्य बाली लगाउन थालेको छु ।' थापाजस्तै व्यावसायिक रूपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । स्थानीय कृषक गीता विष्टकाअनुसार खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको छ । 'खुर्सानीमा रोग देखिएको कारण हामी किसान समस्यामा परेका छौँ' उनले भने, 'बारीमा भएका प्रायःसबै बोटमा रोग लागेको छ । बजार लैजाने अवस्थाको खुर्सानीमा रोग देखिएपछि बगान नै सखाप भएको छ । फल डढुवा लाग्ने रोगले सबैभन्दा बढी क्षति गरेको छ ।' रोगले क्षति पुगेको खुर्सानी किसानले उखालेर नष्ट गर्न थालेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । करिब एक हजार ५०० बोट खुर्सानी लगाएकोमा आधाभन्दा जसो बोट रोगले पूर्ण रूपमा नष्ट भएको कृषक विष्टले बताए । पछिल्लो समय जिल्लामा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । तर, रोग–किराको जोखिमले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ । रासस
आज मनसुन सक्रिय हुने, यी प्रदेशहरूमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन केही सक्रिय हुने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भु–भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भु–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सञ्चालनमा आयो हेटौँडा–काठमाडौं त्रिभुवन राजपथ
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सो सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक विभागसँग समन्वय गरी पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । यता हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अझै अवरुद्ध छ । सो सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए । रासस
वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध
वीरगञ्ज । वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए। वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए । सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो । वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए। सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् । यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताए । महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन् । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिए। 'यो हैजा हुनसक्ने सम्भावना छ । नआत्तिकन आफूले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन अनुरोध गर्दछु,' उनले भने।
साउनमा भित्रिए आधा अर्ब बढीका विद्युतीय गाडी, सरकारले कमायो ३० करोड राजस्व
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामै विद्युतीय सवारी साधनको आयात उत्साहजनक देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्रै नेपालमा ५२ करोड ४० लाखरुपैयाँभन्दा बढीका विद्युतीय कार, जीप, भ्यान र माइक्रो बस भित्रिएका छन् । विभागका अनुसार साउनमा कुल १९७ वटा विद्युतीय सवारी साधन आयात भएका छन् । यी सवारीको आयातबाट सरकारले ३० करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जसले विद्युतीय सवारी साधन सरकारी राजस्वको पनि महत्त्वपूर्ण स्रोत बन्दै गएको देखाउँछ । कुन क्षमताका कति भित्रिए गाडी ? साउन महिनामा आयात भएका विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका रहेका छन् । विभागको तथ्यांकअनुसार ५० किलोवाटसम्मका २१ वटा कार, जीप र भ्यान छन् भने ५१ देखि १०० किलोवाटसम्मका १०७ वटा कार, जीप र भ्यान रहेका विभागले जनाएको छ । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ३१ वटा तथा ११ देखि १४ सिटे माइक्रोबस ३८ वटा आयात भएका छन् । पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन र वातावरणमैत्री यातायातलाई प्रवर्द्धन गर्न विद्युतीय सवारीमा कर छुट तथा विभिन्न सहुलियत दिँदै आएको छ । यसैको प्रभावस्वरूप नेपाली बजारमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण तीव्र गतिमा बढिरहेको छ । आर्थिक वर्षको सुरुवातमा देखिएको यो तथ्यांकले आगामी दिनमा विद्युतीय सवारीको आयात थप बढ्ने संकेत गरेको छ ।
सर्वोच्च अदालतबाट जमानत पाए पनि इमरान खान अझै जेलमा रहने
काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले आठवटा मुद्दामा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत दिने निर्णय गरेको छ । बीबीसी उर्दूका अनुसार यी आठवटा मुद्दामा जमानत पाए पनि इमरान खान जेलबाट रिहा हुन पाउने छैनन्, किनभने उनलाई अल कादिर ट्रस्ट प्रकरणमा चौध वर्षको कैद सजाय सुनाइसकिएको छ । मुख्य न्यायाधीशले अदालतले यस प्रकरणमा सुनुवाइ नगर्ने र केवल जमानत सम्बन्धी मुद्दामाथि मात्र विचार गर्ने बताएका छन् । अदालतले इमरान खानका वकिल सलमान सफदरलाई दलील (कसैको पक्ष वा विपक्षमा गरिएको तर्कसहितको कुरा) पेश गर्न आदेश दियो । दलील प्रस्तुत गर्दै उनले आठ मुद्दामध्ये पाँचवटामा इमरान खानको नामसमेत नभएको बताए । उनले अभियुक्तलाई जमानतको अधिकार हुने र इमरानलाई दुई वर्षसम्म यो अधिकारबाट वञ्चित गरिएको पनि बताए । सबै दलील सुनेपछि अदालतले इमरान खानका आठ मुद्दामा जमानत अनुरोध स्वीकार गरेको हो । इमरान खान सन् २०१८ मा प्रधानमन्त्री निर्वाचित भएका थिए । तर सन् २०२२ मा अविश्वासको प्रस्तावमार्फत उनलाई पदच्युत गरिएपछि उनीविरुद्ध विभिन्न भ्रष्टाचार र दुरुपयोगसम्बन्धी मुद्दा चलाइएका थिए । २०२३ मा पाकिस्तानमा गरिएको व्यापक विरोध प्रदर्शनपछि उनलाई तोशाखाना प्रकरण लगायतका मुद्दामा गिरफ्तार गरिएको थियो । त्यसपछि अल कादिर ट्रस्ट केस मा १४ वर्ष कैद सजाय सुनाइएपछि उनी जेलमै रहेका छन् । मुद्दा अनुसार इमरान खान र उनकी पत्नी बुश्रा बीबीले करोडौं डलर बराबरको रकम दुरुपयोग गरेको आरोप लागेको छ ।
वीरगञ्जमा टाटा ईभी अटो शो सुरु
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्राइम अटो ट्रेडर्सको सहकार्यमा शुक्रबारदेखि वीरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ । आइतबारसम्म होटल विशुवा, बाइपास रोडमा सञ्चालन हुने यो अटो शो बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला रहने सिप्रदी ट्रेडिङले जनाएको छ । अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि विभिन्न अफरहरू उपलब्ध छ । अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन र निःशुल्क एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधाहरू समावेश छन् । यस अटो शोमा राखिएका ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन केथ्री ईभी, पञ्च ईभी र टियागो ईभी रहेका छन् । यससँगै अटो शोमा फूड स्टल, रमाइलो खेल गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ । यो अटो शोले वीरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गर्ने सिप्रदी ट्रेडिङले जनाएको छ।