मोटरेबल पुल निर्माणसँगै पर्वतका दुर्गम बस्ती सडक सञ्जालमा जोडिँदै
पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा मोटरेबल पुल निर्माण तीव्रगतिमा भइरहेको छ । पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार पैंयु गाउँपालिकाको सरौखोला स्थित छत्तिसेघाट, कुश्मा नगरपालिका र फलेवास नगरपालिकाको सिमानामा रहेको मल्याङ्दीखोला र परादी– गिज्यान सडकअन्तर्गत मोदीखोलामा मोटरेवल पुल निर्माण भइरहेको छ । तीन वटा पुलमध्ये दक्षिण पर्वतको पैंयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेवल पुल निर्माण सम्पन्न भएको छ । विसं २०८० कात्तिकदेखि निर्माण सुरु भएको पुल हालै सञ्चालनमा आएको हो । २५ मिटर लामो उक्त पुल रु चार करोड ४३ लाख लागतमा निर्माण भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । उनका अुनसार यो पुल निर्माणको जिम्मा कस्तुरी कन्ट्रक्सनले पाएको थियो । वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंयु गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोक्सीङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए । पुल निर्माणपछि बाह्रैमास सहज रुपमा उक्त सडक सञ्चालनका लागि सहज भएको पैंयुँ गाउँपालिकाका पूर्वअध्यक्ष खगेन्द्र तिवारीले जानकारी दिए । बजेट अभाव, राजनीतिक अस्थिरतालगायतका कारणले निर्धारित समयभन्दा केही ढिलो गरी पुल सम्पन्न भएको हो । हिउँदका याममा खोलाबाटै सानाठूला सवारी साधन सञ्चालन हुने गरेपनि बर्षायाममा भने सडक ठप्प हुने गरेको थियो । मोटरसाइकल, साइकल जस्ता सवारी साधन धने बस्तीभन्दा माथि रहेको झोलुङ्गे पुलवाट वारपार गर्दै आएका थिए । पुल सम्पन्न भएसँगै स्थानीय हर्षित बनेका छन् । लुंखु–हुवास सडकको बैकिल्पकमार्गका रुपमा रहेको सरौ–होश्राङ्दी–बालाकोट सडक अब बाह्रै महिना सञ्चालन हुने भएकाले विशेषगरी सरौखोलाको उपल्लो भेग, बालाकोट, होश्राङदीका बासिन्दालाई पैंयू गाउँपालिको केन्द्र हुवास हुँदै स्याङजा, पाल्पा, बुटवल जानका लागि सहज भएको पैंयू गाउँपालिका–६ सरौखोलाका अध्यक्ष गङ्गाधर अधिकारीले जानकारी दिए । पूर्वाधार विकास कार्यालय पर्वतले जिल्लाका अझै दुईवटा खोलामा मोटरेबल पुल निर्माण भइरहेको जनाएको छ । कुश्मा नगरपालिका–१० पिपलटारी र फलेवास नगरपालिका–३ शंकरपोखरी जोड्नेगरी मल्याङदीखोला माथि मोटरेवल पुल निर्माण द्रुत गतिमा भैरहेको छ । १६ मिटर लामो यो पुल झण्डै रु दुई करोड ५० लाखको लागतमा बन्न लागेको हो । यो पुल निर्माण पश्चात कुश्मा नगरपालिकाको वडा नंं. ९ पिपलटारी, वडा नंं. ८ कटुवाचौपारीका साथै फलेवास नगरपालिकाका शंकरपोखरी, खानीगाउँ, थापाठाना, भँगरा, कार्किनेटा लगायतका बासिन्दाहरु लाभान्विन हुने भएका छन् । यसैगरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने परादी–मोदी–गिज्यान–ठाना–तिलाहार सडकमा पर्ने मोदीखोलामा पनि मोटरेबल पुल निर्माण गर्न थालिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ परादी र मोदी गाउँपालिका वडा नं. ६ गाडतारा जोड्ने उक्त गत आर्थिक वर्षदेखि निर्माण गर्न लागिएको हो । रासस
रकम ठगीको अभियोगमा महेश तामाङ पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हङ्गेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका–४ का ५६ वर्षीय महेश तामाङ पक्राउ छन् । अभियुक्तले एक जना पीडितबाट रु तीन लाख ठगेको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१२ बाट शुक्रबार पक्राउ गरेको हो । निजलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभागसमक्ष पेस गरिएको छ ।
मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला
पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको तल्लो मोदी ‘ए’ गरी चारवटा आयोजना छन् । जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा नगरपालिकामा एउटा आयोजना सञ्चालनमा छन् । नेपालको जलविद्युत् तथा जलस्रोत नीतिअनुसार आयोजनाले नदीमा कम्तीमा २५ प्रतिशत प्राकृतिक बहाव निरन्तर छाड्नुपर्ने कानुनी प्रावधान छ । तर यसको व्यावहारिक कार्यान्वयन नहुँदा मोदीखोला सङ्कटमा परेको हो । खोलामा पानीको बहाव नहुँदा जलचर समेत सङ्कटमा परेका छन् । मोदीखोलाको प्रख्यात असला माछाको अस्तित्वसमेत गुम्दै गएको छ । मोदी खोलामा विसं २०५७ मा पहिलो पटक सञ्चालित आयोजना मोदीखोला जलविद्युत् केन्द्र हो । यसको पानीको ड्याम जलाशय बेतेनीमा अवस्थित छ, भने विद्युत्गृह चाहीँ पातिचौरमा । मध्यमोदी हाइड्रोको पानीको ड्याम जलाशय वीरेठाँटी र विद्युत्गृह बेतेनीमा छ । यस्तै, तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय पातिचौरमा र विद्युत्गृह चाहीँ कुश्माको परादीमा अवस्थित छ । कास्की र पर्वतको सिमाना नयाँ पुलदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवासम्म झण्डै १२ किलोमिटर लामो दुरीमा कतैपनि पानीको थोप्लासमेत देख्न पाइँदैन । यसले स्थानीयवासीको दैनिकीसमेत कष्टकर बन्दै गएको स्थानीय देवी लामिछानेले बताए । कुश्मा नगरपालिकाको चुवास्थित १० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाको ड्याम जलाशय परादीमा बाँधिएको छ । यसको जलविद्युत् गृह भने चुवाको सुइटेबौरमा निर्माण गरिएको छ । चारवटै जलविद्युत् गृह लहरै अवस्था छन् । एउटा जलविद्युत् गृहको पानीको ड्याम जलाशयबाट छाडिएको पानी खोलामा बग्न नपाउँदै अर्को जलविद्युत् गृहको ड्याममा मिसिन पुग्छ । यसले गर्दा पनि मोदीखोलामा पानीको सङ्कट उत्पन्न भएको छ । मोदी गाउँपालिकाले खडेरी सुरु हुनासाथ जलविद्युत् गृहका जिम्मेवार कर्मचारीलाई बोलाएर कानुनले निर्देशित गरेको पानी खोलामा छाड्न अनुरोध गरे पनि त्यसको कार्यान्वयन नभएको बताएको छ । मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले भने, “जलविद्युत् गृहले मोदीखोलामा पानी नछाड्दा तटीय क्षेत्रका बस्ती प्रभावित बन्ने खतरा छ । हामीले कार्यपालिकाबाट बैठक नै गरेर धेरैपटक सम्बन्धित हाइड्रो सञ्चालकलाई पत्राचारदेखि अनुगमनसम्म गरेका छौँ, मापदण्डअनुसार पानी छाड्न भनेका छौँ तर उहाँहरूले कहिल्यै टेर्नुभएको छैन ।” गाउँपालिकाले मोदी खोलाबाट उत्पादित हुने विद्युत्बाट वार्षिक झण्डै रु डेढ रूपैयाँ रोयल्टी प्राप्त गर्दै आएको छ । बिजुली उत्पादनका नाममा वातावरणलाई दीर्घकालीन असर पार्ने काम बन्द गर्न स्थानीयले माग गरेका छन् । पानी बग्नुपर्ने खोलामा हिजोआज कमिला हिँड्न थालेको भन्दै कम्पनीको स्वार्थका लागि प्रकृतिसँग नखेल्न चेतावनी दिएका छन् । 'खोलाको पानीमा निर्भर सिँचाइ खेती प्रभावित भएको छ । खानेपानीको मुहानमा समस्या आउन थालेको छ,' तिलाहरका किसान रमाकान्त क्षेत्रीले भने, 'यस क्षेत्रका माछा हराएर गइसके, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान नष्ट भएको छ, प्रकृतिमाथिको दोहनका कुरा कसले सुन्ने ?' खोला सुकाएको विषयमा जनस्तरबाट हरेक वर्ष गुनासो जिल्ला प्रशासन कार्यालमा पुग्ने गर्छ । जलविद्युत् गृहका कर्मचारीलाई बोलाएर छलफल गराउने पनि गरिन्छ । तर कार्यान्वयन हुँदैन । 'गत वर्ष बोलाएर जुनै पनि हालतमा कम्तीमा १० प्रतिशत पानी छाड्न भनेका हौँ, त्यसरी खोलै सुकाएर पर्यावरणमा असर पार्ने काम गर्न त पाइएन नि,' सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले भने, 'गाउँपालिकाले हामीले नियमन गर्न सकेनौँ भन्न पाइयो र ? हामीले प्रहरी खटाउनुपर्छ कि, के गर्नुपर्छ ? त्यो चाहीँ भन्नुपर्‍यो । अब छिट्टै हाइड्रोका कर्मचारीलाई बोलाएर छलफल गर्छौं ।' तल्लो मोदी जलविद्युत् आयोजनाका प्रमुख सुरेन्द्र बेलवासेले आफूहरूले मापदण्ड अनुसारनै खोलामा पानी छाडेको दाबी गरेका छन् । अन्य हाईड्रोहरूले के गरेका छन् थाहा भएन तर आफूहरूले भने मापदण्ड अनुसार नै पानी खोलामा बग्न दिएको उनको दाबी छ ।
आम्दानीको स्रोत बन्यो अटोरिक्सा, मासिक ४० हजार आम्दानी
म्याग्दी । म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक रु ४० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताए । अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक सुमन रिजाल बताउछन् । बेनी नगरपालिका–२ बगरफाँटका रिजालले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजारसम्म आम्दानी गर्दै आएको बताए । विदेश गएर अरुको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मनसायले अटो व्यवसायमा लागेको उनको भनाइ छ । अटो चलाएर प्राप्त हुने आम्दानीबाट उनी सन्तुष्ट छन् । 'मैले बेनी बजार र नगरपालिका क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको छु, दैनिक दुई हजार पाँच सयदेखि तीन हजार कमाइ हुन्छ', उनले भने, 'सबै खर्च कटाएर दैनिक एक हजार ५०० बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।' तीन वर्षअघि रु तीन लाख ८० हजारमा अटोरिक्सा किन्नुभएका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटा पनि यसबाट प्राप्त हुने कमाइले सन्तुष्ट छन् । सेवा पनि हुने र फाइदा पनि हुने यो व्यवसायप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेकाले अहिले अटोरिक्सा धेरै हुँदा पहिलाको तुलनामा कमाइ घटेको भए पनि अरु व्यवसायमा भन्दा राम्रै रहेको उनको भनाइ छ । 'सुरुसुरुमा अटोरिक्सा कमै थिए, दैनिक तीन हजार ५०० देखि पाँच हजारसम्म पनि कमाइ हुन्थ्योँ', उनले भने, 'अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, घरखर्च र अन्य भइपरि आउने खर्च यसैबाट चलेको छ, अलिअलि बचत पनि भएकै छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।' अर्का अटो चालक वसन्त रेग्मीले पनि अटो चलाएर राम्रो आम्दानी गरेका छन् । मासिकरूपमा ३० हजार बढी बचत गर्न सफल रेग्मी वैदेशिक रोजगारीबाट फर्केर अटोरिक्सा चलाउन थालेका हुन् । उनले भने, 'घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।' जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उनको भनाइ छ । बेनी नगरपालिकाले नगरपालिकाका १० वटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटोरिक्सा वितरण गरेपछि यहाँ अटो चल्न सुरु गरेको हो । पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटोरिक्सा सञ्चालन भएका छन् । नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुनेगरेका बेनी नगरपालिकाले जनाएको छ । रासस
निर्वाचन १९ दिन बाँकी : अब १४ जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी
काठमाडौं । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ । भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको छ । आयोगका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुराको मतपत्र छपाइ सम्पन्न भएको छ । यस्तै, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङको मतपत्र छपाइ सम्पन्न भएको छ । त्यस्तै, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । तीन दिनमा मतपत्र छपाइ सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले बताउनुभयो । छापिएका जिल्लाको मतपत्र प्याकिङ भइसकेको छ । हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ भइसकेको छ । हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ । गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार दुई सय नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ । दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजुसमेत गरी ढुवानीका लागि तयारी गरिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ । त्यसैगरी छपाइ सम्पन्न भएको मतपत्र आजैदेखि आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन सुरु गरेको छ । कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए ।
१४ करोडको रङ्गशाला बनेपछि भोजपुरमा खेल पर्यटनको सम्भावना बढ्यो
भोजपुर । रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला निर्माण गरिएपछि खेल क्षेत्रको विकासमा थप टेवा पुगेको छ । देश सङ्घीय प्रणालीमा प्रवेश गरेपछि भोजपुरमा राष्ट्रियस्तरको रङ्गशाला निर्माणले खेल क्षेत्रलाई नयाँ गति दिएको छ । पाँच हजार दर्शक अट्न सक्ने क्षमतासहितको यो रङ्गशाला कोशी प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा बनेको हो । करिब सात हजार वर्गमिटर क्षेत्रफलमा संरचना निर्माण गरिएको छ । कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालामा सात प्यारापिट तयार गरिएका छन् । विसं २०६४ मा तत्कालीन जिल्ला विकास समिति बोर्डले रु ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत जग्गा खरिद गरेको थियो । प्रारम्भिक चरणमा केही बजेट विनियोजन गरी स्तरोन्नतिको काम थालिए पनि पर्याप्त स्रोत अभावका कारण योजना अगाडि बढ्न सकेको थिएन । लामो समयदेखि अधुरो रहेको सपना अहिले साकार भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी जन्माउने जिल्लाका रूपमा परिचित भोजपुर अब आधुनिक खेल पूर्वाधारका हिसाबले पनि सुदृढ बन्दै गएको छ । रङ्ङशाला निर्माण सम्पन्न भएसँगै अब जिल्लामै राष्ट्रिय तथा प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्न सहज भएको छ । यसले खेल पर्यटन प्रवद्र्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा नयाँ प्रतिभा पहिचान र उत्पादनमासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ । यही भूमिमा जन्मिएकी अल्ट्रा धाविका मिरा राईले नेपाललाई अन्तरराष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएकी छन् । भोजपुरबाट ब्याडमिन्टनतर्फ नङशलादेवी तामाङ, रत्नजित तामाङ, सरादेवी तामाङ तथा विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नवीन श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाएका छन् । भलिबलका जोसन श्रेष्ठ, दुर्जकुमार राईलगायत थुप्रै खेलाडीले समेत जिल्लाको नाम उजागर गरेका छन् । यति धेरै खेल प्रतिभा जन्माउने जिल्लामा विगतमा पर्याप्त खेल पूर्वाधारको अभाव थियो । दीर्घकालीन योजना र लगानीको कमीका कारण खेलाडीले नियमित प्रशिक्षण, स्तरीय प्रतियोगिता तथा आवश्यक सुविधा नपाउँदा समस्या भोग्दै आएका थिए । विशेषगरी ठूला प्रतियोगिता आयोजना गर्न उपयुक्त रङ्गशाला नहुँदा जिल्लामा खेल गतिविधि सीमित हुने गरेको थियो । स्थानीय खेलप्रेमीका अनुसार आधुनिक सुविधासहितको रङ्गशाला निर्माण भएपछि युवाहरू खेलप्रति थप आकर्षित भएका छन् । रासस
पोखराको फेवातालमा कार खस्दा चालकको मृत्यु
कास्की । पोखरामा शनिबार बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजेको समयमा विएए १५८२ नम्बरको कार फेवातालमा खसेर दुर्घटना भएको थियो । घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने कारका चालक २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए । कार चालकले नियन्त्रण गुमाइ कार तालमा खसेर दुर्घटना भएको खबरपछि सशस्त्र प्रहरी उपरीक्षक सिंहको कमाण्डमा कालिका गणबाट खोताखोर सहितको २१ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको थियो । गोताखोर टोलीले अचेत अवस्थामा चालकलाई ताल बाहिर निकाली थप उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगेकामा अस्पतालले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ । प्रहरीले क्रेनको सहायताले सवारीसाधन घटनास्थलबाट बाहिर निकाली थप अनुसन्धानको लागि वडा प्रहरी कार्यालय बैदाम लगेको जनाएको छ ।
सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगरपालिका
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसको प्रारम्भ चार वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रममार्फत हुने महानगरले जानकारी दिएको छ । स्वास्थ्य विभागका मेडिकल अधिकृत डा. दिवश न्यौपाने भन्छन्, ‘यो कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टिमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी पाँचवटा विषयमा प्रशिक्षण प्रदान गरिन्छ ।’ सहपाठी बालबालिकाबीच आपसी सिकाइ, प्रयोगात्मक र भूमिका निर्वाह, अभिलेख र अनुगमन सिकाइका मुख्य विधि हुन् । पाठ्यक्रममा आधारित तीन महिना तालिम दिएपछि बाँकी नौ महिना विद्यार्थीलाई समूहगत रूपमा निरोगात्मक स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ । एउटा स्वास्थ्य क्लबमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिकाबीच सहसिकाइका लागि यो विधि उपयुक्त हुने जानकारी दिइन् । उनले भनिन्, ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन, आवश्यक छ । जसरी पनि कार्यान्वयनमा जानुपर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ । अनिमात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ । यसको नतिजा ढिलो देखिन्छ । तर, सकारात्मक हुन्छ ।’ विद्यालयहरूमा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम पनि चाहिएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थीलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वाशयुक्त बनाउनु पर्नेछ । यसका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रमभित्रका कार्यक्रमको प्रभावकारी सिकाइका लागि थप मिहनेत गर्नुपर्नेछ ।’ कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले नमूना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा वृहत कार्यक्रम तर्जुमा गरिने बताए । ‘सम्भवतः यो कार्यक्रम विद्यालयमा पहिलो हुनुपर्छ । यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ,’ उनले भने । शिक्षा अधिकृत केशव ज्ञवालीले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकलाई कार्यक्रमका पक्ष बुझाउन सकेमात्र कार्यान्वयनमा सहज हुने बताए । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रूप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर नाम दिइएको हो । विद्यार्थी, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो ।