विकासन्युज

खुकुलो मौद्रिक नीतिको पक्षमा अर्थमन्त्री, भन्छन् : अर्थतन्त्रमा कडाइ गर्दा समस्या आयो

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले आगामी मौद्रिक नीति तय गर्दा नीतिगत दर (पोलिसी रेट) मा सम्बोधन गरी खुकुलो गरेर जाँदा अर्थतन्त्र चलायमान हुने बताए । ’मौद्रिक नीति खुकुलो हुने वित्तिकै अर्थतन्त्र चलायमान भएर सहजतातर्फ जान्छ’, उनले भने, ’कोभिड महामारी पछि पुनरुत्थानका लागि खुकुलो बनाइएको नीति बाह्य क्षेत्रमा समस्या देखिएपछि एकाएक कडाइ गरियो । त्यसको कडाइको प्रभाव अहिले पनि देखिरहेको छ ।’ वित्त नीति र मौद्रिक नीति अर्थतन्त्रका मुख्य दुई उपकरण रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिए । नेपाल राष्ट्र बैंकले स्वायत्त रुपमा काम गरोस् र समग्र अर्थतन्त्र सुधारका लागि पहल गरोस् भन्ने चाहना रहेको उनको भनाइ थियो । ’वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समत्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन’, अर्थमन्त्री महतले भने, ’पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन सक्छ । राष्ट्र बैंक स्वायत्त भनेर संवैधानिक आयोग जस्तो बनाएर जानुपर्छ भन्ने पनि हुँदैन । अन्तर्राष्ट्रिय अभ्यास पनि हेरिनुपर्छ ।’ सरकारले वित्त नीतिमा अर्थतन्त्र सुधारका महत्वपूर्ण कार्यक्रम राखेको अर्थमन्त्री महतले बताए । अहिले लागत महँगो हुँदा पुँजी प्रवाह हुन नसकेको र यसले समग्र अर्थतन्त्र चलायमान हुन नसकेको उनको भनाइ थियो । आर्थिक अनुशासन पालना सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सरकारले अहिले अनावश्यक रकमान्तर रोकेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा हुनेमा आफू आशावादी रहेको धारणा व्यक्त गरे । प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अर्थतन्त्रमा अहिले देखिएका समस्याको शीघ्र पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए । ’नेपालको अर्थतन्त्र गम्भीर अवस्थामा जाँदैछ, त्यसलाई कसरी पुनरुत्थान गर्ने भन्ने आवश्यकता छ’, उनले भने, ’हाम्रा नीति वा नियत केमा समस्या हो पहिचान गर्न आवश्यक छ ।’ आर्थिक छलफल चौतारी नेपालका अध्यक्षसमेत रहनुभएका सांसद चौधरीले अर्थतन्त्र सुधारका लागि कुन ठाउँमा समस्या छ र कसरी सुधार गर्ने भनेर पहिचान गरिनुपर्नेमा जोड दिए । उनले आगामी आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिका लागि लिइएका सुझाव नेपाल राष्ट्र बैंकलाई दिने जानकारी दिए । कार्यक्रममा अर्थविद डा डिल्लीराज खनालले बैंकिङ र वित्तीय क्षेत्रमा समस्या आउँदा समग्र अर्थतन्त्रमा नै समस्या आउने गरेको बताए । ’पछिल्ला दिनमा अर्थतन्त्र सुधारोन्मुख देखिए पनि अझै सङ्कट कायम छ । अहिले तरलता बढेको छ तर कर्जाको विस्तार हुनसकेको छैन’, उनले भने । बैंक तथा वितीय संस्थाको कर्जा विस्तार उत्पादनमूलक क्षेत्रमा हुन नसकेको अर्थविद डा खनालको भनाइ थियो । ’कोभिड महामारी पछिको पुनरूत्थानका लागि हामीले विस्तारकारी मौद्रिक नीति ल्यायौँ । त्यो आवश्यक पनि थियो । पछि उक्त नीतिले समयानुकूल नतिजा दिन सकेन’, उनले भने, ’कहाँ लगानी भएको छ भन्ने विषयलाई हामीले उपेक्षा गरेका छौँ । साना, मझौला उद्योग र उत्पादन क्षेत्रमा लगानी नभएकाले बजारमा मूल्य वृद्धि देखिएको हो ।’ घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी हुनु, कर्जाको ठूलो हिस्सा निश्चित ठूला घरानाले सहुलियतपूर्ण रुपमा प्रयोग गर्नु, सहकारी संस्था समस्याग्रस्त हुँदै जानुलगायत समस्या वित्तीय क्षेत्रमा रहेकाले यसलाई सुधार्नु पर्नेमा अर्थविद डा खनालले जोड दिए । अर्थविद डा चन्द्रमणि अधिकारीले क्षेत्रगत कर्जाको नतिजा कुल गार्हस्थ्य उत्पादनमा देखिन नसकेको उल्लेख गरे । ’कृषि, जलविद्युतलगायत क्षेत्रमा प्रवाह भएको कर्जा अनुसार ती क्षेत्रले जीडिपीमा पु¥याएको योगदान कम छ’, उनले भने । कार्यक्रममा पूर्व बैंकर अनलराज भट्टराईले अहिले बजार माग खुम्चिएको उल्लेख गर्दै मौद्रिक नीतिले निजी क्षेत्रलाई व्यवसाय गर्नसक्ने वातावरण बनाउन सक्नुपर्ने धारणा राखे ।

पर्यटकलाई आकर्षित गर्दै लमजुङको गाईखुरे झरना, दैनिक ३०० पर्यटक आउने

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । असी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्न । झरनाको फेद पुगुपुगु लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ । विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । मस्र्याङ्दी नदी नजिकै यो झरना रहेको छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना डुम्रे–बेंसीसहर सडक नजिकै पर्छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक ३०० पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनामा हुन्छन् । यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीय बताउँछन् । झरनामा आएका आन्तरिक पर्यटक आदेश श्रेष्ठले भने, ‘छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिँदा मन फुरुङ्ग हुन्छ, सङ्लो पानी झर्झर् झर्दै झरिरहेको यस झरना मा पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ ।’ झरनाको शीतलतासँगै सेल्फी खिच्दा रमाइलो हुने बेँसीसहर नगरपालिका वडा नं ८ शेराफाँटबाट आएका आन्तरिक पर्यटक सिर्जना श्रेष्ठले बताइन् । आफू मात्र नभई साथीहरुसँग झरना हेर्न, दिन कटाउन र झरनाको मज्जा लिन आउने गरेको उनको भनाइ छ । अन्य ठाउँकोभन्दा यस ठाउँमा पौडी खेल्न मन लागेकाले झरनामा आएको तनहुँबाट आएका अर्का पर्यटक योगेश घिमिरेले बताए । झरनासँग रमाउँदा दिन बितेको पत्तो नै नहुने उनको भनाइ छ । यस झरनामा बालबालिकादेखि युवायुवतीको भीड बढी हुन्छ । यस झरनामा यतिबेला बर्खाको समयमा समेत पर्यटकको भीड लागिराखेकाले झरना नजिकै विभिन्न सानासाना पसलसमेत सञ्चालन हुन थालेका छन् । स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी रहेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । ‘यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेका छौँ’ उनले भने । झरनालाई व्यवस्थित गर्न र पर्यटकको आकर्षणस्थल बनाउनका लागि निजी क्षेत्रलाई काम गर्ने जिम्मा दिने तयारीमा रहेको उनको भनाइ छ । उनका अनुसार यस मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर आइरहने बनाउने, झरना तल पोखरी निर्माण गर्ने र पार्किङ स्थल बनाइने भएको छ । त्यस्तै सो झरनामा क्यानोनिङ तथा र्‍याफ्टिङसमेत सञ्चालन गरिने उनी बताउँछन् । चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । यस गाईखुरे झरनाबाहेक चक्रिय अन्नपूर्ण पदमार्गको छेउमै पर्ने मस्र्याङ्दी गाउँपालिकास्थित हामफाले (भुलभुले) झरनाले समेत आन्तरिक तथा बाह्य पर्यटकको मन आकर्षित गरेको छ । यस झरनामा समेत जिल्लाका बेँसीसहर, खुदी, चनौटेलगायत दर्जनौँ स्थानबाट मात्र नभई विभिन्न जिल्लाबाट समेत झरनाको मनोरम दृश्य हेर्न आउने गरेका स्थानीयको भनाइ छ । केही वर्षअघि गाउँपालिकाले पर्यटकलाई मध्यनजर गर्दै करिब १० लाख लागतमा सो झरनासम्म जाने सिँढी र फलामे पुललगायतका पूर्वाधार निर्माण गरेको थियो । यस झरनामा पछिल्लो समयमा आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ । झरनालाई थप व्यवस्थित गर्दै आगामी दिनमा पर्यटकका लागि उपयुक्त गन्तव्यमध्ये एक बनाउने तयारीमा गाउँपालिका रहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । त्यस्तै गाउँपालिकाकै वडा नं ४ मिप्रामा रहेको स्याग्रे झरनासमेत पर्यटकको आकर्षणको केन्द्र बनेको छ । यस झरनामा समेत सयौँ युवायुवती पुग्ने गरेको स्थानीयको भनाइ छ । यतिबेला बर्खायामको बेलामा समेत उक्त झरनामा पर्यटकको भीड बढ्दै गएको छ । रासस

३ वर्षभित्र नम्बर वान बन्ने लक्ष्मी सनराइजको रणनीति, मर्जरपछि यस्तो बन्‍नेछ बैंक

काठमाडौं । असार २८ गतेबाट एकीकृत काराेबार गर्न लागेका लक्ष्मी र सनराइज बैंकले आगामी तीन वर्ष भित्रम देशकै नम्बर वान बन्ने रणनीति बनाएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत बैंककाे आगामी रणनीति तयार भएकाे छ । बै‌‌कले असार २८ गतेबाट एकीकृत कारोबार गर्नका लागि सबै तयारी पूरा गर्ने क्रममा रहेकाे बै‌कका सञ्चालकहरुले बताएका छन् । उक्लियो टप फाइभमा  मध्यमस्तरको वित्तीय विवरण भएको लक्ष्मी बैंक र कमजोर वित्तीय विवरण भएको सनराइज बैंक मर्जरपश्चात् भने टप फाइभमा उक्लिएको बैंक स्रोतको भनाइ छ । अब लक्ष्मी सनराइज बैंकले देशकै नम्बर वान बैंक बन्नको लागि प्रतिस्पर्धा गर्ने बैंकका सञ्चालकहरुले बताएका छन् । ‘मर्जरपछि टप फाइभमा उक्लिने छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान बैंक बनाउने हो,’ एक सञ्चालकले भने, ‘२/३ वर्ष मर्जरको सेट अप गर्न नै लाग्छ । भिआरएसदेखि अन्यमा ठूलो लागत हुन्छ । त्यसपछि सिनर्जी ल्याउनतर्फ बैंकले जोड दिन्छ ।’ बैंक स्रोतका अनुसार मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकसँग ५ अर्ब १७ करोड ३१ लाख रुपैयाँ र सनराइज बैंकसँँग ७ अर्ब ६५ करोड १४ लाख रुपैयाँ जगेडा कोष छ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छ । जसमध्ये सनराइज बैंकको १३९ शाखा कार्यालय सञ्चालनमा छन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार ५ सयको हाराहारीमा पुग्नेछ । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना गरी कूल ३ हजार १७० जना पुग्ने छन् । मर्जरपश्चात् केही कर्मचारी थप हुने बैंक स्रोतले बताएको छ । यस्तो बन्ने छ सञ्चालक समिति मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ । यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्यक्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओमा नियुक्त हुने छन् । सनराइज बैंकका सीईओ शुमन शर्मा मर्जर पश्चात् बन्ने बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्ने सहमति भएको थियो । तर, शर्माले स्वेच्छिक अवकास सुविधा (भिआरएस)मा बाहिरिने निर्णय गरेका छन् । अब दोस्रो वरियतामा रहेकी आरति राणाको नेतृत्वमा सनराइज बैंक मर्जरमा जानेछ । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । यसअघि असार २४ गतेका लागि एकीकृत कारोबार तोकिएको थयो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द नगर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गते तय गरिएको डा. थापा बताउँछन् । एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि २ दिन दुवै बैंकले सेवा बन्द गर्ने जनाएका छन् । यसकारण दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु २ दिन बन्द रहने छ । लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरमा जान गत शुक्रबार (असार २२ गते) अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।

स्वरोजगार कार्यक्रमको रकममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलगायत आठ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी ट्याङ्की निर्माणका लागि प्राप्त भएको मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतको रकममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले प्रमुख प्रशासकीय अधिकृत शाही, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षलगायतविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले प्रशाकीय अधिकृत शाही, इञ्जिनीयर मानबहादुर ऐडी, प्राविधिक सहायक गोभधन बोहोरा, लेखापाल नवीन रेग्मी, चङ्खेली गाउँपालिका–२ का वडाध्यक्ष हरिहर उपाध्याय, देवकोटावाडा खानेपानी ट्याङ्की निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैशी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध छ लाख ४८ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । रासस

महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो । पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए । उनले भने, ‘बिहानीपख विशेषतः मोर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु ग¥र्यौ । र, यो अनुसन्धानलाई अगाडि बढायौं । यसमा गु्रपनै संलग्न रहेको पाईयो । यसमा ४ जनालाई पक्राऊ गरियो । बाईकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन ।’ लुटपाट कार्यमा मोटरसाईकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

पदयात्रा पर्यटनसँग जोडिदै कास्कीको कफुचे हिमताल

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी पहल बढाइएको छ । पछिल्ला समयमा यस क्षेत्रमा बढ्दै गएको पर्यटकको आकर्षणसँगै स्थानीय तहदेखि प्रदेश र सङ्घ तीनवटै सरकारको प्राथमिकतामा यहाँको पदमार्गले स्थान पाउन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको यो ताललाई नेपालको सबैभन्दा कम उचाइमा रहेको हिमतालका रुपमा समेत लिने गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला समयमा पर्यटकको रोजाइमा पर्न थालेसँगै स्थानीय तहले पनि यसको प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङग गुरुङले बताए । ‘कफुचे हिमताल मादी गाउँपालिकाको मात्र नभइ दशेकै गौरव हो, यसको प्रवद्र्धन र विकास गरेर आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ’, उनले भने । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण नेपालकै ठूलो गुरुङ गाउँ सिक्लेसबाट एकदिनको पदयात्रामा यसस्थानमा पुग्न सकिन्छ । यहाँको विकास तीनवटै सरकारको प्राथमिकतामा रहेको बताउँदै उनले सङ्घबाट पोखरा सिक्लेस, ताङतिङ हुँदै मनाङ जोड्ने पदमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने तयारी गरेको उनले बताए । गण्डकी प्रदेश सरकारले मादी गाउँपालिका–७ को थाकबाट ताराहिल टप हुँदै कफुचेसम्मको पदमार्गका लागि २५ लाख विनियोजन गरेको उनले बताए । त्यस्तै प्रदेशबाटै सिक्लेस कफुचे पदमार्गका लागि पाचँ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सिक्लेसबाट कफुचेसम्मका लागि ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको थियो । यसको कार्यविधि पनि तयार भइसकेको र आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । अन्नपूर्ण दोस्रो र चौँथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको यो ताल लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहे पनि अहिले भने छैनन् । कफुचे नामाकरण सम्बन्धमा स्थानीयवासीको भिन्नाभिन्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ । स्थानीयवासीका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा बर्सेनि बढ्दै गएको जलवायु परिवर्तनको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासी बताउँछन् । सिक्लेस–कफुचे मार्गमा पर्ने हुँगु यस क्षेत्रको प्राचीन भेडी गोठ रहने क्षेत्र हो । कफुचेको यात्राका क्रममा सिक्लेसबाट राम्रो हिँड्न सक्नेहरू लगभग साढे तीन घण्टामा हुँगु पुग्न सक्छन् । हिँड्न नसक्नेका लागि भने चारदेखि पाँच घण्टासम्म लाग्ने गर्दछ । हुँगु पुगेका पर्यटक हिँड्न सक्ने एक घण्टामा कफुचे पुगे पनि नसक्नेका लागि डेढ दुई घण्टासम्म लाग्ने गर्दछ । पछिल्ला समयमा जथाभावी बाटो खन्ने क्रमसँगै पदमार्ग हराउँदै गएका अवस्थामा सिक्लेस—कफुचेलाई नयाँ पदमार्गका रुपमा विकास गर्न सकिने ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले बताए । त्यस क्षेत्रमा सन् २००७/८ सिक्लेस हुँदै नामुन पास भएर तिमाङ पदमार्गको टानले प्रवद्र्धन गरेको बताउँदै अध्यक्ष पन्थीले मादी गाउँपालिकाको याङजाकोटबाट दूधपोखरी हुँदै क्होलासोँथर निस्कने पदमार्गको प्रवद्र्धनलाई पनि प्राथमिकतामा राखिएको बताए । ‘कफुचे ताललाई पदयात्रा पर्यटनसँग जोड्न सकेमा यहाँ ठूलो सङ्ख्यामा स्वदेशी एवम् विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ’, उनले भने, ‘पदमार्ग क्षेत्रको प्रवद्र्धन , विकास सँगै पर्यटक लक्षित पूर्वाधार विकासमा तीनवटै तहको साथ र सहयोग आवश्यक छ ।’ रासस

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले उकालो लागेर दुई हजार ७७ दशमलव ७६ मा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ५१ मा पुगेको छ । त्यस्तै, कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै उकालो लागेको छ । कूल ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर रू तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौ सय ६१ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट १६ करोड ३६ लाख ५१ हजार एक सय ४३ रुपैयाँ, सोल्टी होटल १४ करोड आठ लाख ४८ हजार आठ सय २६ रुपैयाँ, अरुण काबेली पावर १२ करोड एक लाख ९८ हजार नौ सय ३६ रुपैयाँ र माथिल्लो तामाकोशी १० करोड ६२ लाख ६८ हजार चार सय ४३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, रावा इनर्जी नौ दशमलव ९८, सिटी होटल नौ दशमलव ५१, प्रभु बैंकको ऋणपत्र आठ दशमलव २२, सनराइज बैंकको ऋणपत्र आठ दशमलव २१ र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् । त्यस्तै, माथिल्लो तामाकोशी छ दशमलव ६५, बीपीडब्ल्यू लघुवित्त चार दशमलव ४३, लिवर्टी इनर्जी तीन दशमलव ६०, जोशी हाइड्रोपावर तीन दशमलव ४९ र पिपल्स पावर कम्पनीका लगानीकर्ताले दुई दशमलव ९९ प्रतिशतले गुमाएका छन् ।

शाइन रेसुंगा बैंकले जित्यो इमर्जिङ एशिया बैकिंङ अवार्ड

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२२ जितेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक उत्कृष्ट अवार्ड जितेको हो । इण्डियन च्याम्बर अफ कमर्सले आह्वान गरेको खुल्ला प्रतिस्पर्धामा भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र नेपाल गरी ६ देशका बैंक तथा वित्तीय संस्थाहरुले अवार्डका आवेदन दिएका थिए । अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो । अवार्ड छनोटको निर्णायकमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त प्राइसवाटरहाउस कुप (पीडब्लुसी ) रहेको थियो । पीडब्लुसीको उपस्थिति विश्वका १५० देशका ७ सय स्थानमा रहेको छ । उक्त अवार्ड भारतको गोवामा शनिबार वितरण गरिएको थियो । उक्त अवार्ड शाइन रेसुंगा डेभलपमेन्ट बैंकका ब्राण्डिङ हेड प्रभास राईले ग्रहण गरेका थिए । स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा अगाडि बढेकाले अहिले इमर्जिङ एशिया बैकिंङ अवार्ड प्राप्त गर्न सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘अन्तर्राष्ट्रिय अवार्ड पाउनुमा बैंकका सञ्चालक,कर्मचारी, निक्षेपकर्ता, कर्जा लिएका सर्वसाधारणदेखि उद्योगी व्यवसायी सबैको योगदान र सहयोग छ’–पौडेलले भने । शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।  बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।