काठमाडौं । असार २८ गतेबाट एकीकृत काराेबार गर्न लागेका लक्ष्मी र सनराइज बैंकले आगामी तीन वर्ष भित्रम देशकै नम्बर वान बन्ने रणनीति बनाएका छन् ।
नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै एकीकृत बैंककाे आगामी रणनीति तयार भएकाे छ । बैकले असार २८ गतेबाट एकीकृत कारोबार गर्नका लागि सबै तयारी पूरा गर्ने क्रममा रहेकाे बैकका सञ्चालकहरुले बताएका छन् ।
उक्लियो टप फाइभमा
मध्यमस्तरको वित्तीय विवरण भएको लक्ष्मी बैंक र कमजोर वित्तीय विवरण भएको सनराइज बैंक मर्जरपश्चात् भने टप फाइभमा उक्लिएको बैंक स्रोतको भनाइ छ । अब लक्ष्मी सनराइज बैंकले देशकै नम्बर वान बैंक बन्नको लागि प्रतिस्पर्धा गर्ने बैंकका सञ्चालकहरुले बताएका छन् ।
‘मर्जरपछि टप फाइभमा उक्लिने छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान बैंक बनाउने हो,’ एक सञ्चालकले भने, ‘२/३ वर्ष मर्जरको सेट अप गर्न नै लाग्छ । भिआरएसदेखि अन्यमा ठूलो लागत हुन्छ । त्यसपछि सिनर्जी ल्याउनतर्फ बैंकले जोड दिन्छ ।’
बैंक स्रोतका अनुसार मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने छ ।
मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी हुनेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । लक्ष्मी बैंकसँग ५ अर्ब १७ करोड ३१ लाख रुपैयाँ र सनराइज बैंकसँँग ७ अर्ब ६५ करोड १४ लाख रुपैयाँ जगेडा कोष छ ।
मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छ । जसमध्ये सनराइज बैंकको १३९ शाखा कार्यालय सञ्चालनमा छन् ।
मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको कर्मचारी संख्या ३ हजार ५ सयको हाराहारीमा पुग्नेछ । हाल लक्ष्मीमा १ हजार ४२ जना र सनराइजमा १ हजार ५१७ जना गरी कूल ३ हजार १७० जना पुग्ने छन् । मर्जरपश्चात् केही कर्मचारी थप हुने बैंक स्रोतले बताएको छ ।
यस्तो बन्ने छ सञ्चालक समिति
मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । तर, सञ्चालक दिनेश पौड्याल भने बाहिरिने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्षमा रमण नेपाललाई चयन गर्नेछ ।
यस्तै, सनराइज बैंकबाट इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । सनराइज बैंकबाट हालका अध्यक्ष मोतिलाल दुगडलाई सञ्चालक पदका लागि सिफारिस भएपनि उनी सञ्चालक बन्न पाउने छैनन् । तर, मर्जरपछि बस्ने पहिलो बैठकमा भने दुगड उपस्थित हुनेछन् । त्यसपछि उनको सट्टा अन्य ब्यक्तिलाई सञ्चालक पदमा पठाउने कि रिक्त राख्ने भन्ने बैठकले निर्णय गर्नेछ । यदि अन्य ब्यक्तिलाई सञ्चालक बनाएमा इन्जिनियर शैलेन्द्र गुरागाईं, शारदा शर्मा र दिपक नेपालमध्ये एक जना सञ्चालक बन्ने छन् ।
पहिलो साधारण सभा सम्पन्नपछि सञ्चालक समिति ५ सदस्यीय हुनेछ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने बैंकले बताएको छ ।
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओमा नियुक्त हुने छन् । सनराइज बैंकका सीईओ शुमन शर्मा मर्जर पश्चात् बन्ने बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्ने सहमति भएको थियो । तर, शर्माले स्वेच्छिक अवकास सुविधा (भिआरएस)मा बाहिरिने निर्णय गरेका छन् । अब दोस्रो वरियतामा रहेकी आरति राणाको नेतृत्वमा सनराइज बैंक मर्जरमा जानेछ ।
दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।
यसअघि असार २४ गतेका लागि एकीकृत कारोबार तोकिएको थयो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द नगर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गते तय गरिएको डा. थापा बताउँछन् ।
एकीकृत कारोबार हुनअघि डाटा माइग्रेसन प्रयोजनको लागि २ दिन दुवै बैंकले सेवा बन्द गर्ने जनाएका छन् । यसकारण दुवै बैंकका शाखाहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु २ दिन बन्द रहने छ ।
लक्ष्मी बैंक र सनराइज बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । अर्थात् सनराइज बैंकको १ सय कित्ता सेयर भएका सेयरधनीले मर्जरपश्चात् लक्ष्मी बैंकको १ सय कित्ता सेयर प्राप्त गर्नेछन् । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।
नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरमा जान गत शुक्रबार (असार २२ गते) अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् ।