लुक्लाबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन
काठमाडौं । मंगलबार लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको हो । ‘मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ,’ उनले भने । हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक छन् । हराएको हेलिकप्टर खोज्न अहिले अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको बुझिएको छ ।
यती एयरलाइन्सको टिकट खरिदमा प्रोमो कोड पाइने, रकम भुक्तानीमा पाँचसय छुट
काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाईट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘MONSOONYT51’ प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१ गतेसम्म रहने छ । आइएमई पे नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
घाटामा गएको चितवन मिल्क तङ्ग्रिँदै, दैनिक एक लाख लिटर दूध प्रशोधन
चितवन । नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ । भरतपुर महानगरपालिका-१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक एक लाख लिटर दूध प्रशोधन पुर्याएको हो । कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन । चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ः०० देखि बेलुका ८ः०० बजेसम्म उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए । पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । उनका अनुसार अहिले उत्पादनले गोदाम भरिएको बताए । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्,’ उनले भने- ‘दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौं ।’ एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको रु चार सयदेखि पाँच सयको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए । ‘जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो,’ उनले भने । विसं २०७२ को भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो । उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । ‘यहाँ प्रयोग भएको मेसिन जर्मन प्रविधिको हो । एउटा सामान बिग्रेपनि जर्मनबाट ल्याउनुपर्छ,’ उनले भने । सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनले जानकारी दिए । चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला-जिल्लामा आन्दोलनसमेत गरेको थियो । जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताए । उनले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी दिए । रासस
बतास एमएडब्लुका आइसर भेहिकललाई ग्राहकले रुचाइएको ब्राण्डको रुपमा स्थापित गर्छु : सीईओ अग्रवाल
काठमाडौं । अटोमोबाइल तथा कर्पोरेट क्षेत्रमा कुशल नेतृत्वकर्ताको रूपमा चिनिन्छन् दीपक अग्रवाल । शिक्षण पेसा अङ्गालेका अग्रवालले बैंकिङ हुँदै अटोमोबाइल क्षेत्रमा आइपुगेका हुन् । अटोमोबाइल क्षेत्रमा उनले आफू संलग्न भएको कम्पनीलाई सफलतामा पुर्याएका छन् । व्यवसायिक क्षेत्रको सफल नेतृत्वकर्ताको रूपमा स्थापित अग्रवाल असार १० गतेदेखि बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीइओ)को जिम्मेवारीमा छन् । बतास एमएडब्लु कमर्सियल भेहिकल नेपालमा भारतको भोल्भाे आइसर कमर्सियल भेहिकल लिमिटेडको आधिकारिक विक्रेता हो । कम्पनीमा नेतृत्वको जिम्मेवारी लिएदेखि नै बतास एमएडब्लुलाई थप उचाइमा पुर्याउने योजनाका साथ काम गरिरहेको उनले बताएका छन् । उनी अग्रवालसँग विकासन्युजको लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित सार- तपाईं बतास एमएडब्लु कमर्सियल भेहिकलको कार्यकारी निर्देशक (इडी) र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नियुक्त भएपछि यो कम्पनीलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ? बतास अर्गनाइजेसनले ह्यान्डल गरिरहेको बतास एमएडब्लु कमर्सियल भेहिकलले नेपालमा आइसर ब्राण्डका सवारी बिक्री गर्दै आएको छ । बतास एमएडब्लु कमर्सियल भेहिकल बैशाख एक गतेबाट विधिवतरूपमा सञ्चालनमा ल्याएका छौं । त्यसलाई लिड गर्ने हिसाबले यस कम्पनीसँग जोडिएको छु । बतास एमएडब्लु कमर्सियल भेहिकल इन्डष्ट्रीमा लिडिङ ब्राण्डकोरूपमा स्थापित भइसकेको छ । यस सहकार्यलाई आगामी दिनमा थप मजबुद बनाउँदै ग्राहकको रोजाइको ब्राण्ड बनाउने छौं । आइसरको नारा नै ‘संवृद्धिको सहयात्री’ भन्ने छ । हामी हाम्रो मात्र संवृद्धि नभई ग्राहक, मेकानिकल, रिसेलर्सलगायत सबैको संवृद्धि चाहान्छौं । त्यसभित्र ट्रक तथा टिपर चालकदेखि यातायात व्यवसायी आदि सबै समेटिन्छन् । उनीहरूलाई नाफामूलक बनाउनेदेखि कसरी हाम्रो सेवाबाट सन्तुष्ट बनाई दिगो लाभदायक व्यवसायरूपमा स्थापित गर्ने भन्नेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । हामीले हाम्रो नेटवर्क देशभर विस्तार गर्ने लक्ष्य लिएका छौं । हरेक ५० किलोमिटरको दुरीमा सर्भिस सेन्टर बनाउने योजना बनाएका छौं । ग्राहकलाई नजिक गएर सेवा दिन सकोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं । नेपालको अर्थतन्त्रमा देखिएको संकुचनले कमर्सियल भेहिकलको बजारलाई कस्तो असर पारेको छ ? हामी पनि अर्थतन्त्रमा देखिएको समस्याबाट अछुतो छैनौं । अन्य बिजनेसमा जस्तै हाम्रो बिजनेसमा पनि यसको असर छ । तर, आउँदा दिनमा सुधार भएर सकारात्मक संकेतकहरू देखिने छन् । देशमा पूर्वाधार विकासका काम भइरहेका छन्, रेमिट्यान्स बढ्दै गइरहेको छ । हाम्रो स्रोत पनि बढेको अनुभूति गरेका छौं । ठूलो मात्रामा विद्युत निर्यात गर्ने तयारी भइरहेको छ । यस्ता धेरै प्यारामिटरले गर्दा अर्थतन्त्रमा सुधारका संकेतहरु आउन थालेको छ । आगामी दिनमा कमर्सियल भेहिकलको बिजनेस फस्टाउने देखिन्छ । किनभने हामी देश विकासको चरणमा छौं । देशभित्र संरचना बनाउने, पूर्वाधारका काम गर्ने, खानी उत्खनन गर्ने लगायतका काममा कमर्सियल भेहिकलको नै बढी महत्व हुन्छ । कमर्सियल भेहिकल खरिद गर्न चाहनेका लागि तपाईंको कम्पनीले के सुविधा दिएको छ ? कमर्सियल भेहिकल चाहनेहरूका लागि हामी वान स्टप सोलुसनकोरूपमा छौं । हामीसँग फुल रेन्ज छ । सानोदेखि हाई टनेजसम्मका सामान ढुवानी गर्न सक्ने सवारी साधन हामीसँग छ । स्कुल बस, स्टाफ बसदेखि ‘इन्टर सिटी ट्राभल’ गर्ने बस पनि छ । ग्राहकलाई फाइनान्स चाहिएको छ भने त्यो पनि उपलब्ध गराउन सक्ने सामथ्र्यमा छौं । निर्माण उद्योगलाई कुनै उपकरणहरू चाहिन्छ भने त्यो पनि हामीसँग उपलब्ध छ । नेपालको जुनसुकै ठाउँमा हाम्रो नेटवर्कमार्फत ती उपकणहरू उपलब्ध गारउँछौं । तपाईले जिम्मेवारी सम्हाल्दा बतासलाई कमर्सियल भेहिकलको क्षेत्रमा नम्बर वान बनाउने भन्नुभएको थियो । अर्थतन्त्रको अहिलेको अवस्था हेर्दा आफ्नै प्रतिबद्धता कत्तिको चुनौतिपूर्ण लागेको छ ? चुनौतीहरू आउनु स्वाभाविक हो । बजेट निकासमा सुस्तता, बजेट खर्चमा चुनौती तथा समयमा पूर्वाधार विकास नहुनु जस्ता कारणले पनि यो क्षेत्रमा चुनौती देखिएको हो । नेपाल राष्ट्र बैंकले साना ठूला सवारीलाई फाइनास गर्दा लोन र इक्वीटीको नीति लिएको छ । त्यसले अटो व्यवसायलाई गाह्रो बनाएको छ । इएमआई तथा पोस्ट पेमेन्टका कुराहरूमा पनि चेकको नीति छ । त्यसलाई अझ स्ट्रोङ गर्नुपर्छ भन्ने मलाई लाग्छ । सरकारले बजेट निकासामा ध्यान दिएर विकासका गतिविधि अघि बढाउने हो भने कमर्सियल भेहिकलको बिजनेसमा खासै चुनौति देखेको छैन् । कमर्सियल भेहिकलमा विद्युतीय सवारी साधन ल्याउने प्रयास तपाईंहरुले गर्नुभएको छ कि छैन ? हामी कमर्सियल भेहिकलमा आइसरका इभी ल्याउन तयार छौं । भारतमा आइसरका इभी कमर्सियल भेहिकलको परीक्षण भएको छ । केही ठाउँमा आइसरका इभी बसहरू सञ्चालनमा पनि आएका छन् । भोलिका दिनमा ईभी कमर्सियल भेहिकलमा कस्तो नीति आउँने हो त्यो थाहा छैन । ईभीका ठूला सवारीको मूल्य महँगो हुन्छ । तर, सञ्चालन खर्च भने कम छ । आगामी दिनमा यसको माग बढ्दै गयो भने इभीमा ठूला सवारी ल्याउन पनि हामी तयार छौं । नेपाली सडकमा पछिल्लो समय ईभी सवारीको चाप बढ्दै गएको देखिन्छ । ईभीको उदयसँगै पेट्रोल तथा डिजेलबाट चल्ने सवारी विस्थापित हुँदै गएको भन्ने चर्चा पनि हुने गरेको छ । इन्धनबाट चल्ने सवारी विस्थापित हुने क्रममा गएका हुन् ? अहिले विश्वका धेरै देशहरू ईभीको प्रयोगमा कसरत गरिरहेका छन् । नेपालका सम्पुर्ण सवारीलाई विद्युतीकरण गर्ने हो भने ६० मेगावाट मात्र विद्युत खपत हुन्छ । इन्धनका सवारीले मात्र नभई वातावरणमा अरू कुराहरूले पनि असर पुर्याइरहेको हुन्छ । आजको दिनमा जति पनि पैसा इन्धनमा खर्च भएको छ, त्यो भन्दा बढी सवारीलाई विद्युतीकरणमा पैसा बाहिर जान्छ । मैले चाहिँ कमर्सियल भेहिकलमा ईभीले तत्काल ठूलो फाइदा दिन्छ भन्ने देखेको छैन । कमर्सियल भेहिकलको नेपाली बजारमा तपाईंहरुको हिस्सा कति छ ? नेपाली सडकमा आइसरका ट्रक तथा बस धेरै गुड्छन् । नेपाली बजारमा हाम्रो हिस्सा २०/२१ प्रतिशत छ । कमर्सियल भेहिकलको बिक्री व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाहरुले कत्तिको सहजिकरण गरिरहेका छन् ? नेपालमा भूकम्प गएपछि सरकारले धेरै ठूलो बजेट निकासा गरेको थियो । त्यो बेला निर्माणको कामहरू पनि बढेकाले कमर्सियल भेहिकलको माग पनि बढेको थियो । त्यो र आजको समयलाई तुलना गर्न मिल्दैन । आज हाइड्रोपावरको डिमान्ड छ । नयाँ नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आएका छन् । नयाँ धेरै सडक पनि बनेका छन् । त्यो हिसाबले आज यसको निश्चित माग छ । समयअनुसारको डिमान्ड तथा सप्लाईको कुरा चलिरहन्छ । देशमा विकासका धेरै काम हुन बाँकी छ । आर्थिक मन्दी भएको कारणले पनि माग घटेको छ । यसलाई मैले सकारात्मक नै लिएको छु । आउने दिनमा कमर्सियल भेहिकलको बिक्री बढ्ने नै छ । हामीसँग इन–हाउस नै फाइनान्स कम्पनी छ । बैंकले गाडीको फाइनान्स गर्न नचाहेको हैन । बैंकले पनि ग्राहकको फिल्टर, उसको आम्दानीको स्रोतलाई विश्लेषण गर्ने भएकोले वित्तीय व्यवस्थापनमा समय लाग्ने हुन्छ । अटोमा लगानी गर्न बैंक पछि परेका छैनन् । आइसरका बस तथा ट्रक खरिद गर्न चाहनु हुने ग्राहकलाई के भन्नुहुन्छ ? हामीसँग नेपालभर करीब ११ वटा डिलर छन् । बतास एमएडब्लुको १० ठाउँमा आफ्नै नेटवर्क छ । हामी करिव १०० वटा रिटेलर्समार्फत काम गरिरहेका छौं । विश्वका ४० भन्दा बढी देशमा आइसर ब्राण्डका गाडी निर्यात भइरहेको छ । नेपालमा आइसरका २५ हजारभन्दा बढी गाडी गुडीरहेका छन् । कर्मसियन भेहिकल सेक्टरमा आइसर ब्राण्ड स्थापित छ । यसको प्रयोग गर्न चाहने सबैलाई हामी सहजताका साथ सवारी साधन उपलब्ध गराउन तत्पर छौं ।
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !
नुवाकोट । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।’ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो । अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन् । पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ । गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो । यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो । हाँसोमजाकको विषय पनि बन्यो तर कृषिप्रधान नेपालका लागि उन्नत जातको मुर्रा भैँसीको नश्ल सुधार अत्यावश्यक छ । देश-विदेश बुझेका कृषिका जानकारहरूका लागि यो महत्त्वको विषय हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा भारतसँग उक्त जातका भैँसी माग भएको थियो भने प्रधानमन्त्री दाहालको उक्त भ्रमणका अवसरमा उपलब्ध गराउने समझारी भएको थियो । एक वर्षअघि भारतको राजस्थानमा भएको एक मेलामा एक हजार पाँच सय किलोग्राम, छ फिट उचाइ र १४ फिट लम्बाइ भएको भैँसीको मूल्य एक करोड भारु कायम गरिएको सन्दर्भ अहिले पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गर्ने गरेका छन् । मुर्रा भैँसी वजनदार मात्र होइन, देख्दा पनि आकर्षक हुन्छन् । यिनले एकपटकमा कम्तीमा २५ लिटरसम्म दूध दिन सक्छन् । व्यावसायिक पशुपालनका लागि भारत र नेपालजस्ता मुलुकका लागि यो एक प्रकारको वरदान नै हो । केवल व्यावसायिक पशुपालनको सोच, उचित लगानी, वातावरण र किसानी मेहनत भने आवश्यक पर्छ । नुवाकोटको बेलकोटगढी नगरपालिका-११ तिगाउँस्थित कँडेल कृषि फार्म प्रालिमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगावै विभिन्न माध्यमबाट मुर्रा जातका भैँसी उपलब्ध भइसकेको थियो । औपचारिक माध्यमबाट भारतदेखि मुर्रा भैँसी ल्याउन अनुमति र विविध प्रक्रिया पूरा गर्नुपर्छ । सो फार्मले भारतका सीतामढी, दिल्ली र हरियाणलगायतका स्थानबाट नेपालका सीमावर्ती भैरहवालगायतका क्षेत्रमा अनौपचारिक माध्यमबाट ल्याएर पालन गरिएका भैँसी नेपाली व्यवसायीबाट किनेर ल्याएको हो । हाल एक भैँसीले दैनिक २८ लिटरसम्म दूध दिन्छन् । ती भैँसीमा मुर्राको कति प्रतिशत नश्ल छन् भन्ने आधारमा वर्गीकरण हुने गर्छ । पूर्ण मुर्रा भैँसी निकै महँगो पर्छ । सो फर्मले प्रति भैँसी रु दुई लाखदेखि १० लाखसम्ममा ल्याएको हो । अहिले फार्मको राँगो स्थानीय अरु मानिसका भैँसीलाई लगाउन पनि प्रयोग गरिन्छ । यसबाट यसको नश्ल क्रमशः नश्ल सुधार हुन सहयोग मिल्नेछ । ‘मैले कसरी व्यावसायिक कृषिपालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययनका क्रममा मुर्रा भैँसीबारे थाहा पाएर राँगो मगाएको हुँ ।’ फार्मका अध्यक्ष गोपीप्रसाद कँडेलले भने, ‘प्रधानमन्त्री प्रचण्ड भारत जाँदा १५ मुर्रा राँगो ल्याउने कुरा सकारात्मक हो । यसको नश्ल देशभर फैलाउन र दूध उत्पादनमा आत्मनिर्भर हुन आवश्यक छ । यसरी काम गर्न सकियो भने युवा रोजगारीका नाममा खाडीमा भौतारिन पनि पर्दैन ।’ उच्च शिक्षाका लागि बेलकोटबाट २०४६ सालमा काठमाडौँ छिरेका कँडेलले सुरुमा कागज उद्योग स्थापना गर्नुभएको थियो भने पछि नेपालमै पहिलोपटक सिसाको हस्तकला उद्योग स्थापना गरे । आयात-निर्यातको व्यवसाय क्रममा परिवारसहित सन् २००८ मा संयुक्त राज्य अमेरिका पुगेर दुई वर्ष बसे । त्यसपछि उनी नेपालमै केही गर्नुपर्छ, युवापुस्तालाई पनि प्रेरण दिनुपर्छ भन्ने सोचका साथ स्वदेश फर्के । सौर्य ऊर्जा र ग्यास उद्योगमा समेत लगानी गरेका कँडेलले फार्ममा विदेशबाट काठ मगाएर आफू बस्नका लागि पर्यावरणीय काठघर पनि निर्माण गरेका छन् । उनले कोल्डस्टोर र डेरी फार्म स्थापनाको लक्ष्य लिएका छन् । कृषि र पशुपालनसहित विषादिरहित खानको अभियानमा जोडिएका महत्त्वपूर्ण व्यावसायिक सम्मान (सीआइपी) प्राप्त कँडेलले कँडेल कृषि फार्ममा पछिल्लो समयमा उक्त लक्ष्यमा सघाउन कृष्ण दाहाललाई साझेदार बनाएका छन् । कुल ५० रोपनी जग्गामा रहेको र चार वर्षअघि स्थापित फार्ममा हाल एक राँगोसहित १० भैँसी, १० गाई छन् । एक गिरी गाई पनि छ । फार्मले कोरियाली गाई पनि मगाउने तयारी गरिरहेको छ । गाई भैँसी थपेर दैनिक पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य लिइएको कँडेलले बताए । यहाँका गाईभैँसीका लागि पोषिलो घाँस खुवाउन फार्मले अमेरिकी घाँस रेड नेपिएर (रातो घाँस), अष्ट्रेलियाको हरियो घाँस (नेपिएर) खेतबारीमा लगाएको छ । हेर्दा उखुजस्तो देखिने यी घाँस रोप्न, हुर्काउन र काट्न सजिलो हुन्छ । फर्ममा हालसम्म करिब डेढ करोड रुपैयाँको लगानी भइसकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले भारत सरकारसँग ल्याइने १५ मुर्रा राँगोका लागि पशुसेवा विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल गठन भएको र उक्त टोलीले भारतका सम्बन्धित सरकारी फार्ममा गई प्राविधिक परीक्षणपश्चात राँगो ल्याइने बताए । ती राँगोलाई कृषि अनुसन्धान परिषद् (नार्क) लगायत स्थानमा राखेर बीर्य सङ्कलन गरी क्रमिकरूपमा भैँसीहरूमा कृत्रिम गर्भाधान गराइने र पहिलो वर्षमा डेड लाख भैँसीलाई गर्भाधारण गराइने योजना रहेको बताए । नेपाल र भारतबीचको खुला सिमानाका कारण हालसम्म के-कति यस्ता भैँसी या अनौपचारिक माध्यमबाट भित्रिएका छन् भन्ने विवरण मन्त्रालयमा नरहेको प्रवक्ता सञ्जेलले बताए । औपचारिक संयन्त्रबाट स्वास्थ्य परीक्षण र प्रमाणपत्रबिना ल्याउने अनुमति पनि नभएको उनको भनाइ छ । रासस
असार ३१ देखि एकीकृत कारोबार गर्दै विजय र नयाँ सारथी लघुवित्त
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । दुवै लघुवित्त संस्थाले गत बैशाख ३० गते मर्जरमा जान अन्तिम सम्झौता गरेका थिए । दुई लघुवित्तले २०७९ मंसिर २६ गते मर्जरमा जानको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । त्यसपछि गत चैत २८ गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले पारित गरेको थियो । यससँगै दुई संस्था एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्ज हुने भएका हुन् । मर्जर पश्चात् लघुवित्तको अध्यक्षमा नयाँ सारथी लघुवित्तका अध्यक्ष लोक बहादुर खड्का र सीईओमा विजय लघुवित्तका सीईओ वसन्त लम्साल बन्नेछन् । मर्जर पश्चात् डीसीईओमा भने नयाँ सारथी लघुवित्तका सीईओ सरोज घिमिरे बन्नेछन् ।
सिद्धार्थ बैंकले डेढ लाख कित्ता सेयर बेच्दै
काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी मदनलाल केडियाको नाममा रहेको १ लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । सेयर खरिद गर्न इच्छुकले बैंकका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । यदि सो समयभित्र आवेदन नपरेमो सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध
काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ ।पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ । उक्त अभियान कामपा र बानेश्वर व्यापार सङ्घले संयुक्तरूपमा गर्न लागेका हुन् । सङ्घका अध्यक्ष नवीन लुइँटेलका अनुसार अवैध संरचना हटाउने काम पनि बानेश्वरबाट नै सुरु गरेको हुनाले धुम्रपान र मद्यपान निषेधको काम पनि सोही स्थानबाट सुरु गर्ने तयारी गरिएको हो । आजदेखि आगामी साउन १ गतेसम्म प्रचारप्रसारका काम गर्ने, त्यसपछि कडाइका साथ उक्त अभियान लागू गर्ने अध्यक्ष लुइँटेलले जानकारी दिए । सार्वजनिक स्थानमा धुम्रपान र मद्यपानको सेवन गर्ने र अन्यलाई पनि उत्तिनै असर गर्ने हँुदा यस किसिमको अभियान सुरु गर्न लागिएको हो । धुम्रपान र मद्यपान सेवन गर्नेका लागि केही निश्चित स्थान तय गरिने बताइएको छ । एक वर्षअघि पनि कामपाले सुर्तीजन्य पदार्थ सार्वजनिक स्थानमा निषेध गरेको थियो तर त्यसको सकारात्मक प्रभावकारिता नभएको भन्दै कडाइका साथ कार्यान्वयन गर्ने गरी पुनः सुरु गर्न लागिएको बताइएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण मुखको क्यान्सर, फोक्सो, पेट, फियो आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुनाका साथै दम, दीर्घ श्वासप्रश्वास, उच्च रक्तचाप, हृदयाघात, मस्तिष्काघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने जस्ता समस्या हुने गर्दछ । सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा वार्षिक ९२ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि सुर्तीजन्य वस्तुको सेवनका कारण वार्षिक २७ हजारले अकालमा ज्यान गुमाउनुपरेको छ । क्यान्सर रोग लाग्नुको मुख्य कारण सुर्तीजन्य वस्तुको प्रयोग भएको र जम्मा मृत्युको १३ प्रतिशत क्यान्सरकै कारण हुने गरेको बताइएको छ । नेपालमा हरेक वर्ष २० देखि ३० हजार मानिसलाई विभिन्न प्रकारका क्यान्सर हुने गरेको पनि बताइएको छ । वर्षमा एक पटक स्वास्थ्य परीक्षण गराउने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, नियमितरूपमा शारीरिक व्यायाम तथा योग गर्ने, सिर्जनशील तथा रचनात्मक काममा लाग्ने बानीले क्यान्सर रोगबाट बच्न सकिने बताइएको छ । नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ कार्यान्वयनमा रहेको छ ।