विकासन्युज

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

सप्तरी । दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै  ३० हजार जरिवाना तिराउने फैसला गरेको हो । देवले पीडितलाई ५० हजार क्षतिपूर्ति दिनुपर्ने र एक हजार दुई सय फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने गरी फैसला भएको अदालतले जनाएको छ । स्रेस्तेदार कुमार मास्केका अनुसार देवलाई १५ वर्षीया दुई बालिकालाई असार ११ गते अपहरण गरी शरीर बन्धक बनाएको अभियोगमा सजाय भएको हो । राजविराज नगरपालिका–८ स्थित रुपनी सडक खण्डमा देवले दुई बालिकालाई ललाईफकाई प्रलोभनमा पारी अपहरण गरी बन्धकबनाई राखेका थिए । बालिकाहरु भागी अपहरण मुक्त भएपछि पीडितहरूकी आमाहरूले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । सप्तरीमा ढिलो गरी उजुरी दर्ता हुँदा अभियुक्त देव अभद्र व्यवहार कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङमा पक्राउ परिसकेका थिए । मोरङको विराटनगरबाट देवलाई साउन १३ गते सप्तरी ल्याएर कारबाही थालिएको थियो । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको आदेशमा देव भदौ ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यसअघि देव राजविराज –२ की १४ वर्षीया बालिकाको अपहरण घटनामा पक्राउ परेका थिए । झुक्यानमा पारी ०७८ साल जेठ २० गते मोटरसाइकलबाट अपहरण गरी लैजाने क्रममा राजविराजदेखि नौ किलोमिटर दक्षिण रूपनीबजार नजिक देव पक्राउ परेका थिए । बालिकालाई मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा पक्राउ परेका देव ०७८ साल असार १५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका थिए । सो घटनामा पीडित पक्ष नै ‘होस्टाइल’ भएपछि देवले सफाइ पाएको प्रहरीले जनायो । यसअघि विभिन्न फौजदारी अपराधमा मुद्दा चले पनि प्रमाण अभाव, पीडित पक्ष होस्टाइल र अनुपस्थित हुने कारणले देवले सफाइ पाउँदै आएका थिए । रासस

बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्छ : डा बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् । जिल्लामा सञ्चालित रणनीति पूर्वाधार विकासको अवस्थाबारे जानकारी लिन गोरखा आएका उनले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, ‘यो घटना एक प्रकारको पुरानो घाउहरुलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरुलाई उभ्याइएको छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने विषय रहेको बताए । ‘द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छ’, उनले भने, ‘त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।’ उनले सरकारले ल्याएको बजेट बजेट नीति तथा कार्यक्रमले उल्लेख उत्साह भने ल्याउन नसकेको पनि दाबी गरे । ‘धेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छ’, अध्यक्ष डा भट्टराईले भने, ‘थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।’ पूर्वप्रधानमन्त्री डा भट्टराई बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिनु बताए ।

मृत घोषित महिला पाँच घण्टापछि कफिनबाट जिवित निस्किइन्

बाबाहोयो (इक्वेडोर) । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । बेइजिङ इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ । इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो । रासस/एएनआई

हराउँदै मौलिक घर : जस्तापाताले विस्थापित गर्दै ढुङ्गा र खर

ढोरपाटन ।  रातोमाटो र सेतो कमिरोले पोतिएका घर । कतै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर । ढुङ्गाकै गारो र काठले टमक्क मिलाइका घरले गाउँको पहिचान दिलाउँथ्यो ।  अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन् । अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके । पछिल्लो समय प्रविधिको विकासका कारण मौलिक घर लोप हुँदै गए भने आधुनिक घर धमाधम बनिरहेका छन् । बागलुङका अधिकांश गाउँमा ढुङ्गा, काठ र माटोका घर छन् । एक दशक अगाडिसम्म गाउँका धेरै घर खरका थिए । अहिले खरका घर भेट्टाउनै मुस्किल पर्छ । जिल्लाका स्थानीय पालिकाले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर ओझेलमा परेका छन् । ढोरपाटन नगरपालिका–९ बोबाङमा दुई दशक अगाडिसम्म ढुङ्गाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए । ती घर एउटा पनि अहिले भेट्टाउन सकिन्न । काठ र ढुङ्गाबाट बनेका घर विस्थापित बनेपछि बिस्तारै ढुङ्गा र खरका घर बने । अहिले ती ढुङ्गा र काठका घर पनि विस्थापित हुँदै गएका छन् । अहिले बोबाङ गाउँमा जस्तापातले छाएका घरले गाउँ नै ढाकिन थालेका छन् । जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सुन्दरतामा भने धेरै प्रभाव पारिरहेको छ । बोबाङ गाउँसँगै निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान गाउँ, बोङ्गादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घर निर्माण भएका छन् । पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुङ्गाले छाएका घर अहिले जस्तापाता तथा कङ्क्रिटबाट बनेका घरमा परिणत भइरहेका छन् । मौलिक ढुङ्गे तथा खरका घर बनाउन बढी झन्झटिलो र खर्चिलो हुने हुँदा पछिल्लो समय स्थानीयले जस्तापाताका घर बनाउन थालेको ढोरपाटन–८ बोबाङका कुशल विश्वकर्माले बताए। उनले १५/२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको बताए । ‘अहिले गाउँ र बजारका घरमा धेरै फकर पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले, सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर बिस्तारै हराउँदै गए, मान्छे विदेश तथा सहर बजार जान थाले, विदेश र सहर बजारमा बनेका जस्तै घर गाउँमा बनाउन थाले’, विश्वकर्माले भने, ‘पहिले त यहाँ काठैकाठका घर थिए, पछि ढुङ्गा, घर र काठका घर बने, अहिले धेरैले टिन (जस्तापाता) ले छाउन थाले, अलि हुने खानेले ठूला सिमेन्टकै घर बनाउन थाले, यसले गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले, अब पालिकाहरुले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्छ ।’ निसीखोलाका ७९ वर्षीय तीर्थबहादुर पुनले अहिले बन्ने घरले गाउँको स्वरुप नै बदलिदिएको बताए। पहिले गाउँमा बन्ने घर सबै एउटै खाले हुने गरेको जनाउँदै अहिले बन्ने घरका रङ्ग तथा आकार फरक–फरक हुँदा गाउँको सुन्दरतामा ह्रास आएको गुनासो गरे । मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको सुनाउँदै मान्छेहरुले बजारको नक्कल गरी घर पनि त्यस्तै बनाउन थालेको उनले बताए। संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले यहाँ बनेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्, सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्, हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ, पहिले–पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे, हिउँदमा न्यानो हुने, गर्मीमा शीतल हुने खालका हुन्थे, अहिले गाउँ हेर्नु हुन्छ भने खरका घर कतै भेटाउनु हुन्न, घुमाउने घर पनि पहिले गाउँमा बाक्लै थिए, अहिले कतै देख्नुहुन्छ ?, किन हराए रु, यो सब अरूको देखासिकीले गर्दा हो, गाउँमा कसैले टिनले छाएको घर बनाउँछ भने भोलि अर्कोले त्यस्तै घर बनाउँछ, पुरानो घरलाई पहिलेकै जस्तो बनाउनुपर्छ भन्ने कसैलाई लाग्दैन ।’ गाउँका पुराना घरलाई संरक्षण गरिराख्न सके केही वर्ष पनि पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने पुनले बताए । उनले खास गरी खरको घर विस्थापित हुनाका कारण यो बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झन्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको बताए । बागलुङका धेरै पालिकाले खरको छानोमुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन् । तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ । सो गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरी नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ । गाउँपालिकाले सबै घरलाई एउटै रङ्ग, एउटै शैली र एउटै आकार प्रकारको बनाउने अध्यक्ष जोकलाल बुढा मगरले बताउए। गाउँमा अब कसैले पनि कङ्क्रिटका भवन बनाउन नपाउने उनको भनाइ छ । आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उनले बताए । ‘गाउँमा बन्ने घर गाउँकै स्रोत र साधनको प्रयोग गरी बनाउनु पर्छ, यहाँ यति धेरै स्रोत साधन छन्, तर हामीहरुले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौँ, गाउँमा पनि सिमेन्टका ठूला–ठूला घर, भवन बन्न थाले, यसलाई रोक्नका लागि गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर गाउँका घरलाई मौलिक घर बनाउने योजना बनाएका छौँ’, अध्यक्ष बुढा मगरले भने, ‘अहिले संस्कृति संरक्षण गर्न लागिएन भने पछिको पुस्ताले गर्दैनन्, संस्कृति नै मासिँदै जाने खतरा बढेको हुँदा यसलाई रोक्न हामी लागेका छौँ ।’ रासस

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं । उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ (दोङ), कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ । उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गर्नुभएका रणेन्द्र बरालीले गरेका थिए । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम तथा न्यूनतम सटमर्थन मूल्य नपाएको लगायतका विषयबारे यो उपसमितिले अध्ययन गरेर समितिमा सुझाव पेस गर्नेछ । समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको प्रभावलगायतका विषयमा छलफल भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा परेको उजुरीमाथि छलफल गर्ने आजको कार्यसूची थियो । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले तयार पारेको ‘वैदेशिक रोजगार सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएका आदेशको कार्यान्वयनसम्बन्धी अवधारणापत्र’माथि आजको बैठकमा छलफल भएको छ । त्यस्तै, आगामी आर्थिक वर्षको बजेटले सुनको भन्सार बढाएको तथा सुनचाँदीलाई विलासिताको वस्तुको रुपमा राखेको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघको उजुरी र पेट्रोलियम पदार्थमा भएको अनुचित मूल्यवृद्धिबारे उपभोक्ता हित संरक्षण मञ्च–नेपाल को उजुरी माथि पनि छलफल भएको छ । समितिको आगामी बैठकमा यी विषयसँग जोडिएका सम्बन्धित मन्त्रालय तथा निकायका पदाधिकारीलाई बोलाएर छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ । रासस

ललितपुरमा ९४ भूमिहीनलाई निस्सा वितरण

  पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार ललितपुरमा पहिलो पटक बागमती गाउँपालिकाका उनीहरुहरुलाई निस्सा वितरण गरिएको हो । निस्सा वितरण भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ । संयोजक महर्जनले भने, ‘अहिलेसम्म चारवटा पालिकामा लागत सङ्कलन सम्पन्न भएको छ । हाल तथ्याङ्क प्रविष्टको कार्य जारी छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले भने सम्झौतामा नै आनाकानी गरिरहेका छन् ।’ राष्ट्रिय भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले उपलब्ध गराएको तथ्याङ्कअनुसार ललितपुरमा हालसम्म एक सय सात परिवार भूमिहीन दलित, पाँच सय ४७ भूमिहीन सुकुम्बासी र दुई हजार पाँच सय ४७ अव्यवस्थित बसोबासीहरू गरी तीन हजार दुई सय एकजनाका लागत सङ्कलन भएको छ । उपलब्ध तथ्याङ्कअनुसार बागमतीमा २० परिवार भूमिहीन दलित, ७४ परिवार भूमिहीन सुकुम्बासी र एक हजार २१ जना अव्यवस्थित बसोबासी गरी एक हजार एक सय १५ जनाको लागत सङ्कलन भएको छ । यीमध्ये ९४ परिवारलाई निस्सा वितरण गरिएको आयोग जिल्ला समितिका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए । सर्वेक्षक विपना ओलीका अनुसार बागमतीमा यही जेठ १६ गते वडा नं ५ इकुडोलबाट सुरु भएको जेठ ३० गते सम्पन्न भएको हो । रासस

मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी

गण्डकी । मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती । उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, टोपी र खुर्पेटोमा सजिएका पुरुषहरूले । विभिन्न स्थानमा आधुनिकताको नाममा परम्परागत संस्कार र संस्कृति हराइरहेका अवस्थामा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ सादीखोलाका मगर समुदाय भने आफ्नो संस्कार र संस्कृति जोगाउँदै त्यसैबाट गाउँमा पर्यटकलाई आकर्षित गर्ने अभियानमा जुटेका छन् । स्याङजा र तनहुँलाई छुट्याउने साँदका रुपमा खोला रहेका कारण प्राचीन कालदेखि नै सादीखोला गाउँका रुपमा स्थापित यस ठाउँमा अधिकांश मगर समुदायको बसोबास छ । प्राचीन कालमा पश्चिम ३ नंमा रहको तनहुँ र पश्चिम ४ नंमा रहेको स्याङ्जा छुट्याउने खोलाका रुपमा पनि यसलाई लिइन्थ्यो । पुस्तौँ अघिदेखि नैं आफ्ना जिजुबाजे यस गाउँमा आएर बसेको ८१ वर्षीय मनबहादुर थापा मगरले बताए । पछिल्ला समयमा ग्रामीण बस्तीबाट बसाइँ सरेर जाने क्रम बढेका अवस्थामा उक्त समस्याबाट यो गाउँ पनि अछुतो भने छैन । यहाँबाट पनि धेरै मानिस बसाइँ सरेर स्याङ्जा, पोखरालगायत विभिन्न स्थानमा गएको उनले बताए । ‘पहिला यहाँ मगर समुदायका ५५/५६ घर थिए’, उनले भने, ‘बर्सेनि बसाइँ सर्दै जाने क्रम बढ्दा अहिले भने २७ घरमा मात्रै बसोबास छ ।’ बस्तीमा घर घटे पनि मगर संस्कार र संस्कृतिलाई जीवन्त राख्नेगरी प्रयास भइरहेको उनले बताए । मगर गाउँको मौलिकता कायम राख्न परम्परागत पोसाकको प्रयोगसँगै मगर संस्कृतिमा आधारित सोरठी, नचरी जस्ता नृत्यलाई कायमै राखिएको उनले बताए। मगर समुदायमा विशेषतः झोरा, सोरठी, नचरी, सुनिमाया, यानिमाया, ठाडो भाका, झ्याउरे, सालैजो, कौह्रा आदि नृत्य प्रचलित छन् । सादी खोलामा आउने पर्यटकलाई लक्षित गरी स्थानीयले घरबास (होमस्टे) पनि सञ्चालन गरेका छन् । घरबासमा आउने पर्यटकलाई सोरठी, नचरी जस्ता परम्परागत नृत्यले स्वागत गर्ने गरिएको सादी खोला टोल विकास संस्थाका संयोजक सुकबहादुर थापा मगरले बताए । विसं २०७३ मा घरबास थालिएको यस गाउँमा अहिले १५ घरमा घरवास सञ्चालन गरिएको छ । परम्परागत नृत्यका लागि पोसाक, मादल, झ्याली, झुर्मा आदि बाजा पनि आवश्यक हुने जनाउँदै उनले आर्थिक अभावका कारण यी वस्तुहरूको जोरजाम गर्न समस्या हुने गरेको बताए । यहाँको सोरठी, नचरी जस्ता नृत्यहरू विभिन्न मेला महोत्सवमा स्याङ्जा तथा पोखरा लैजाने गरिएको छ । ‘परम्परागत संस्कार र संस्कृतिको जगेर्नाका लागि राज्यका तर्फबाट सहयोग आवश्यक छ’, उनले भने, ‘हामी मगर समुदायको मौलिक संस्कृतिलाई पुस्तौँसम्म जीवन्त राख्न चाहन्छौँ ।’ कृषिजन्य उत्पादनमा पनि अब्बल सादीखोला सुन्तला तथा महका लागि पकेट क्षेत्र हो । यहाँ उत्पादित सुन्तला स्याङ्जा तथा पोखराका बजारमा निकै माग हुने गरेको छ । यहाँका हरेक घरमा मौरीका घार रहेको र सर्वसाधारणले मह बेचेर राम्रै आम्दानी गर्ने गरेको सुकबहादुरले बताए। स्थानीयवासीले प्रतिकिलो एक हजार पाँच सयमा मह बेच्ने गरेको जनाउँदै उनले बजारको कुनै समस्या नरहेको बताए । परम्परागत संस्कृतिकै जगेर्नाका लागि गाउँको तल रहेको झन्डै डेढ/दुई सय वर्ष पुरानो तोरी पेल्ने कोललाई संरक्षित गरी राखिएको छ । गाउँको पुछारमा रहेको मिलेनियम गुफालाई गाउँको पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँ पुग्ने गोरेटो बाटो निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार स्थानीयवासीले पर्यटकलाई लक्षित गरी गाउँ र मिलेनियम गुफाका बीचमा रहेको मिलन चौतारीमा खानेपानीको व्यवस्था गर्न लागेका छन् । तनहुँको दुलेगौडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने यस गाउँलाई पर्यटनसँग जोड्ने लक्ष्य रािखएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। ‘मिलेनियम ट्रेकमा आउने पर्यटकलाई यहाँको मौलिक मगर संस्कृतिको अनुभव लिन मिल्नेगरी हामी यसको प्रवद्र्धनमा लागेका छौँ’, उनले भने, ‘होमस्टे सञ्चालनमा आइसकेका अवस्थामा यहाँको मगर संस्कृति पर्यटकका लागि रोजाइमा पर्ने हाम्रो विश्वास छ ।’ गाउँमा सुन्तला, मह लगायतका कृषिजन्य वस्तुको उत्पादन पनि राम्रो हुने भएकाले कृषि पर्यटनका रुपमा पनि यसको विकास गर्ने सोच राखिएको उनले बताए । घरबासलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकेमा त्यसबाट स्थानीयवासीको रोजगारी पनि सिर्जना गर्न सकिने सह प्राडा रामजीप्रसाद पोखरेलले बताए । गाउँको संस्कार, संस्कृतिसँगै यहाँ उत्पादित वस्तुलाई पर्यटनसँग जोड्न सकिने उनले बताए । गाउँमा ठूलो सङ्ख्यामा पर्यटक आउने थाहा पाएसँगै परम्परागत नृत्य देखाउन तथा अवलोकन गर्न स्याङ्जा तथा पोखरा लगायतका स्थानमा बसाइँ सरेर गएकाहरु पनि फर्केर आउने गरेका छन् । यो गाउँ र आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्वपूर्ण रहेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । मिलेनियम ट्रेक क्षेत्रमा पाइने धेरै चराचुरुङ्गी यस  क्षेत्रमा पाइने जनाउँदै उनले पछिल्लो समयमा ठाउँ–ठाउँमा हराउँदै गरेको ठेउवा यहाँ देखिएको बताए । रासस

संरचनागत सुधार र नीतिगत हस्तक्षेपका कारण उन्नयनको बाटोमा भारतीय अर्थतन्त्र

एजेन्सी । कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतीय अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे । प्रधानमन्त्री नरेन्द्र मोदीको साथ र सहयोगले उनीहरूलाई उत्साहित बनायो । उनीहरूले सतर्कतापूर्वक वित्तीय एवम् आर्थिक योजना तर्जुमा गर्दै तिनलाई तत्काल कार्यान्वयनको चरणमा पु¥याए । अहिले ती योजनाले परिणाम देखाएका छन् । हालै जारी गरिएको देशको अर्थतन्त्रको आकडामा सरकारी अनुमानभन्दा बढीले कुल गार्हस्थ्य उत्पादन (जिडिपी)भएको छ । सात प्रतिशतले जिडिपी विस्तार हुने सरकारी अनुमान सात दशमलव दुई प्रतिशत पुगेको छ । यो विस्तारले भारत उदीयमान अर्थतन्त्र भएका मुलुकको सूचीमा द्रुततर विकासको बाटोमा अघि बढेको स्पष्ट हुन्छ । कोभिड–१९ को महामारीपछि आफ्नो प्रतिद्वन्द्वी भारतको तुलनमा चीनले आफ्नो आर्थिक पुनरुत्थानमा खासै गति लिन सकेन । अमेरिकी वित्तीय सेवा कम्पनी मोर्गन स्टेनलीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एक दशकभन्दा कम समयमा भारतको अर्थतन्त्रमा परिवर्तन भएको छ । भारतीय अर्थतन्त्रको सूक्ष्म विश्लेषण गरेको स्टेनलीको प्रतिवेदनले भविष्यमा पनि आर्थिक क्षमतामा उत्कृष्ट हुने प्रक्षेपण गरेको छ । भूतपूर्व राजस्व सङ्कलन र विवेकपूर्ण खर्च, निर्यात र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मा वृद्धि, अतुलनीय पूर्वाधार, विकासको गतिलाई रोकिन नदिन निरन्तरको निगरानी, नीतिगत हस्तक्षेप, मुद्रास्फीति नियन्त्रणको इमानदार प्रयासलाई भारतले आक्रमक रुपमा अघि बढाएको छ । सन् २०१३ कम नरेन्द्र मोदीले देशको शासन व्यवस्था सम्हालेपछि भारतमा परिवर्तन आएको र अर्थव्यवस्था पनि सबल बन्दै गएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन भन्छ–विश्वका प्रतिष्ठित पाँच अर्थतन्त्रमध्ये सबैभन्दा द्रुत गतिमा भारतमा आर्थिक वृद्धि भइरहेको छ । दीर्घकालीन आर्थिक लक्ष्यहरूको रणनीति बनाउनेदेखि सुधारका उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने,  जसरी पनि देशको अर्थतन्त्रलाई उजिल्याएरै छाड्ने व्यक्तिगत आकाङ्क्षा र राष्ट्रको प्रगतिलाई नै आफ्नो सफलता मान्ने नेतृत्वको सोचले त्यो सम्भव भएको हो । स्थिर पुँजीको व्यवस्था र निर्यातमा भएको बढोत्तरी इष्र्या गर्न लायक छ । रोजगारी अभियानमा स्वयम् मोदीले मोर्चा बनाएर अघि बढ्दा सफलता मिलेको छ । अस्थायी नै भए पनि एकैपटक ७० हजार युवाले रोजगारी पाएका छन् । सबै किसिमका व्यापारलाई  सरकारको दायराभित्र ल्याएर अर्थतन्त्रको औपचारिकीकरणतर्फको सफल प्रयाससँगै मोदी सरकारले देशको करको आधारलाई फराकिलो बनाउने र जनतालाई आर्थिक रुपमा सबल बनाउन अघि सारेका प्रोत्साहन योजना, सामाजिक सुरक्षा, ऋण र वित्तीय सेवामा सहज पहुँच र व्यापारको वातावरण सुनिश्चिताले पनि व्यवसाय फस्टाएको छ । वैदेशिक लगानी बढेको छ । भारतले लगानीकर्ताहरूको लागि अनुकूल वातावरण बनाएको छ । गत वर्ष झण्डै आठ अर्ब अमेरिकी डलर एफडीआई इक्विटी प्रवाहसहित एफडीआईमा ८४ अर्ब ८० करोड डलर पुगेको छ । पूर्वाधार विकासलाई तीव्रता दिन ठूलो प्रयास गरिरहेको छ । एयरवेजदेखि रेलवे र रोडवेजसम्म, द्रुत विस्तार र स्तरवृद्धिले देशको बृहत् आर्थिक लाभांश बढाउन मद्दत पुगेको छ । प्रतिवेदनअनुसार अर्थतन्त्रको डिजिटलाइजेशन भारी मात्रामा हुँदा अनियमिता रोकिएका छन्भने ढिलासुस्ती नियन्त्रणका संयन्त्र सक्रिय रहँदा  व्यापारको वातावरणमा उत्साह थपिएको छ । डिजिटलाइजेसनका प्रयासले उनको लेनदेन ढाँचा बदलिएका छन् त्यसलाई अनुकरण गर्न खोज्ने देशहरूको सङ्ख्या बढिरहेको छ । डिजिटलाइजेसनले सुदूर देशका  व्यक्ति र संस्थाहरूलाई पनि सेवा–सुविधा प्रवाह गर्न प्रोत्साहन मिलेको छ । प्रतिवेदनअनुसार अर्थतन्त्रको डिजिटलाइजेशन भारी मात्रामा हुँदा अनियमिता रोकिएका छन्भने ढिलासुस्ती नियन्त्रणका संयन्त्र सक्रिय रहँदा  व्यापारको वातावरणमा उत्साह थपिएको छ । डिजिटलाइजेसनका प्रयासले उनको लेनदेन ढाँचा बदलिएका छन् त्यसलाई अनुकरण गर्न खोज्ने देशहरूको सङ्ख्या बढिरहेको छ । डिजिटलाइजेसनले सुदूर देशका  व्यक्ति र संस्थाहरूलाई पनि सेवा–सुविधा प्रवाह गर्न प्रोत्साहन मिलेको छ । भारतीय अर्थतन्त्रको सुदृढीकरणका निम्ति  धेरै राम्रा परिवर्तन भएका, संरचनात्मक सुधार, सहयोगी नीति तथा कानुन, सुशासन नै आर्थिक वृद्धिको दिगोपन सुनिश्चित गर्ने मोदीमन्त्रलाई भारतले आत्मसात गरेकाले नै ठूलो उत्साहका साथ भारतीय बजारमा बहुराष्ट्रिय कम्पनी एप्पल इन्कदेखि गुगलसम्मका व्यापारिक प्रतिष्ठान लगानीका निम्ति आएका भारतीय उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुभ्रकान्त पाण्डा बताउँछन् । सरकारको दूरदर्शी विचार र प्रभावकारी कार्यान्वयनले भारतलाई उल्लेखनीय आर्थिक वृद्धि हासिल गर्ने बाटोमा अघि बढाएको उल्लेख गर्दै अध्यक्ष पाण्डा सन् २०३२ सम्ममा भारतको प्रतिव्यक्ति आय पाँच हजार दुई सय अमेरिकी डलर पुग्ने अनुमान गरिएको बताउँछन् । मोर्गन स्टेनलीले देशमा मुद्रास्फीति ’सौम्य र कम अस्थिर’ रहने अनुमान गरेका छन्, जसले देशको लागि अवरोध–रहित वृद्धि मार्ग प्रशस्त गर्नेछ। भारतको उपभोग बास्केट पनि बढ्दै गएको छ र देश विवेकाधीन खर्चतर्फ द्रुत गतिमा अघि बढिरहेको छ । भारत निकट भविष्यमा विश्वकै सबैभन्दा आकर्षक लगानी गन्तव्य बन्ने विश्व अर्थतन्त्रको उच्च स्थानमा पुग्नेमा उनी ढुक्क छन् । रासस