विकासन्युज

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।  प्रदेशका ११ जिल्लामा रहेका दुई हजार ३९६ मतदान केन्द्रमा छ जनाका दरले १४ हजार  ३७६ जना कर्मचारी खटिने प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।      एउटा मतदान केन्द्रमा एक/एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी, एक जना कार्यालय सहयोगी र तीन जना स्वयंसेवक खटिने उनले बताए ।  जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत कर्मचारी व्यवस्थापनको काम भइरहेको छ । छनोट भएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने कार्यालयले जनाएको छ ।  गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।       यहाँ सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ र सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन् । स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन् । यस्तै, लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ३३८ मतदाता रहेका छन् । प्रदेशका कुल मतदातामध्ये नौ लाख १४ हजार ५३५ पुरुष, महिला नौ लाख ५५ हजार ५१६ र अन्य १४ जना रहेका छन् ।      गण्डकी प्रदेशमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता रहेका थिए । हालको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । गण्डकीमा १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् ।  

करिब १ टन गाँजासहित दुई जना पक्राउ

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ ।  इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नम्बरको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो ।  पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा मंगलबार (आज) सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ ।  सोमबारको तुलनामा आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख एक हजार ९०० तथा एक तोला चाँदीको मोल ४ हजार ८८५ निर्धारण भएको छ ।  हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य ३ लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार बजार खुल्दा प्रतितोला छापावाल सुन ३ लाख पाँच हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ मा खरिदबिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ९७० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

बढ्दो लागत र ट्यारिफको दबाबबीच फक्सवागनले २०२८ सम्म २० प्रतिशत लागत कटौती गर्ने

काठमाडौं । जर्मनीको सवारी निर्माता फक्सवागनले बढ्दो लागत, चीनको चुनौतीपूर्ण बजार र अमेरिकी भन्सार शुल्क (ट्यारिफ) को प्रभावसँग जुध्न आफ्नो वित्तीय अवस्था सुदृढ पार्ने उद्देश्यले २०२८ को अन्त्यसम्म सबै ब्रान्डमा २० प्रतिशत लागत कटौती गर्ने योजना बनाएको छ ।  मेनेजर म्यागजिनका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ‍‌‌ओलिभर ब्लुमे र वित्त प्रमुख अर्नो एन्ट्लिट्जले जनवरी मध्यतिर बर्लिनमा शीर्ष कार्यकारीहरूसँगको बन्द बैठकमा ‘विशाल बचत योजना’ प्रस्तुत गरेका थिए । फक्सवागनका प्रवक्ताका अनुसार कम्पनीले तीन वर्षअघि सबै ब्रान्ड र इकाईमा कार्यक्रम सुरु गरेको थियो र त्यसयता दोहोरो अंकको अर्ब–युरो बराबर बचत हासिल गरिसकेको छ । उक्त कार्यक्रमले अमेरिकी ट्यारिफ जस्ता भू–राजनीतिक दबाबको असर न्यूनीकरण गर्न सहयोग गरेको प्रवक्ताले बताए । बैठकमा बचत कहाँबाट र कसरी गर्ने तथा ब्रान्डबीच सहकार्य कसरी सुधार्ने भन्ने स्पष्ट नभएको मेनेजर म्यागजिनले उल्लेख गरेको छ । कारखाना बन्द गर्ने विकल्प पनि विचाराधीन हुन सक्ने संकेत गरिएको छ । फक्सवागनको वर्क्स काउन्सिल प्रमुख डानिएला काभालाले रिपोर्ट स्वीकार गर्दै २०२४ को अन्त्यमा फक्सवागन एजीसँग भएको सम्झौता सम्झाइन् । उक्त सम्झौतामा प्रतिस्पर्धात्मकता बढाउने र कर्मचारीमा सामाजिक रूपमा स्वीकार्य प्रभाव पार्ने उपायहरूमा सहमति भएको उनले बताइन् । ‘यस सम्झौतामार्फत कारखाना बन्द गर्ने र सञ्चालनसम्बन्धी कारणले कर्मचारी कटौती गर्ने विकल्प स्पष्ट रूपमा अस्वीकार गरिएको छ,’ काभालोले विज्ञप्तिमा भनिन् । युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले २०३० सम्म जर्मनीमा ३५ हजार रोजगारी कटौती गर्ने प्रक्रियामा रहेको छ । यसको मुख्य ब्रान्डले जनवरीमा व्यवस्थापन तहका पद घटाउने र उत्पादन प्लेटफर्म एकीकृत गर्ने योजना सार्वजनिक गर्दै सोही अवधिमा ‘१ अर्ब युरो’ बचत गर्ने लक्ष्य लिएको थियो । प्रवक्ताका अनुसार ब्लुमेले मार्च १० मा हुने वार्षिक नतिजा पत्रकार सम्मेलनमा अद्यावधिक जानकारी दिनेछन् । जर्मन कार निर्माता कम्पनीहरू चीनमा स्थानीय प्रतिस्पर्धीसँग तीव्र मूल्ययुद्धमा प्रतिस्पर्धा गर्नुपर्दा चुनौती सामना गरिरहेका छन् । गत साता मर्सिडिजले आफ्नो अटो डिभिजनको नाफा मार्जिन यस वर्ष अझ घट्न सक्ने चेतावनी दिँदै ‘कडा लागत अनुशासन’ अपनाउने जनाएको थियो । मेनेजर म्यागजिनका अनुसार बैठकमा सहभागी स्रोतलाई उद्धृत गर्दै फक्सवागनको सफ्टवेयरमा खर्च र दहन इन्जिन तथा विद्युतीय ड्राइभको दोहोरो विकासमा हुने लगानी अझै उच्च रहेको छ । वोल्फ्सबर्गस्थित कम्पनीले शुक्रबार दीर्घकालमा अझ दक्ष र कम उत्सर्जन हुने सवारी साधनतर्फको आफ्नो रणनीतिमा प्रतिबद्ध रहेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि गरिने अनलाइन भुक्तानीमा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने विशेष योजना सार्वजनिक गरेको छ । बैंकले नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क लगायतका अन्तर्राष्ट्रिय भुक्तानीमा विशेष सहुलियत उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिसा शुल्क, बीमा शुल्कलगायत विभिन्न सेवाको भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ । बैंकका अनुसार यो योजना अन्तर्गतको छुट सन् २०२६ जुलाई ३१ सम्म लागू रहनेछ । ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै बैंकले उक्त सेवा देशभर रहेका आफ्ना ११७ वटा शाखामार्फत विस्तार गरेको छ । यस योजनासम्बन्धी विस्तृत जानकारी तथा सेवा उपलब्ध हुने शाखा कार्यालयहरूको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।      

नारी दिवसमा नेपाल लाइफको ‘नारी सुरक्षा जीवन बीमा’ योजना सार्वजनिक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित ‘नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । 'एकै योजना, बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच !' नाराका साथ ल्याइएको यो योजना महिलाको जीवन, स्वास्थ्य, बचत तथा आर्थिक सुरक्षामा केन्द्रित रहेको छ । यस योजनाअन्तर्गत बीमालेखको वार्षिकोत्सवमा बीमाङ्कको आधारमा नगद सुविधा प्रदान गरिनेछ । साथै, मृत्यु लाभ प्रत्येक पाँच वर्षमा २५ प्रतिशतले वृद्धि हुने व्यवस्था गरिएको छ । नेपाली जीवन बीमा क्षेत्रमा पहिलो पटक गर्भावस्था स्याहार तथा गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ । नारीको सुरक्षा, आत्मनिर्भरता र दीर्घकालीन आर्थिक सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको यस योजनाले नियमित आम्दानी, बचत र आर्थिक सुरक्षालाई एकैसाथ सुनिश्चित गर्ने लक्ष्य लिएको छ । समानता र सम्मानपूर्वक जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित यो योजना सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । मातृत्व जीवनको संवेदनशील र महत्वपूर्ण चरण भएकाले त्यसलाई ध्यानमा राख्दै गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा ल्याइएको हो । यसअन्तर्गत, गर्भावस्थाका क्रममा सूचीकृत ११ प्रकारका गम्भीर जटिलतामध्ये कुनै एक पुष्टि भएमा बीमित महिलालाई एकमुष्ट एक लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, गर्भावस्था स्याहार पूरक करार अन्तर्गत बीमा अवधिभित्र गर्भवती भएको प्रमाणित भएमा स्वास्थ्य सेवाका लागि एक पटकका लागि १० हजार रुपैयाँ उपलब्ध गराइनेछ । अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) यस योजनाको न्यूनतम बीमाङ्क रकम २ लाख ५० हजार रुपैयाँ तोकिएको छ भने अधिकतम रकम आम्दानीको आधारमा निर्धारण गरिनेछ । बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्षसम्म रहने व्यवस्था छ । यस योजनासँगै दुर्घटना मृत्यु लाभ, पूर्ण स्थायी अशक्तता सुविधा तथा बीमाशुल्क छुट सुविधा जस्ता विभिन्न ऐच्छिक पूरक करारहरू पनि लिन सकिने कम्पनीले जनाएको छ । नेपाल लाइफको यो नयाँ योजनाले नारीको जीवन, स्वास्थ्य र आर्थिक भविष्यलाई सुरक्षित गर्दै सुनिश्चित भविष्यतर्फ अग्रसर गराउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि विदेश पठाउने भन्दै रु ६५ लाख ३३ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।      पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–६ बस्ने ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तार्केश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, झापा अर्जुनधारा–५ का ४२ वर्षीय गोविन्दप्रसाद निरौला र गोरखा गण्डकी गाउँपालिका–१ का ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।      उनले भने, 'पक्राउ परेकामध्ये राईले अष्ट्रिया पठाउने भन्दै रु पाँच लाख ८५ हजार, लामाले बेलायत पठाउने भन्दै रु ५० लाख, निरौलाले टर्की पठाउने भन्दै रु दुई लाख तीन हजार र श्रेष्ठले रोमानिया पठाउने भन्दै रु सात लाख ५० हजार रकम लिई विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।'      पक्राउ परेका सातै जनालाई सोमबार थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रवक्ता कार्कीले बताए ।     

यस्तो छ मंगलबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९५ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १८ पैसा र बिक्रीदर १६ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९९ पैसा र बिक्रीदर २३ रुपैयाँ ०८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।